ad ad

ब्लग


बेइजिङमा लु सुनको घरभित्र महाकवि देवकोटा सम्झिँदा

बेइजिङमा लु सुनको घरभित्र महाकवि देवकोटा सम्झिँदा

चेतनाथ आचार्य
चैत २९, २०७७ आइतबार ८:२२,

८६ वर्षअगाडि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन खण्डकाव्य लेखे। जसमा मदन प्यारी मुनालाई छाडेर काम खोज्दै ल्हासा पुगेको कथा छ। अहिले हुँदो हो त मदन चीनको ल्हासा होइन, खाडी मुलुक जाने थिए अथवा मदनलाई छाडेर मुना इजरायल जाने थिइन्।

अहिले समय र परिस्थिति बदलिए पनि मेरो आफ्नै नियतिचाहिँ बदलिएको छैन। म आफ्नी ‘मुना’लाई छाडेर ८ वर्षदेखि ल्हासाभन्दा अझै टाढा बेइजिङमा बसिरहेको छु। मनमनै प्रश्न गर्छु– यो एक्काइसौं शताब्दीमा हाम्रा कथा लेख्ने कुनै देवकोटा जन्मिन्छन् कि जन्मिँदैनन्? त्यसो त म आफैं बेइजिङका सडक र गल्लीमा देवकोटा खोजिरहेको छु। साँच्चैका देवकोटा त किन भेटिन्थे र ! तर देवकोटाकै रूपमा प्रख्यात् चिनियाँ साहित्यकार लु सुन भने जताततै भेटिन्छन्।

लु सुन आधुनिक चीनका महान् साहित्यकार तथा चिन्तक हुन्। सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टी सत्तामा आउनुभन्दा १३ वर्षअघि नै सन् १९३६ अक्टोबर १९ का दिन साङहाईमा उनको देहान्त भएको थियो। उनी कहिल्यै चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य बनेनन्। तर आफ्ना साहित्यिक रचनामार्फत सधैं श्रमिक वर्गको आवाज उठाइरहे। कविता, निबन्ध, उपन्यास, नाटकजस्ता विधामा उनको कलम बेजोड चल्थ्यो।

उनले लेखेका डेढ सयभन्दा बढी निबन्ध नेपाली भाषामा पनि अनुवाद भइसकेका छन्। उनले लेखेको नाटक ‘आह क्युको साँचो कथा’लाई लघु उपन्यास पनि भनिन्छ। जुन कृति अहिलेसम्म दर्जनौं भाषामा अनुवाद भइसकेको छ। नेकपा एमालेका नेता रघुजी पन्तले हिमालखबर पत्रिकामा ‘टलकजंग भर्सेज टुल्के’ चलचित्रको समीक्षा गर्दै यसको कथा त्यही ‘आह क्युको साँचो कथा’ बाट लिइएको लेखेका छन्।

चीनमा लु सुन अत्यधिक लोकप्रिय हुनुको खास कारण उनको समाधिस्थलमा पुगेर माओ चतुङले आधुनिक चीनका महान् सर्जक र चिन्तक भनेर प्रशंसा गर्नु हो। चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य नभए पनि लु सुनले चीनका जनतालाई जागृत गराउन र क्रान्तिको बाटोमा डोर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले माओले उनको प्रशंसा गरेका हुन्।

लु सुनले भनेको एउटा वाक्य चीनमा निकै लोकप्रिय छ। भनेका छन् : हजारौं औंला मतिर सोझिए पनि म उनीहरूका आरोपलाई शालीनतासाथ अस्वीकार गर्छु र जनताको सेवामा गोरुजस्तै लागिरहन्छु।

लु सुन नेपालमा पनि निकै लोकप्रिय छन्। नेपालमा लोकप्रिय ३ विदेशी साहित्यकारमा लु सुन, म्याक्सिम गोर्की र प्रेमचन्दको नाम आउँछ। महाकवि लक्ष्मीप्रसाद देवकोटा र लु सुनबीच धेरै कुरामा समानता पाइन्छ। नेपालमा देवकोटा–लु सुन प्रज्ञा प्रतिष्ठानसमेत स्थापना भएको छ। सन् २०११ मा स्थापित यस संस्थाका प्रमुख अहिले निनु चापागाईं हुन्।

सन् २०१५ सेप्टेम्बरमा बेइजिङमा देवकोटा लु सुन सेमिनार भएको थियो। संयोगले त्यसमा यो स्तम्भकारले पनि सहभागी हुने अवसर पाएको थियो। नेपालबाट निनु चापागाईं, रणेन्द्र बराली, हरिगोविन्द लुइँटेल, कृष्ण प्रसाईं, रामबाबु सुवेदी, मात्रिका पोखरेल, महेश पौड्यालसँगै प्रख्यात् जनगायक जीवन शर्मा पनि थिए। सेमिनारको बीचबीचमा जीवन शर्माले जनवादी गीत गाएर हल नै गुञ्जायमान बनाएका थिए। गीत सुनेर चिनियाँ विज्ञले निकै भावुक भनाइ राखेका थिए। भनेका थिए, ‘लु सुनले साहित्यका सबै विधा समातेका थिए, तर गीतचाहिँ गाएनन्।’

सोही गोष्ठीकै सिलसिलामा बेइजिङस्थित लु सुन संग्रहालयको प्रांगणमा देवकोटाका रचना प्रदर्शनी पनि गरिएको थियो।

लु सुन धनाढ्य परिवारमा जन्मिएका थिए। समय क्रममा उनको परिवारले सबै सम्पत्ति गुमाए। फलस्वरूप उनी गरिबीको चपेटामा परे। पैसाकै अभावमा उनले जापानमा चिकित्साशास्त्रको पढाइ बीचमै छाड्नुपरेको थियो। शिक्षण पेसा अँगालेका लु सुनले साहित्यमा लागेपछि मानसम्मानसँगै सम्पत्ति पनि प्रशस्त कमाए। उनी चच्याङ प्रान्तका बासिन्दा थिए। पछि उनले साङहाईलाई कर्मथलो बनाए। जीवनका अधिक समय यहीं बिताएका लु सुनले साङहाईसँगै क्वाङचौ र बेइजिङमा पनि घर बनाएका थिए। अहिले ती तीनवटै घरलाई चीन सरकारले लु सुन संग्रहालय बनाएको छ।

Lu Xun2

बेइजिङस्थित दोस्रो चक्रपथको भित्रपट्टि रहेको लु सुन संग्रहालय प्रख्यात् नेपाली कलाकार अरनिकोले बनाएको श्वेत चैत्यनजिकै छ। जसलाई संग्रहालय भन्नुभन्दा लु सुनको घर भनियो भने भावनात्मक प्रभाव बढी पर्छ। किनकि पहिले यो लु सुनको घरै थियो। प्रांगणमा लु आफैंले रोपेका रूखले यसको सौन्दर्यलाई अझ बढाएका छन्। पुराना काष्ठकलाबाट सुसज्जित घरभित्र लु सुनका अध्ययन कोठा, साथीसँग बसेर कुराकानी गर्ने बैठक स्थल, उनले प्रयोग गरेको लालटिन, चुरोटका ठुटा राख्ने एसट्रे, चिया खाने कप, उनले लगाएका लुगा छन्। लु सुनका आमा र श्रीमती सुत्ने साना र चिटिक्कका कोठामा पलङ र ओछ्यान सुकसुकाउँदा छन्। लु सुन सुत्ने खाट त झन् अचम्मकै छ। जुन दुईवटा टुलमाथि फलेक ओछ्याएर बनाइएको छ।

भित्र विभिन्न चित्रकारले बनाएका लु सुनका पेन्टिङ, उनका बाल्यकालदेखिका तस्बिर, उनका आमा, श्रीमती तथा परिवारका तस्बिर भित्तामा झुन्ड्याइएका छन्। त्यहाँ सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति भनेको लु सुनले सिर्जना गरेका पाण्डुलिपि कृति हुन्। विशेषगरी रातको समय लु सुनले चिया खाँदै साहित्यिक सिर्जना गर्ने गरेको कुरा संग्रहालयमा राखिएका तस्बिरले स्पष्ट पार्छन्। लु सुनले लेखेका चिनियाँ भाषाका कृति तथा अन्य भाषामा अनुवाद भएका कृति पनि संग्रहालयमा छन्। दुःखको कुरा, नेपाली भाषामा अनुदित उनका कुनै कृति भने त्यहाँ देखिँदैन।

संग्रहालय हेरिसकेपछि बाहिर निस्कने गेटको ठीकभित्रपट्टि लु सुनका कृति बिक्री कक्ष छ। संग्रहालय अवलोकनमा आउने व्यक्तिले लु सुनका कुनै न कुनै कृति किनेर लाने बुझेरै बिक्री कक्ष बनाइएको हुनुपर्छ। बिक्री कक्षसँगै क्याफे पनि छ।

चीनका ३ सहरमा लु सुन संग्रहालय छन्। नयाँ पुस्तालाई लु सुनबारे जानकारी लिन र उनका कृति पढ्न सधैं उत्प्रेरित गरिन्छ। लु सुन संग्रहालय घुमिरहँदा मैले झल्झली महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्झिएँ। उनलाई नै सम्झिनुपर्ने कारणचाहिँ साढे ५ वर्षअघि बेइजिङमा लु सुन–देवकोटा प्रज्ञाप्रतिष्ठानका वरिष्ठ साहित्यकारसँगको भेट (सेमिनार) नै थियो।

लु सुनको जस्तै देवकोटाको जीवन पनि गरिबी र अभावले गाँजेको थियो। हिजोआज काठमाडौंमा घरघडेरी हुने मान्छेलाई सम्पन्न मानिन्छ। काठमाडौंको डिल्लीबजारमा घर भएका महाकवि देवकोटा कसरी गरिब भए, मलाई थाहा छैन। ‘उनी गरिब थिए, तलब थापेकै दिन उधारो तिर्दातिर्दा पैसा सकिन्थ्यो र कोट अनि घडी पनि पसलमै बुझाउँथे, आफूले लेखेका कविता बेच्थे’ यस्ता कथन धेरै पढिए/पढिँदै छन्। प्रश्न उठ्छ– त्रिचन्द्र क्याम्पसमा पढाउने र बिहान–बेलुका ट्युसन पढाउने व्यक्ति कसरी गरिब भए?अझ एकपटक देवकोटा शिक्षामन्त्रीसमेत भएका थिए। ‘एकपटक मन्त्री भएको मान्छेले तीन पुस्तालाई पुग्ने गरी कमाउँछ’ भन्ने भनाइ देवकोटाका निम्ति किन चरितार्थ भएन !

भनिन्छ, सिर्जनामा रमाउने मान्छे भावुक हुन्छन्। अति कल्पना र भावनामा बहकिनाले पागलपन उत्पन्न हुन्छ। त्यही क्रममा उनीहरूले रचनाको बाढी लगाउँछन्। देवकोटा पनि साथीहरू भेला गरेर कविता सुनाउने र उपहारमा दिने गर्थे रे ! यही भएर हुन सक्छ, उनी धनमा गरिब भए पनि मनका धनी थिए।

केही वर्ष अगाडि डिल्लीबजारस्थित देवकोटाको घरलाई सरकारले किनेर संग्रहालय बनाउने कार्यक्रम अगाडि बढाएको समाचार आएको थियो। संग्रहालय बन्यो कि बनेन, थाहा छैन। संग्रहालय बनिहाल्यो भने त्यहाँ के के राखिन्छन् होला भनेर लु सुनको संग्रहालयबाट बाहिर निस्किएर सोच्न थालें। देवकोटाले लेखेका पाण्डुलिपि भेटिएलान्? देवकोटाले तान्ने चुरोटका ठुटा देख्न पाइएला? उनले प्रयोग गरेका कलम सुरक्षित छन् त? उनले लगाएका लुगाफाटा अझै होलान्? देवकोटा सुत्ने खाट, उनले खसीको टाउकाको मासु खाने कचौरा, उनका जुत्ताचप्पल, फेटा आदि संग्रहालयमा राखिएलान्?

संग्रहालय भनेको भवन मात्र होइन, भावना पनि हो। जहाँका हरेक कुराले त्यही समय झल्काउनुपर्छ। जस्तो अनुभूति लु सुन संग्रहालय पस्ता हुन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .