तीन साता लामो युरोप भ्रमणमा गएकी थिएँ। फर्केपछि पाँच दिनदेखि घरमै सेल्फ क्वारेन्टाइनमा छु। फेब्रुअरी २३ मा युरोप जाँदा चीनमा काेराेनाकाे महामारी थियो। इरान र इटलीमा भर्खर प्रकोप सुरु भएको थियो।
लागूपदार्थ, रक्सीको प्रयोगले बालबालिकामा पर्ने असरबारे ती देशमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनहरुमा भाग लिन युरोप गएकी थिए। मैले बेलायतको लन्डन, अस्ट्रियाको भियना र आयरल्यान्डको डब्लिनमा एकएक साता बिताएँ।
यो तीन सातामा युरोपमा व्यापक रुपमा कोरोना भाइरसको संक्रमण फैलियो। भियनामा राष्ट्रसंघले आयोजना गरेको वर्ल्ड फेडेरेसन अगेन्स्ट ड्रगमा संसारभरबाट एक हजार मानिस सहभागी थिए। त्यस्तै डब्लिनमा आयोजित ग्लोबल अल्कोहल पोलिसी कन्फरेन्समा ५ सय सहभागी थिए।
यी कार्यक्रममा भाग लिँदा हजारौँसँग भेट भयो। तथापि, भाइरसबाट संक्रमित भइन्छ कि भनेर सधैँ सतर्क थियौँ। हात मिलाउन छाड्यौँ। भेटमा कसैसँग अंकमाल गरिएन। एक प्रकारको दूरी कायम राखियो। त्यहाँ स्यानिटाइजर र हात धुने व्यवस्था गरिएको थियो।
डब्लिनमा हुँदाहुँदै समस्या झनै गम्भीर बन्यो। बजार बन्द भयो, सार्वजनिक यातायात चल्न छाड्यो। स्कुल, कलेज बन्द हुन थाले। त्यसपछि भ्रमण तीन दिन छोट्याएर नेपाल फर्केँ। तर, फर्किनुअघि घरमा फोन गरेर सेल्फ क्वारेन्टाइनका लागि सबै कुरा ठिक पारिदन भनेँ। म आइपुग्दा कोठामा औषधि छर्केर तयार बनाइसकिएको रहेछ।
गौरीजी (पति) लाइब्रेरीमा सर्नु भएको छ। मलाई सबैभन्दा बढी चिन्ता आमा र सासुआमाको लागेको छ। आमा ७६ वर्षको हुनुहुन्छ, मुटुको रोगी। सासु आमा ८२ वर्षको हुनुहुन्छ। सबैभन्दा बढी उहाँहरुकै चिन्ता हो। सबैभन्दा जोखिममा उहाँहरु नै हुनुहुन्छ। आमा र सासुआमाले पनि मेराे चिन्ता गरिराख्नुहुन्छ। अहिले म क्वारेन्टाइनमा बसेर उहाँहरुसँग नियमितरुपमा फाेनमा कुराकानी गर्छु।
नेपाल आउँदा दोहा ट्रान्जिट थियो। पहिले भीड हुने दोहा विमानस्थलमा निकै कम चहलपहल थियो। त्यहाँ खासै जाँच भएन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने नेपाली, अंग्रेजी र चिनियाँ भाषामा सूचना जारी गरिएको थियो। त्यहाँ स्वास्थ्य जाँचको व्यवस्था पनि थियो। हामीलाई स्वास्थ्य अवस्था र सम्पर्कसहितको विवरण भएको फारम भराइयो।
मैले ल्याएको सुटकेस पनि स्यानिटाइजरले पुछेपछि मात्रै अरुलाई छुन दिएँ। मोटर चलाउने गुरुजीलाई पनि मास्क लगाउन लगाएँ। घरमा आउँदा सबै व्यवस्था भएको रहेछ। गौरीजीले आफूलाई आवश्यक पर्ने सबै कपडालगायतका सामान निकालिसक्नु भएको थियो।
१३ वर्षको छोरा घरमा हुँदा सधैँ मसँग हुन्थ्यो। अहिले आठ कक्षाको जाँच चलेको छ। छोरालाई पढाउन र अंगालो हाल्न पाएको छैन। स्कुल जाँदा पनि परैबाट गएँ है भन्ने गरेको छ। कुरा बुझ्ने भएको छ। परिवारका अन्य सदस्यहरुसँग निश्चित दूरीमा बसेर कुराकानी हुने गरेको छ। जाडो मौसम सुरु भएदेखि नै सासु आमा देवरकोमा जानुभएको छ।
सेल्फ क्वारेन्टाइनमा बस्दा पौष्टिक आहार लिने गरेको छु। कागती पानी र मह पहिलेदेखि खाने गरेको हो। सुन्तला निकै मन पर्छ। साथीहरुले माया गरेर आफ्नै बारीमा फलेको फलफूल ल्याइदिनु भएको छ।
घरबाटै काम गरिरहेको छु। कन्फ्ररेन्स कलबाट काम भइरहेको छ। किताब पढिरहेको छु। क्वारेन्टाइनमा बस्नुअघि मैले कहिल्यै पनि चार दिनमा एउटा पुस्तक पढिसकेकी थिइनँ। अहिले सकेँ।
अहिलेसम्म ममा कुनै लक्षण देखिएको छैन। देखियो भने तत्कालै जाँच गराउन टेकु जाने छु। युरोपमा हुँदा पनि सावधानीका धेरै उपाय अपनाएको थिएँ। तर पनि मनमा संक्रमित भएँ कि भन्ने डर लागिरहने रहेछ।
युरोपमा केही मानिसलाई मात्रै भेटेको भए खासै चिन्ता लाग्दैनथ्यो। तर म सहभागी कार्यक्रममा धेरै मानिस थिए। त्यसैले मेरो कारणले अरुलाई कुनै प्रकारको जोखिम नहोस् भनेर एकान्तवासमा छु।
(तुलाधर बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सिबिन नेपालकी निर्देशक हुन्।)
प्रतिक्रिया