खुसी- धेरैजसो मानिस यसलाई आफ्नो लक्ष्य ठान्छन्। आफ्ना सबै असल/खराब कामको कारक खुसी भएको दाबी गर्छन्। तर, एक अध्ययनले खुसी हुने चाहना राख्ने व्यक्ति नै सबैभन्दा दुःखी हुने गरेको पत्ता लगाएको छ।
युनिभर्सिटी अफ रिडिङका अध्येताहरुले गरेको अनुसन्धानअनुसार खुसी प्राप्तिलाई बढी मान्यता दिनेहरुमा डिप्रेसनको लक्षण देखिने सम्भावना धेरै देखिन्छ। अर्थात् खुसीको खोजीमा दौडिने असंख्य मानिस डिप्रेसनको सिकार भइरहेका छन्।
वास्तवमा अहिले पश्चिमा जीवनशैलीमा खुसीका लागि ठूलो दौडधुप देखिन्छ। यो दौडधुप देखेर भविष्यका इतिहासकार पनि छक्क पर्ने छन्।
खुसीको खोजी नराम्रो कुरा होइन। मानसिक स्वास्थ्य महत्वपूर्ण छैन भन्ने पनि होइन। तर मानसिक सुस्वास्थ र खुसीको उत्कट चाहना एउटै होइन। वास्तवमा यी दुई कुरा विपरीत हुन्।
खुसीका नाममा अहिले संसारमा उद्योग नै चलिरहेको छ। यसले उपभोक्तावादी संस्कृतिलाई बढावा दिएको छ। तर, यसले मानिसहरुलाई सफल र सुन्दर जीवन बाँच्न बाधा पुर्याइरहेको छ।
‘द ह्याप्पीनेस इन्डस्ट्री’ नामक पुस्तकमा लेखक विल डेभिस सरकार र निजी कम्पनीले मिलेर नागरिकको आनीबानीको व्यवस्थापन गर्न खोजेको बताउँछन्। ताकि आफ्नो नाफा र आफूअनुकूलको समाज निर्माण गर्न सकियोस्।
त्यस्तै मनोविज्ञ पिटर ब्लुम यसलाई आत्म–स्तरोन्नतिको माध्यम ठान्छन्। जसले व्यक्तिगत तहमा मानिसलाई थोरै शक्तिशाली बनाउँछ भने भने समाजलाई चाहिँ ठूलो स्तरमा कमजोर तुल्याउँछ।
एरिस्टोटलले ‘युडाइमोनिया’ (जसलाई धेरैले खुसी भनेर अनुवाद गरेका छन्। तर, सम्भवतः यसको सही अर्थ सुखद् जीवन हुनसक्छ) लाई मानिसले आफ्ना लागि राख्ने चाहना भनेका छन्।
खुसी आफैँमा कुनै लक्ष्य होइन र हुन सक्दैन। खुसी खोज्नु भनेको विन्दास व्यक्ति बन्न खोजेजस्तै हो। त्यसैले तपाईं जति खुसी हुन खोज्नुहुन्छ, त्यति कम खुसी बन्नुहुनेछ।
-द गार्जियनबाट
प्रतिक्रिया