केही समय अगाडि झम्सीखेलको कुनै बाटोमा म मोटरसाइकलमा यात्रा गर्दै थिएँ। बाटोमा एउटा गाडी रोकिराखेको थियो। चालक सिटमा बसेका एक व्यक्तिले आलु चिप्सको खोल बाटोमा फ्यालेको देखेर मेरो पारो छुट्यो। उनको अगाडि लगेर मैले मोटरसाइकल रोकें अनि भनें, ‘ओइ, ४० लाखको गाडी चढेर, ४० रुपैयाँको चिप्स खाएर खोल चाहिँ बाटोमा फाल्ने, तेरो ४० पैसाको पनि बुद्धि छैन?’
मेरो कुरा सुनेर त्यो मान्छे रिसले आगो भएर गाडीबाट ओर्लियो र मेरो कठालो समात्दै भन्यो, ‘लु मेरो बुद्धि छैन, के गर्छस्?’
हामीबीच झन्डै हानाहान पर्यो। हुन त मैले फोहोर यसरी नफाल्नु भन्न खोजेको हो, तर मैले दिन खोजेको सन्देश उनकोमा पुग्नु अगाडि नै उनको रिसको भुङ्ग्रोमा जलेर खरानी भयो। मैले एक शत्रु कमाएँ र चाहेको र खोजेको परिवर्तन पनि सम्भव भएन।
झम्सिखेल घटनाको करिब २ वर्षपछि एक दिन म चाबहिलको उकालोमा जाम खुलेर मोटरसाइकलमा अगाडि बढौँला भनी कुरेर बसेको थिएँ। मेरो छेउमा टिपर थियो, जसका चालकले पराग खाएर खोल बाटोमा फाले। म चालक नजिकै गएँ र भनें, ‘नमस्ते गुरुजी, आराम हो?’
उनले अलमल गर्दै नमस्ते फर्काए र भने, ‘मैले तपाईंलाई चिनिनँ त।’
‘म पनि तपाईंलाई चिन्दिनँ तर एउटा कुरा भनुँ कि भनेर’।
उनले ‘हुन्छ, भन्नुस् न’ भनेर स्वीकृति जनाए।
‘सुन्नुस् न, पराग खाने नखाने तपाईंको इच्छा तर खोल बाटोमा फाल्दा फोहोर हुन्छ। अहिले एक पटक त म टिप्दिन्छु, अर्को पटकदेखि नफाल्नुस् है।’
मैले त्यति भन्न नपाउँदै उनले भने, ‘ओहो, सरी है सरी। त्यो खोल मलाई नै दिनुस् र अबदेखि म यसरी खोल बाटोमा फाल्दिनँ।’
मैले परागको खोल टिपेर उनलाई नै दिएँ। त्यसपछि जाम पनि खुल्यो हामी आ–आफ्नो बाटो लाग्यौं। यस पटक मेरो सन्देश सम्बन्धित मान्छेसम्म पुग्यो जस्तो लाग्यो।
मेरो जिन्दगीका यी दुई घटनाहरू अक्सर म सबैलाई सुनाइ रहन्छु। यी दुई घटनाले परिवर्तनलाई हेर्ने मेरो दृष्टिकोण नै परिवर्तन भएको छ।
आज पनि बहसको विषय परिवर्तन नै हो। फेरि परिवर्तनकै नाममा देशका धेरै ठाउँमा बम पड्किएका छन्। केही मानिसहरूले ज्यान गुमाएका छन् र नागरिकहरूले आतङ्कित महसुस गरेका छन्। सोमबार सडकमा गाडीहरू धेरै न्यून छन्, पसलहरू बन्द छन्, विद्यालयहरू बन्द छन् र विप्लवजीको पार्टीले आयोजना गरेको बन्द ‘सफल’ भएको छ।
साधरणतः हत्या, हिंसा कसैलाई पनि प्यारो लाग्दैन। मेरो विचारमा जनयुद्धु सुरु गर्ने प्रचण्ड, बाबुराम र अहिलेको रक्तिम क्रान्तिका नेता विप्लवजीलाई पनि हत्या, हिंसा, आतंक प्यारो लाग्दैन। तर पनि किन यसो गरे त विप्लवले? उनीसँग यो प्रश्न सोधे उनले के जवाफ देलान्? मेरो विचारमा यो एक प्रश्नको उत्तरका लागि उनलाई भेटिरहनु पर्छ जस्तो लाग्दैन।
छोटोमा उनको उत्तर यस्तो होला, ‘समाज परिवर्तन तथा सबै तह तप्काका नागरिकहरूको अधिकारको लागि।’
सबैले आफूलाई ठिक लाग्ने विचारकै बहस गर्छन्। विप्लवलाई हिंसाले ल्याउने परिवर्तन ठिक लाग्यो। हिजोको दिनमा प्रचण्ड र बाबुरामजीहरूलाई त्यस्तै लाग्यो र सायद आज पनि त्यस्तै लाग्छ। विगतमा उनीहरूकै नेतृत्वमा हजारौं नागरिक मरे। तपाईं हामीमध्ये पनि धेरैलाई परिवर्तनको ‘रक्तिम क्रान्ति’ नै हो र परिवर्तनको मूल्य ‘रगत’ नै हो भन्ने लाग्न सक्छ। र, हामी मध्ये केहीलाई परिवर्तनको मूल्य रगत नै हो तर सर्वसाधारणको रगत होइन, नागरिकलाई छलछाम गर्ने नेताहरूको ‘रगत’ भन्ने पनि लाग्ला।
तर म र मजस्तै सोचाइ राख्नेहरूलाई प्रश्न सोध्नु भयो भने स्पष्ट उत्तर आउँछ– कुनै पनि किसिमको हिंसाले परिवर्तन सम्भव छैन। हिंसाले दिने परिवर्तन देखावटी र नक्कली हुन्छ। र त्यो कुनै नक्कली जिनिस कमसल हुन्छ। त्यस्तो परिवर्तन उपभोग गर्नेहरूले परिवर्तनको महसुस गर्न सक्दैनन् बरु कतिपय स्थितिमा उनीहरूले थप पीडा बोध गर्न पुग्छन्। मेरो विचारमा परिवर्तन हामीले हामी भित्रै गर्ने हो। परिवर्तनको बाटो ‘म’ हुँदै ‘हामी’ सम्म पुग्छ। तर कसरी? यो प्रश्न महत्त्वपूर्ण छ।
यसका लागि केही साधारण प्रश्नहरूको उत्तर खोजौं– राम्रै कुराको लागि भए पनि, के हामीलाई कसैले गालीगलौज, अपमान गरेको मन पर्छ? यदि कोही जान्ने मान्छे नै भए पनि, के उसले दम्भ देखाएर (जान्ने पल्टिएर) कुरा गरेको हामीलाई मन पर्छ? झम्सिखेल र चाबहिलको घटनाबाट मैले सिकेको एउटा कुरा ‘परिवर्नत’ मानिसहरूले ग्रहण गरेर व्यवहारमा उतार्ने जिनिस रहेछ। परिवर्तनका सन्देशहरू हामी जति सिर्जनात्मक भएर प्रवाह गर्छौं, त्यति नै ग्रहण गर्नुपर्ने पक्षले छिटो ग्रहण गर्ने रहेछ।
हाम्रो स्थिति कस्तोसम्म रहेछ भने हामी प्रायः हाम्रै परिवारभित्र एक अर्कासँग सिर्जनात्मक रहेनछौँ। हाम्रा आफ्नै बा, आमा, छोरी, छोराहरूले एक–अर्काका सुझावहरूलाई दबाबका रूपमा एक अर्कामाथि थोपर्दा राम्रा सुझावहरू पनि किचकिच र करकापमा परिवर्तन हुँदा रहेछन्। अनि भन्नुहोस् त किचकिच, करकाप कसलाई मन पर्छ? हामीलाई आफ्नै बा, आमा, छोरी, छोराहरूले राम्रै कारणको लागि गरेको किचकिच, करकाप त मन पर्दैन भने अरू कसैको बल, धम्की, घृणा, करकाप, जर्बजस्तीले कसरी हामी परिवर्नत हुन सकौंला र?
मेरो विचारमा त सक्दैनौं। त्यसैले विप्लवजी, समाज परिवर्तनका नागरिकहरूलाई नै अघि बढाएर, नागरिकहरूको साथ लिएर अगाडि बढ्ने हो। निरन्तरको सकारात्मक र सिर्जनात्मक हस्तक्षेपले समाज–देश अघि बढाउन सकिन्छ। हत्या, हिंसाले देश बन्दैन, बन्दले देश बन्दैन।
प्रतिक्रिया