यतिबेला मिडियाका लागि ‘हट ईस्यु’ बनेको छ प्रकाश सपुतले गाएको ‘गलबन्दी’ बोलको गीतको लय। यो गीतको लय पुराना गायक शम्भु राईले गाएको गीतको लयसँग मिल्न गएपछि शम्भु राई र प्रकाश सपुत दुवै चर्चामा आएका छन्।
गीतको लयको विषय राजनीतिक हुँदै जातीय मुद्दा बनेपछि यसले चिया पसलदेखि संसदसम्म तरंग ल्याइदिएको छ। सामाजिक सञ्जालका प्रयोगकर्ता उनीहरुका पक्ष र विपक्षमा विभक्त भएका छन्। एक अर्कालाई हदभन्दा तल्लो स्तरको गालीगलौजमा उत्रिँदा यो विषयले सामाजिक सञ्जाललाई समेत भद्दा बनाइदिएको छ।
के हो लफडा?
२०४८ सालमा राईले ‘आऊ नाचौँ साथी हो’ बोलको देउसी–भैली गीत गाएका थिए। उनको सोही गीतको भाकासँग सपुतको हालै सार्वजनिक भएको र केही समयमै लोकप्रिय बनेको ‘गलबन्दी’ गीतको लय आफ्नो गीतसँग मिलेको भन्दै विरोध जनाए। सपुतले पनि आफूले गीत नक्कल नगरेको ठोकुवा गरे। त्यसपछि समाजिक सञ्जालमा ठूलै बहस सुरु भयो। मानिसहरु दुवैको पक्ष–विपक्षमा देखिन थाले।
यसैबीच राईले सामाजिक सञ्जालमा आफूले हिट हुन वा पैसा कमाउनका लागि गीतको विरोध गरेको नभई आफ्नो पहिचानलाई हटाउन सांस्कृतिक हस्तक्षेप सुरु भएकाले त्यसको विरोध गरेको उल्लेख गरे।
उता सपुतले पनि ‘कपी हुनलाई त पुरै र्याङ कि ठ्याङ मिल्नु पर्ने होइन र? हेर्नुस् त दर्शकहरु बाँडिएको। कसैलाई लाग्छ मिल्छ, कसैलाई लाग्छ मिल्दैन। त्यसैले यो दर्शकलाई भजाएर हामी कबड्डी कबड्डी जस्तो मिडिया–मिडिया नखेलौँ सर’ भन्दै लामो ब्लग लेखे।
त्यसपछि यो विषयमा जातीयताले प्रवेश गर्यो। राईले प्रयोग गरेको शब्द ‘हाम्रो पहिचान’लाई गलत बुझेका कारण यस विषयले जातीय रुप लियो या राईले नै सांकेतिक रुपमा यस्तो स्टाटस लेखे? यसको जवाफ भेटिएको छैन।
जातीय मुद्दा चर्काएको आरोप लाग्न थालेपछि राईले २०३४ सालदेखि जातीय मुक्तिका लागि सांगीतिक क्रान्ति गर्दै आएकाले आफूले जाति र पाती छुट्याउने रितलाई नमान्ने बताए। यसअघि उनले गीतविरुद्ध नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा मुद्दा दर्ता गरेका थिए।
यस विषयमा दुवै पक्षबीच सहमति हुन सकेको छैन। रजिष्टारको कार्यालयले सहमतिका लागि ३ दिनको समय दिएको थियो। जुन समय बुधबार सकिँदै छ। आजसम्म सहमति हुन नसके यो विषय अदालतसम्म पुग्ने देखिएको छ।
आ–आफ्नै अडान
गायक राई र सपुतलाई मिलाउन लोक तथा दोहरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले मध्यस्थकर्ताको भूमिका खेलेका थिए । साथै, संगीत तथा रोयल्टी संकलन समाज, प्रस्तोता समाज, राष्ट्रिय संगीतकर्मी संघ, सर्जक तथा श्रष्टालगायतले पनि मिलेर जान सुझाव दिएका थिए । तर, दुवैको सहमतिको विन्दु भेटिएन ।
राईले गीतिमा ‘क्रियसन बाई शम्भु राई’ राख्नुपर्ने अडान लिएका छन्। तर, सपुत यसमा सहमत छैनन्। क्रियसन लेख्दा रचनाकर्ता नै राई हुने उनको बुझाई छ। उनी ‘लय संकलक’ भनेर राईको नाम राख्नेबारे छलफल गर्न सकिने बताउँछन्।
जानकारहरुका अनुसार अब यो लगाई पैसा वा क्रेडिटको भन्दा पनि प्रतिष्ठाको बनेको छ। राई आफू सिनियर भएको हिसाबले झुक्न चाहँदैनन् भने चल्तीको गायक सपुत झुक्ने कुरै छैन। एक संगीतकारले नेपालखबरसँग भने, ‘हामीले सकभर दुवै पक्षलाई मिलाउन खोजेका हौँ। तर, उहाँहरुको मिल्ने अवस्था देखिदैन। यस विषयमा अब अदालतले नै अन्तिम निर्णय लिने अवस्था आउने देखिन्छ।’
धेरैले प्रतिष्ठित गायक राईले आफ्नो छोराको उमेरका सपुतलाई सम्झाउने–बुझाउने गर्नुभन्दा पनि मुद्दा दर्ता गर्नु लज्जाको विषय भएको प्रतिक्रिया दिएका छन्। साथै, सपुत पनि आफूभन्दा ठूलाको सम्मान गर्दै सानो गल्ती भए तापनि माफी मागेर अघि बढ्न हच्किएको बुझाई छ।
यस विषयमा लेखक एकु घिमिरे भन्छन्, ‘लोकगीतमा लय, शब्द र कतिपय बिम्बसमेत मिल्छन्। त्यसैले लोकगीतमा लेखक र संगीतकार नभएर संकलक हुन्छ। कसैले संकलन गरेर गाउँदैमा त्यो उसको हुँदैन, लोकको हुन्छ। यो समान्य विषय हो, हल्लामात्र ठूलो भयो। प्रकाश सपुतले आफूलाई संकलक ठान्नुपर्यो र शम्भु राईले लोकगीत लोकको हो भन्ने ठान्नुपर्यो।’
जातीय मुद्दा
गीत विवादलाई केहीले जनजाति र दलितको लडाईंका रुपमा लिएका छन्। सामाजिक सञ्जालमा यस्ताखाले प्रतिक्रिया आउन थालेपछि यस विषयले संसद र हनुमान ढोकासम्म प्रवेश पाएको छ।
सोमबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले सपुतको बचाऊ गर्दै गीतको विषयलाई जातीय रुपमा उठाएर दलितमाथि अपमानित गर्ने हिसाबले नीच ढंगले विरोध गरेको बताए।
त्यसको २४ घन्टा नबित्दै सामाजिक सञ्जालमा अभद्र टीप्पणी गर्ने सञ्जीव राई कान्छाविरुद्ध महानगरीय प्रहरी परिसर हनुमानढोकामा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ।
सामाजिक सञ्जालमा राई र सपुत समर्थकले एकअर्कालाई आरोप पत्यारोप र गाली गलौच गर्ने क्रम जारी छ। विशेषगरी दलितहरुले आफूहरुमाथि अपमानित शब्द प्रयोग गरेको भन्दै विरोध गरेका छन्।
यसबारे लोकदोहरी गायक बद्री पंगेनी भन्छन्, ‘गलबन्दी गीतको विवादलाई लिएर गायक प्रकाश सपुतमाथि जुन प्रकारको जातीय आक्षेप लगाएर सामाजिक सञ्जालमा गालीगलौज गरिएको छ त्यो २१ औँ शताब्दीको सबैभन्दा दरिद्र सोच हो।’ उनले विवादलाई अझै पनि दुई पक्षबीचको संवादका आधारमा सुल्झाउने प्रयास भइरहेको बताए।
गीत नक्कल भएको हो वा होइन भन्ने विषयमा वरिष्ठ कलाकार खुलेर बोल्न चाहँदैनन्। सम्बन्धित निकायलाई देखाउँदै उनीहरु पन्छिने गरेका छन्।
प्रायः कलाकार सकेसम्म दुई पक्ष मिलिदिए हुन्थ्यो भन्ने चाहन्छन्। तर, राई र सपुत व्यक्तिगत ईगो साचेर बसेका कारण त्यो सम्भव भइरहेको छैन। दुवैको वार्तालाई राम्रोसँग बुझेका एक कलाकार भन्छन्, ‘उहाँहरु मिडियामा निकै नरम भएर मिल्ने कुरा गर्नुहुन्छ तर वार्तामा बस्दा अवस्था त्यस्तो हुँदैन। एउटाले गीत चोरेको स्वीकर्नुपर्ने अडान राख्छ त अर्कोले चोरेको होइन भन्छ अनि कसरी कुरा मिल्छ त?’
मुद्दा परे के हुन्छ ?
यदि बुधबारसम्म दुई पक्षबीच सहमति नभएमा यो प्रकरण प्रहरीसमक्ष मुद्दाको रुपमा जाने सम्भावना छ। त्यसपछि प्रहरी अधिकारीले यस सम्बन्धमा अनुसन्धान गर्नेछन्। अनुसन्धानबाट तयार प्रतिवेदनको आधारमा मुद्दा अदालतमा पुग्नेछ। यदि मुद्दा प्रहरीसमक्ष पुगेको खण्डमा राईले क्षतिपूर्तीसमेत माग गर्नेछन्। यसबारे उनले यसअघि नै प्रष्ट पारिसकेका छन्।
प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ आकर्षित हुने देखिन्छ। यसरी कानुनमै सर्जकको प्रतिलिपि अधिकार हनन भएको ठहरिएमा १० हजारदेखि १ लाखसम्म जरिवाना, ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ।
प्रतिक्रिया