ब्लग

Tata MotorsTata Motors

राजा ढाले : जसले भारतमा यसरी फैलाए दलित आन्दोलन


डा.सुरज येंग्डेन
काठमाडौं, साउन ५

राजा ढाले

दलित प्यान्थर आन्दोलन पछिका दिनमा उनले हिन्दू ब्राह्मणवादको भूमिमा बौद्ध धर्म प्रचार गर्दै अम्बेडकर पथको पालना गरे। ढाले सबैसँग जोडिए।

भारतका दलित अभियन्ता राजा ढालेको यही जुलाई १६ मा निधन भएको छ। हृदयाघातका कारण ७८ वर्षको उमेरमा मुम्बईमा उनको निधन भएको हो।

राजा ढाले भारतकोे महाराष्ट्रस्थित संगली जिल्लाको तासगाउँमा जन्मेका थिए। उनी पछि मुम्बई बसाइँ सरे। उनी हुर्किएको समाजमा दलित दमनका घटना तीव्र रूपमा बढिरहेका थिए। त्यसकारण ढाले र उनका समकालीन साथीहरूले आफ्नो समुदायमाथि भइरहेको अत्याचारको बदला लिने निर्णय गरे। त्यसैले ढालेले नामदेव धसल, जेभी पवर र अन्य साहित्यकारसँग मिलेर क्रान्तिकारी संगठन निर्माण गरे। परम्परागत राजनीतिक ढाँचा पुनः मूल्यांकन गरी बनाइएको संगठनको नाम राखे– दलित प्यान्थर। ब्ल्याक प्यान्थरको क्रान्तिकारी राजनीतिबाट प्रभावित दलित प्यान्थरले दलितका अधिकारका सवाल जोडदार रूपमा उठाएको थियो।

सन् १९७२ अक्टोबरमा तत्कालीन समयमा मराठी भाषाको बहुचर्चित पत्रिका साधनामा ‘काला स्वतन्त्रता दिवस’ शीर्षकमा ढालेको लेख छापियो। त्यो लेखले उनलाई चर्चित बनायो, जसमा उनले दलित महिलाको अनादर राष्ट्रिय झण्डाको अपमानभन्दा सानो कसरी हुनसक्छ भन्ने प्रश्न उठाएका थिए। दलित प्यान्थर गठन र उनका लेखनले चीर निद्रामा रहेका दलितलाई उठाउने र आक्रोशित बनाउने काम गर्यो। ढालेको भाषण शैली पनि निकै प्रभावशाली बन्दै गयो। उनी यति सशक्त भाषण गर्थे कि विरोधी निःशब्द हुन्थे। उनी अवस्था र अवसर हेरेर विरोधीलाई नाजवाफ पार्नेगरी भाषण गर्न माहिर थिए। उनको विभेदविरोधी गतिविधि रोक्न गल्लीका गुण्डाहरू शिव सेनाजस्तो दक्षिणपन्थी संगठनमा आबद्ध भएका थिए।

उनीहरूले ढालेलाई भौतिक आक्रमणसमेत गरे। किनकि राज्य तथा विरोधीहरू उनको धाराप्रवाह भाषण तथा सशक्त अभियान रोक्न सक्ने सामथ्र्य राख्दैनथे। त्यसैले दलित प्यान्थरको बढ्दो प्रभावको विरोध गर्दा त्यतिखेर खासै नाम नसुनिएका शिवसेना र जनसंघजस्ता पार्टीहरू पनि लोकप्रिय भए। ती संगठनचाहिँ मूलतः गाउँ र सहरका सामन्ती जमिन्दारका प्रतिनिधि थिए। ढालेले विभेदकारी सत्तासँग बारम्बार प्रश्न गरे– ‘स्वतन्त्रता कुन गधाको नाम हो?’ उनका यस्ता विचारले त्यहाँका सम्भ्रान्त वर्गलाई निरन्तर सशंकित बनायो। किनभने उनीहरूले लोकतान्त्रिक व्यवस्थाका अवसरहरू उपभोग गरिरहेका थिए तर दलित समुदाय भने निरन्तर अत्याचार र पीडाको जीवन बाँचिरहेका थिए।

तत्कालीन भारतीय समाजमा ठूलो मात्रामा जग्गा हडपेर बसेका जमिन्दारहरूले भूमिहीन दलितको निर्ममतापूर्वक हत्या गरिरहेका थिए। दलित महिलाहरूको हुर्मत लिँदै नांगै गाउँ घुमाइरहेका हुन्थे। दलितलाई कथित ठूला जातिको बस्तीमा प्रवेश निषेध गरिएको थियो वा सामाजिक रूपमा बहिष्कार गरिएको थियो। उनीहरूले पिउने पानीका मुहानहरूमा मानव मलमूत्र मिसाएर दूषित पारिएको थियो भने कुवामा विषादी हालिएको थियो। वर्षाैंदेखि भइरहेको यस्तो अत्याचारका कारण महाराष्ट्रमा शिक्षित दलित युवालाई एक ठाउँमा ल्याइपुर्यायो। उनीहरू पहिले कहिल्यै नसोचेको अत्याचारविरोधी क्रान्तिका लागि तयार भए। उनीहरू आँधीसरी प्रतिरोधका लागि एकताबद्ध भए। ढालेले समाजका ठूलाबडालाई कडा चेतावनी दिँदै दलितमाथि अत्याचार दोहोरियो भने निकै चर्को मूल्य चुकाउनुपर्छ भने।

ढालेका लागि विवाद नौलो कुरो थिएन। उनको राजनीति र सिधा कुरा गर्ने शैलीले कथित ठूला जातिका मानिस उनका अगाडि नतमस्तक हुन्थे। उनी फुले र अम्बेडकर दर्शनमा विश्वास गर्थे। यही स्वभावले उनलाई दलित प्यान्थरबाट अलग गरायो। र, महाराष्ट्रमा दलित प्यान्थरको अवसान भयो तर यो आन्दोलन विभिन्न रूपमा भारतभरि फैलियो। त्यसपछि धेरैले आफूलाई दलित प्यान्थर आन्दोलनका संस्थापक दाबी गरेको कुरा बाहिर आए। त्यस्ता दाबीहरूलाई ढालेले शृंखलाबद्ध रूपमा लेख लेखेर खण्डन पनि गरे। सन् २००२ मा प्रकाशित उनको पुस्तक ‘दलित पन्थेरची संस्थापनाः वस्तुस्थिति अनि भिप्रयास’ मा उनले लोकप्रिय र मिडियामा प्रस्तुत गरिएका भन्दा पृथक प्राज्ञिक विचार दिएका छन्। दलित प्यान्थरका एकजना अग्रणी इतिहासकार र अम्बेडकरपश्चात् दलित नेताका रूपमा जेभी पवरले दलित प्यान्थरबारे निष्पक्ष धारणा राखिदिए हुन्थ्यो भन्ने उनको चाहना पनि थियो।

ढाले सामान्य मान्छे थिए। उनको अन्तर्मुखी राजनीतिक स्वभावका कारण धेरैले उनलाई घमण्डी ठाने। तर उनको घमण्ड मूलतः उनको व्यावहारिक स्वभावमा बढी र दृष्टिकोणमा कम झल्किन्थ्यो। बचपनदेखि नै चिनेको हुनाले मैले २ वर्षअघि र गत वर्ष पनि उनलाई भेट्न चाहेको कुरा बताएँ, तर उनले इन्कार गरे। उनले भनेका थिए– ‘तिमी मलाई किन भेट्न चाहन्छौ? तिमी पनि व्यस्त छौ, म पनि त्यस्तै छु। म मेरो बाँकी समय लेखनमा समर्पण गर्न चाहन्छु, मलाई लेख्न देऊ।’

उनी १७ वर्षको उमेरदेखि लेखिरहेका थिए। उनका कविता, लघुकथा, अनुसन्धानपत्र, टिप्पणी र साहित्यिक विश्लेषणमा नाइल नदीको सभ्यता उदयपछि विकास भएका विभिन्न विषय समावेश छन्। उनले अफ्रिकन–अमेरिकन कविहरू जस्तै लङनसन ह्युजेस, रबर्ट हेडन, फेंटन जानसन, फ्रैंक मार्सल डेबिसका कविता मराठी भाषामा अनुवाद गरे। ढालेमा कसैप्रति कुनै किसिमको दुराभाव रहेको पाइँदैन। दलित प्यान्थर आन्दोलन पछिका दिनमा उनले हिन्दू ब्राह्मणवादको भूमिमा बौद्ध धर्म प्रचार गर्दै अम्बेडकर पथको पालना गरे। ढाले सबैसँग जोडिए। सबै उमेर र जातीय समूहका मान्छे उनका प्रशंसक थिए। उनको यही समर्पण नै महाराष्ट्रमा क्रान्तिकारी बौद्ध राजनीति पुनरुत्थानको कारण बन्यो।

सार्वजनिक जीवनको उत्तराद्र्धमा उनले दलित राजनीति त्यागे र पूर्णकालीन बौद्ध अम्बेडकराइट विषयमा काम गरे। फाट्टफुट्ट रूपमा दलित, अम्बेडकर र बौद्ध धर्मको व्युत्पतिमा काम गरे पनि मुलभूत रूपमा उनले ब्राह्मणवादी संस्कारको नग्नता पर्दाफास गर्न आफ्ना शब्द खर्चिरहे।

ढाले एउटा यस्तो पिँढीका प्रतिनिधि पात्र हुन्, जसले आफ्ना खस्रा अनुभूति भाषामा अभिव्यक्त गरे, जसलाई ब्राह्मणहरूले आफ्नो अनादर ठाने। उनले दुईपटक सन् १९९९ र २००४ मा क्रमशः उत्तर र पूर्वी मुम्बईबाट संसदीय चुनाव लड्ने असफल प्रयास पनि गरे। उनले भारतीय गणतन्त्र पार्टीको अध्यक्ष पद पनि सम्हाले। ढालेले क्रान्तिकारी दलित कार्यक्रममार्फत दलित साहित्यमाथि जबर्जस्ती लादिएको लाघुताभाषलाई चुनौती दिन थाले। साथै उनले बुद्धलाई सामाजिक क्रान्तिको कल्पनामा प्रवेश पनि गराइदिए।

एकजना स्वतन्त्र साहित्यिक व्यक्तिका रूपमा उनले दलित लेखनको नयाँ विधा स्थापना गरे। त्यसले उनका समकालीनहरूको कामलाई परिपूरकका रूपमा सहयोग गर्यो। पवर भन्छन्, ‘यदि ढाले दलित साहित्यको उदयमाथि झुन्डिएको नांगो तरबाररिुरुद्ध नउभिदिएका भए दलित साहित्य हुर्कन नपाई मारिने थियो।’

राज्य, प्रशासन संयन्त्र र क्रान्तिकारी आन्दोलन सबैले राजा ढालेले गरेको योगदान बेवास्ता गरे। किनकि ढाले उग्र र अराजक चिन्तक थिए, जसले आफूलाई शक्ति, प्रतिष्ठा र विरोधी भावनाका अगाडि कहिल्यै कमजोर ठानेनन्। उनका कृतिहरू अहिलेसम्म अनुवाद पनि भएका छैनन्। राजा ढालेको दलित प्यान्थरको सुरुवाती चरण समकालीन क्रान्तिकारीहरूको चेतनाको केन्द्र थियो। अथक योगदानका बाबजुद ढाले र उनीजस्ता अन्य ‘क्रान्तिकारी’ तत्कालीन समयका अन्य ‘ब्ल्याक प्यान्थर’ अथवा विश्वभरका श्रमिक क्रान्तिकारीसँग जोडिन पाएनन्। तर उनीहरूको प्राज्ञिक आत्मीयताले विश्वभरिका उत्पीडित समुदायको संघर्षलाई बलियो बनाएको छ। उनीहरूको अर्को पुस्ताले आफ्नो बाटो अझै पहिल्याउन सकेका छैनन्। ढाले र अरू प्यान्थरका साहित्यले दलित युवालाइ निरन्तर प्रेरणा दिन र उनीहरूलाई लज्जित पार्ने संरचना भत्काउन आशा जगाइरहनेछन्। हामी एउटा यस्तो आन्दोलन जन्मिने पर्खाइमा छौं, जसले नौलो क्रान्तिको बिजारोपण गरोस्। त्यसका लागि समय आइसकेको छ।

(दलित प्यान्थरका संस्थापकमध्येका एक राजा ढालेबारेमा डा. सुरज येंग्डेनले लेखेको यो लेख जुलाई १८ मा ‘द इण्डियन एक्सप्रेस’ मा प्रकाशन भएको हो। यसको नेपालीमा भावानुवाद रूपबहादुर सुनारजेबी विश्वकर्माले गरेका हुन्।)

साउन ५, २०७६, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors