चनौटे बजारमा हामीले केही वर्षदेखि माछा पालिरहेका छौं। आफ्नै जग्गा भएकोले त्यहीँ फार्म बनाएर ट्राउट माछा पालेका हौं।
हामीलगायत ९ परिवारको ट्राउट माछा फार्म छ।
हिजो मंगलबार साँझ ६ बजेतिर हामी माछा फार्ममा काम गरिरहेका थियौं। एक्कासी मेलम्ची खोला उर्लेेर आयो। हामी खोलामा बगाएर ल्याइएका काठ उठाएर किनारामा ल्याउँदै थियौं। बाढी झन उर्लियो।
काकाहरुलाई बगायो। अलिकति तल पुगेर उहाँहरुलाई निकाल्न सकियो। उहाँहरुलाई सुरक्षित स्थानमा ल्याइयो। मेरो माइली हजुरआमालाई भने खोलाले कहाँ पुर्यायो अहिलेसम्म पत्ता लागेको छैन।
मेलम्ची बजारबाट ८ किलोमिटर माथि रहेको यो चनौटे बजारमा बाढीले २० मिनेटमा पुरै तहसनहस पार्यो।
चनौटे बजार यहाँको सबैभन्दा पुरानो बजार हो। जिल्लाका विभिन्न पर्यटकीय क्षेत्र घुम्नजाने बाटो यही हो। यही बजार हुँदै गोसाइँकुण्ड, हेलम्बु, सेर्माथाङ, पाल्चोकी जाने हो।
यो बजारमा करिब ५० घर छन्।
२० मिनेटमै मेलम्ची खोलाले यहाँ उपद्रो मच्चायो। बजारका सबै घरमा बाढी पसेको छ।
पुरै बजार बाढीले डुबाएको छ। अहिलेसम्म बजारका तीन घर पूर्णरुपमा क्षतिग्रस्त बनाएको छ। सो क्षेत्रमा रहेका ४ वटा रिसोर्ट बगायो।
क्रसर उद्योगले गिट्टी बालुवा निकालेर नदी किनार क्षेत्र झण्डै २० मिटर गहिरो बनाएका थिए। नदी आसपासमा केही संरचनाहरु बनाइएको थियो। तर, हिजो बेलुका ६ बजेपछि खोलाले बजार क्षेत्रमा २ मिटरभन्दा बढी पुरेको छ। बजार अहिले हिलाम्मे छ। जानसक्ने अवस्था छैन।
अहिलेसम्म हेर्दा ५० रोपनी भन्दा बढी खेत र बारी बगाइसकेको देखिन्छ। मैले पाएको जानकारीअनुसार अहिलेसम्म सो क्षेत्रबाट मेरो हजुरआमासहित ६ जना बेपत्ता हुनुभएको छ।
अहिले बेपत्ता भएका उहाँहरु प्राय सबै ५० वर्ष हाराहारी उमेरका हुनुहुन्छ। कोही भाग्दाभाग्दै खोलामा बग्नुभएको हो। उर्लेको खोलाले त्यसवरपर रहेका उत्तिसका सबै रुख ढालेको छ।
सो क्षेत्रमा विद्युत आपुर्ती बन्द छ।
निकै तलबाट बग्ने खोलाले यो पटक धार परिवर्तन गर्यो। अहिले खोला पुरै वारिपट्टी बगेको छ। बस्तीको बीचमा खोला बगेको छ। बाढी अझै रोकिएको छैन। बाढी हेर्दा मेलम्ची आयोजनाले काठमाडौं पानी लग्ने मुहानतिर भारी मात्रामा वर्षा भइरहेको जस्तो देखिन्छ।
पहिरो पनि व्यापक मात्रामा गएको हुनसक्छ। किनभने खोलामा त्यस्तै बाढी आएको छ।
अहिले हामी १०० मिटर माथि रहेको शेरा बस्तीमा छौँ। रातभरी जागै बस्यौं। रातभरी पानी परिरहेको थियो। अहिले वर्षा चाहिँ रोकिएको छ। तर, अझै पानी पर्ने संकेत देखिन्छ।
डुबानमा परेको बजारमा मानिसहरु जानसक्ने अवस्था नै छैन। ढुङ्गासहित बाढी आएको हुँदा बढी जोखिमपूर्ण छ।
मेरो घरको आँगनबाट खोला बगेको छ।
मैले सुनेसम्म ८० वर्षसम्म यस्तो बाढी अहिलेसम्म देखिएको थिएन रे।
मैले मेलम्ची बजारको बारेमा पनि जानकारी लिएको थिएँ। त्यहाँ बजार डुबेको छ। लार्के र याङ्री खोलाले त्यहाँ वितण्डा मच्चाएको छ।
त्यहि लार्के र याङ्री खोलाको पानी काठमाडौं लैजाने तयारी गरिएको हो।
मेलम्ची बजारमा तीनवटा पक्की पुल बगेका छन्। बजार पुरै धरापमा छ। धेरै मानिस बेपत्ता भएको प्रारम्भिक अनुमान छ।
सिन्धुपाल्चोकको यस चनौटे क्षेत्रमा सोमबार बेलुकादेखि पानी परेको हो। माथिल्लो क्षेत्रमा अलि बढी पानी परेको, केही पहिरो गएको भन्दै बाढी आउनसक्ने दिउँसैदेखि हल्ला सुनिएको थियो। तर, खोला २० मिटर तल रहेको र ठूलो क्षेत्र बगर रहेकोले खोलाले ठूलो क्षति पर्याउला भनेर हामीले सोचेकै थिएनौं।
म लगायत ९ परिवारको माछा फार्ममा गरिएको लगानी सबै डुब्यो।
रिसोर्टमा गरिएको लगानी पनि डुबेको छ।
अहिले म शेरा बस्तीमा छु। यहाँबाट मैले चनौटे बजारलाई नियालीरहेको छु।
हजुरआमालाई बेपत्ता बनाउने त्यो मेलम्ची खोलामा पसेर उहाँलाई खोज्नसक्ने अवस्थामा म छैन। बजार पुरै निरसलाग्दो बनेको छ।
यहाँबाट बजार हेर्दा विरक्त लाग्छ। यति वितण्डा मच्चाएको छ कि त्यो शब्दमा वर्णन गर्न सकिदैँन।
भिडिओ:
पैले हामी बस्ने गरेको सेरा गाउँबाट कैद गरिएको भिडियो। जुम् गरेर निकालेको चाहिँ हाम्रो घर। रातोपुल भन्दा माथीको चनौटे बजार। यसअघि मेलम्ची हाम्रो घरबाट झन्डै डेढ मिटर मुनि र पारीबाट बग्थिन्, ऐले हाम्रो घरकै आँगनबाट बगेकि छिन्। बाढी हेर्नुहुन्छ भने ज्वालामुखीको लाभा जस्तै बगेको छ। pic.twitter.com/egSwfeMtGY
— Deep Kiran Khadka 迪普 (@KhadkaKiranDeep) June 16, 2021
प्रतिक्रिया