ad ad

ब्लग


मास्क नलगाउँदा सरकार विरोधी भइन्छ? यस्तो छ यसको रोचक कथा

मास्क नलगाउँदा सरकार विरोधी भइन्छ? यस्तो छ यसको रोचक कथा

सूर्यबहादुर तामाङ
चैत १६, २०७६ आइतबार १५:५२,

विश्वका लगभग सबै देशमा फैलिएको नोवेल कोरोना भाइरसले हजारौं मान्छेको ज्यान अकालमै लिइसकेको छ भने लाखौं लाख मानिस संक्रमणमा छन्। विश्व समुदाय अहिले अति चिन्तित अवस्थामा आफैं नजरबन्दमा बस्नुपरिरहेको छ। एउटा मान्छे अर्को मान्छेसँग डराउनुपर्ने अवस्था छ। मृतकका परिवारजनलाई पनि घरमा गएर समवेदना प्रकट गर्न नसकिने स्थिति छ।

मानसिक, शारीरिक र आर्थिक ररूपमा मानव जाति यतिबेला अति तनावमा छ। विश्व शक्ति-केन्द्रमा उभिएका ठूला देशसमेत अहिले निरीह बनेका छन्। म र मेरो पुस्ताले यस्तो संक्रमण र त्रसित अवस्था पहिलोपटक देख्दैरभोग्दै छु। सबै मृतकलाई हार्दिक श्रद्धाञ्जलि, बिरामीलाई शीघ्र स्वास्थ्य लाभको कामना तथा सबैलाई आफ्नो स्वास्थ्य सुरक्षाको ख्याल गर्न विनम्र अनुरोध गर्छु।

यही मार्च पहिलो हप्तातिर म इजिप्टमा एउटा सेमिनारमा भाग लिन गएको थिएँ, जतिबेला कोरोना भाइरसको संक्रमण चीनमा मात्र सीमित थियो। नयाँ काइरोमा एक जना १६-१७ वर्षकी केटी मलाई हेर्दै ‘कोरोना भाइरस!’ भनेर झस्किन्। मेरो अनुहारले मेरो देशको पहिचान नझल्किँदो रहेछ। हुन त सन् २०१४ मा श्रीलंका जाँदा पनि मलाई चिनियाँ तथा मंगोलिया नभएका होइनन्। ‘म कोरोना देशको नागरिक होइन, नेपाली हुँ’, ती इजिप्टकी युवतीलाई हाँस्दै जवाफ दिएँ। अझै मैले कति देशमा यस्तो जवाफ दिँदै हिँड्नुपर्ने हो, थाहा छैन।

केही दिनअगाडि म रत्नपार्कको शौचालय जाँदा नीलो रङको मेडिकल मास्क बेचिरहेको देखें। सोध्दा एउटाको २० रुपैयाँ रे। मसँगै रहेका साथीले ५ वटा किने र पहिला पनि यहींबाट लागेको भनेपछि ती बिक्रेताले एउटा मास्क बोनस दिइन्, अर्थात् १०० रुपैयाँमा ६ वटा तर यो देखेर उनकी छोरीले हाम्रै अगाडि उनलाई कराइन्- किन बोनस दिएको भनेर।

यस्तै त्यसको केही दिनपछि गोंगबु बानियाँटारको जाल्पचोकबाट पश्चिमतिर जाँदै थिएँ, मास्क सिलाइरहेको टेलर देखें। एउटा मात्र मास्क दिन मिल्छ कि मिल्दैन भनेर सोध्दा एउटाको २५ रुपैयाँ पर्छ भनेर आमालाई नयाँ बसपार्कबाट धादिङ घर पठाउनुपर्दा गोंगबुमा एउटा मास्क ४० रुपैयाँमा किन्नुपरेको थियो।

अर्थशास्त्रको माग, पूर्ति र मूल्यको सन्तुलन सिद्धान्तले काम गरेको छैन। अहिलेको साम्यवादी दर्शन अध्ययन गरेका मानिस संलग्न सरकारले बजार मूल्य निर्धारण गर्नुपर्थ्याे। तकि माग र पूर्तिका आधारमा बजारको मूल्य कायम नहोस्। मास्क यतिखेर आधारभूत आवश्यकता नै भइसकेको छ। कोरोना भाइरसबाट बच्ने अस्त्र नै यही भएको छ। यतिबेला विश्व नै मास्कमय भएको छ। ।मास्कको युग प्रारम्भ भएको छ।

विभिन्न सञ्चारमाध्यम तथा निकायले यसको प्रयोग गर्न विशेष अनुरोध र प्रचार गरिरहेका छन् भने कुनै-कुनै संघ/संस्था र व्यक्तिगत तर्फबाट मास्क नगन्य मात्रामा नि:शुल्क वितरण पनि भइरहेको देखिन्छ, सामाजिक सञ्जालमा।

निकै महिना अगाडि यो मास्क लगाउनेबारे नेपालका शीर्ष नेताले संसदमा बोल्नुपरेको थियो भने प्रधानमन्त्रीले मास्क लगाउने नागरिकलाई विपक्षी वा सरकारका विरोधी भनेका थिए। त्यतिखेर मास्क लगाउँदा सरकारको विरोध हुन्थ्यो भने अहिले मास्क नलगाउँदा सरकारको विरोध गरेको अर्थ लाग्छ। पहिला सडकमा हिँड्ने तथा सार्वजनिक सवारीसाधन चढ्नेले मात्र मास्क अनिवार्य लगाउने गरेका थिए भने अहिले निजी सवारीसाधनमा यात्रा गर्नेले पनि यसलाई अनिवार्यझैं गरेको देखिन्छ।

कुनै बेला अपरेसन कक्षमा काम गर्ने डाक्टर र अन्य मेडिकल स्टाफले अनिवार्य लगाउने गरेको मास्क अब यो धर्तीका कुनाकाप्चासम्म सबै मानिसका लागि अनिवार्य बनेको छ। मास्कको माग बढेपछि यसको उपयोग मात्रै बढेको छैन, यसको वर्ग पनि निर्धारण भएको देखिन्छ। अलि सम्पन्न, सार्वजनिक र हाई प्रोफाइल व्यक्तिले हामी सर्वसाधारणले लगाउने गरेको मास्क पक्कै लगाउँदैनन्। यसको उपयोगिता पनि फरक-फरक छन्।

maskatpashupati
पशुुपति क्षेत्रमा अचेल मास्क लगाएरै हुन्छन् धार्मिक कर्म (रासस)

केही दिनअगाडि एक व्यक्तिलाई ६ सयवटा मास्क लुकाएर राखेको अवस्थामा नेपाल प्रहरीले पक्राउ गरेको थियो। नेपालको कानुन साँच्चै कर्यान्वयन गर्ने हो भने मास्क, ती व्यक्तिलाई जेल पठाउने साधन भएको छ। न्यूनतम लागतमा उच्चतम नाफा लिने उनको स्वार्थमा धक्का लागेको छ। बजारमा उपभोक्ताले बढी मूल्य तिर्नुपरेको छ। बजारमा स्यानिटाइजरभन्दा मास्कको माग बढी छ। स्यानिटाइजर सामान्यतया जहाँसुकै किन्न पाइँदैन भन्ने कुरा कतिपयलाई राम्रोसँग जानकारी पनि छैन।

मैले पहिला-पहिला फ्लिम हेर्दा मास्क लगाएको देखेको थिएँ। विशेषगरी आफ्नो सक्कली अनुहार छोप्न मास्क लगाएको देखेको थिएँ। टीभीमा रेस्लरले मास्क लगाएको देखेको थिएँ। मास्कले आफ्नो पहिचान लुकाउन सहायता गर्दोरहेछ।

नेपालमा अहिलेसम्म बनेका सरकार नागरिकका लागि मास्क लगाएर हिँडेको व्यक्तिझैं देखिएका छन्। हिजो गाउँघरमा भारी बोक्ने र खेतीपाती गर्ने श्रमजीवी व्यक्तिलाई यो सरकार र राज्यले गर्दा तपाईंजस्ता यो देशका इमान्दारले यसरी दु:ख गर्नुपरेको, फाटाहा र चतुरले सहर बजारमा अथाह सम्पति थुपारेको भनेर सिकाउने राजनीतिक दलका नेता/कार्यकर्ता नै हुन्। हामी छिटोभन्दा छिटो करोड र अरबपति बन्ने सपना देख्छौं।

अहिले समाज र राष्ट्रप्रतिको जिम्मेवारी कम र व्यक्तिगत फाइदा धेरै सोच्ने युवा यथेस्ट छन्। हाम्रो समाजका संस्कार, शिक्षा र राजनीतिक प्रणालीले हामीलाई मानवतायभन्दा पनि ‘मनिमय’ हुन सिकाएका छन्। हाम्रो प्रगति सहर बजारमा घर र गाडीले मापन गर्छन्। यसकै परिणाम आज देश यस्तो गम्भीर अवस्थामा हुँदा पनि मास्क लुकाउने, बढी मूल्य लिनेजस्ता कुकृत्य गरिएको हुनुपर्छ। यसको अन्तिम उद्देश्य भनेकै अलि बढी नाफा कमाउनु नै हो। नाफाको बाटोमा मात्र हिँड्ने ध्याउन्नले कानुन र मानवतामा ठेस पुगेको हामीलाई हेक्कै हुँदैन।

जोन एल स्पोनरक अनुसार अनुहारमा लगाउने मास्क १९औं शताब्दीमा अपरेसनका बेला डाक्टरले ब्याक्टेरिया रोक्न प्रयोग गर्ने क्रममा देखापरेको हो। पछि चीनले निमोनिया महामारी रोक्न यो प्रयोग गरेको थियो। लेन्तरिसले मेडिकलको आधुनिकताको संकेत, जीवाणु रोक्न र मानिसलाई रूपान्तरण गर्न मास्क प्रयोगमा ल्याएको भनेका छन्। र्‍याप गीत गाउने गायकले पनि आफ्नो छुट्टै पहिचान बनाउन र आफ्नो अनुहारबाट दर्शक/स्रोतालाई मनोरञ्जन दिन मास्क प्रयोग गरेका थिए। वातावरण संरक्षणवादीले वातावरण स्वच्छ र सफा राख्नुपर्छ भनेर मास्क लगाउन थाले।

मेडिकलबाट मनोरञ्जन हुँदै मास्कले पछि राजनीतिसम्म प्रवेश पायो। महिला अधिकारकर्मीले आफ्नो शरीरको आफैं मालिक भन्ने सन्देश दिन अनुहारमा मास्क लगाउन थाले। हङकङमा चलेको प्रजातान्त्रिक आन्दोलनमा आन्दोलनकारीले आफ्नो रूप बदल्न र राजनीतिक सन्देश प्रवाह गर्न मास्क प्रयोगमा ल्याएका थिए।

मेडिकल मानवशास्त्री क्रिस्तोर लेनटेरसले मास्कलाई जीवनका धेरै सन्दर्भमा प्रयोगमा आउने रोचक चिज भनेका छन्। प्रारम्भिक समयमा मास्क एसियाली संस्कृतिका रूपमा विकास भएको थियो भने अहिले कोरोना भाइरसका कारण विश्व समुदायको साझा संस्कृतिका रूपमा स्थापित भइसकेको छ।

मानवशास्त्रमा प्रतीकात्मक व्याख्या निकै महत्वपूर्ण मानिन्छ। मान्छेले विकास गर्ने हरेक संस्कृतिको प्रतीकात्मक अर्थ फरक–फरक हुन्छन्। मानवशास्त्री भिक्टर टोरनर, क्लिफोर्ड गर्ज र म्यास वेबरले प्रतीकले मानिसले विकास गर्ने सामाजिक अन्तरक्रियाको प्रक्रिया, व्यक्तिगत कार्य र तिनको व्याख्या, सामाजिक कार्यको प्रारम्भ गरी व्यक्ति तथा समूहमा प्रभाव पार्छ भनेका छन्।

अपरेसनका बेला डाक्टरले आफू सुरक्षित हुन लगाउने गरेका मास्क आज राजनीतिक विद्रोहको संकेतसम्म बन्न सफल भएको छ। विश्वका हरेक क्षेत्रका मानिसले केही न केही गर्न अनुहारमा मास्क लगाउने गरेको देखिन्छ। नेपालमा काठबाट बनाएको मखुण्डो एक प्रकारको मास्क नै हो, जुन प्राचीन कालदेखि चलनचल्तीमा छन्।

आदिवासी जनजातिले आफ्नो मौलिक ज्ञान/सीपको उचित उपयोग काठमार्फत गरेको देखिन्छ, जुन अहिले पर्यटकका लागि आकर्षक वस्तु बनेको पाइन्छ। काठबाट सुरुवात भएको मास्कको विकासक्रममा अहिले यसको स्वरूप परिवर्तन भएको देखिन्छ।

आज क्रिकेट खेलाडी, बाइक/साइकल, हिमाल चढ्दा, बम डिस्पोज गर्दा मास्क लगाउनु, यसका विकसित स्वरूप हुन्। सुरक्षाबाट संस्कृतिसम्म मास्कको उपयोग भइरहेको देखिन्छ। नेवार समुदायको लाखे नाचको संस्कृतिमा अहिले पनि मास्क रूपमा मखुण्डो लगाउने गरिएको पाइन्छ।

२०६७ सालमा एक जना पूर्वमन्त्रीसँग गाउँको एउटा कार्यक्रममा जाने क्रममा गाडीभित्र हुँदा मास्क लगाएका उनले कार्यक्रम स्थलनजिक आएर गाडीबाट ओर्लिनेबित्तिकै ‘अब त मास्क फुकाल्नुपर्‍याे, नत्र जनताले आफूहरूको अपमान गरेको ठान्छन्’ भने। मेरो चेतमा त्यतिबेला घुस्यो कि मास्क लगाउँदा अरूको अपमान हुनेरहेछ।

लोकतान्त्र स्थापनापश्चात् मूलतः काठमाडौंमा मास्कको प्रयोग धेरै भएको देखिन्छ। सम्पन्नता देखाउन बाइक चलाउने होड, विकासका नाममा जथाभावी कच्ची सडक, अव्यवस्थित बसोबासले बढाएको फोहोरमैला आदिले सहर बजारमा मास्क लगाउनु अनिवार्य नै भएको छ।

मास्क अहिले व्यपारीका लागि नाफा कमाउने वस्तु, राजनीति गर्नेका लागि विरोध/समर्थन गर्ने औजार, गायकका लागि मनोरञ्जन साधन, विभिन्न किसिमका सुरक्षाका लागि सुरक्षित साधन र विभिन्न समुदायका लागि संस्कृति बनेको छ।

(सूर्यबहादुर तामाङ मानवशास्त्री हुन्)

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .