ब्लग


रूपा सुनार सञ्चारकर्मी बन्न सकिन्, ‘मान्छे’ बन्न सकिनन्!

रूपा सुनार सञ्चारकर्मी बन्न सकिन्, ‘मान्छे’ बन्न सकिनन्!

रूपबहादुर विश्वकर्मा
काठमाडौं, असार ६

धेरैले भन्ने गर्छन्– अब त जातीय भेदभाव कहाँ छ र!

तर केही दिनअघि मात्र राजधानी त्यो पनि सिंहदरबारकै छेउ बबरमहलमा भाडामा बस्ने कोठा खोज्ने क्रममा सञ्चारकर्मी रूपा सुनारलाई जुन जातीय अपमान/बहिष्कार भएको छ, त्यसले छर्लङ्ग पार्छ– कहाँ हटिसकेको छ र छुवाछूत!

इमेज टेलिभिजनमा ‘उकाली–ओराली’ कार्यक्रमकी सञ्चालक सुनार यही असार १ गते दिउँसो आफ्ना केही साथीसहित कोठा हेर्न निस्किन्छिन्। प्रधान थरकी अधबैंसे घरबेटी खुसी हुँदै ‘आफ्नै छोरीजस्तो लाग्यो’ भन्दै सुनारलाई कोठा दिन सहमत हुन्छिन्। अनि सुनारले आफूलाई मन परेको कोठा एकपटक आमालाई पनि देखाउन ल्याउनुपर्‍यो भनेपछि घरबेटीले अचानक ‘थर’ (जात) सोध्छिन्। ‘जात व्यवस्था उन्मूलन मोर्चा’को बागमती–गण्डकी सम्पर्क समितिकी संयोजकसमेत रहेकी सुनारले जात भन्न डराउने कुरै भएन। सीधै भन्छिन्, ‘म कामीकी छोरी हुँ।’

उसो त कामी ‘क्याटगोरी’मा राखिएका मान्छे, मान्छे होइनन् र? जुन भन्न डराउनुपर्छ।

तर रूपा सुनारले आफू कमिनी भएको कुरा मुखबाट निकालेकी मात्र के थिइन्, एकछिनअघि ‘आफ्नै छोरी’जस्तो लागेकी उनी अब ‘मान्छे’जस्तो पनि लाग्न छाड्यो, प्रधानलाई!

सुनारका अनुसार घरबेटी एकछिन अकमक्क परिन्। एक जना सञ्चारकर्मी, जातीय विभेदविरुद्धै संघर्षरत सुनारले उनको अनुहारको भाव नबुझ्ने कुरै भएन। गृहजिल्ला तनहुँदेखि नै पाइला पाइलामा जातीय भेदभावको असह्य उत्पीडन भोगेकी सुनारको मुटुमै तीर प्रहार भएजस्तो भयो।

मान्छेलाई काठमाडौंका महलहरूमा बडो सम्मानका साथ पालिने कुकुर (पशुलाई चाहिँ अवहेलना गर्नैपर्छ भन्न खोजिएको होइन, तर मानिसलाई संसारकै सबैभन्दा बढी चेतनशील एवं सर्वाेत्कृष्ट प्राणी मानिन्छ) लाई भन्दा पनि तल्लो दर्जाको व्यवहार गरिँदा हृदय कति छियाछिया हुन्छ, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ। उसो त २०७७ सालयता ‘छुत’ जातका केही मानिसले पनि पक्कै जीवनमा पहिलोपटक ‘अछुत’ हुनुको पीडा कति दर्दनाक हुन्छ भन्ने अनुभूति गरेको हुनुपर्छ, कोरोना भाइरसबाट संक्रमित हुँदा छिमेकीले गर्ने छिःछिः र दूरदूरको व्यवहारबाट।

केही बेरको मौनतापछि घरबेटीले नम्र शब्दमा सुनारलाई कडा वचन प्रहार गर्छिन्, ‘नानीको नम्बर दिइराख्नू, म पछि खबर गर्छु।’ यसको आशय ‘सञ्चारकर्मी’ सुनारले नबुझ्ने कुरै भएन। तैपनि साथीहरूका सामुन्ने आफूलाई सामान्य देखाउने प्रयास गर्दै उनी पुरानै कोठा फर्किन्छिन् र घरबेटीको फोनको प्रतीक्षामा बस्छिन्। केही समयपछि घरबेटीको फोन आउँछ, उनलाई होइन, उनकी साथीलाई र भन्छिन्, ‘कस्तो (कमिनी) मान्छे ल्याएको, उनलाई त हुँदैन (कोठा दिन्नँ)।’

पहिल्यै मानसिक पीडामा परिसकेकी सुनारको चोटमा अब नुनखुर्सानी दलियो। सहनै सकिनन्, उकुसमुकुस भयो र घटना विवरण बताउँदै फेसबुकमा भिडिओ अपलोड गरिन्। त्यति मात्र होइन, उनले घरबेटीविरुद्ध जातीय विभेदको कसुरमा प्रहरी कार्यालयमा जाहेरी दिने निर्णय गरिन्। विडम्बना! कानुन कार्यान्वयन गर्ने निकायहरूमा पनि तिनै वर्गको वर्चस्व छ, जो दलितलाई मान्छे मान्दैन। अथवा दलितलाई मान्छे नगन्नु अनौठो ठान्दैन। झन्डै ६ घण्टाको निरन्तर प्रयासपछि मात्र गत बिहीबार (असार ३ गते) अपराह्नतिर महानगरीय प्रहरी वृत्त (सिंहदबार) ले किटानी जाहेरी दर्ता गरेको उनी बताउँछिन्।

यी पंक्ति लेखिरहँदा प्रहरीले घरबेटीलाई पक्राउ गरिसकेको छ। जसलाई हाम्रा कतिपय सञ्चारमाध्यमले ‘दलितलाई कोठा नदिएको आरोपमा घरबेटी पक्राउ’ शीर्षक बनाए। हाम्रा सञ्चारमाध्यममा पनि तिनै मानिसको हालीमुहाली छ, जसलाई दलितको मुद्दा र मर्म थाहै छैन अथवा थाहा नपाएजस्तो गर्छन्। कसैले कसैलाई आफ्नो निजी घरको कोठा भाडामा नदिँदा ‘पक्राउ गर्नू’ भनेर कुनै कानुनमा लेखिएको छ र? आफ्नो कोठा त दलितलाई त के ‘बाहुन’ (मानिसमा सबैभन्दा ठूलो बाहुन हो भन्ने मेरो मान्यता होइन है, यो समाजले बुझ्ने भाष्य प्रयोग गरेको मात्र हुँ) लाई पनि नदिन घरधनी स्वतन्त्र छ। वास्तवमा रूपा सुनारलाई कोठा नदिएका कारण सरस्वती प्रधान पक्राउ परेकी होइनन्। बरु कोठाका निहुँमा सुनारलाई जातीय विभेदको व्यवहार गरेकाले उनीविरुद्ध कानुन आकर्षित भएको हो।

किन हटेन छुवाछूत?
हामीमध्ये धेरैलाई अझै थाहा नहुन सक्छ, ५८ वर्ष अघिसम्म यो मुलुकको संविधान/कानुनमै जातीय भेदभाव र छुवाछूत गर्नैपर्नेचाहिँ प्रावधान थियो, अहिले गर्न नहुनेभन्दा पनि कडा खालको। जसले छुवाछूतको नियम तोड्थ्यो, उसलाई हदैसम्मको कारबाही हुन्थ्यो (यसका लागि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाद्वारा जारी वि.सं. १९१० को मुलुकी ऐन हेर्नुहोस्)। कामी भन्नेले दमाईं भन्नेले छोएको खायो भने पनि उसलाई कडा सजाय गरिन्थ्यो। यसैले दलित ‘भनिएका’ मानिसबीच नै पनि छुवाछूत किन छ भन्ने प्रश्नको जवाफ यसैमा छ।

अर्थात्, राज्यले नै समाजमा जातीय विभेद र छुवाछूत संस्थागत गरेको हो, नेपालका झन्डै ५० लाख मानिसलाई ‘अछूत’ बनाएको हो। यसैले आज तिनलाई पुनः मान्छेको स्थानमा माथि उठाउनु उसको दायित्त्व हो। त्यसैको प्रयासस्वरूप राज्यले हिजो गरेको विभेदबापत आज उनीहरूलाई विशेषाधिकार (आरक्षण) दिँदा कतिपयको चित्त चहर्‍याउने गरेको छ।

‘अछूत’को बिल्ला भिराइएको वर्गका कतिपय मानिसबाट बिस्तारै बिस्तारै विद्रोह हुन थालेपछि शासनमा अप्ठेरो पर्ने देखेर राजा महेन्द्रले बल्ल २०२० सालमा ‘छोटाबडा सबै नागरिक समान’ मानिने नयाँ मुलुकी ऐन ल्याएका हुन्। त्यसयता मात्र नेपालमा कानुनी रूपमा जातीय विभेदको अन्त्य भएको हो। तर त्यस ऐनमा पनि सबै ‘बराबर’ मात्र भनियो, अर्थात् छुवाछूत गर्नैपर्ने प्रावधान मात्र हटाइयो; छुवाछूत गर्नेलाई के सजाय गर्ने, व्यवस्था गरिएन।

२०४६ सालको जनआन्दोलनपश्चात् बनेको ‘नेपाल अधिराज्यको संविधान, २०४७’ मा भने छुवाछूतलाई दण्डनीय अपराध उल्लेख गरियो र २०२० को मुलुकी ऐनमा संशोधन गरी जातीय विभेद गर्नेलाई अत्यन्तै थोरै दण्ड, जरिवाना तोकियो। त्यो पनि लागूचाहिँ भएन। अर्थात् संविधान/कानुनमा जे जे भनिए पनि समाजमा छुवाछूतले निर्वाध निरन्तरता पाइरह्यो। यसबीच मुलुकलाई नै छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको हामीलाई थाहै छ। ‘जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन–२०६८’ नै बनिसकेको छ। छुवाछूतविरुद्धको कानुनलाई केही कडा बनाइएको छ। तर त्यो कागजमै सीमित छ भन्ने कुरा बुझ्न एक वर्ष अघि मात्र रुकुममा ठूला जातकी केटीसँग प्रेम गरेकै कारण कुटीकुटी जाजरकोटका नवराज विक मारिएको घटना नै काफी छ।

अनि भर्खरै देशकै सबैभन्दा शिक्षित र सभ्यहरूको बसोबास रहेको काठमाडौंमै कोठा खोज्ने ‘कामीकी छोरी’लाई गरिएको जातीय दुर्व्यवहारले यसलाई पुनः पुष्टि गरेको छ।

कानुनले निषेध गरेको आधा शताब्दीभन्दा बढी भइसक्दा पनि आखिर किन अन्त्य हुन सकेन त छुवाछूत?

कतिपय विद्वान् भन्ने गर्छन्, ‘शिक्षाको अभाव!’

तर कसलाई कस्तो ‘शिक्षा’ अभाव भएको हो, प्रस्ट पारिँदैन।

‘छुत’ जातिका मानिसमा शिक्षाको अभाव भएको हो भनौं भने यो समाजमा जातीय विभेद र छुवाछूत तिनैले बढी गरिरहेका छन्, जो उच्च शिक्षा अध्ययनमा सबैभन्दा माथि छन्।

उता ‘अछूत’ वर्गका मानिसमा शिक्षा अभाव भएका कारण छुवाछूत नहटेकाे हो भनौं भने रूपा सुनार अशिक्षित हुन् त?

यसैमा अर्काे तर्क पनि हुने गर्छ, ‘सफासुग्घर हुनपर्‍यो,  यहाँ कसले गर्छ छुवाछूत!’ यसको सीधा अर्थ हो– ‘अछूत’हरू फोहोरी र घिनलाग्दा हुन्छन्/छन्। अनि यसको उल्टो...।

यसको पनि लामो व्याख्या नगरीकन सीधा प्रश्न, ‘रूपा सुनार फोहोरी छिन् त?’

एउटा गैरदलित जन्मिनेबित्तिकै (पढ्नैपर्छ भन्ने छैन, सफासुग्घर नै रहनुपर्छ भन्ने छैन, ठूलो पदमा पुग्नैपर्छ भन्ने छैन) मान्छे हुन पाउँछ भने त्यसैगरी जन्मिने दलितलाई चाहिँ ‘मानव’ हुन सर्तैसर्त!

यी सबै छुवाछूतवादीहरूका बहानाबाजी र कुतर्क हुन्। मूल कारण त अर्कै छ।

बबरमहलकी सरस्वती प्रधानले सफा र शिक्षित भएर पनि रूपा सुनारलाई दिइसकेको कोठाबाट बहिष्कार किन गरिन् भने उनको जन्म कामी जातमा भएको हो। यसकारण उनी सञ्चारकर्मी हुन सकिन्, गायिका बन्न सकिन्, तर यो जातिवादी समाजको नजरमा ‘मान्छे’ बन्न सकिनन्, कहिले बन्न सक्दिनन् पनि। किनकि उनले आफ्नो कर्म फेर्न सक्छिन्, जन्म फेर्न सक्दिनन्।

यसैकारण एउटा दलित अनेक दुःख गरेर भए पनि मास्टर बन्न सक्ला, डाक्टर बन्न सक्ला, वैज्ञानिक बन्न सक्ला, एकदिन यो देशको प्रधानमन्त्री पनि बन्न सक्ला, तर निश्चित छ– ऊ कदापि ‘मान्छे’ बन्न सक्दैन। यो समाज कुनै हालतमा उसलाई मान्छे मान्न/स्वीकार्न तयार छैन।

अतः यहाँ दलित समुदायका मानिसले आफूलाई जति परिवर्तन गरे पनि तबसम्म उसले ‘मान्छे’ बन्न पाउँदैन, जबसम्म मान्छेलाई मान्छे बन्न नदिने सोच र संस्कारको अन्त्य हुँदैन। यो सोच र संस्कारको स्रोत के हो? पहिले त्यो पहिल्याऊँ र न्याय र समानता चाहने मानवतावादी सबै एकजुट भएर त्यसविरुद्ध संघर्षमा लागौं।

 

असार ६, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी
केशव सावद

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल
समर्पण श्री

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

सम्पादक
बिनु सुवेदी

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .