ad ad

ब्लग


लकडाउनमा रहेकी बहिनीलाई क्यानाडाबासी दाजुको आग्रहः ‘घर बाहिर ननिस्किनू, हाम्रो चिन्ता नलिनू’

लकडाउनमा रहेकी बहिनीलाई क्यानाडाबासी दाजुको आग्रहः ‘घर बाहिर ननिस्किनू, हाम्रो चिन्ता नलिनू’

यम घिमिरे
चैत १८, २०७६ मंगलबार १०:३०,

आधा दशकभन्दा बढीदेखि म जन्मभूमि नेपाल छोडेर यहाँ क्यानडा बस्दै आएको छु। सधैँ अरुबेला यहाँ र उता नेपालका समस्याहरु फरक हुने गर्थे, परिवार सदस्यहरुसँग चिन्ता पनि फरक आदान—प्रदान हुने गर्थे। कोरोना महामारीले अहिले यताका मात्र होइन नेपालका मान्छेको पनि निद्रा बिथोलेको छ, एकै पटक। झापा, दमकबाट बाहिनीले फोन गर्दै कोरोनाका कारण काम छोडेर घरकै माथिल्लो तलामा कैदीबन्दी भएको खबर सुनाई। पृष्ठभूमिमा थुनिएका दुई लाठेको आवाज सुनियो। एउटा भर्खर मेकानिकल इन्जिनियरिङ पढ्न धरानमा डेराडण्डा जमाएर भर्खरै बस्न थालेको मात्र हो। अर्को १२ कक्षाको परीक्षा तयारी गर्दै गरेको। दुवैको उत्साहलाई कोरोनाले ब्रेक लगाइदिएछ।

विषय जति गम्भीर भए पनि दिल खोलेर गला बजाउँदै हाँसेर कुरा गर्नु बहिनीको सदाबहार शैली हो। यसपाली फोन वार्तामा ऊ सदाझैँ हाँसिन। भनी, ‘झ्याल ढोका थुनेर पकाउने, खाने अनि ट्वालेट र कोठा गरेर मोबाइलका भरमा बाँचेकी छु।’

उसको आवाजको ‘टोन’मा सन्देश पनि थियोः उ पहिलाजस्तो सामान्य अवस्थामा छैन। टाढा भएपछि परिवार सदस्यको चिन्ता अझ बढ्ने रहेछ। नेपालललाई अमेरिका, इटाली र स्पेनजस्तो विपत नपरोस् भन्ने लागिरह्यो। उसले हाम्रो स्वास्थ्य चिन्ता जनाउँदै सुरक्षा सावधानी सिकाई।

‘बुवाले कलीयुगमा प्रलय आउँछभन्दा पत्याउनु हुन्नथ्यो नि। अहिले आएन त प्रलय? अब पत्याउनु भयो?’, मलाई जिस्काउने उसको पुरानै बानी हो।

कोरोनालाई प्रलयसँग जोडेर फेरि एक सर्को जिस्क्याउन भ्याई। हुन त मानव इतिहासमा योभन्दा बडेबडे प्रलय पहिला पनि भएकै हुन्। युरोपमा करोड मान्छे मारेको ब्ल्याक डेथजस्तो भयानक महामारी भएको रहेछ। विश्व महामारीको इतिहास पढ्दा लाग्छ, मान्छे एउटा यस्तो जात हो जो मरेर कहिलै सकिँदैन। तापनि महामारीको साक्षी आफैँ बन्न सहज कहाँ हुने रहेछ र!

‘घरबाट छिरिक्क बाहिर ननिस्किनू’, भनेर दोहोर्याई, तेहेर्याई बहिनीलाई सम्झाएँ। भान्जाभान्जी, भाइभतिजलाई घरमै थुनिराख्न सुझाव दिएँ। बुवा आमालाई गाउँको घरबाट बाहिर नजानू, कसैलाई नभेट्नु भनेर सुझाएँ। अन्तिममा मैले फेरि दोहोर्याएँ, ‘यता हाम्रो चिन्ता नलिनु।’

बहिनीले कुरै कुरामा क्यानडा सरकारले मलाई त मरिहाल्न नदिने तर उसलाई परिआए सरकारले केही नगर्ने चिन्ता देखाई।

‘भेटेको छैन र बाँचिएको छ दाई। भेट्यो भने अस्पतालले नै लिँदैन अरुको के कुरा। घरमै तातोपानी खाएर बाँचियो भने बाँचियो नत्र गाह्रो छ’, उसले नेपालको अवस्था एक सासमा बताई, ‘त्यहाँ पो सरकार बलियो छ। उपचार राम्रो हुन्छ मरिहाल्न नदेला दाई, हामी त यहाँ बिरामी भइयो भने हाम्रो कुकुर मराइ हुन्छ।’

अमेरिकाजस्तो शक्तिशाली संयन्त्र र सरकार त कोरोनासँग अत्तालिएर नागरिक जोगाउन नसकेको देखिरहँदा मैले उसलाई फेरि सम्झाएँ, ‘घरबाट छिरिक्क बाहिर ननिस्किनू।’

कर लिने सरकारले बिपतमा काँध थाप्दो रहेछ

यहाँ क्यानडामा अहिलेसम्म घरभित्रै बसेर अनिकालको बिउ खाएर फेसबुकमा ट्याउँट्याउँ गरिँदैछ। आउजाउ, कामधन्दा बन्द छ। घरमा आउने पैसा कोरोना कारण रोकिएको छ। महिनामारी तिर्नुपर्ने बिलमा जाने पैसा भने तिर्नु परिरहेकै छ। यो एउटा यति अप्ठ्यारो स्थिति छ कि नेपाल गएर बाउआमा, दाजुभाइ, दिदी बहिनी एकै ठाउँमा मरुला भन्दा पनि जान पाइने स्थिति छैन। मंगलबारसम्म क्यानडामा ९५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। ७ हजार ५०० संक्रमित छन्। अमेरिका हेरी क्यानडामा कोरोना प्रभाव कम हो तर नेपालभन्दा निकै धेरै। अमेरिकालाई कारोनाले जित्यो भने यहाँ हाम्रो चौपट हुनेवाला छ। अहिलेसम्म उताबाट धेरथोर खानेकुरा आइरहेको छ। अहिले नै बजारमा लाइन लागेर झोला भरेर लिएर आउँदा युद्ध जितेजस्तो लाग्छ। अमेरिकालाई कोरोनाले अझ सिथिल बनाए त्यसको असर यता पनि पर्नेछ।

क्यानडामा तीन तहका सरकार छन्। यिनले कर असुलेको देख्दा असह्य भए पनि चुपचाप दाम भर्नुको विकल्प छैन। यतिबेला देखेको सत्य के हो भने कर लिने सरकारले बिपतमा काँध थाप्दो रहेछ। यो आपतमा देखाएको काम, परेको बेला भाँडामा चामल हालिदिन आउने सरकार, जनता सुशिक्षित गर्न देखाएको तत्परता र थकानरहित मिहिनेत देखेर गर्व र राहत महसुस हुन्छ, केही क्षण भए पनि।

यहाँ कोरोना रोकथाम, न्युनीकरण, परीक्षण र उपचार उच्च सम्वेदनशीलपूर्वक काम गरेका छन्। प्रत्येक दिन बिहान प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्छन्। महामारी संकटको घडीमा एउटाले नेतृत्व लिने रहेछन्। सबैले आ-आफ्ना मुख बजाएर जनतालाई अलमल पनि नपार्दा रहेछन्। स्वास्थ्य निर्देशकले जे भन्छ त्यो नै राज्यको एक सुत्रीय बोली हुने रहेछ। त्यो नै जनताको एक मात्र भरपर्दो सूचना पनि हुने रहेछ।

केन्द्रमा स्वास्थ्यमन्त्री र स्वास्थ्य विभागका उपल्ला विज्ञ र वैज्ञानिकहरुले मात्र काम गर्दा रहेछन्। उनीहरुले राज्यलाई विज्ञानमा आधारित रहन सल्लाह सुझाव दिने रहेछन्। आफ्नो विषयको ज्ञान खाँचो पर्दा देशलाई काँध हाल्ने जिम्मा उनैको हुँदो रहेछ। प्रधानमन्त्रीले पनि बोल्दा डाक्टर र वैज्ञानिकलाई उदृत नगरी बोल्दैन रहेछन्। राज्यका सबै तहका मान्छेले स्वास्थ्य सावधानीबारे बोल्दा ‘बेस्ड अन बेस्ट पोसिबल साइन्स अभाइलेबल’ भनेर मात्र बोलेको सुनिन्छ। यो सबै तयारीको काम भनेको रोकथाम र न्युनीकरणका उपायले थामुन्जेल मात्र हो। अस्पतालको सेवा, सुविधा र जनशक्तिले धानुन्जेलसम्म मात्र हो। परेको बेला सरकारको पाइन देखिने रहेछ। त्यो यतिबेला यहाँ उत्कृष्ट ढंगले देखिएको छ।

नेपालमा कोरोना फैलिएको छैन भनेर सोसल मिडियामा हाँसीमजाक अनि रमाइलो विषय बनिरहेछ। यताबाट हेर्दा त्यसमा जोखिम छन्। पाँच जना भनेको केही होइन भन्नु नै सबैभन्दा खतरनाक विषय हो। एउटै देशमा दशौँ हजार मान्छे मरिसक्दा पनि नेपालमा अहिले ५ जना मात्र संक्रमित देखिएका छन्। यो संक्रमितलाई व्यवस्थापन गर्न र अन्यमा फैलिन नदिन नेपालले पाएको ‘डायमण्ड’ अवसर हो। त्यो अवसर गुमाउनुको पीडा अहिले अमेरिकाले भोगिरहेछ।

मान्छे फुर्सदमा भएर होला सोसल मिडियामा अनेक हाँस्य सिर्जना गरिरहेछन् कोरोना र गुप्तबासबारे। निकम्मा भएर घरमा बसेकालाई हाँस्न, मन बहलाउन यसले फाइदै गरेको छ। तर, कोरोना टिकटक र फेसबुकमा निकालिने हल्काफुल्का खेलाँची होइन। सरकारलाई र जनतालाई पनि।

संसारमा देखा परेका महामारीको रोकथाम, उपचार र उन्मुलनमा वैज्ञानिकहरुले सफलता पाएकै छन्। केही समयपछि कोभिड-१९ को पनि रोकथाम वा उन्मुलनको भ्याक्सिन बन्ला, अहिले शोध भइरहेका छन्। मासाचुसेट्सको मोडर्ना बायोटेकले एमआरएनए १२७३ नामको खोप बनाउँदैछ। वैज्ञानिकहरूका अनुसार त्यसको पहिलो चरणको परीक्षण भइसकेको छ। यो भ्याक्सिनको दोश्रो परीक्षण जुलाई अगष्ट पछाडि हुनेछ। त्यो नि पहिलो परीक्षणको परिणाम सन्तोषजनक देखिएमा मात्र। आम रुपमा जनताका लागि उपलब्ध हुन समय लाग्नेछ।

यी सबै तथ्यहरू हेर्दा कोरोनाले अझ दुई चार महिना लीला देखाउने निश्चित छ। सबैले तयारी र सतर्कता नगरी सुखै छैन। घरभित्र बस्न सम्भव भएसम्म घरभित्र बसौं! घरैभित्र बसौं!! मुखमा मास्क लगाएर सेवा दिइरहेका स्वास्थ्यकर्मीलाई सम्मान गरौँ। उनको मनोवल बढाउने सन्देश निर्माण र प्रचार गरौँ र उनीहरुलाई सुरक्षित हुन अन्य सहयोग गरौँ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .