ad ad

ब्लग


कोरोनालाई जित्न इटलीको बेनेटो रणनीति

कोरोनालाई जित्न इटलीको बेनेटो रणनीति

सुनिता बराल
चैत २३, २०७६ आइतबार १२:५०,

अकबर-वीरबलको दरबारको प्रसंगबाट कुरा सुरु गर्न चाहन्छु:  एकपटक अकबरले वीरबललाई आफ्नो आसनबाट भित्तो देखाउँदै भने- ‘यो भित्तोमा एउटा त्यस्तो कुरा लेख, जुन खुसीका बेला पढ्दा दुःखी बनाउने र दुःखका बेला पढ्दा पनि खुसी बनाउने मन्त्र होस्।’

अनि वीरबलले तुरुन्तै लेखे- ‘यो समय बदलिनेछ।’

अकबर-वीरबलको यही संवादअनुसार यतिबेला आशावादी हुँदै कोरोना भाइरसकाे महामारीलाई परास्त गर्नुपर्ने बेला छ।

यो लेखिरहँदासम्म कोरोना भाइरसबाट विश्वमा साढे ६५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १२ लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन्। संक्रमितमध्ये अढाई लाखभन्दा बढी उपचारपछि निको पनि भएका छन्।

विश्वमा सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् भने सबैभन्दा धेरै मृत्यु इटलीमा भएको छ। यो लेख लेखिरहँदासम्म कोरोनाका कारण अमेरिकामा ८ हजार ४८४ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ३ लाख नाघिसकेको छ। त्यस्तै इटलीमा १५ हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ लाख २४ हजारभन्दा माथि पुगिसकेको छ।

तर अहिलेसम्म यसको औषधि/उपचार पत्ता लाग्न सकेको छैन। तसर्थ औषधि-विज्ञानले नजितुन्जेल यसलाई हामीले घरघरमै बसेर जित्ने हो। काेराेनालाई जित्न नेपालजस्ता कमजोर पूर्वाधार भएका मुलुकसामु लकडाउन कडा बनाउनुको विकल्प छैन।

कोरोनाले विगतमा भएका विश्वव्यापी आर्थिक मन्दीभन्दा गहिरो आर्थिक खाडल खन्दै छ। त्यसको असर नेपालजस्तो रेमिट्यान्समा आधारित अर्थतन्त्र भएको तथा आयातमा बाँच्नुपर्ने मुलुकलाई जति असजिलो उत्पादन र निर्यात गर्ने देशलाई हुने छैन।

जति चाँडो कोरोना ‘कन्ट्रोल’ हुन्छ त्यति नै चाँडो उत्पादन सुरु हुनेछ। बेच्ने र कमाउने छन्। दुःख त हामीलाई न हो। हाम्रा जनतालाई न हो। अहिल्यै खाडीलगायत मुलुकका साना/मझौला कम्पनीले पूरा तलब दिन छोडेको, कामदार घटाएको सुनिन थालिएको छ, त्यसको असर हाम्रो अर्थतन्त्रमा देखिने नै छ।

अस्ट्रेलियाका प्रधानमन्त्रीले पर्यटक भिसावाहक र केही सर्तमा विद्यार्थीसमेतलाई आफ्नो मुलुक फर्किन गरेको आग्रहले लाखौं ऋण बोकेर अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थी र तिनका परिवारलाई कस्तो आर्थिक बोझ थपिने हो, अहिले अनुमान मात्रै गर्न सकिन्छ। तर अस्ट्रेलियासँग कूटनीतिक माध्यममार्फत कुरा गरी ‘पर्ख र हेर’ को स्थिति बनाउन सकियो भने पनि केही राहत हुनेछ।

यहाँ आर्थिकभन्दा सामाजिक पाटोमा चिन्ता बढाउनुपर्ने देखिएको छ। हामीले स्वीकार्नुपर्छ- नेपाल अन्य विकसित देशजस्तो स्वास्थ्य सेवा मजबुत भएको मुलुक होइन। तर अहिले रोगभन्दा पनि भय र त्रासले बढी सताएको छ। के गर्ने, कसो गर्ने भन्ने कुनै आधार छैन।

शिक्षित, अशिक्षित सबै द्विविधामा छन्। अझ खट्केको कुरा त के हाे भने सचेतना बाँड्न हिँडेकाहरू नै झुण्ड बनाएको देखिँदै छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयअघि पास लिनेको घुइँचोले हाम्रो सतर्कतालाई खिसी गरेको देखियो। 

आफूलाई कोरोनाको संक्रमण वा लक्षण देखापरे कहाँ जाने, के गर्ने, देश त बन्दाबन्दी (लकडाउन) छ, घरबाहिर ननिस्कन आदेश जारी गरिएको छ, प्रहरी खटाइएको छ? यस्ता प्रश्नको जवाफ सहजै पाउने वातावरण सरकारले बनाउन सकेको छैन भनेर गुनासो गर्ने, तर हामी भिड र हात समातेर हिँड्न पनि नछाड्ने हो भने स्थिति के हुन्छ, सोचौं।

समाजको एउटा तप्कालाई कोरोनाभन्दा परिवार कसरी पाल्ने, के खाने, भन्ने कुराको चिन्ता छ। भोक कसरी मेटाउने भन्ने पिरले सताएकाे छ। यस्तो स्थिति नभएकाहरूको हर्कतले कर्फ्यु माग गरेको देखियो। रोकौं, केही दिन घरमै बसौं।

अर्कातर्फ स्वास्थ्यकर्मी पनि उत्तिकै त्रसित छन्। एक त उनीहरूसँग महामारीमा के, कसरी काम गर्ने भन्ने प्रोटोकल छैन, आत्मरक्षाका लागि अत्यावश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को कमी छ। देशका ठूला भनिएका अस्पतालले कोरोनाका सम्भावित बिरामीको उपचार नगर्ने भन्नेजस्ता समाचारले साना र दूरदराजका चिकित्सकको मनोबल गिराएको छ। अझ अस्पतालमा जहिल्यै उपेक्षित सरसफाइ कर्मचारीमा कोरोनाको त्रास भयानक हुन सक्छ।

हरेक दिनजसो कोरोना नभएका बिरामी पनि अस्पतालले भर्ना नलिएकै कारण प्राण त्याग्न विवश भएका समाचार आउनु कोरोनाले ल्याएको अर्को सामाजिक विचलन हो। अस्पताल चिकित्सक वा भनौं ‘फ्रन्ट लाइन’मा काम गर्ने स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार आदिलाई महामारीसँगै आइपरेको अर्को स्थिति हाे- भयावह मानसिक तनाव। ‘वनको बाघले खाओस् कि नखाओस् मनको बाघल खायो’ उक्तिझैं तनावका कारण यतिबेला जाे कोहीमा आपसी शंका बढ्न सक्छ।

यस्तो अवस्थामा सरकारले हेल्पलाइनमा मानसिक परामर्शको पनि व्यवस्था मिलाउने काम थाल्नुपरेको छ। इतिहासका विभिन्न कालखण्डमा आएका महामारीजस्तै कोरोना भाइरस महामारी पनि एक दिन अवश्य रोकिनेछ। माथि वीरबलले भनेझैं ‘समय बदलिनेछ।’ तर त्यतिन्जेल बाँच्नुपर्छ।

विगतका अनुभवले के भन्छन् भने जब संक्रमण अत्यधिक हुनेछ, तब मानिसमा कोरोना भाइरसविरुद्ध प्रतिरोध क्षमता पनि विकास हुँदै जानेछ। सँगै अर्को ५ देखि ६ महिनासम्म यो संक्रमणविरुद्ध भ्याक्सिन उपलब्ध हुनेछन्, जसको तयारी सुरु भइसकेको छ। यी दुवै प्रकारबाट महामारी मत्थर हुनेछ। तर यसो हुनुअघि महामारीबाट विश्वले ठूलो मूल्य चुकाइसक्नेछ।

परीक्षणको समय भएकाले नेपालमा संक्रमितको संख्या बढ्न सक्छ। यी हरफ कोरिरहँदासम्म नेपालमा संक्रमितको संख्या ९ पुगिसकेकोछ। फेरि पनि संक्रमितको संख्या बढ्दैमा थप आतंकित हुनु समस्याको समाधान होइन। तथ्य बुझौं, ‘लकडाउन’लाई हामी सबैले साथ र निरन्तरता दिऔं। अहिलेका लागि सबैभन्दा ठूलो उपचार यही हो।

सरकारले गरेको दोस्रो लकडाउन अवधिसम्म संक्रमितको संख्या प्रस्ट हुने अपेक्षा थियो, तर त्यस्तो देखिएन। खुसीको कुरा हो। तर संक्रमितसँगको सम्पर्कमा आएका व्यक्तिबारे भने सरकार गम्भीर हुनुपर्ने समय हो यो।

अन्यथा शास्त्रमा भनिएको छः

जातमात्रं न यः शत्रुं व्याधिञ्च प्रशमं नयेत् ।
अति पुष्टाङ्गयुक्तोऽपि स पश्चात् तेन हन्यते।।

अर्थात्, जसले शत्रु र रोग उत्पन्न हुनेबित्तिकै नास गर्दैन, ती हृष्टपुष्ट भएपछि तिनैद्वारा मारिन्छ। हामीले फैलाएको कोरोना बलियो र विस्तारित हुँदा हामीलाई नै सिध्याउनेछ। त्यसैले अहिलेको अवस्थामा कसैले कोरोनालाई उपेक्षा नगरौं, सचेत बनौं। दुःखै सही, घरमै बसौं।

के गर्ने?
हामी संक्रमित बढेनन् वा कसैको मृत्यु भएको छैन भनेर कोरोनाबाट ध्यान हटाउन सक्दैनौं। रोग र दुश्मन देखिनेगरी आउँदैनन् भन्ने मान्यताबाट हामी अलग्गिन सक्दैनौं। हामीकहाँ विदेशबाट आएकामा मात्र संक्रमण देखिएको छ वा देखिन्छजस्तो जुन धारणा थियो, त्यो शनिबारदेखि तोडिएको छ।

भारतबाट आएका कैलालीका एक युवाले आफ्ना परिवारकी एक महिलालाई पनि कोरोना सारेका छन्। तसर्थ हरेक वडामा पनि २०-४० घरको एउटा क्लस्टर बनाई एक जनप्रतिनिधिको नेतृत्वमा ३-४ सदस्य (सदस्यमा स्थानीय शिक्षक र स्वास्थ्यकर्मी पनि राख्न सकिन्छ) सहितको निगरानी र अनुगमन समिति बनाउन सकिन्छ।

बाहिरबाट आएका हरेक व्यक्तिको प्रभावकारी क्वारेन्टिनको सुनिश्चितता गर्ने, साथै तिनमा कोभिड-१९ का लक्षण देखिए सुरक्षित माध्यमबाट स्वास्थ्य संस्थासम्म पुर्‍याउन मद्दत गर्ने, यही समितिले क्लस्टरका अन्य व्यक्ति पनि अन्य कुनै रोगका कारण गम्भीर बिरामी परेमा अस्पतालसम्म लैजान सहजीकरण गर्ने, सबै क्लस्टरको प्रादेशिक र संघीयस्तरमा दैनिक रिपोर्टिंङ तथा अनुगमनको व्यवस्था मिलाउने गर्न सकिन्छ।

संकटबाट पार पाउने हो भने सामान्य अवस्थाभन्दा फरक तरिकाले सोच्न आवश्यक छ। अन्य प्राथमिकताका सूचीमा रहेका काम स्थगन गरेर कोभिड-१९ विरुद्ध लड्नु आजको आवश्यकता हो। काम कठिन हो, तर महामारीले हामीलाई यसो नगर्ने छुट दिएको छैन। सरकारले गरेको लकडाउन सजाय होइन।

अनुभव भन्छः चीन, दक्षिण कोरिया, जर्मनी, ताइवान र सिंगापुरबाट महत्वपूर्ण पाठ सिक्नुपर्छ। ती देश प्रारम्भिक अवस्थामै संक्रमण धेरै हदसम्म रोकथाम गर्न सक्षम भए। हामीले पनि यो लकडाउनको समय प्रारम्भिक अवस्था पहिचान गर्नमा खर्च गरौं।

फेरि पनि इटलीबाट हामी केही सिकौं। ‘हावर्ड बिजनेस रिभ्यु’मा प्रकाशित आलेखको अनुवादित सानो अंश जोड्नु हाम्रा लागि प्रेरक हुने विश्वास छ। इटलीको स्वास्थ्य सेवा प्रणाली स्थानीय तहसम्म फैलिएको छ र तिनले फरक-फरक नीति अवलम्बन गरेका छन्। जस्तो: लोम्बार्डी र बेनेटो क्षेत्र, जुन उस्तै आर्थिक तथा सामाजिक स्थिति भएका र छिमेकी हुन्।

लोम्बार्डी इटलीकै धनी र उत्पादनशील क्षेत्र एक हो। २६ मार्चसम्म यहाँका करोड जनतामध्ये ३५ हजार जनाजति भाइरसबाट संक्रमित देखिए, ५ हजारको त मृत्यु नै भयो। यसविपरीत ५० लाख जनसंख्या भएको बेनेटोमा कोरोनाका कारण २ सय ८७ जनाको मात्र मृत्यु भयो, ७ हजार मात्र संक्रमित भेटिए।

लोम्बार्डी र बेनेटो, खासगरी यी दुवै सहरले समान सामाजिक दूरी र सीमित क्षेत्र मात्र बन्द गर्ने नीति नै अँगालेका थिए। तर बेनेटो यत्तिमै सिमित भएन। उसले भाइरससँग लड्न बहुआयामिक रणनीति अपनायो। जस्तैः
-प्रारम्भमै रोगसूचक र संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको व्यापक परीक्षण गरियो।

-संक्रमणको अधिक जोखिममा रहेकाहरूको खोजी गरियो।

-संक्रमितका परिवार र छिमेकीहरूलाई समेत परीक्षण गरियो।

-टेस्टिङ किट उपलब्ध नभएर परीक्षण गर्न नपाएकाहरूलाई आफैं क्वारेन्टिनमा बस्न प्रेरित गरियो।

तर लोम्बार्डीका अधिकारीले केन्द्रीय सरकारअन्तर्गतका स्वास्थ्य अधिकारीले दिएको निर्देशन मात्र मानिरहे। कहिलेकाहीं फरक निर्णय क्षमता पनि हुन जरुरी छ। जस्तो कि बिरामी भर्ना नगर्ने अस्पताल वा नर्सिङ होमलाई कार्बाही गर्ने निर्णय गरेको प्रदेश २ ले केही भिन्नता देखाउला। जुन कुरा अरूले पनि सिक्न जरुरी छ। 

हुन त सर्वाेच्च अदालतले पनि आदेश दिएको छ। त्यसैले अबको समय भनेको सचेत हुने नै हो। क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्ना नागरिकलाई भनेका छन्, ‘तपाईं को हुनुहुन्छ, के गर्नु हुन्छ, मतलब छैन। अहिले तपाईं आफ्नो स्वास्थ्यको ख्याल गर्नोस्।’

हामी पनि अहिले स्वास्थ्यको ख्याल गरौं।

इतिहास भन्छ- हरेक कष्टबाट सिक्नुपर्छ। काँचुली फेर्नुपर्छ। हामीले पनि यो महासंकटलाई स्वास्थ्य क्षेत्रको आधुनिकीकरण, पूर्वाधारदेपख प्रतिस्पर्धी नीति-निर्माणसम्मको ‘टर्निङ पोइन्ट’ किन नबनाउने?

आर्थिक वर्ष सकिन लाग्दैगर्दा बचेको विकास बजेट अस्पताल निर्माण, स्वास्थ्य क्षेत्रकाे आधुनिकीरण, सेवा सुधार, जनशक्ति विस्तार, भेन्टिलेटरदेखि आईसीयू बेड थप्नेसम्मका काममा लगाउने हाे भने भोलिका दिनमा कसैले औषधि-उपचार नपाएर मृत्यु कुर्नुपर्ने छैन। प्रदेशस्तरका अस्पतालदेखि सबै खाले सुविधामा ध्यान दिन सके नागरिकको साथ मिल्ने नै छ। अनि मात्र वीरबलले भनेझैँ बदलिने समयले हामीलाई पनि नयाँ चरणमा पुर्‍याउनेछ।

अन्त्यमा, राष्ट्रपति विद्यादेवी भण्डारीले आआफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा यो रोगको रोकथाम गर्न सहज हुने बताएकी छन्। जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी संक्रमण फैलिएर परिस्थिति नियन्त्रणबाहिर नजाओस् भनेरै नेपाल सरकारले पूरै देशमा लकडाउन गरेको उल्लेख गर्दै उनले सतर्कता नअपनाइए संक्रमण फैलिन सक्ने चेतावनी दिएकी छन्।

लकडाउनले दैनिक जीवनमा केही अप्ठ्यारा सिर्जना भए पनि सबैलाई आफ्नो मात्र नभई आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन यस बेलामा संयमित भएर घरबाहिर ननिस्कन पनि राष्ट्रपतिले आह्वान गरेकी छन्।

हाम्रोजस्तो अति कम सुविधा, साधन-स्रोत भएको देशमा ७५ हजार जनपद प्रहरी, ३५ हजार सशस्त्र प्रहरी बल र २७ हजार स्वास्थ्य मन्त्रालयका कर्मचारीको जिम्मामा कोरोना नियन्त्रण सम्भव छ? गाउँगाउँमा कन्ट्याक्ट ट्रेसिङ (संक्रमितको सम्पर्कमा आएका व्यक्ति खोजी) सबै वडामार्फत गरेर संघीय सरकारसमक्ष आउन २ हप्ता किन लागेको हो? यसको पनि समाधान खोजौं।

हामी सचेत नागरिकको दायित्व घरैमा बसेर मात्रै पूरा हुन्छ? विषम परीस्थितिमा त्यस्तो सम्भव देखिएन।

जनशक्ति पुगेन भन्ने निष्कर्षमा सरकार पुग्नुपर्ने हो कि? सोचौं र सुझाव दिऔं। आफू सुरक्षित रहेर सरकार र आम नागरिकलाई सघाउने र बचाउने स्वयंसेवक समूह बनाउन पार्टीका भ्रातृ संस्था वा नागरिक समाजले पनि साथ दिनुपर्छ।

त्यसको एउटा पक्षको नेतृत्व गर्न यो पंक्तिकार पनि तयार छ। र, सबैलाई यो कुरा गम्भीर ढंगले सोच्न आग्रह पनि गर्छ ताकि जनशक्तिको कमी महसुस नहोस्। अप्ठेरो परिस्थितिमा हामी होस्टेमा हैंसे पनि गरौं। तर अत्यन्त जरुरी काम नपरेसम्म घराबाट बाहिर ननिस्कौं। लकडाउन अवधिसम्म घरभित्रै बसौं।

(सुनिता बराल अनेरास्ववियुकी नेतृ हुन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .