ad ad

राजनीति


मेरो नेतृत्वको प्रदेश सरकारले गरेका ४९ उपलब्धि : पृथ्वीसुब्बा गुरुङ

मेरो नेतृत्वको प्रदेश सरकारले गरेका ४९ उपलब्धि : पृथ्वीसुब्बा गुरुङ

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १६:७,

नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको लामो र गौरवपूर्ण ऐेतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलनलगायत संघर्षका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति सम्मान व्यक्त गर्दछु। बेपत्ता, घाइते योद्धा र पीडितहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु। नेपालको युगान्तकारी परिवर्तनका लागि भएका राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको आन्दोलनमा अगुवाइ गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदानको उच्चसम्मानसहित स्मरण गर्न चाहन्छु।

यतिबेला हामी सत्य र तथ्यको बीच हाम्रा आन्दोलनका उपलब्धि, हाम्रा कार्यकालका प्रतिफल लेखाजोखा मात्र गरिरहेका छैनौं। जनताका दैन्दिनका सवालहरुका समयोचित र यथोचित जवाफहरु पनि हाम्रा कर्म र कार्यबाट दिइरहेका छौं। गौरवपूर्ण इतिहासका गीत गाएर सुन्दर भविष्यमा डढेलो सल्काउने कार्य हामी कोही र कसैबाट पनि हुनुहुन्न भन्ने कुरामा म दृढ संकल्पित छु। गण्डकी प्रदेशका जनता र तिनका सपना पूरा गर्ने कार्यमा अविचलित रुपमा लागिरहने प्रतिज्ञा पनि गर्दछु। हामीले सत्तामा हुँदा र नहुँदा, पद पाउँदा र नपाउँदा बोलीने भाषा र गरिने  व्यवहारहरु निरपेक्ष हुनु पर्दछ। जनताप्रति गरिने विश्वासघात कुनै पनि तर्कमा साबित हुन सक्दैन। जनताको निर्णयलाई चुनौती दिन सकिँदैन।जनता महान् छन्।

राजनीति पानीजस्तै हो, तरल, स्निग्ध, र कञ्चन तर जीव र मान्छेको सम्पर्कले पानी प्रदूषित भएदूषित कञ्चन र स्निग्ध राजनीतिलाई दल र तीनका नेताका कुण्ठा, आग्रह, प्रतिआग्रहका कारण फोहोरी बनाइयो। राजनीतिलाई सत्ताको खुड्किलो मात्रै बनाउनु हुन्न र सोहीअनुसारको व्यवहार गर्नु हुँदैन। संवैधानिक व्यवस्थाअनुसार गण्डकी प्रदेशका जनताको फैसलाबमोजिम नै नेकपा एमाले संसदीय दलको नेताको रुपमा गण्डकी प्रदेश सभाका वामपन्थी दलहरुको समर्थन र सहयोगमा मेरो नेतृत्वमा २०७४।११।०४ गते देखि सरकार गठन गरी कामकाज गर्दै आइरहेको छु।

यो ऐतिहासिक समय र अवसरका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा तथा गण्डकी प्रदेश सभाका सदस्यलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।

गण्डकी प्रदेशका जनताका भावना, आकांक्षा र विश्वासको कदर गरेर नै यो प्रदेशलाई देशभरका प्रदेशहरुमा अब्बल प्रदेश, उत्कृष्ट प्रदेश सरकार र प्रभावकारी प्रदेश सभा बनाउन हामी सफल भयौं। यो अब्बलताको यात्रामा मेरो नेतृत्वमा गण्डकी प्रदेशले अन्य प्रदेशलाई कतिपय क्षेत्रमा मार्गदर्शन गरेको छ। सीमित साधन स्रोत र बजेटका आधारमा हामीले प्राप्त गरेका उपलब्धिहरु लोभ लाग्दा छन्। संघीयताका कोसेढुंगा बनेका छन्। समृद्ध प्रदेश र सुखी नागरिक वनाउने ध्येयमा पुग्ने गरी दिगो विकास लक्ष्य पूरा गर्न सरकार पक्षधर दलहरु मात्रै नभै प्रतिपक्षी दलहरु समेतको विश्वास अनुभवमा सहकार्य गरेका धेरै अनुभवहरु छन्।

सरकार सञ्चालन सुरु गरेदेखि नै ‘समृद्ध प्रदेश र सुखी नागरिक’को प्रादेशिक आकांक्षा पूरा गर्न दीर्घकालीन प्रादेशिक लक्ष्य तथा दिगो विकास लक्ष्य, वि.सं.२०८७ का प्रादेशिक लक्ष्यहरुलाई मध्यनजर गरी प्रमुख प्रतिपक्ष तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दलहरुको अधिकतम् समन्वयमा प्रदेश सरकारले काम गर्दै आएको सर्वविदितै छ। यो सरकारले प्रतिपक्षी दलहरु समेतलाई विश्वासमा लिई सरकार सञ्चालन गर्ने संस्कारको विकास गर्ने तीन वर्षको छोटो अवधिमा नै प्रदेशका नागरिकले अनुभूति गर्ने गरी समृद्ध प्रदेश निर्माणको बलियो आधारशीला निर्माण गरेको छ।

समृद्ध प्रदेश र सुखी नागरिकको आकांक्षा हासिल गर्न तय गरिएका अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन सोच, अन्तर्राष्ट्रिय प्रतिबद्धता, दिगो विकास लक्ष्य, प्रदेशका नागरिकको विकासको चाहना, जननिर्वाचित प्रतिनिधिमार्फत मुखरित जनभावना,  विज्ञ तथा सरोकारवालाहरुले दिएका सुझावलाई आत्मसात् गरी उपलब्ध स्रोत साधनको अधिकतम र दक्षतापूर्वक उपयोग गर्दै मेरो नेतृत्वको प्रदेश सरकारले प्राप्त गरेका मुख्य-मुख्य उपलब्धि निम्न अनुसार छन् :

१‍. प्रदेशको नामाकरण र राजधानी निर्धारण सहमतिमै गरी उदाहरणीय राजनीतिक सन्देश दिएको छ।

२. संघीयताको मर्मबमोजिम आठवटा मन्त्रालय, निर्देशनालय, केन्द्र तथा प्रतिष्ठान र जिल्लास्थित कार्यालय समेत १५७ वटा कार्यालयहरु तथा २,८८५ कर्मचारीको दरबन्दी व्यवस्था गरी प्रदेश सरकारका सेवा प्रवाह गरिएको छ।

२. प्रदेश सरकारको संविधान प्रदत्त समग्र अधिकार क्षेत्रको कार्यान्वयन गर्न आवश्यक पर्ने ४६ ऐन र १० नियमावली तर्जुमा गरी कार्यान्वयन गरिएको।

३. प्रदेश लोक सेवा आयोग, गण्डकी विश्वविद्यालय, प्रदेश नीति तथा योजना आयोग, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, प्रदेश खेलकुद परिषद्, सूचना प्रविधि पार्क, ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक प्रतिष्ठान, गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान र प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गरी सञ्चालन गरिएको छ।

३. प्रदेश नीति तथा योजना आयोगको गठन गरी योजना तर्जुमा क्षेत्रमा उल्लेख्य कामहरु भएका छन्। योजनाबद्ध विकासबाट समृद्धि हासिल गर्न प्रदेशको दीर्घकालीन सोच ‘समृद्ध प्रदेश र सुखी नागरिक’सहितको प्रथम पञ्चवर्षीय योजना ९आव २०७६/७७९ २०८०/८१० कार्यान्वयनमा ल्याइएको छ।

४. संघ, प्रदेश र निजी क्षेत्रले कार्यान्वयन गर्ने गरी २३ वटा प्रदेश गौरवका आयोजनाहरु निर्धारण गरी प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइएको।

५. प्रदेशभित्र १९५ किमि सडक कालोपत्रे तथा ढलान र ३६४ किमि सडक ग्राभेल गरिएको छ। ३६ सडक पुलहरुको निर्माण सम्पन्न गरिएको छ। स्थानीय तहको केन्द्र जोड्ने सडक र एक निर्वाचन क्षेत्र एक सडक विकास कार्यक्रमअन्तर्गत गरी कूल ६३२ किमि सडक कालोपत्रे गर्न र ८३ वटा सडक पुल निर्माण गर्न ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको छ।

६. प्रदेशमा हालसम्म १८ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् भने ४४ झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छन्।

७. प्रदेशका सबै नागरिकलाई आधारभूत खानेपानी सेवा विस्तार गर्ने कार्यक्रमअन्तर्गत १०२ आयोजनाहरु सम्पन्न भई ५,४९८ घर परिवारका २९,५०६ जनसंख्या लाभान्वित भएका छन्। त्यसै गरी ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत २०५ वटा आयोजना सम्पन्न भई ६१,०६३ निजी धारा जडान गरिएको र यसबाट ३ लाख ३० हजार ७ सय जनसंख्या लाभान्वित भएका छन्। हाल ८९६ खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छन्।

८. निर्माण सम्पन्न भएका नयाँ सिँचाइ आयोजनाबाट २,२१३ हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ। पुराना तथा जीर्ण सिँचाइ आयोजनाको स्तरोन्नति र नवीकरणबाट १०,३६५ हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ। हाल ३४७ सिँचाइ आयोजनाहरु निर्माणाधीन अवस्थामा छन्।

९. उज्यालो गण्डकी प्रदेशअन्तर्गत विद्युत् सेवा पुगेका घर परिवार ८२ प्रतिशतबाट बढेर ९८.९ प्रतिशत पुगेको छ। जसअन्तर्गत ९२.७९ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युतीकरण गरिएको छ। २९,८११ काठे पोल स्टिल पोलद्वारा प्रतिस्थापन गरिएको छ।

१०. नदी नियन्त्रण कार्यअन्तर्गत ५६.५ किमि तटबन्ध निर्माण गरिएको छ। नदी नियन्त्रण कार्यबाट १,५५४ हेक्टर जमिन उकास भएको छ। हाल ६५ वटा नदी नियन्त्रणका योजनाहरु कार्यन्वयनको चरणमा छन्।

११. जनता आवास कार्यक्रमअन्तर्गत १, ३२० घर निर्माण सम्पन्ना भएका र २२५ घर निर्माणाधीन छन्।

१२. सवारी तथा यातायात सेवा प्रवाह सहज बनाउन थप ४ वटा जिल्लामा यातायात व्यवस्था कार्यालय/शाखा स्थापना गरी ७ वटा जिल्लाहरुबाट सेवा प्रवाह भैरहेको छ। प्रदेशस्तरमा सवारी परीक्षण कार्यालय स्थापना गरिएको छ।

१३. निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गत वर्ष ७९२ आयोजना सम्पन्न भएका र चालु आवमा ८४२ योजना कार्यान्वयन भइरहेका छन्।

१४. उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले ८५ स्थानीय तहका ८७ गाउँमा ‘मुख्यमन्त्री जलवायमैत्री नमुना कृषि गाउँ कार्यक्रम’ कार्यान्वयनबाट ८,५०० कृषक घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन्।

१५. प्रदेशका प्राथमिकता प्राप्त बाली/वस्तुहरूमा १, ४८९ मोडल फार्म सञ्चालन गरिए र यस आर्थिक वर्षमा थप ४५० फर्म स्थापना तथा विस्तार गरिएको छ।

१६. हालसम्म १, ९२९ रोपनी खेतीयोग्य भूमिको चक्लाबन्दी गरिएको र यस वर्ष थप ३,००० रोपनी खेतीयोग्य भूमिको चक्लाबन्दी भइरहेको छ।

१७. जिल्ला अस्पतालहरुमा ५२ शय्या थप गरिनुका साथै सघन उपचार कक्षमा २४ थान भेन्टिलेटर जडान भइसकेको छ।

१८. धौलागिरि उपप्रादेशिक अस्पताल बागलुङ, लमजुङ, गोरखा, मध्यविन्दु, र संक्रामक तथा सरुवा रोग अस्पताल, पोखरामा २५ शय्याका दरले कूल १२५ शय्यालाई स्तरोन्नति गरिएको छ। धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङ, बेनी अस्पताल म्याग्दी, स्याङ्जा जिल्ला अस्पताल, दमौली अस्पताल तनहुँ र पर्वत अस्पतालमा डायलाइसिस सेवा सञ्चालनमा ल्याइएको छ।

१९. प्रदेशका जिल्ला स्थित अस्पतालहरुमा संक्रमितहरुको व्यवस्थापनका लागि क्षमता विकास गर्दै कोभिड– १९ संक्रमितहरुको उपचार गर्ने व्यवस्था गरिएको छ।

२०. सरकारी सामुदायिक तथा निजी क्षेत्रहरुमा १४१३ शय्यासहितका ४० आइसोलेसन केन्द्रहरु स्थापना गरी संक्रमितको व्यवस्थापन गरिँदै आएको छ।

२१. कोभिड-१९ को पीसीआर परीक्षणका लागि पोखरा, बागलुङ उपप्रादेशिक अस्पताल र मध्यबिन्दु अस्पतालमा दैनिक १,७०० व्यक्तिको पीसीआर परिक्षण गर्ने व्यवस्था मिलाइएको छ।अटो एक्ट्र्याक्सन मेसिन जडान गरी पीसीआर परीक्षणको क्षमता समेत विस्तार गरिएको छ।

२२. धौलागिरि उपप्रादेशिक अस्पताल बागलुङलाई २०० बेडको अस्पतालमा र जिल्ला अस्पताललाई ५० बेडका अस्पतालमा स्तरवृद्धि गर्ने कार्य प्रारम्भ भएको छ।

२३. कोभिड-१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश सरकारले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषको स्थापना गरी खर्चको व्यवस्थापन गर्दै आएको छ।

२४. प्रदेश संक्रामक तथा सरुवारोग अस्पताल, प्रदेश आयुर्वेद अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश आपूर्ति केन्द्र र बायोमेडिकल मर्मत प्रयोगशाला निर्माणको क्रममा छन्।

२५. प्रदेशमा पहिलो चरणमा १,२७,७४१ व्यक्तिले कोभिड-१९ विरुद्ध खोप लगाएका छन्।

२६. ग्रामीण र दुर्गम स्थानका ३९ जना गर्भवती/सुत्केरी महिलाहरूलाई सुविधासम्पन्न अस्पतालमा एयर लिफ्टिङ गरिएको छ।

२७. पोखरा महानगरपालिका वडा नं. ३३ पशुपतिघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने कार्य अगाडि बढेको छ।

२८. एक स्थानीय तह एक खेल मैदानको नीतिअनुरूप ५६ गाउँपालिकामा खेल मैदान र २० नगरपालिकामा रङ्गशाला निर्माणमा सहयोग गरिएको छ।

२९. गण्डकी विश्वविद्यालय ऐन, २०७६ बमोजिम गण्डकी विश्वविद्यालय सञ्चालनमा आएको छ। पहिलो चरणमा सूचना प्रविधि र चिकित्सा विज्ञान गरी दुई संकायमा पढाइ सञ्चालन गर्ने तयारी गरेको छ। विश्वविद्यालयका शैक्षिक तथा प्रशासनिक भवन निर्माणका क्रममा छन्।

३०. गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान ऐन, २०७६  बमोजिम प्रतिष्ठान सञ्चालनमा आएको छ। स्याङ्जाको फेदीखोला गाउँपालिकामा यसका पूर्वाधार निर्माण चरणमा छन्।

३१. ग्रामीण क्षेत्रमा गरिबी निवारण र पर्यटन क्षेत्रको विविधीकरण गर्न हालसम्म ३०८ होमस्टे प्रबर्द्धन गरी करिब १०,००० व्यक्ति स्वरोजगार भएका छन्।

३२. पोखरा महानगरपालिका वडा नं. ३३ पुँडीटार र नवलपुरको लोकाहा खोलामा प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाको प्रक्रिया अगाडि बढाइएको छ।

३३. २३ स्थानीय तहमा उद्योगग्राम स्थापनाको काम अगाडि बढेको छ र २० स्थानीय तहमा सम्भाव्यता अध्ययन भइरहेको छ।

३४. प्रदेशमा २१,९५८ नयाँ उद्योग तथा १०,८७९ व्यापार व्यवसाय दर्ता गरिएको छ।

३५. प्रदेशका नागरिकहरुको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आफ्नो स्थायी भवनहरु नभएका २२ इलाका प्रहरी कार्यालय/प्रहरी चौकीको निर्माण कार्य भइरहेको छ।

३६. हालसम्म ५५ प्रतिशत बेरुजु फर्छ्यौट भएको छ र बाँकी फर्छ्यौटको चरणमा छ।

३७. कोभिड–१९ ले पर्यटन, यातायात, कृषि, उत्पादन तथा सेवा क्षेत्रमा पारेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्दै उत्पादन तथा रोजगारी अभिवृद्धि गर्न उद्यमी तथा व्यवसायीहरुलाई निर्ब्याजी कर्जा उपलब्ध गराउन साना व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। हालसम्म करिब ७,४०० निवेदकबाट करिब  ८ अर्बको ऋण माग भएकोमा ४ अर्ब ५१ करोड कर्जा स्वीकृत भएको छ।

३८. गण्डकी प्रदेशमा निजी क्षेत्रको लगानी आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा १६.८६ प्रतिशतले र २०७६/०७७ मा १९.८७ प्रतिशतले वृद्धि भएको छ।

३९. निजी क्षेत्रको बचत सङ्कलन आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा १६.६० प्रतिशतले र २०७६/०७७ मा ३९.७२ प्रतिशतले वृद्धि भएको छ।

४०. आर्थिक वर्ष २०७५/०७६ मा रु २१ अर्ब ४७ करोड ७० लाख ९३ हजार, आर्थिक वर्ष २०७६/०७७ मा रु २२ अर्ब ४८ करोड ३५ लाख १० हजार, र आर्थिक वर्ष २०७७/०७८ चैत्र महिना सम्ममा रु १५ अर्ब ५९ करोड ९७ लाख ४६ हजार स्रोत परिचालन भएको छ।

४१. प्रदेश सरकारले सञ्चालित कार्यक्रमबाट वार्षिक प्रत्यक्ष र अप्रत्यक्ष गरी कूल ५४,००० व्यक्तिलाई वार्षिक १०० दिन बराबरको रोजगार सिर्जना भएको छ।

४२. विगत दुई वर्षमा निरपेक्ष गरिबीको रेखामुनि बस्ने जनसंख्या १४.९१ प्रतिशतबाट घटेर १२.९१ प्रतिशतमा झरेको अनुमान छ।

४३. बंगलादेशका महामहिम राष्ट्रपतिको पोखरा भ्रमण, मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको तिब्बत र युनान प्रान्तका महामहिम गभर्नरको पोखरा भ्रमणबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन विकासमा टेवा पुगेको छ।

४४. मित्रराष्ट्र चीनको हेनान प्रान्तसँग गण्डकी प्रदेशको मितेरी सम्बन्ध स्थापना भएको छ। हेनानले गण्डकी प्रदेशका २० विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ। अमेरिकाको वासिङटन प्रान्तसँग मितेरी सम्बन्ध स्थापना हुने क्रममा छ।

४५. इजरायली आधुनिक कृषि प्रविधि नेपालमा भित्र्याउन प्रदेशका युवालाई तालिमका लागि पठाउने प्रक्रिया प्रारम्भ भएको छ।

४६. सरकार सञ्चालनका तीन वर्षको अवधिमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको उचित कार्यान्वयन हुँदा आम नागरिकमा प्रदेश सरकारप्रति विश्वास र भरोसा अभिवृद्धि भएको छ। पहिलो एतिहासिक प्रदेश सरकारप्रति प्रदेशवासीले देखाएको मायाले प्रदेश सरकारको महत्त्वलाई जनस्तरमा स्थापित गरेको छ।

४७. प्रदेश सरकारले लिएका समृद्धिका लक्ष्य पूरा गर्न केही महत्त्वपूर्ण कामहरु पूरा हुने चरणमा रहेका छन्। प्रदेश गौरवका आयोजनाअन्तर्गत कोरला त्रिवेणी सडक, शालीग्राम कोरिडोर, प्रदेश प्रशासनिक भवन, प्रदेश सभा भवन, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवन निर्माणका कार्य प्रारम्भ गरिएको छ। त्यस्तै एक निर्वाचन क्षेत्र एक सडक र स्थानीय तहको केन्द्र जोड्ने सडक, एक घर एक धारा खानेपानी योजना, प्रदेश शिक्षण अस्पताल निर्माण, गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक प्रतिष्ठानका पूर्वाधार निर्माण जस्ता समृद्धिका कार्यक्रमहरु सुरुवात मात्र भएका छन्।

आगामी दिनमा यी कामहरु पनि छिटै पूरा हुने विश्वास लिएका छु। 

लोकतन्त्र विधिको व्यवस्था हो। पारदर्शिता लोकतन्त्रको आत्मा हो। लोकतन्त्रमा सबै कारोबारहरु परीक्षण सम्परीक्षण भइ नै रहन्छन्। प्रदेश सरकार यी सबै कार्यमा सचेत छ। कोरोना महाव्याधिकै क्रममा जिल्ला अस्पतालहरुमा आईसीयू कक्ष, उच्च गतिको अक्सिजन उत्पादन र प्रवाह गर्ने व्यवस्था भेन्टिलेटरको व्यवस्था मेरो नेतृत्वको सरकारले गरेको हो। अस्पतालहरुको स्तरोन्नति गरिएको छ। शय्याहरु थप गरिएका छन्।

डायलसिस सेवा थप गरिएको छ। स्वास्थ्य क्षेत्रको दीर्घकालीन अवसरलाई ख्याल गरी गण्डकी विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल स्थापना गर्ने निर्णय दूरदर्शीताको द्योतक हो। गण्डकी प्रदेश सरकारले गरेका कामको मूल्याङ्कन र त्यसको प्रभावकारिताका लागि प्रदेश सभाले पास गरेको संकल्प प्रस्ताव र त्यसका लागि बनेको माननीयहरुको अनुगमन कार्यदलले जिल्लाहरुको वस्तुस्थिति बुझ्ने कार्य भइरहेको छ। तर मूल काम छाडेर राजनीतिक दाउपेचमा अल्झिनु न्यासंगत हुँदैनथ्यो। पक्कै पनि भविष्यले यो प्रवृत्तिलाई दण्डित गर्नेछ।

हामीले राज्यको पुन:संरचना गरेपछि गठित प्रदेश सभाहरु संविधान कार्यान्वयन र संघीयता सुदृढीकरणका लागि अगुवा साबित हुने विश्वास थियो। समितिहरु मिनि पारलियामेन्ट हुन्। तिनका बैठक,  भएका छलफल र लिइएका निर्णयहरुले सरकारलाई मार्गदर्शन गर्दछन् भन्ने विश्वास गरिन्छ। संघीयताई बलियो बनाउन, प्रदेशलाई सुदृढ र अधिकार सम्पन्न बनाउने लडाइँमा प्रदेश सभा र तीनका समितिहरुका क्रियाशीलता, सहयोग र समर्थन निरन्तर भइरहनुपर्दछ। प्रदेश सभाका गतिविधि सञ्चालनका लागि आवश्यक मागअनुसार सरकारले सहयोग उपलब्ध गराएको छ। ती प्रदेश सरकारका लागि सहयोग पुर्‍याउने पक्ष हुन्।

म शक्ति पृथकीकरणमा विश्वास गर्दछु। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको गतिशीलताले नै लोकतन्त्रको भविष्य निर्धारण गर्दछ। हामी सबैले हेक्का राख्नुपर्ने के हो भने हामीले यात्रा गर्ने साधन संघीय लोकतान्त्रिक गणतन्त्रको डुङ्गा नै हो।

मेरो नेतृत्वको सरकार गठन गर्दा नेकपा माओवादी केन्द्र सहयात्री दल थियो। समयक्रममा एउटै दलमा सामेल भएका पनि हौं, तर राजनीतिक घटनाक्रम र सर्वाेच्चको फैसलापछि दुवै दल छुट्टाछुट्टै भएको तथ्य साँचो हो। तर के एउटा दल भएपछि दलको नीति र नेतृत्वको रक्षा गर्नुपर्दैन? आफ्नै नेतृत्वका विरुद्धमा सडकदेखि सदनसम्म गरिएका अराजनीतिक गतिविधिलाई लोकतन्त्र भनेर छुट दिन सकिन्छ र? लोकतन्त्र भनेको अराजकता होइन। यो भिडतन्त्र पनि होइन। एउटा विधिमा, नीतिमा, नेतृत्वमा चल्नुपर्ने पार्टीलाई बटुवा वास बस्ने पाटी बनाउन सकिन्छ र? पाटीमा जो अगाडि बस्यो उही नेता नहुन पनि सक्छ। नेता त नीति, विचार, नेतृत्व र विधिले मात्र बनाउने गर्दछ।

नेपालको लोकतन्त्रको आन्दोलनमा नेपाली कम्युनिस्टहरुको योगदानलाई अवमूल्यन गरेर कसरी आन्दोलनको सही मूल्याङ्कन हुन्छ? गण्डकी प्रदेशका जनताले दिएको म्यान्डेट त नेकपा एमाले ठूलो दलका रुपमा सरकार सञ्चालन गर, नेपाली कांग्रेस प्रतिपक्षमा बस भनेकै हो नि। खोइ जनअपेक्षाअनुसार व्यवहार गरेको? एउटै चुनावी मोर्चावाट लडने, एउटै घोषणापत्रबाट प्रतिज्ञा गर्ने, सरकारमा बस्ने अनि अहिले आएर बञ्चरो प्रहार गर्ने प्रवृति लोकतन्त्र, संघीयता र गणतन्त्रका लागि हानि पुर्‍याउने प्रवृति हो।

हामीलाई थाहा छ- बञ्चरोले बिर्सन त सक्ला सयौं चोट पाएको रुखलाई जीवनभर आफ्नो चोटको याद हुनेछ। तर पनि हाम्रो पार्टी नेकपा एमाले र हामीफल दिइरहने वृक्ष हौं, शीतलता पनि दिएका छौं र दिइरहने छौं, तर जनताका बैरीलाई जनताले चिनेका छन् र उनैले दण्डित गर्नेछन्। लोकतन्त्रमा सबै खराबीहरुको उपचार जनताबाट हुनेछ।

संघीयताको मर्मबमोजिम नेपालको संविधानको सहज कार्यान्वयन गर्दै प्रदेशको समग्र विकास र समृद्धितर्फ प्रयत्नरत भई आफ्नो कार्य सञ्चालन गरिरहेकोमा देशमा स्थिरता नचाहने, विकास विरोधी तत्त्वहरुको अराजनीतिक चलखेलका कारण हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्रमार्फत निर्वाचनमा गएका दलहरुबाट समेत असहयोग र अस्थिरताको वातावरण सिर्जना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएकाले नेपालको संविधान २०७२ को धारा १६९ को उपधारा १ (क) बमोजिम माननीय प्रदेश प्रमुखज्यूसमक्ष आजैका मितिदेखि लागू हुनेगरी आफ्नो पदबाट राजीनामानामा दिएको छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .