ad ad

ब्लग


परिवार सदस्यबाटै बाल यौन हिंसा

परिवार सदस्यबाटै बाल यौन हिंसा

डा.अरुणा उप्रेती
साउन ३०, २०७६ बिहिबार १०:३०,

हाम्रो समाजमा बालबालिका यौन हिंसाबाट पीडित छन्। वयस्क भएकाले त आफूलाई कसले कहाँ छोएको छ, कुन नजरले हरेको छ भन्ने कुरा बुझ्न सक्छन्। उनीहरुलाई विभिन्न प्रलोभन दिएर लोभ्याउन पनि गाह्रो हुन्छ। ९–१० वर्षका बालबालिकालाई आऊ म तिमीलाई चकलेट किनिदिन्छु। पापा दिन्छु भनेर यौन दुव्र्यबहार गर्न सक्छन्। जुन कार्य अहिले भइरहेको पनि छ।

मैले नेपालका विभिन्न जिल्लाहरुमा गएर बालबालिकाहरुसँग कुराकानी गर्दा १०–११ वर्षका धेरै बालिका यौन उत्पीडनमा पारेको पाएँ। तीमध्ये धेरैजसो चाहिँ आफ्नै घर–परिवार वरपरबाट हिंसामा परेकाहरु छन्। परिवार सदस्यहरुले नै बालिकाको संवेदनशिल अंग (बक्षस्थल, योनी वा शरीरका अन्य सम्वेदेनशील अंग)मा छोए भने अरुलाई भन्न सक्ने सम्भावना हुँदैन। किन कि परिवार नजिकका मानिसले त्यसो गर्दा एक त बालिकाहरुले आफूमाथि हिंसा भइरहेको छ भन्ने चाल पाउँदैनन् अर्को कुरा उनीहरु अरुलाई भन्न डराउँछन्।

अर्को कुरा दाइले मलाई यस्तो गर्यो भनेर एउटी बालिकाले आमा, बुबा वा दिदीलाई भने पनि विश्वासिलो नहुन सक्छ। विश्वास गरे पनि त्यसलाई घरभित्रै दबाएर राख्ने सम्भावना रहन्छ।

यस्तो समस्या नेपालमा मात्र नभएर संसारभरि छ। अफगानिस्तानमा मैले काम गर्दा थाहा पाएँ त्यहाँ जमिनदारहरुले ९–१० वर्षका बालबालिकालाई आफ्नो यौन उत्तेजना शान्त पार्न खरिद गर्दा रहेछन्। आमा–बुबाले थाहा पाइपाइ नै आफ्ना छोराछोरी बेच्दा रहेछन्। नेपालमा त्यस्तै किसिमको अवस्था त नहोला तर बालबालिका घर होस् या परबाट यौन हिंसामा परेका छन्।

दुःखद् कुरा के छ भने शिक्षकहरुले पनि यस्तो व्यवहार गर्दा रहेछन्। सिन्धुपाल्चोक र मकवानपुरमा मैले आफैँले यस्तो अवस्था देखेकी छु। सिन्धुपाल्चोकमा त केही बालबालिकालाई म तिमीलाई राम्रोसँग पढादिन्छु र जाँचमा पास गराइदिन्छु भनेर यौन शोषण नै गरेकोसम्म देखियो। शोषणको पनि चरम रुप एकदिन बाहिर आयो र उनी समातिए। यस्ता विषय सितिमिति बाहिर आउँदैनन्। २० प्रतिशतको हाराहारीमा मात्र बाहिर आउँछन् भन्ने ६ वर्षअघि मैले एउटा अनुसन्धान गर्दा थाहा पाएकी थिएँ।

बालबालिकामाथि हुने यौन हिंसा गाउँ–घरमा नै लुकाउन खोजिन्छ। इज्जत र प्रतिष्ठाका कुराले गर्दा बालबालिका पछि गएर झन् शोषणमा पर्दै जान्छन्। बुबा, मामा, काकाको छोरा, दाइ, साथीको छोरा, छिमेकी आदिका कारण पीडित भएकाहरुको आवाज घरभित्रै दबाइन्छ। यस्ता कुराहरु प्रहरी समक्ष पुग्दैनन्।

मेरा चिकित्सक साथीहरुले भन्नुहुन्छ १४–१५ वर्ष उमेर भएका बालिकाहरुलाई अभिभावकले अस्पतालमा लिएर आउँछन्। उनीहरु गर्भवती भएका हुन्छन् र अभिभावक गर्भपतन गराउन चाहन्छन्। कसरी यस्तो भयो भनेर बुझ्दै जाँदा थाहा हुन्छ कि उनीहरु आफ्नै परिवारका सदस्यबाट पीडित भएका हुन्छन्। बालिका मात्र नभएर बालकहरु पनि यसबाट पीडित छन्। उनीहरुमाथि कसरी यौन दुराचार भइरहेको छ भन्ने कुरा बाहिर आउँदैन। यस्ता कुरा पनि बाहिर आउन आवश्यक छ।

बालबालिकालाई यस सम्बन्धमा ज्ञान दिनका लागि अथवा भनौँ उनीहरुमाथि भएको अभ्रद व्यवहार वा क्रियाकलाप कुन प्रकारको हो भन्ने जानकारी दिनका लागि गोष्ठी हुन आवश्य छ। यसबारेमा सरल भाषामा पुस्तक लेखेर उनीहरुलाई पढ्न दिन आवश्यक छ। तालिमहरु आवश्यक छ। यसो गर्दा उनीहरु आफूमाथि भएको यौन हिंसाबारे बोल्न सक्छन्।

स्कुलका शिक्षकहरुले पनि बालबालिकालाई यसबारे बुझाउनै पर्ने हुन्छ। अभिभावकले पनि आफ्ना छोराछोरीमाथि हुने यस्तो गम्भीर प्रकृतिको यौन हिंसालाई प्रतिष्ठाका कारण लुकाउनु हुँदैन। (आन्विका गिरिद्वारा लिखित दुई पुस्तक ‘सानीका ज्ञानी कुरा’ र ‘आमाले सक्नुहुन्छ’ सार्वजनिक कार्यक्रममा डा.उप्रेतीले व्यक्त गरेको मन्तव्यको सम्पादित अंश)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .