ad ad

ब्लग


स्ववियु निर्वाचनलाई जित र हारभन्दा माथिबाट सोच्ने कि?

स्ववियु निर्वाचनलाई जित र हारभन्दा माथिबाट सोच्ने कि?

विजय गौतम
फागुन १७, २०७६ शनिबार ८:५९,

विद्यार्थीहरुले आफ्ना लागि, आफैँमध्येबाट प्रतिनिधि छनोट गर्ने दिन हो, फागुन १४। त्रिभुवन विश्वविद्यालयको क्यालेन्डरअनुसार स्ववियु निर्वाचनको लागि प्रस्तावित मिति। बिडम्बना, निर्धारित मितिमा स्ववियु निर्वाचन भएन। निर्वाचन पनि नहुने र अर्को मिति पनि नतोकिँदा स्ववियुको भविष्यमाथि नै प्रश्न उठेको छ।

निरंकुश पञ्चायती कालरात्रिमा जन्मिएर हुर्किएको स्ववियु प्रजातन्त्रपछि जवान भयो। ज्ञानेन्द्रले प्रतिगमन गर्दासमेत यसको यात्रा रोकिएन। विद्यार्थी आन्दोलनको सौर्यसमेत समाहित भएको जनयुद्ध र जनआन्दोलनको संयोजनपश्चात देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो। राजनीतिक अस्थिरतका कारण स्ववियु निर्वाचनका कार्यतालिका अस्थिर बन्दै गयो।

लोकतन्त्र र स्ववियु
०६२-०६३ को परिवर्तनपछि २०६५ सालमा स्ववियु निर्वाचन त भयो तर त्यो सप्तकोशी तरेर पारी जान सकेन। कारण थियो, समानुपातिक निर्वाचन प्रणालीको माग। लामो बहस र छलफलपछि मिश्रित निर्वाचन प्रणाली तथा नियमित विद्यार्थीलाई दृष्टिगत गर्दै २८ वर्षे उमेर हदको प्रावधानलगायतका मुद्दा सर्वसम्मत पारित भएर अगाडि बढ्यो। त्यसको ८ वर्षपछि २०७३ मा करिब ३० प्रतिशत क्याम्पसमा मात्रै निर्वाचन भयो। गत वर्ष नै हुनुपर्ने निर्वाचन अहिलेसम्म भएको छैन र अब पनि ‘अनिश्चितकालीन स्थगन’भित्र कैद हुनु दुःखद् कुरा हो।

लोकतन्त्रको विशेषता नै अद्यावधिक निर्वाचन हो। लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा स्ववियु निर्वाचन झन् अँध्यारो सुरुंगमा फस्नु निकै खतरनाक कुरा हो। त्रिविको क्यालेन्डरमा फागुन १४ गते निर्वाचनको कार्यतालिका छ। तर, घोषित मितिमा निर्वाचन नहुनुले दुई विषय एकसाथ पटाक्षेप भएका छन्।

अनुत्तीर्ण उपकुलपति
निर्वाचन नहुको पहिलो र मुख्य कारण भनेको विश्वविद्यालयको नेतृत्वको असक्षमता हो। केही आशा र उत्साह देखाउँदै आएका उपकुलपति पहिलो ‘प्रस्तुति’ मै चुके। किनकी त्रिविलाई क्यालेन्डरमा हिँडाउने उनले सकेनन्, उनी अनुत्तीर्ण भए।

उपकुलपतिले विद्यार्थी संघ, संगठनका नाममा चुनावबाट उन्मुक्ति मिल्ने ठानेका छन् भने त्यो सर्वथा गलत हो। यहाँ ‘आँगन टेढो’ भन्ने सूत्रले काम गर्दैन भन्ने बुझ्नु जरुरी छ। क्यालेन्डरमा नचल्ने विश्वविद्यालयको रोगको अप्रेसन जति छिटो र राम्रोसँग गर्न सकियो त्यसले त्यति नै बढी फाइदा हुन्छ। अन्यथा विश्वविद्यालयको आगामी कार्यसूचीसमेत क्यालेन्डर बमोजिमभन्दा पनि ‘जसो जसो बाहुन बाजे, उसै–उसै स्वाहा’ भन्नेतिर बरालिने खतरा देखिन्छ।

अदूरदर्शी विद्यार्थी संघ
स्ववियु निर्वाचन स्थगनसँग नेपाल विद्यार्थी संघ पनि कारणका रुपमा जोडिन आइपुगेको छ। निवाचन विद्यार्थी, विद्यार्थी संघ र संगठनलाई चाहिएको थियो र हो। तर, एउटा प्रमुख विद्यार्थी संगठन नेविसंघले उल्टो स्ववियु निर्वाचनको लागि रेक्टर नियुक्तिको प्रसंगिबनाकाे सर्त तेर्सायो। नेविसंघको त्यही सर्तमाथि टेकेर स्ववियु नचाहनेहरुले फागुन १४ मा निर्वाचन हुन दिएनन्। निर्वाचनमा कसले हार्छ र कसले जित्छ भन्ने दोश्रो विषय थियो। तर, विद्यार्थी र विद्यार्थी आन्दोलनले जित्न र जिताउन निर्वाचन अनिवार्य थियो। त्यो पनि विश्वविद्यालयको क्यालेन्डरमा रहेर। त्यसैले नेविसंघको सर्तले अहिले ‘बाठो बाँदर’को कथा याद दिलाइरहेछ।

सरकारले निर्वाचन गराउन सकेन भनेर देखाउनका लागि निर्वाचनबाट भाग्ने बहानामा लोकतन्त्रको हिमायती बताउने नेविसंघ रमाउनु आफैँमा रोचक छ। समयमा निर्वाचन नभए कुनै पनि संघ र संगठनले जित्दैनन् भन्ने बुझ्न जरुरी छ। २०७६ मै स्ववियु निर्वाचन भएन भने न त नेविसंघले जित्छ न त अनेरास्ववियू वा अरु संगठनले नै। कसको जित र कसको हारको भन्दा पनि स्ववियु जोगाउनु नै अहिलेको आवश्यकता हो।

कस्मेटिक शिक्षाविद् र स्ववियु
स्ववियु निर्वाचनको तालिका बहसमा मात्र सीमित गरेर अनिश्चितकालीन स्थगनमा उम्कन खोजेको त्रिवि र यसका पदाधिकारीको हर्कतले स्ववियु तथा विद्यार्थी संगठनको औचित्य नदेख्ने विरोधीहरुको नै सेवा गरेको ठहर्छ। निवााचनको बहस तातेको घडीमा केही थान शिक्षाविदले कुर्लंदै भने–विद्यार्थी संगठन र स्ववियुको औचित्य सकियो।’ तर, तिनले पछाडि फर्किएर विद्यार्थी आन्दोलनको सौर्यले हाँसिल गरेका उपलब्धि देखेनन्। स्ववियु र विद्यार्थी संगठनले गरेका रखवाली ठम्याउन सकेनन्। किनकि हाम्रा शिक्षाविदहरु पनि कस्मेटिक खालका छन्। यिनको दृष्टि कस्मेटिक पक्षमा नै रुमलिने गर्दछ।

इतिहासमा स्ववियु भन्ने संस्था हुन्नथ्यो भने, विद्यार्थी संगठन हुन्नथे भने तिनको वाक स्वतन्त्रता पनि दरबारमा कैद हुन्थ्यो। हामी जुन हालतको विश्वविद्यालयको चित्र देखेर मुर्मुरिइरहेका छौँ, छटपटाइरहेका छौं योभन्दा निकै कारुणिक तस्बिर देखिन्थ्यो। शैक्षिक अवस्था झन् जर्जर हुन्थ्यो। हामी त्यस्ता धेरै परिघटनाको साक्षी छौं।

हालै मात्र हेटौंडामा कृषि, वन विज्ञान पढिरहेका अनेरास्ववियू सम्बद्ध विद्यार्थीहरुले ४६ दिनसम्म अनवरत आन्दोलन गरे। किनकि डिन कार्यलयले प्रवेश परीक्षामा विद्यार्थीले पाएको प्राप्तांकको क्रमको आधारमा नभई मनोमानी ढंगले भर्ना सूची प्रकाशित गरेको थियो। विद्यार्थीहरुले कालोपट्टी बाँधेर बिरोध गर्दा सुनिएन। स्थापित एवं वैधानिक मान्यता लागू गराउन पनि विद्यार्थीहरु पढाइसमेत अवरुद्ध गर्न बाध्य भए। ४६ दिनपछि कृषि, वन विश्वविद्यालय अन्तर्गतको वन विज्ञान संकायको पदाधिकारीको ‘घैंटोमा घाम’ लाग्यो। र, योग्यताक्रम लत्याएर मनोमानी हिसाबले सार्वजनिक गरेको भर्ना सूची सच्चाइयो।

आजको दिनमा पनि यस्तो अवस्था विद्यमान रहनुले हाम्रा विश्वविध्यालयको हविगत उदांगो पार्दैन र? यस्ता घटनाले भौतिक पूर्वाधारका दृष्टिले मात्र होइन चेतना, चिन्तनका दृष्टिले समेत हाम्रा विश्वविद्यालयहरु दरिद्र अवस्थामा छन् भन्न सकिन्छ।

विश्वविद्यालयमा ‘स्ववियु र राजनीति’
यसरी हेर्दा जसरी शिक्षामा आम विद्यार्थीको पहुँच स्थापित गर्ने अनन्त लडाइँको अगुवा विद्यार्थी संगठन बनेको छ, त्यसैगरी शिक्षामा गुणस्तर सुनिश्चित गर्ने यात्राको अगुवा प्राध्यापक बन्नैपर्छ। अनि मात्र हाम्रो विश्वविद्यालय विश्वविद्यालय जस्तो बन्छ। शिक्षालयहरु गर्व लायक बन्दछन्।

बद्लिएको समय चक्रसँगै प्राध्यापक र विद्यार्थी अनि संगठनहरु परिपुरक भूमिकामा समेत उत्तिकै पोख्त हुन जरुरी छ। मुख्यतः विद्यार्थी संगठनलाई सिकारु भूमिका खेल्ने छुट छैन।

हुन त विश्वविद्यालयमा ‘नेम प्लेट’ झुण्डाउने र निजी शिक्षालयमा कुद्ने प्राध्यापकको बाहुल्यता भएको मुलुक हो, यो। यसमा खबरदारी गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरबाट निर्वाचित तत्कालीन स्ववियु सभापति हिमाल शर्माको अगुवाईमा एकमुष्ठ हाजिर गरेर तलब खाने, समय जति निजी शिक्षालयमा खर्चने प्राध्यापकको हाजिरी कापीमा ‘रातो’लगाउने अभियान चलाउँदासमेत कथित ‘विद्’हरुबाट ‘खप्की’ नखाएको होइन। विश्वविद्यालय बनाउनका लागि त्यस्ता सबै खाले खप्की खाँदै आएको र खान तयार विद्यार्थीहरुको समूह हो, विद्यार्थी संगठन। त्यही जमातलाई ‘रिचार्ज’ गर्ने स्ववियु चुनाव गर्नु हामी सबैको आवश्यकता हो।

स्ववियु भनेको विद्यार्थीको हक अधिकार सुनिश्चित गर्ने र प्रतिभा फुलाउने फूलबारी हो। त्यस्तै विद्यार्थी हितका मुद्दामा आवश्यक दबाब, जागरण र खबरदारी गर्ने दौँतरीको पर्यायवाची हो स्ववियु। पक्कै पनि स्ववियुलाई जति सुसंस्कृत बनायो, ज्युँदो र जाग्दो पहिचानमा पुनस्र्थापित गर्यो त्यति नै यसका आलोचना मत्थर हुने तथ्य पनि हामीले भुल्नु हुँदैन। साथै स्ववियुलाई क्याम्पसको सत्ता होइन संघर्षको साझा र वैधानिक थलोको रुपमा बुझाइनु सही हुन्छ।

कमिसन, ठेक्का, गुण्डागर्दीजस्ता विषयमा जोडिने गरेका छन्। यस्ता गलत प्रवृत्तिलाई खारेज गर्न विद्यार्थी संघ–संगठन ध्यान दिनैपर्दछ। आजको स्ववियुलाई सतहमा उठेका र उठाईएका प्रश्नहरुलाई व्यवहारबाट उत्तर दिनुपर्ने चुनौती छ। यसो हुन सक्दा स्ववियुले विश्वविद्यालयमा सही राजनीति हुर्काउने अभियानको नेतृत्व समेत गर्न सम्भव छ। राष्ट्रले खोजेको जस्तो युगानुकुलको नयाँ नेतृत्व जन्माउने सामथ्र्य पनि स्ववियुसँग नै छ।

कथित विद्हरुले भनेजस्तो विश्वविद्यालय  विद्यार्थी राजनीतिले बिगारेको होइन, कू राजनीतिले बिगारेको हो। दलीयकरणले बिगारेको हो। झण्डा समातेपछि जे गरे पनि पाइन्छ भन्ने मनोवृत्तिले बिगारेको हो। सही राजनीति नभएर बिग्रेको हो। विश्वविद्यालयमा सही राजनीति हुर्कंदा एउटा विश्वविद्यालय मात्रै बन्दैन, सिंगो मुलुक बन्दछ। यसैले स्ववियुबाट भागेर न विश्वविद्यालय बन्दछ न त मुलुक नै। स्ववियु नभए मात्र विश्वविद्यालय बाच्छ भनेर कसैले भन्छ भने त्यो केवल कस्मेटिक चिन्तनको उपज हो। 

(लेखक अनेरास्ववियूका नेता हुनुहुन्छ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .