ad ad

ब्लग


इटालीका नेपालीको बयानः कोरोनाबाट बच्न नेपालबाट सय वटा मास्क मगाएँ

इटालीका नेपालीको बयानः कोरोनाबाट बच्न नेपालबाट सय वटा मास्क मगाएँ

बाबु श्रेष्ठ
फागुन २७, २०७६ मंगलबार ७:५१,

म स्विट्जरल्यान्डसँग सीमासँग जोडिएको इटालीको शहर भारेजेमा बस्छु। इटालीको मिलान शहरभन्दा यो २०–२२ किलोमिटर उत्तरमा छ। यो ठाउँलाई आइतबार इटालीले रेड जोन घोषणा गरेको छ। यो क्षेत्रका लागि सरकारले ‘एलर्ट’ समेत जारी गरेको छ। यो क्षेत्रबाट कोही पनि बासिन्दा सरकारलाई जानकारी नदिई बाहिर गए तीन महिना जेल सजाय हुन्छ।

सरकारले कोरोना नियन्त्रणका लागि इटालीमा सबै आवागमनलाई रोक लागएको छ। चार दिन भयो म घरबाट निस्केको छैन। अस्ति सुपरमार्केटमा नुन आयो भनेर किन्न गएको थिएँ। अन्तिम पटक बाहिर निस्केको त्यो नै हो।

मानिसलाई घरबाट बाहिर ननिस्कन भनिएको छ। यहाँ स्वास्थ्यप्रति अलि लापरवाही गरेको देख्छु। मास्क नलाइ मानिस हिँडेकको देखिन्छ। त्यसले गर्दा कोरोना यहाँ चाँडै फैलिए जस्तो लाग्छ। अहिले भने मान्छे त्रसित देखिन्छन्। बजारमा मास्क र सेनिटाइजर पाइन छाडेको छ। मैले एक सय वटा मास्क नेपालबाट मगाएँ। एक जना बैनी इटाली आउँदै हुनुहुन्थ्यो उहाँले १ सय ८० रुपैयाँका दरले किनेर ल्याइदिनु भएको छ। सेनिटाइजर पनि अभाव छ। मैले पहिला काम गर्ने सुपर मार्केट प्रमुखलाई भनेँ। उनले केही सेनिटाइजर जम्मा गरेर फोन गरे, त्यसपछि ल्याएँ।

सधैँ भरिभराउ हुने सुपर मार्केटका र्‍याक यतिबेला पूरै खाली देख्दा धेरै ठूलै संकट आयो जस्तो लाग्ने र नरमाइलो हुन्छ। साँच्चै केही भएको जस्तो हुन्छ। इटालीमा अहिलेसम्म ४ सय ६३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। ९ हजारभन्दा बढी संक्रमित छन्। दुई साताअघि शुरुमा लोदी शहरमा यो देखियो भएको थियो। त्यसपछि फैलिँदै अहिले इटालीभर ठूलो संकटका रुपमा देखिएको छ।

म दसैँभन्दा केही समयअघि परिवारसँग दसैँ मनाउन इटाली आएको हुँ। पहिला लामो समय इटालीमै बसेँ र नेपाल फर्किएको हुँ। पछिल्लो समयमा नेपाल फर्किने भन्दाभन्दै केही समय यतै बसियो। अहिले इटालीमा थुनिएको अवस्था भएको छ। लक डाउनमा परिएको छ। पाल्पाको म अहिले काठमाडौंमा बस्छु। काठमाडौंको चाल्नाखेलमा कालिज फार्मिङ गर्छु। हामी इटालीमा तीन जना भएपनि भारेजेमा श्रीमती र म मात्रै छौं। छोरा टोरेनोका क्यासिनोमा काम गर्छ। उसले काम गर्ने क्यासिनो बन्द भए पनि हामी भएको ठाउँमा आउन सकेको छैन। हामी बसेको स्थान स्वीट्जरल्यान्डको सीमा नजिकै हो। १५ मिनेट ड्राइभमा पुगिन्छ। यो चिसो हुने ठाउँ हो। दिउँसो तातो हुँदा १७–१८ डिग्री पुग्छ।

इटालीमा करिब १ हजार ५ सय नेपाली छन्। अधिकांश राजधानी रोमभन्दा उत्तरतर्फ छन्। दक्षिणतर्फ निकै कम नेपाली छन्। सबैसँग सम्पर्क गर्न खोजेका छौं। अहिले हुने सम्पर्क भनेको फेसबुक, भाइवर र ह्वाट्सएपबाट हो। इटालीमा नेपाली दुतावास छैन। स्विटजरल्यान्डको दूतावासले हेर्छ। तर अहिलेसम्म हामी कस्तो अवस्थामा छौं भनेर कसैले सम्पर्क गरेको छैन। इटालीमा पाउलो नुगारी नामका अवैतानिक दूत हुनुहुन्छ। हामी आफैँले उहाँसँग सम्पर्क गर्न प्रयास गरिरहेका छौं।

इटाली सरकारले स्वास्थ्य इमर्जेन्सीका लागि ११२ र १५०० मा फोन गर्न आग्रह गरेको छ। मलाई चिसोको एलर्जी छ। खोकी लाग्छ। औषधी खाने गरेको छु। केही दिनअघि फेमिली डक्टरलाई भेट्न गएको थिए। क्लिनिकमा भित्र पस्न पाइन। औषधि बचाइ राख्नका लागि एक–एक दिनमा खाने औषधी दुई–दुई दिनमा खान थालेको छु। इमर्जेन्सी अवस्था हो भने सरकारले दिएको नम्बरमा फोन गर्न भनेको छ । (कुराकानीमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .