ad ad

ब्लग


जब बिहान ५ बजेकै कलमा सुनें- क्रसर डनले दिलीपको हत्या गरे ...

जब बिहान ५ बजेकै कलमा सुनें- क्रसर डनले दिलीपको हत्या गरे ...

शैलेन्द्र महतो
पुस २६, २०७६ शनिबार ५:१०,

म सुतिरहेकै बेला शुक्रबार बिहान ५ बजे मोबाइलमा घण्टी बज्यो। ब्युझिएँ। एकपटकमा फोन उठाउन भ्याइनँ। दोस्रोपटक फेरि फोन आयो, उठाएँ।

धनुषाको मिथिला नगरपालिका-५, श्रीपुरका सुनिल भाइले फोनमा भने, ‘दाइ दिलीपको हत्या भयो!’

म अकमकाएँ र सोंधे, ‘कुन दिलीप?’

उनले भने, ‘ओमप्रकाश भन्ने दिलीपकुमार महतो। जो हामीसँगै गाउँ नजिकैको खोलामा भइरहेको अवैध उत्खननको विरोध गर्थे, त्यही दिलीप। आज बिहानै औरही खोलामा टिपरवालाले टिपरले किचेर उनको हत्या गर्‍याे।’

धनुषाको एउटा गाउँमा उदाउन लागेका होनहार, आँटिला, इमान्दार युवाको निर्मम तरिकाले गरेको हत्याले निकै स्तब्ध भएँ। पत्रकार हुँ। समाचार लेख्नु हाम्रो दायित्व हो। नेपालखबरमा पहिले समाचार ब्रेक गरें। र, घटनाको बाँकी कुरा बुझ्न र लेख्नतर्फ लागें। विभिन्न तथ्य खुल्दै गए।

करिब डेढ वर्ष अगाडिको कुरा हो। मिथिला नगरपालिका ५, श्रीपुर गाउँलाई नै जोखिममा पारेर अवैध उत्खनन हुँदा सुनिल र दिलीपलगायत युवाले मलाई एकपटक बसही खोलामा जसरी भए पनि केही पत्रकार आइदिनुपर्यो भन्दै आग्रह गरेका थिए। मैले त्यतिबेला जनकपुरका ८-९ जना पत्रकार साथीसँग समन्वय गरें। र, हामी ढल्केबरपूर्व छेउमै रहेको बसही खोला पुग्यौं। दिलीपलगायत युवाले गाउँ र अवैध उत्खनन भएको खोलाको दृश्य हामीलाई देखाए।

त्यहाँ त स्थानीय प्रशासन, स्थानीय सरकारको मिलेमतोमा क्रसर र टिपर मालिकले अति नै गरेका रहेछन्। २५ फिट गहिरोसम्म बिघौं खोला खनेर तहसनहस पारेका रहेछन्। पत्रकार आएको थाहा पाएर केही क्रसर र टिपर मालिक पनि आफ्ना चेलाचपाटे लिएर हामी भएको स्थानमा आइपुगे र विरोध गर्ने युवाको समूहलाई थर्काए, धम्क्याए। तर हामी पत्रकार भएकाले तिनले ती युवालाई कुटपिटै गर्ने आँट गरेनन्।

त्यसअघि अवैध उत्खननको विरोध गर्ने ती युवाको समूहसँग क्रसर तथा टिपर मालिक र इलाका प्रहरी कार्यालय (ढल्केवर)का प्रहरीसँग कतिपटक विवाद भइसकेको रहेछ। कतिपटक जोखिम मोल्दै स्थानीय बासिन्दा तथा ती युवाले टिपर र चालकलाई समातेर इलाका प्रहरी कार्यालय (ढल्केवर)को जिम्मा लगाइसकेका रहेछन्। तर प्रहरीले आपसी मिलेमतोमा छाडिदिने गरेका रहेछन्। उत्खननका बेला स्थानीयले बोलाउँदा प्रहरी नजाने र स्थानीयले नै समातेर बुझाएका टिपरलाई पनि प्रहरीले कारबाही नगरी छाडिदिने गरेको रहेछ।

यी सबै कुरा बुझेर हामी जनकपुर फर्कियौं। र, आआफ्ना हिसाबले सम्बद्ध सञ्चारमाध्यममा त्यससम्बन्धी समाचार प्रसारण/प्रकाशन गरायौं। त्यसपछि केही दिन खोला उत्खनन रोकियो।

तर केही समयपछि फेरि खोलाको अवैध उत्खनन सुरु भयो। जुन अहिलेसम्म जारी छ। मिथिला नगरपालिकाभित्रका अधिकांश खोलामा स्थानीय प्रशासन र स्थानीय सरकारको मिलेमतोमा क्रसर तथा टिपर मालिकले वितण्डा मच्चाइरहेका छन्। जसका कारण त्यस आसपासका कतिपय गाउँटोल निकै जोखिममा परेका छन्। यसैकारण गाउँबस्ती जोगाउन दिलीपलगयात स्थानीय युवाले खोला उत्खननविरुद्धको अभियान चलाइरहे। तर खोला उत्खननबापत तस्करसँग कमिसन खान पल्केका जिम्मेवार स्थानीय प्रहरी, प्रशासन तथा जनप्रतिनिधि मौन रहे, मुकदर्शक बनिरहे।

बीच-बीचममा हामी पत्रकारले पनि खोला दोहनको समाचार लेखिरह्यौं। तर प्रशासन नै मुकदर्शक भएपछि कसको के लाग्छ र?

तसर्थ क्रसर तथा टिपर मालिक खोला खन्दै गिट्टी बालुवा बेच्दै मालामाल भइरहे। प्रहरी प्रशासन नै आफ्नो हातमा भएपछि कसले के गर्न सक्छ र भनेर तिनको मनोबल बढ्दै गयो। यसबीच तिनले खोला उत्खननको विरोध गर्नेहरू कतिलाई प्रलोभनमा पारे। कतिलाई धम्क्याए। तर दिलीप महतोलगायत केही त्यस्ता युवालाई न त्यो प्रलोभनले लोभ्यायो न त धम्कीले हचक्यायो। उनीहरू बाढीबाट गाउँ बचाउन खोला उत्खननको विरोधमा निरन्तर लागिरहे।

यता प्रहरी प्रशासनको आडमा क्रसर मालिकहरूको मनोबल यति बढ्दै गयो कि तिनले खोला उत्खननविरुद्धको अभियानमा सक्रिय युवा दिलीप महतोलाई मार्नेसम्मको योजना बनाए। त्यस क्रममा तिनले पटकपटक दिलीप तथा उनका परिवारलाई धम्की दिन थाले। तर पनि निडर स्वभावका दिलीप आफ्नो अभियान र अडानबाट पछि हटेनन्। दुई दिनअघि मात्र त्यहाँका क्रसर सञ्चालक विपिन महतोले दिलीपका बुबा रामजीवन महतोलाई घरमै पुगेर भनेका थिए, ‘छोरालाई सम्झाएर राख्नुस्। नत्र कुनै दिन टिपरले किचिदिन्छु।’

नभन्दै शुक्रबार बिहानै उत्खननस्थलमै विभत्स तरिकाले उनको हत्या भयो।

dilip hatya

खोलामा फेरि गिटी, बालुवा निकालिँदै छ भन्ने थाहा पाएपछि दिलीप शुक्रबार बिहानै ४ बजे छिमेकी रोशन यादव लिएर उत्खननस्थलतर्फ लागे। रोशन अलि बिरामी भएकाले केही पछाडि नै थिए। दिलीपचाहिँ दौडेर टिपर भएको ठाउँमा पुगे। जहाँ उनलाई टिपर चालकलगायतले मरणासन्न हुने गरी कुटपिट गरे र बेहोसै बनाए। अत्न्त्यमा उनको टाउकामै टिपर चढाए।
०००

क्रसर ‘डन’हरू सकेसम्म आफ्ना अवैध धन्धा जारी राख्न प्रहरी, प्रशासन, स्थानीय बोलवाला युवा, बद्धिजीवी, जनप्रतिनिधि तथा ठूला नेतालाई आफ्नो प्रभावमा पार्छन् र आफ्नाविरुद्ध मौन बनाउन माहिर हुन्छन्। हाम्रो समाजमा अहिले पनि पैसामा नबिक्ने मानिस कमै छन्। चाहे त्यो कुनै व्यक्ति वा नेता होस् अथवा प्रहरी, प्रशासन नै किन नहाेस्। देशमा अपराध र अपराधी बढ्नुको एउटा मूल कारण यो पनि हो।

यही कारण देखिन्छ, दिलीपको हत्या हुनुमा पनि। दिलीपको हत्यापश्चात् पनि प्रहरीले घटनास्थलको मुचुल्कै नबनाई हताहतार शव उठाएर पोस्टमार्टमका लागि लानुले यो शंकालाई थप बल पुर्याउँछ। यस्ता संवदेनशील घटनामा अनुसन्धानमा बाधा नपरोस् भनेर मुचुल्का नबनुन्जेल प्रहरी घण्टौं घटनास्थल घेरेर बस्छन्। तर के कारण थियो, दिलीपको शव हतारहतार उठाइयो? यसको जवाफ प्रहरीले दिनुपर्छ।

यस्तो घटनाले सामाजिक विकृति, विसंगतिविरुद्ध आवाज उठाउँदै समाज रूपान्तरणमा सक्रिय युवाको मनोदशा कस्तो होला? दिलीपजस्ता युवाको हत्याले प्रहरी प्रशासन र सरकारकै संरक्षणमा देशमा अपराध र अपराधी बढिरहेको पुष्टि हुँदैन र?

एक जल्दाबल्दा सामाजिक अभियन्ता युवा दिलीप महतोको जुन सुनियोजित रूपमा हत्या भएको छ, त्यसका दोषीहरूलाई कानुनी कठघरामा उभ्याएर हदैसम्मको सजाय नदिएसम्म दिलीप र उनका परिवारले मात्र होइन, सिंगो समाजले न्यायको अनुभूति गर्ने छैनन्।

यसर्थ सामाजिक न्याय र रूपान्तरणका पक्षमा रहेका तमाम व्यक्ति दिलीपका हत्यारालाई कारबाही गराउन एकजुट भएर लाग्न आवश्यक छ। अनि मात्र दिलीपले न्याय तथा उनको आत्माले शान्ति पाउनेछ।

अन्त्यमा, दिलीप हत्याका दोषीहरू कानुनी दायरमा आउन् र हदैसम्मको दण्डसाजय पाउन् भन्दै दिलीपप्रति हार्दिक श्रद्धाञ्जलि एवं पीडितप्रति समवेदना!

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .