ad ad

ब्लग


शक्ति–राष्ट्रको चासो बढेको कोराला नाका पुग्दा

शक्ति–राष्ट्रको चासो बढेको कोराला नाका पुग्दा

आनन्दराज मुल्मी
चैत २१, २०७९ मंगलबार १३:५५, पोखरा

२०७९ साल सकिन लाग्दा गण्डकी प्रदेशको उत्तरी जिल्ला मुस्ताङका पाँचवटा गाउँपालिकासहित नेपाल–चीन सिमाना कोराला नाकासम्म पुग्ने अवसर प्राप्त भयो।

महिला पर्यटन व्यवसायीहरूको संस्था टेवानले आयोजना गरेका विभिन्न कार्यक्रममा सञ्चारकर्मी, सरकारी अधिकारी, मुस्ताङका जनप्रतिनिधि, इलामबाट आएका दुईजनासहित पोखराका महिला व्यवसायी, स्थानीय व्यवसायीसँग भेटघाट र विविध विषयमा छलफल, विचार–विमर्श गर्ने अवसर मिलेको हो।

यसभन्दा पहिला दुईपटक भ्रमण गरिसकेको मुस्ताङ जिल्ला पुग्दा जहिले पनि रोमाञ्चित हुने गरेको छु। तीनजना साथीसँग मनाङबाट थोराङपास हुँदै मुक्तिनाथ भएर पदयात्रा गर्दाको त्यो सुखद तथा साहसिक क्षण अझै पनि स्मरणयोग्य छ। त्यसपछि मुक्तिनाथ दर्शन गर्न हवाईजहाजबाट जोमसोम ओर्लेर ११ बजेको समयमा चल्ने हावाको वेगसँगै पैदलै एक्लेभट्टी हुँदै झारकोट अनि रानीपौवा पुग्दाको अपूर्व क्षण पनि बिर्सन सकिँदैन।

यसपटक पैदल र जहाज नभईकन जिपमा बसेर नेपाल–चीन सीमा पुग्नासाथ हावाका साथ हल्का हिमपात हुन थाल्यो। पारि सीमामा सुरक्षाकर्मी देखिन थाले, हाम्रोतिर भने हामीसँगैका साथीमात्र! पूर्व–पश्चिम आँखा दौडाउँदा काँडेतार लगाएको देखियो। कति लामो बार लगाइएको छ भन्ने अनुमान गर्न मुस्किल पर्‍यो। सिमानाबाट १४ किलोमिटर दक्षिण नेचुङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी छ। दायाँबायाँ समथर फाँट र थुम्का देखिन्छन्।

बस्ती पुग्न छोसेर गाउँ नै पुग्नुपर्छ। छोसेर गाउँ र वरपरका भूभाग अलौकिक छन्। हावाको वेगले हो वा हिमपातले– चट्टानहरूमा अनेकौँ स्वरूप र आकार देखिँदा अचम्म लाग्छ। यही छोसेरमा त्यस्तै चट्टानमा ७ तला बराबर उचाइमा १०८ कोठा रहेको गुफा अवलोकन गर्न सकिन्छ। कुनै समय युद्ध हुँदा लडाकुहरू बस्ने, कुनै बेला लामाहरूविरुद्ध आक्रमण हुँदा लुक्ने ठाउँका रूपमा रहेको यो गुफालाई थप आकर्षक बनाउन सकिने थुप्रै उपाय छन्। त्यसबाहेक छोसेरमा दुईवटा ठूला गुम्बा र विभिन्न पुराना सामग्रीसहितको हालसालै निर्मित सानो संग्रहालय रहेछ। 

अहिले गण्डकी प्रदेशमा सबैभन्दा बढी उठान भएको विषय कोराला नाका हो। कोराला नाका छिट्टै खुल्नुपर्छ। पूर्वाधार निर्माण छिट्टै हुनुपर्छ, सुक्खा बन्दरगाह निर्माण गर्न ढिला गर्नुहुँदैन भन्ने आवाज उठिरहेको छ। राजनीतिकर्मी, व्यवसायिक संघसंस्था, प्रदेश सरकार र सांसदका भाषणमा कोराला नाका छिट्टै खुल्नुपर्छ भन्ने वाक्य छुटेको छैन। झण्डै १५ हजार ५ सय फिट उचाइमा अवस्थित यो नाकामा चिनियाँ भूभागमा बनेका ठूला भवन, त्यसपछिको भागमा बनेका बस्ने ठाउँ, गाडी राख्ने स्थान देखिन्छन्।

नेपाली भूभागमा पठार भूमिमात्र देखिँदा त्यहाँ पुग्नेहरूले मात्र हैन, नपुग्ग्नेहरूले पनि छिट्टै पूर्वाधार निर्माण गरी नाका खुलाउनुपर्छ भन्ने धारणा अतिशयोक्तिपूर्ण हैन। तर, परिस्थिति सहज नभएको अनुभूति त्यहाँ पुगेकाहरूले गर्न सक्छन्। दुई देशबीचको नाका खोल्नु भनेको देशहरूबीच आवतजावतमा सहजता ल्याउनु, व्यापार बढाउनु, आफ्नो देशका साथै अन्य मुलुकका नागरिकलाई पर्यटकका रूपमा आआफ्ना देशका विभिन्न ठाउँ घुमाउन सजिलो होस् भन्नाका लागि हो।

कोराला नाकालाई व्यवस्थित गरेपछि त्यसबाट दुवै देशका नागरिकले लाभ लिने वातावरण सिर्जना गर्नुपर्छ।

केही वर्ष अगाडिसम्म चीन सरकारले कोराला नाकाबाट झण्डै ३० किलोमिटर टाढाको छुवासेनमा वर्षमा दुईपटक व्यापार मेला लगाउँथ्यो। कुनै अवरोध थिएन। नेपाली व्यापारी आफ्ना उत्पादन लिएर जान्थे र उताबाट चीनमा उत्पादित सामग्री लिएर फर्किन्थे। यो नियमित प्रक्रिया थियो। २०७२ सालको भूकम्प र भारतीय नाकाबन्दीको समयमा यो नाकाबाट उच्चतम व्यापारिक गतिविधि भएका थिए। त्यसपछिका दिनहरूमा विविध कारण व्यापार मेला लाग्न सकेको छैन। 

कोराला नाका खोल्नुपर्‍यो भन्ने विचार अत्यन्तै भावनात्मक छ, तर यथार्थमा यो अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण देखिएको छ। सिमाना राजनीतिक र कूटनीतिक विषयसँग जोडिन्छ। सीमा नाकाले अर्थतन्त्र र लगानीसँग निकटता राख्छ। सीमा नाका दुवै देशका बासिन्दाको जीवनयापन र उन्नतिसँग पनि गाँसिएको हुन्छ। नेपालका तर्फबाट समर र ऐनाभीर कटान गरेर जोमसोमसम्म सहज पहुँच हुनेगरी चौडा बाटो बनाइएको छ। नदी–खोलामा पुल बनेका छन्/निर्माण चरणमा छन्। विद्युत् लाइन कोराला नाकासम्म तानिएको छ। सुक्खा बन्दरगाह बनाउन प्राविधिक रूपमा निरीक्षणसहित योजना तयार हुने क्रममा छ। यी सबै कोराला नाका खुलाउन चाहिने पूर्वाधारका विषयवस्तु भए। त्यो भन्दा अगाडि दुई देशबीच व्यापारको मात्रा कति हुनसक्ने, नेपालका तर्फबाट निर्यात गरिने वस्तुको आकलन र दिगोपन, नेपालको पर्यटनलाई कति सकारात्मक प्रभाव पार्नसक्छ भन्ने विषयलाई नजरअन्दाज गर्न मिल्दैन।

मुस्ताङ जिल्लाको जनसंख्या पातलिँदै गएको छ। जनशक्ति नहुँदा यसले सेवा प्रवाहमा कस्तो असर पार्छ, जनशक्ति कसरी पूर्ति गर्ने, दुवै देशका  सुरक्षा संवेदनशीलताका विषय, नेपालतर्फ रहेका ऐतिहासिक, पुरातात्त्विक र धार्मिक महत्त्वका सम्पदाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका विषयबारे तीनै तहका सरकारका संयन्त्रले गम्भीर चासो र अध्ययन गर्नुपर्ने अवस्था छ। झण्डै १५ हजार ५ सय फिट उचाइमा रहेको कोराला नाका खुलाउन हावापानी, प्रतिकूल मौसमको ख्याल राख्नैपर्छ। 

सबैभन्दा महत्त्वपूर्ण त चीन सरकारले त्यस क्षेत्रप्रति देखाउने संवेदनशीलताले नै हो। विगतमा त्यही क्षेत्रमा खम्पा विद्रोहीहरूले मजबुत क्याम्प बसालेर चीनविरुद्ध गतिविधि गरेका थिए। त्यही नाकाबाट तिब्बतीहरू लुकीछिपी आउजाउ गर्थे। प्रायः बौद्ध धर्मावलम्बी भएको उपल्लो मुस्ताङवासी उपल्लो मुस्ताङका घरहरूमा दलाइ लामाको तस्बिर राखी उनलाई धर्मगुरुका रूपमा पुज्ने गर्छन्। दलाइ लामा, जसलाई चीन सरकारले स्वतन्त्र तिब्बत आन्दोलन सञ्चालन गर्ने विद्रोही नेताको उपमा दिइरहेको छ, उनै दलाइ लामाका तस्बिर घरघरमा झुण्ड्याउँदा चिनियाँहरूले असहिष्णु व्यवहार गरिरहेको उपल्लो मुस्ताङवासी बताउँछन्। त्यसैले स्थानीय बासिन्दान कोराला नाका तत्काल खुलिहाल्ला भन्नेमा विश्वस्त छैनन्।

यद्यपि चीनले आफ्नो भूमिका पूर्वाधार निर्माण गरेर नेपाललाई सकारात्मक तर संवेदनशीलताका साथ कूटनीतिक सन्देश दिन खोजेको देखिन्छ। तर पनि नेपालका तर्फबाट कोरालाप्रति कुनै संवेदनशीलता देखाइएको पाइँदैन। कोराला हेरौँ न त भन्नेहरूको जमात पुग्दाबाहेक त्यहाँ नेपालका तर्फबाट कुनै गतिविधि हुँदैन। मौन समथर भूभागलाई कसरी सुगम बनाउने भन्ने चुनौती हामीसँग रहेकै छ। अहिले केही गर्न नसकिए पनि सीमा स्तम्भ वरपर एउटा ठूलो बोर्ड राख्न सक्छौँ। चिनियाँलाई स्वागत गर्ने सन्देशसहितको बोर्डले पनि एउटा सकारात्मक सन्देश प्रवाह गर्नसक्छ। नेपाली भूमितर्फ कोरालाको उचाइसहित भोलि निर्माण गरिने पूर्वाधारको बोर्ड राख्न हामी सरकारको ध्यानाकर्षण गराउँछौँ। सिमानामा फोटो खिचाउनकै लागि पनि २४ नम्बरको सीमा स्तम्भबाहेक सबै पृष्ठभूमि चीनतर्फको मात्र रहनु शोभनीय हैन। यो विषयमा प्रदेश सरकारको ध्यान पुगोस्। केन्द्र सरकारलाई झक्झक्याएर नेपालमै छौँ भन्ने अनुभूति गराउने सूचना बोर्ड अविलम्ब राखियोस्। बोर्डले पनि सानो उपस्थिति अनुभूति गराउने छ।

मुस्ताङ आफैँमा सांस्कृतिक, पुरातात्त्विक महत्त्व भएको ऐतिहासिक जिल्ला हो। घाँसाबाट उत्तरतर्फ जाँदै गर्दा छोसेरसम्म पुग्दा अनगिन्ति गुम्बा देखिन्छन्। बाटोमा नपरेका गाउँहरूमा पनि त्यत्तिकै संख्यामा गुम्बा भएको स्थानीय बताउँछन्। र, अहिले यी तमाम् गुम्बाको संरक्षण सबैभन्दा चुनौतीपूर्ण बनेको छ। गुम्बाहरूमा पुरातन बौद्ध ग्रन्थ, बौद्धकालीन मूर्तिसहित अन्य सामग्री रहेको पाइन्छ। गुम्बाहरूको स्याहार सम्भार लामा र बौद्ध दर्शन अध्ययन गर्न चाहनेहरूबाट भइरहेको छ। गाउँमा रहेका प्रत्येक परिवारले आफ्ना एकजना सदस्यलाई गुम्बामा पठाउँथे। तब त गुम्बा जीवन्त थियो, आकर्षणको केन्द्र थियो। अहिले परिस्थिति फेरिएको छ। मुस्ताङको जनसंख्या घट्ने क्रममा छ। भएकाहरू पनि थातथलो छाडेर सुगम क्षेत्रतर्फ बसाइँसराइ गर्न थालेका छन्। त्यसैले गुम्बामा परिवारको सदस्य दिने परम्परा अन्त्यजस्तै भएको छ। गुम्बामा लामाहरूको संख्या घटेको छ। त्यसैले गुम्बाहरू सुनसान देखिन्छन्। संरक्षण र मर्मत सम्भार हुन नसकेको देखिन्छ। अर्कातर्फ गुम्बामा बस्नेहरूले पनि आधुनिक शिक्षाको चाहना राख्न थालेको पाइएको छ।

आधुनिक संसारसँग जोडिने उनीहरूको इच्छा देखिएको छ। त्यसकारण बाह्रगुड मुक्तिक्षेत्र गाउँपालिकाका जनप्रतिनिधि र त्यस भेगका नागरिक बौद्ध दर्शन शिक्षाका लागि उच्च शिक्षा अध्ययन केन्द्र (क्याम्पसजस्तै) स्थापना गर्न तल्लिन देखिन्छन्। र, त्यसका लागि भवन बनाउन नेपालस्थित भारतीय दूतावासमार्फत सहयोगका लागि अनुरोध गरिएकामा हालै स्वीकृत भई सहयोग गर्ने कुरा प्रकाशमा आइसकेको छ। यही विषयमा एक राजनीतिक दलका अध्यक्षले आपत्ति जनाउँदै उपल्लो मुस्ताङमा विश्वविद्यालय खोल्न दिएर अर्को मुलुकलाई चिढ्याएको भन्ने वक्तव्य दिएकामा उपल्लो मुस्ताङवासीले आपत्ति जनाएको पाइयो। उनीहरूले क्रोधित हुँदै आफूहरूलाई उच्च शिक्षाबाट वञ्चित गर्न अनावश्यक राजनीतीकरण गर्न खोजेको भन्दै विरोध गरे। मुस्ताङवासीहरू सो अध्ययन केन्द्र स्थापना तथा धरोहरका रूपमा रहेका गुम्बाहरूको संरक्षण हुनेमा भने आशावादी देखिए। 

पोखराबाट कोराला पुग्न १२/१३ घण्टा लाग्यो। पर्वतको कुश्माबाट कालीगण्डकीको तिरैतिर चैलेसम्म पुगिन्छ। त्यसपछि समर र ऐनाभीर (११८० फिट) पार गरेपछि घमी, घिलिङ हुँदै चराङ पुगिन्छ। चराङ दामोदर कुण्ड जाने केन्द्र हो। दामोदर कुण्ड नै कालीगण्डकीको उद्‌गमस्थल हो। तसर्थ चराङबाट २ दिन हिँडेर दामोदर कुण्ड पुगिने भएकाले चराङ भविष्यको व्यापारिक केन्द्र बन्ने देखिन्छ। अहिले बाटो खन्ने काम सुरुमात्र भएको छ। दुई दिन हिँडेर दामोदर कुण्ड र त्यहाँबाट पाँच दिनको पदयात्रा गरेर मनाङको फू पुग्ने मार्ग अहिले निकै चल्तीमा रहेको स्थानीय बताउँछन्। चराङमै प्रस्तावित हवाई अड्डाका लागि जग्गा छुट्याइएको छ। चराङपछि पुगिने ठाउँ लोमान्थाङ हो।

अभेद्य किल्लाभित्रको बस्ती हो– लोमान्थाङ। १०८ कोठासहितको मुस्ताङे राजाको दरबार रहेको यो क्षेत्रको बाहिरी भागबाहेक भित्री भाग अवलोकन गर्न पाइएन। लोमान्थाङ दरबारभन्दा १२–१३ किलोमिटर पश्चिम विश्वकै अग्लो ठाउँमा रहेको राम्रो गल्फ खेल्ने मैदान बनाइएको छ। केही समयअघि सोही मैदानमा ३०/४० जना गल्फ खेल्नकै लागि आइपुगेको स्थानीयले जानकारी गराए। विश्वकै अग्लो ठाउँमा रहेको गल्फ कोर्सको प्रवद्र्धन गर्दा मुस्ताङको पर्यटनले गति लिनेछ।

यसबाहेक त्यस समथर भूमिमा तलमाथि नदी वारिपारिका भूक्षेत्रमा जिप–मोटरसाइकल सफारी, घोडसवारी, साइकलमार्फत पर्यटकीय गतिविधि बढाउन प्रयास भइरहेको पाइयो। तल्लो मुस्ताङको तोरन्ल पर्व, उपल्लो मुस्ताङको यार्तुङ मेला, १२ वर्षे फ्वे ल्हो मेलालाई प्रवर्द्धन र व्यवस्थित गर्दै पर्यटक आकर्षित गर्ने मनसुवा राखेको पनि पाइयो।

मनाङपछि नेपालको सबैभन्दा कम जनसंख्या भएको जिल्ला हुनु आफैँमा चुनौतीपूर्ण देखियो। मुस्ताङलाई उपल्लो डोल्पासँग जोड्न जोमसोम–कागबेनी र घमीबाट बाटो निर्माण थालिएको सुन्दा अर्को महत्त्वपूर्ण उपलब्धि हुने निश्चित देखिन्छ। समग्रमा मुस्ताङ सुगम हुनेतर्फ अग्रसर छ। उन्नति र विकासक्रम अगाडि बढेको छ। तर, जोमसोमबाट हिँडेर मुक्तिनाथ पुग्दाको अनुभूति छुट्टै रोमाञ्चकारी छ। जोमसोमबाट मार्फा हुँदै टुकुचे, कोवाङ, फालापानी, लेते, घाँसा हुँदै पैदलयात्रामा पाइने रमाइलोपन मोटरबाट जाँदा नपाइने महसुस भयो। बाँदरजुङको भीरमा चार पाइला टेक्दै, घिस्रिँदै हिँड्ने समय अन्त्य भयो। यो केवल स्मृतिमा रहनेछ। जे भए पनि मुस्ताङ मुस्ताङ नै हो। यसको सांस्कृतिक महत्त्व र परम्परा जगेर्ना र कायम राख्न सबै सचेत हुन जरुरी छ।

मुस्ताङको भौगोलिक स्वरूप आफैँमा विचित्र छ। सडक दायाँ–बायाँ जता हेरे पनि सुक्खा नांगा रंगीबिरंगी कलात्मक पहाड देखिन्छन्। भौगोलिक अध्ययन गर्ने हो भने पनि विभिन्न खालका पत्थर पाउन सकिन्छ कि भन्ने अनुमान गर्न सकिन्छ। उसो त मुक्तिनाथ मन्दिर क्षेत्रमा प्रज्वलित ज्वालालाई कुनै ज्वलनशील पदार्थको ग्यास भण्डार हो भन्ने अनुमान पहिलेदेखि नै भइरहेको छ। तर, औपचारिक उत्खनन र अध्ययन भएको छैन। निरन्तर बलिरहेकाले निकै मात्रामा ग्यास भएको अनुमान गर्न सकिन्छ।

मुस्ताङमा युरेनियमको खानी रहेको समाचार सार्वजनिक भएको थियो। ठ्याक्कै कुन ठाउँमा हो भन्ने कुरा मुस्ताङवासीले भन्न सकेनन्। युरेनियमको खानी भएको क्षेत्रलाई थप खोजतलास गर्ने हो भने कति मात्रामा कस्तोस्तरको युरेनियम रहेछ भन्ने यकिन गर्न सकिएला। हामीसँग प्रविधि छैन भने उत्खननका लागि संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय अणुऊर्जा केन्द्रसँग प्राविधिक सहयोग लिएर उत्खनन गर्नु नेपालका लागि हितकर नै हुनेछ। युरेनियम आफैँमा संवेदनशील पदार्थ भएकाले आणविक शक्ति–राष्ट्रहरूले चासो दिइरहेका छन्। चासो दिए भन्दैमा चुपचाप बस्नु अवसरबाट वञ्चित भइरहनु हो। युरेनियमजस्तो महत्त्वपूर्ण वस्तुलाई विश्व शान्तिका लागि प्रयोगमा ल्याउन सकिन्छ। यसबाट नेपालले ठूलो आर्थिक लाभ लिनुपर्छ। अतः युरेनियमको अन्वेषण र उपयोगमा ढिलाइ गर्नु हुँदैन। राष्ट्रले यसतर्फ ध्यान देओस्।

यसका अलावा पहिले पहिचान भएका, प्रयोगमा आएका नुन, तामा र फलाम खानी पुनः सञ्चालनलाई पनि राज्यले प्राथमिकतामा राख्न जरुरी छ। विशेषगरी म्याग्दी जिल्लाका रुमछाप, कुइने, गुर्जा, बुङ, बरङ्जा गाउँबाट तामा निकालेर भारततर्फ लगिएको इतिहास छ। तामा निकाल्न खप्पिस कालिगढ भइञ्जेल तामा निकाल्ने मात्र हैन, तामाका सिक्का बनाएको ऐतिहासिक दस्तावेज पाइन्छ। स्रोत भएर पनि उपयोग गर्न नसक्नु मुलुकका लागि दुर्भाग्य हो। चीर निद्रामा रहेको खानी विभागलाई. सक्रिय बनाउन सक्यौँ भने ठोस उपलब्धि हासिल हुने देखिन्छ। मुस्ताङमा पाइने भेडा–च्यांग्राबाट निकालिने भुवा–ऊन गुणस्तरीय रहेको र पस्मिनाका लागि अत्यन्तै गुणस्तरीय कच्चा पदार्थ भएको प्रमाणित भएकाले यसतर्फ सरकारहरूको ध्यान पुग्न जरुरी छ। आखिर समृद्धितर्फका यात्रा यस्तै गतिविधिले तय हुने हो। यतातर्फ जनप्रतिनिधिहरूको सक्रियता, पालिका, प्रदेश र केन्द्र  सरकारहरूले सकारात्मक दृष्टिकोणसहित अगाडि बढ्ने जमर्को गर्नुपर्छ।

अन्त्यमा, यसपटकको भ्रमणमा स्थानीय बासिन्दासँग छलफल गर्दा यस्तै चासो, चिन्ता र विचार अभिव्यक्त भएकाले यी कुरा उल्लेख गरेको हुँ। समग्रमा यो भ्रमणबाट धेरै आयाम र विषयवस्तुबारे सिक्ने अवसर प्राप्त भयो। यो सुखद र स्मरणीय क्षण हो। 

(आनन्दराज मुल्मी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं सामाजिक–आर्थिक अभियन्ता हुन्।) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .