ad ad

ब्लग


प्रचण्ड र बाबुरामका गुरुलाई नचिन्दा ...

प्रचण्ड र बाबुरामका गुरुलाई नचिन्दा ...

रामकुमार महतो
कात्तिक ११, २०७९ शुक्रबार १७:१,

माओवादीले जनयुद्ध सुरु गर्दाताका जनस्तरमा नेता मोहन वैद्य ‘किरण’को त्यति धेरै चर्चा हुँदैनथ्यो। डाक्टर बाबुराम भट्टराई र प्रचण्डकै बढी चर्चा हुन्थ्यो। अध्यक्ष भएकाले प्रचण्डको चर्चा त हुने नै भयो। एसएलसीमा बोर्ड फस्ट र नाम अगाडि डाक्टर लेख्ने बौद्धिक व्यक्तित्व भएकाले होला– प्रचण्डलाई भन्दा पनि नेपाली नागरिकले बाबुराम भट्टराईको बढी चासो राख्थे।

माओवादीले जनयुद्ध सुरु गर्दा म स्कुले विद्यार्थी नै थिएँ। स्कुले विद्यार्थीमाझ बाबुराम भट्टराईकै चर्चा हुन्थ्यो। एसएलसीपछि कलेजमा पनि बाबुरामकै चर्चा धेरै सुनियो।

जनयुद्ध चल्दै जाँदा प्रचण्ड र बाबुरामसँगै मोहन वैद्य ‘किरण’ को पनि चर्चा हुन थाल्यो। ‘किरण त प्रचण्ड र बाबुराम भट्टराईका पनि गुरु हुन् रे। उनी माक्र्सवादी चिन्तक र सौन्दर्य शास्त्री हुन् रे, धेरै विषयमा पीएचडी नै गरेका छन् रे।’

मधेसमा किरणका विषयमा यी र यस्तै चर्चा धेरै सुनिन्थे।

प्रचण्ड र बाबुराम भट्टराईका पनि गुरु भनेपछि किरण धेरै महान् नेता हुन् भन्ने मलाई लाग्यो। उहाँलाई देख्ने र भेट्ने अवसर भने पाएको थिइनँ। उहाँको नाममा पत्रपत्रिकामा लेख आउँथे। हामी चाख मानेर ती लेख पढ्थ्यौँ।

वि.सं. २०५८ तिर एक दिन बिहान गणेश जर्घाले ‘रामकुमार तिमीले कमरेड किरणलाई देखेका छौ’ भनेर सोध्नुभयो। मैले ‘मोहन वैद्य किरण’ भनेर सोधेँ। 

उहाँले हो भन्नुभयो।

‘देखेको छैन, नामचाहिँ सुनेको छु। उहाँका लेख पत्रपत्रिकामा पढेको छु’ मैले भनेँ।

‘उहाँ प्रचण्ड र बाबुराम भट्टराईका पनि गुरु हैन त?’ मैले गणेश जर्घालाई सोधेँ।

उहाँले हो भन्नुभयो। उहाँले अझै थप्नुभयो, ‘माओवादीका जति पनि नेता छन्, ती सबै क. किरणका चेला हुन्। माओवादीमा सबैभन्दा वरिष्ठ नेता नै किरण हुनुहुन्छ।’

त्यति वरिष्ठ नेता किरणका विषयमा आज गणेश मामाले के भन्न लाग्नुभयो? मलाई खुल्दुली भयो।

‘किरणका विषयमा के भन्न खोज्दै हुनुहुन्छ मामा?’ मैले जिज्ञासा राखेँ।

‘आज किरण ढल्केवर आउँदै हुनुहुन्छ। पूर्व जाने क्रममा किरण यहाँ आउन लाग्नुभएको हो। पूर्व जानुभएन भने आज उहाँ यतै बास बस्ने सम्भावना पनि छ।’ 

गणेश जर्घाले एकै सासमा यी सबै कुरा सुनाउनुभयो। यत्रो जनयुद्धका नायक प्रचण्ड र बाबुराम भट्टराईका पनि गुरु किरण ढल्केवर आउने भनेपछि मेरो खुसीको सीमा रहेन।

गणेश जर्घाले भन्नुभयो, ‘रामकुमार, किरण आज यतै बास बस्नुभयो भने तिम्रो घरमा राख्नुपर्छ है।’

मैले किन भनेर सोधेँ।

उहाँले ‘मेरो घरमा ट्वाइलेट छैन। खेतबारीमा गएर दिसापिसाब गर्न उहाँलाई समस्या हुन्छ। तिम्रो घरमा ट्वाइलेट छ, त्यसैले’ भन्नुभयो।

मैले हुन्छ भनेँ।

कमरेड किरणजस्तो वरिष्ठ नेतालाई आफ्नो घरमा राख्न पाइने भएकाले म झन् खुसी भएँ। हामी दुईबीच यति सल्लाह भएपछि गणेश मामा आफ्नो घरतिर लाग्नुभयो। म पनि बिरामीको औषधि उपचार गर्ने आफ्नो नियमित काममा लागेँ।

बिहान भेट्दा गणेश जर्घाले ‘कमरेड किरण पहाडबाट पूर्व जान ढल्केवर आउन लाग्नुभएको हो’ भन्नुभएको थियो। बिहान बित्यो। मचाहिँ कतिबेला क. किरण आउनुहोला अनि चिनजान र गफगाफ गरौँला भन्ने प्रतीक्षा गर्दै थिएँ। दिउँसो १ बजेतिर गणेश जर्घा मोटरसाइकल लिएर फेरि मेरो पसलमा आउनुभयो। उहाँसँग बूढाबूढा खालका अर्का मान्छे पनि थिए।

सामान्य सर्ट पाइन्ट लगाएका ती बूढालाई यसअघि पनि मैले धेरै पटक देखे/भेटेका कारण मैले उनलाई त्यति वास्ता गरिनँ। पसलमा औषधि उपचारका लागि आएका बिरामी धेरै थिए। गणेश जर्घा आएर पसलको बाहिरपट्टिको बेन्चमा बस्नुभयो। ती बूढा पनि गणेश जर्घाको छेउमै बसे।

मैले गणेश जर्घाको छेउमै गएर कानमा खुसुक्क ‘खै मामा कमरेड किरण आउनुभएन ’ भनेर सोधेँ। गणेश जर्घाले आफ्नो छेउमै बसेका तिनै बूढातिर आँखा सन्काउनुभयो। उहाँले के सङ्केत गर्नुभएको हो मैले बुझिनँ। यसो अनुहारमा हेरेँ, सधैँ देखिराखेका बूढा मान्छे छेउमै थिए।

फेरि सोधेँ, ‘मामा कमरेड किरणलाई लिएर आउँछु भन्नुभा’को हैन तपाईंले?’

गणेश जर्घाले अप्ठ्यारो मान्दै सानो साउतीको स्वरमा भन्नुभयो, ‘उहाँ नै हो क. किरण।’

तर मलाई विश्वास लागेन।

फेरि यसो बूढा मान्छेलाई हेरेँ। धेरै पटक देखेका उनै चाउरिएका बूढा मान्छे थिए त्यहाँ। मलाई आज गणेश मामा मसँग किन यसरी जिस्कँदै हुनुहुन्छ जस्तो लाग्यो।

‘कमरेड किरण आज आउनुहुन्न कि क्या हो मामा?’ मैले फेरि सोधेँ।

उहाँले फेरि पनि साउतीकै शैलीमा ‘उहाँ नै हो किरण, चिन्नुभएन?’ भन्नुभयो।

मैले अझ कडा रूपमा भनेँ, ‘मैले उहाँ किरण भनेको हैन क्या। अर्कै किरण भनेको। प्रचण्ड र बाबुराम भट्टराईका पनि गुरु। माओवादी नेता मोहन वैद्य, कमरेड किरण।’

गणेश जर्घा र मैले सानो स्वरमा गरेका यी सबै संवाद बूढा मान्छे पनि सुन्दै हुनुहुन्थ्यो। उहाँ छेउमै बसेर मुसुमुसु हाँस्दै हामीतिर नहेरी अन्तै ध्यान दिँदै हुनुहुन्थ्यो।

मैले साह्रै जिद्दी गरेपछि गणेश मामालाई पनि अप्ठ्यारो लागेछ क्यारे। उहाँले सम्झाउने ढङ्गले भन्नुभयो, ‘रामकुमार उहाँ नै हो क्या कमरेड किरण। तिमीले कस्तो विश्वास नगरेको।’ 

अब भने मलाई अचम्म लाग्यो। मेरो पसलमा बेलाबेलामा लुसुलुसु आइरहने, मैले त्यति भाउ नदिएका तिनै झुत्रेझाम्रे बूढालाई गणेश जर्घा कमरेड ‘किरण’ भनेर चिनाउँदै हुनुहुन्थ्यो। के यिनै हुन् त प्रचण्ड र बाबुराम भट्टराईका पनि गुरु कमरेड किरण? मलाई लज्जा बोध भयो। के भनौँ, कसो गरौँ जस्तो भयो।

मैले भनेँ, ‘उहाँलाई त मैले धेरै पहिलादेखि नै चिनेको हो नि। उहाँले पनि मलाई चिन्नुहुन्छ। मेरो पसलमा धेरै पटक आउनुभएको छ। हामीले धेरै कुराकानी पनि गरेका छौँ। उहाँ माओवादी नेता मोहन वैद्य हुनुहुन्छ भनेर मलाई आजसम्म कसैले चिनाएनन्।’ मैले एक ढङ्गले गुनासोको शैलीमा स्पष्टीकरण दिएँ। 

मैले भनेका कुरा कमरेड किरण पनि चाख मानेर सुनिरहनुभएको थियो। गणेश मामा र कमरेड किरण हाँस्नुभयो। मेरो भने लाजले शिर निहुरियो। त्यहाँबाट भागौँ, भागौँ जस्तो भयो। मैले ६–७ महिना अघिदेखि नै माओवादीका त्यति वरिष्ठ नेता मोहन वैद्यलाई देख्दै र भेट्दै आएको थिएँ।

यसअघि नै उहाँ मेरो पसलमा दर्जनौँपटक आइसक्नुभएको थियो। धेरै नबोल्ने र आफ्नो परिचय पनि नदिने उहाँको शैलीले गर्दा आज म यसरी अप्ठ्यारोमा परेको थिएँ।

त्यति संवाद भएपछि यसअघि कमरेड किरण कहिले कहिले मेरो पसलमा आउनुभयो? म विगत सम्झन थालेँ। आत्मग्लानि र लज्जाबोध जस्तो भएको थियो। झण्डै सात महिनाअघि जनमुक्ति सेनाका रोहितसँग आउने बूढा मान्छे कमरेड किरण पो हुनुहुँदोरहेछ। सायद पहिलोपटक उहाँ त्यही दिन मेरो पसलमा आउनुभएको थियो।

त्यसअघि मेरो पसलमा त्यस्तो अनुहार गरेका बूढा मान्छे आएको मलाई थाहा छैन। उहाँसँग अरू पनि दुई/चार जना थिए। उनीहरू को–को थिए, म चिन्दैनथेँ। धनुषाको कुनै ठाउँमा माओवादीको बैठक थियो, त्यो दिन। मोहन वैद्यको प्रमुख आतिथ्यमा भएको त्यो बैठक सकिएपछि सबै आआफ्ना गन्तव्यतिर लागेछन्। मोहन वैद्य त्यो दिन गणेश जर्घाको घरमा बास बस्ने सुरमा हुनुहुँदोरहेछ। 

उहाँलाई मैले पहिलोपटक देखेको त्यही दिन हो। उहाँ मोहन वैद्य हुनुहुन्छ भनेर मलाई कसैले पनि चिनाएनन्। 

एउटा कालो पोलिथिन झोलामा कपडा पोको पारेर हातमा झुन्ड्याएका, पुराना र मैला कपडा लगाएका। जुत्ता पनि त्यस्तै पुराना। अनुहारमा कुनै चमक नभएका, दुब्ला, पातला, रोगी जस्ता बूढा मान्छे। एकछिन बसेपछि ती बूढासँग आएका सबै साथी हिँडे। रोहित पनि हिँड्नुभयो। ती बूढामान्छे अलिबेर मेरै पसलको बेन्चमा बस्नुभयो। मैले कुनै वास्ता गरिनँ।

यसो अनुहार हेर्दा दया लाग्ने खालको थियो। ‘यस्ता बूढा मान्छे के माओवादीमा लागेका होलान्। घरमै बस्नु क्या’ भनेँ मनमनमा।

‘माओवादीमा धेरै गरिब दुःखी लागेका छन्। घरमा खानलाउन छैन होला। काम गर्न अल्छी लाग्दो हो। पार्टीमा हिँडेपछि खानेलाउने समस्या हुँदैन भनेर हिँडेका होलान्।’

म यस्तै सोच्दै थिएँ। साँझ पर्न लागेको थियो। बेन्चबाट उठेर बूढाले मलाई ‘गणेश जर्घाको घर कता पर्छ’ भनेर सोध्नुभयो। मैले जमुनिवास हो भनेँ। उहाँले ‘कति टाढा हो, कता हो मैले देखेको छैन। गाडी जान्छ कि जाँदैन’ भन्न थाल्नुभयो। ‘मैले जमुनिवास चोकसम्म गाडीमा जानूस्। त्यहाँ झरेर दक्षिणतिर लाग्नूस्। एकै छिनमा पुगिन्छ’, भनेँ।

बूढाले सार्वजनिक बस चढेर जान अप्ठ्यारो माने जस्तो गर्नुभयो। छन त मसँग मोटरसाइकल पनि थियो। मेरो पसलमा आउने धेरै माओवादी नेतालाई मैले आफ्नो मोटरसाइकलमा राखेर गन्तव्यमा पुर्‍याउने गरेको थिएँ। गणेश जर्घाकै घरमा पनि मैले धेरैपटक धेरै नेतालाई पुर्‍याएको थिएँ। ती बूढालाई मोटरसाइकलमा राखेर गणेश जर्घाको घरमा पुर्‍याउने जाँगर मैले गरिनँ।

यसो सडकतिर हेरेको हाम्रै गाउँका युवा सुरज यादवलाई देखेँ। उनी ढल्केवर–बर्दिबास रुटमा टेम्पो चलाउँथे। उनलाई पसलमा बोलाएँ। उनी जमुनिवासतिरै जान यात्रुको प्रतीक्षा गरिरहेका रहेछन्। ट्याम्पो सडकमै थियो। उनी पनि माओवादीप्रति सहानुभूति राख्ने मान्छे थिए।

बूढातिर देखाउँदै सुरजलाई मैले भनेँ, ‘यी बूढा बालाई पनि तपाईंको ट्याम्पोमा हालेर लानूस् है जमुनिवाससम्म।’

उनले हुन्छ भने। बूढा पनि कुनै नाइँनास्ती नगरी, अप्ठ्यारो नमानी ट्याम्पो चढेर जमुनिवासतिर जानुभयो। मैले त्यसरी कुनै भाउ नदिई टेम्पो चढाएर पठाएका बूढा मोहन वैद्य किरण हुनुहुँदोरहेछ भन्ने ज्ञान मलाई आज गणेश जर्घा सँगको संवादपछि मात्र भयो। 

मैले टेम्पो चढाएर पठाएपछि पनि धेरैपटक उहाँ मेरो पसलमा आउनुभयो। कति बेला त मेरो पसलमा आएर घण्टौँ बस्नुहुन्थ्यो। धेरै नबोल्ने। केही कुरा सोध्नु छ भने सोध्ने। नत्र अधिकांश बेला चुपचाप बस्ने। आफ्नो कुरा केही नभन्ने। म पनि उहाँलाई धेरै कुरा सोध्दैनथेँ। मजाले गफ गर्ने, मेरा कुरा सोध्ने, आफ्ना कुरा भन्ने भए पो चासो राख्नु, हार्दिकता हुनु। 

यसो हेर्दा मरन्च्याँसे बूढा। नेता जस्तो पनि नलाग्ने। मेरो दिमागमा अलि हट्टाकट्टा, बोलक्कड हुनुपर्छ माओवादी नेता भन्ने परेको थियो। त्यस्ता बूढाबाहेक मेरो पसलमा आउने माओवादी नेता/कार्यकर्ता प्रायः मैले सोचे जस्तै थिए। बोलक्कड, लडाकू जस्ता। हार्दिकपूर्वक गफ गर्थे उनीहरू। उहाँ भने मैले खोजेका माओवादी नेताभन्दा भिन्न हुनुहुन्थ्यो। 

१० वर्षे जनयुद्धका बेला जनमोर्चा र माओवादी दुवै पार्टीसँग मेरो सौहार्दपूर्ण सम्बन्ध रह्यो। दुवै पार्टीका वरिष्ठ नेता मकहाँ आउने/जाने गरिरहन्थे। म दुवै पार्टीका नेतालाई उत्तिकै सहयोग र सम्मान गर्थें। एकपटक दुवै पार्टीका नेता एकैपटक मकहाँ आउँदा भने म निकै अप्ठ्यारोमा परेँ। 

दोस्रो युद्धविराम भङ्ग हुने अवस्थामा पुगेको थियो। युद्धविराम भङ्ग भएको घोषणा सरकारले पहिला गर्छ कि माओवादीले भन्ने मात्र थियो। पहिला युद्धविराम भङ्ग भएको घोषणा गर्दा जनताले औँलो उठाउने डर दुवैलाई थियो। त्यसैले जनताबाट जस लिन दुवै पक्ष आफ्ना तर्फबाट पहिला युद्धविराम भङ्ग नहोस् भन्ने चाहन्थे। त्यही कारण युद्धविराम लम्बिएको थियो। 

यस्तै अवस्था चलिरहँदा एक दिन क. किरण मकहाँ आउनुभयो। त्यतिबेला म किरणलाई चिन्ने भइसकेको थिएँ। क. किरण आउनुअघि नै जनमोर्चाका नेता क. रामकुमार यादव मेरो पसलमा आएर बसिरहनुभएको थियो। उहाँ र म राजनीतिक विषयमा गफ गर्दै थियौँ।

त्यत्तिकैमा किरण झट्ट मेरो पसलमा आइपुग्नुभयो। उहाँले मलाई र रामकुमार दुवैलाई देख्नुभयो। हामीले पनि उहाँलाई देख्यौँ। हामीलाई देख्नासाथ किरण फरक्क फर्किएर दक्षिणतिर लाग्नुभयो। हामीसँग कुनै सरोकार नभएको, हामीलाई देख्दै नदेखेजस्तो गरेर किरण फरक्क फर्किंदा मलाई अप्ठ्यारो लाग्यो। रामकुमार यादव मसँगै भएको देखेर किरण मकहाँ नआउनुभएको होला भन्ने मैले सोचेँ।

किरणलाई नचिने जस्तो गरेर मैले रामकुमार दाइलाई ‘को रैछ यहाँ आएको मान्छे, बोल्दै नबोली फरक्क फर्केर गयो त’, भनेँ।

रामकुमार यादवले पनि ‘कोही होला नि! ठाउँ भुल्यो होला। जानुपर्ने ठाउँमा नगएर अन्यत्रै आइपुगेछु भन्ने लागेपछि फर्किएको होला नि’, भन्नुभयो। 

रामकुमार दाइ पनि माओवादीका अलि ठूला नेतालाई चिन्नुहुँदो रहेनछ भन्ने मलाई लाग्यो। भन्नचाहिँ मैले केही पनि भनिनँ। उहाँले पनि त्यस विषयमा थप कुरा गर्नुभएन। 

मलाई भेट्न आएका माओवादीका वरिष्ठ नेता किरण मसँग बोल्दै नबोली फरक्क फर्किएर आफ्नो बाटो लागेपछि मलाई एकखाले छटपटी सुरु भयो। रामकुमार दाइलाई पसलमै छाडेर कुनै बहाना गरेर म पसलबाट निस्किएँ। मोटरसाइकल लिएर सरासर पूर्व जाने बस स्ट्यान्डतिर लागेँ।

जाँदाजाँदै बाटोमा मोहन वैद्य दाइ भेटिनुभयो।

‘मकहाँ बस्दै नबसी किन फरक्क फर्किनुभयो कमरेड?’ मैले उहाँलाई सोधेँ। उहाँले ‘तपाईंसँग सिरहाका रामकुमार यादव हुनुहुँदोरहेछ, त्यसैले बसिनँ,’ भन्ने जवाफ दिनुभयो।

मैले ‘बसेको भए भइहाल्थ्यो नि दाइ, केही हुँदैनथ्यो’ भनेँ।

उहाँले ‘नेताको जमघट देखे भने मान्छेले शङ्का गर्छन्, त्यसैले नबसेको। अन्यथा नमान्नुहोला’ भन्ने जवाफ दिनुभयो।

उहाँ मेरो पसल अघिबाट फरक्क फर्किंदा नै मलाई यो आशङ्का भइसकेको थियो। 

‘म पूर्वतिर हिँडेको। पूर्व चोकमा गएर बस्छु। पूर्व जाने बस कतिखेर आउँछ। बरु बुझ्नु न रामकुमारजी’ भन्नुभयो उहाँले। मैले हुन्छ, म बुझेर आउँछु भनेँ। काउन्टरमा गएर सोधेँ। पूर्व जाने बस आउन अझै आधा घण्टा जति समय बाँकी रहेछ। मैले उहाँलाई एउटा होटलमा लगेर राखेँ।

‘यहाँ बस्दै गर्नूस्, म आइहाल्छु है कमरेड’ भनेँ। उहाँलाई खाजा खानूस् भनेको मान्नुभएन।

‘मलाई ग्यास्टिक छ। केही खान्नँ’ भन्नुभयो।

मैलै ‘दही चिउराले ग्यास्टिकलाई केही गर्दैन। खानूस् न दाइ’ भनेर कर गरेपछि मात्र उहाँ खान तयार हुनुभयो। उहाँलाई दही चिउरा अर्डर गरेर म सरासर आफ्नो पसल गएँ।

म पुग्नासाथ रामकुमार दाइ पनि पूर्व जान हतारिन थाल्नुभयो। मैले ‘आधा घण्टा बस्नूस् न। पछि जानुहोला। म गाडी चढाएर पठाउँला दाइ’ भनेँ तर उहाँले मान्नुभएन। ‘चाँडै सिरहा पुग्नुपर्नेछ। म गइहाल्छु’ भन्न थाल्नुभयो। अब मलाई झन् फसाद पर्‍यो। मेरो पसलमा आमनेसामने हुँदा पनि दुवै नेता एकअर्कालाई नचिनेको जस्तो गरिरहेका थिए। अब यिनीहरूलाई कसरी गाडी चढाएर पठाउने होला? मलाई अप्ठ्यारो भयो।

यसो सोचेँ, कुनै जुक्ति ननिकाली उपाय थिएन। रामकुमार दाइलाई मोटरसाइकलमा राखेर पूर्व बस स्ट्यान्डतिर हिँडेँ। मोहन वैद्यलाई राखेको होटलभन्दा अलि परको होटलमा लगेर उहाँलाई राखेँ। उहाँलाई ‘खाजा खाउँ है दाइ’ भनेँ। उहाँले सजिलै ‘हुन्छ खाउँ न त’ भन्नुभयो।

मोहन वैद्य दाइले जस्तो आनाकानी गर्नुभएन। म पनि रामकुमार दाइसँगै खाजा खान बसेँ। मलाई भोक लागेको थिएन। रामकुमार दाइलाई केही बेर अल्मल्याउन मात्र म उहाँसँग खाजा खान बसेको थिएँ। मोहन वैद्य भएको ठाउँमा पनि पुग्नुपर्ने थियो। हतार हतार खाजा खाएर म उठेँ। पैसा तिरेँ। रामकुमार दाइले अझै खाइसक्नुभएको थिएन। उहाँलाई ‘अझै थपेर खाँदै गर्नूस् है दाइ, म अलि पर पुगेर आइहाल्छु’ भनेर म हिँडेँ। 

त्यहाँबाट म मोहन वैद्य भएको ठाउँमा गएँ। उहाँ खाजा खाइसकेर आराम गरिरहनुभएको थियो। उहाँसँग केही बेर गफ गरेँ। त्यति नै बेला पूर्व जाने बस आयो। मैले टिकट काटेर मोहन वैद्यलाई पूर्व जाने बसमा चढाएँ। मोहन वैद्य गाडीभित्र छिर्नुभयो। उहाँसँग बिदा मागेर लगत्तै म रामकुमार दाइले खाजा खाँदै गरेको होटलमा पुगेँ। 

उहाँ खाजा खाइसकेर बसिरहनुभएको थियो। अघिसम्म हतारिँदै मेरो पसलबाट हिँड्नुभएको रामकुमार दाइ अहिले भने कुनै हतार नभएको जस्तो गरेर बसिरहनुभएको थियो। मोहन वैद्य दाइ चढेको बसमा अझै पनि यात्रु चढ्दै थिए। गाडी हिँडेको थिएन। 

रामकुमार दाइ बसेको ठाउँबाट पनि त्यो बस देखिन्थ्यो। मैले रामकुमार दाइलार्ई ‘यही गाडीमा जानूस् न दाइ अलिबेर रोक्ला जस्तो छ’ भनेँ। उहाँले अर्कोमा जान्छु, यसमा जान्नँ भन्नुभयो। उहाँ त्यो बसमा जानै मान्नुभएन। क. किरण चढेको बस हिँड्यो। केही बेर हामी त्यही होटलमा गफिएर बस्यौँ। पछि जनकपुरबाट सिरहा जाने अर्को बस आयो। रामकुमार दाइ त्यही बस चढेर जानुभयो। रामकुमार दाइलाई बिदा गरेपछि भने मलाई ढुक्क भयो।

दुई फरक पार्टीका नेतालाई एकैपटक एकै खालको सहयोग गर्नुपर्दा मलाई त्यतिबेला ज्यादै अप्ठ्यारो परेको थियो। उहाँहरूले ‘यो रामकुमार हामीसँग ठिक्क हुन्थ्यो तर अर्को पार्टीसँग पनि यसको उस्तै सम्बन्ध रहेछ’ भनेर सोच्नुहोला भन्ने मलाई ठूलो डर थियो। 

हुन त जनमोर्चाका साथीलाई यो रामकुमारको सम्बन्ध माओवादीसँग पनि छ भन्ने प्रस्टै थाहा थियो। माओवादीका साथीलाई रामकुमार खासमा जनमोर्चाको मान्छे हो, हामीलाई त यसले सहयोग गरेको मात्र हो भन्ने पनि थियो। दुई फरक पार्टीमा एकै खालको सम्बन्ध राख्दा जतिसुकै बठ्याइँ गरे पनि कहिले काहीँ ज्यादै अप्ठ्यारो पर्दोरहेछ।

त्यो दिन मैले जति सुकै बठ्याइँ गरे पनि दुई पार्टीका नेतालाई एकै पटक सहयोग गर्नुपर्दा मलाई परेको अप्ठ्यारो नेताले चाल पाइसकेका रहेछन्। मोहन वैद्य दाइले त त्यस विषयमा मलाई केही भन्नुभएन तर रामकुमार दाइले भने त्यो दिन मलाई परेको अप्ठ्यारो मसँगको एउटा भेटमा बडो मज्जाले सुनाउनुभयो।

२०६१ साल मङ्सिरतिर जनमोर्चाले जनकपुरमा विशाल सभा राखेको थियो। संविधान सभाका पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यले आयोजित सभामा नरहरि आचार्य, दमननाथ ढुङ्गाना, डाक्टर सुन्दरमणि दीक्षित, श्याम श्रेष्ठ, कृष्ण पहाडी लगायतका वक्ताले बोल्नुभयो। जनमोर्चाको त्यो सभाले संविधान सभालाई राष्ट्रिय चर्चाको विषय बनाउन ठूलो भूमिकासमेत खेल्यो। 

त्यो सभामा भेट हुँदा रामकुमार दाइले मैले उहाँहरूलाई अलग अलग होटलमा राखेको, मैले वल्लो होटल र पल्लो होटल गरेको, आफूले त्यस विषयमा कुनै सुइँको नपाएको जस्तो गरेको, आफू मोहन वैद्य चढेको बस नचढी अर्को बस चढेर सिरहा गएको कुरा सुनाउनुभयो।

उहाँले यसो भनेपछि मैले उहाँलाई ‘तपाईंहरूले त्यो दिन एक अर्कालाई नचिनेको जस्तो गर्दा मचाहिँ फसादमा परेँ। तपाईंहरूले त्यहाँ भेटघाट गर्नुभएको भए, गफगाफ गरेको भए, मैले त्यति भाँतीका क्रियाकलाप गर्नुपर्ने थिएन’ भनेँ। मेरो कुरा सुनेपछि उहाँ मलाई सम्झाउन थाल्नुभयो।

‘हेर रामकुमार भाइ, कम्युनिस्ट पार्टीमा एउटा गोपनियता हुन्छ। त्यो गोपनियता कसैले पनि भङ्ग गर्नुहुँदैन। त्यहाँ मोहन वैद्य र म सँगै बसेर गफगाफ गरेको भए मान्छेले शङ्का गर्थे, त्यतिबेला मलाईभन्दा पनि मोहन वैद्य जीलाई डर हुन सक्थ्यो।

उहाँ सशस्त्र युद्ध सञ्चालन गरिरहेको पार्टीको वरिष्ठ नेता। उहाँविरुद्ध कुनै नराम्रो भयो भने त्यसले पार्टीमा क्षति पुग्थ्यो। त्यसैले मैले उहाँलाई नचिनेको जस्तो गरेको हो। तिमीले उहाँलाई र मलाई जसरी वल्लो होटल र पल्लो होटल गरेर सहयोग गर्‍यौ, एकलाई गरेको सहयोग अर्कोले थाहा नपाओस् भनेर जे जति गर्‍यौ, त्यो सम्झिँदा मलाई अहिले पनि हाँसो लाग्छ’ भन्नुभयो।

उहाँले त्यसोभन्दा म झन् अचम्मित भएँ। त्यतिबेला मेरो पसल अघिबाट मोहन वैद्य फरक्क फर्किंदा रामकुमार दाइले कुनै चासो नदिएझैँ गर्नुभएको थियो। त्यतिबेला मलाई ‘रामकुमार दाइ माओवादीका ठूला नेतालाई चिन्नुहुँदोरहेनछ’ भन्ने परेको थियो। मेरो अनुमान गलत रहेछ।

शान्ति-वार्ताकालमै एकदिन बिहानै जमुनिवासबाट मामा तेजिलाल महतो औषधि लिन मेरो पसलमा आउनुभयो। ‘माओवादीका एक जना बूढा नेता बिरामी परेकाले औषधि चाहियो भान्जा’ भन्नुभयो। राति माओवादीका केही नेता तेजिलाल मामाको घरमा बास बसेका रहेछन्। त्यो दोस्रो युद्धविरामको बेला थियो। औषधि दिनुअघि मैले के बिरामी, उमेर कति, बिरामीलाई के–के हुन्छ भनेर सोधेँ। उहाँले ‘बूढा मान्छे छन्, दुब्लो पातलो मरञ्च्याँसे छन्। पेट दुखिरहन्छ रे, खान मन गर्दैनन्, बेलुका पनि केही नखाई सुतेका थिए’ भन्नुभयो। दुब्लो पातलो, बूढो मान्छे भन्नासाथ मलाई मोहन वैद्य ‘किरण’को सम्झना आयो।

औषधि दिनुअघि म अझै प्रस्ट हुन चाहेँ। मामालाई सोधेँ ‘बिरामी मान्छे गोरोगोरो, होचोहोचो, बूढोबूढो, दुब्लो पातलो, कपडा पनि सामान्य लगाएको हुनुहुन्छ हो?’ उहाँले ठ्याक्कै त्यस्तै छ भन्नुभयो। मलाई मामाले भनेको बिरामी पक्कै पनि मोहन वैद्य नै हुनुपर्छ भन्ने भयो।

मैले मामालाई भनेँ, ‘मामा तपाईंले भनेको बिरामी मान्छे माओवादीको वरिष्ठ नेता मोहन वैद्य ‘किरण’ हुन सक्छन्। उनी यो भेगमा आएर धेरै पटक बास बसेका छन्। उनी त प्रचण्डका पनि गुरु हुन्। अलि राम्रो ख्याल गर्नुहोला।’ आफूले पहिला मोहन वैद्यलाई नचिन्दा परेको अप्ठ्यारो पनि मैले मामालाई सुनाएँ।

मामाले परिचय नभएकाले को हो केही भन्न नसक्ने बताउनुभयो। पेट दुखेको, खान मन नगरेको भनेपछि मैले बिरामीलाई ग्यास्टिकले दुःख दिएको अनुमान गरेँ। ग्यास्टिकको औषधि दिएँ। औषधि लिएर मामा जानुभयो। 

मामा गएपछि मलाई को होला त्यो बिरामी? चिन्न मन लाग्यो। मामा गएको एक/डेढ घण्टापछि म पनि जमुनिवास गएँ। तर संयोग म पुग्नुभन्दा केही बेरअघि मात्र मामाको घरमा राति बास बसेका बूढा मान्छे अर्को एक जना साथीसँग हिँडिसकेका रहेछन्। त्यहीँबाट मैले पार्टी च्यानलसँग राति मेरो मावली घरमा बास बसेको माओवादी टोलीको विषयमा बुझेँ। पार्टीका साथीबाट त्यो बिरामी मान्छे माओवादीका वरिष्ठ नेता मोहन वैद्य नै भएको थाहा भयो।

मैले मामालाई ‘मामा ती बिरामी त क. किरण नै हुनुहुँदोरहेछ। तपाईंले राति उहाँको खानपान र सुताइमा कत्तिको ख्याल गर्नुभयो भनेर सोधेँ। मेरो कुरा सुनेर मामा छक्क पर्नुभयो। उहाँले त्यस्तो सामान्य लाग्ने रोगी जस्तो बूढो मान्छे माओवादीको वरिष्ठ नेता किरण हुन नसक्ने भन्दै पत्याउनुभएन।

मैले उहाँलाई ‘माओवादी नेता किरण सामान्य रूपमा हेर्दा झुत्रेझाम्रे नै देखिनुहुन्छ तर उहाँ विद्वान् मान्छे हुनुहुन्छ भनेर बुझाउने प्रयास गरेँ।

मेरो कुरा सुनिसकेपछि मामाले रातिको एउटा घटना सुनाउनुभयो– धनुषामा एक जना साधु यादव नाम गरेका माओवादी नेता थिए। हट्टाकट्टा जिउडालका उनी आफूलाई ठूलै नेता सम्झन्थे। माओवादीमा लागेका भए पनि उनमा सामन्ती प्रवृत्ति प्रचुर थियो। झट्ट हेर्दा उनी जमिनदार जस्ता लाग्थे।

मीठो मीठो खानुपर्ने, ठाँटिएर हिँड्नुपर्ने उनी आफूलाई सबैले नेता मानिदिऊन् भन्ने सोच्थे। संयोग भनौँ - त्यो रात मोहन वैद्यसँगै साधु यादव पनि मेरो मामाको घरमा बास बसेका रहेछन्। ओछ्यानको अभावले राति मोहन वैद्य र साधु यादव एउटै खाटमा सुत्नुपर्ने अवस्था आएछ। साधु यादवले मोहन वैद्यलाई चिनेका थिएनन्। 

ग्यास्टिकको बिरामी, पेट दुखिरहने भएकाले मोहन वैद्यले राति केही खानु भएनछ। बिरामीले गर्दा पनि उहाँ सबेरै सुत्नुभएछ। पछि साधु यादव पनि मोहन वैद्य सुतेकै ओछ्यानमा सुत्न गएछन्। ठूलो जिउडालका साधु यादवलाई दुई जना एउटै खाटमा सुत्न अप्ठ्यारो अथवा साँघुरो भयो होला। 

अथवा साधु यादवले ‘केही न कामको बूढो’ भन्दै हेपेपछि मोहन वैद्य खाटबाट तल झर्नुभएको पनि हुन सक्छ। बिहान उहाँहरू सुतेको कोठामा मामा जाँदा मोहन वैद्य तल भुइँमा सुतिरहनुभएको थियो रे। मोहन वैद्य राति खाटबाट तल भुइँमा झरेर सुत्नुभएछ। भुइँमा सामान्य ओछ्यान लगाएर उहाँले रात बिताउनुभएछ।

साधु यादव भने बिहान अबेलासम्म खाटमाथि मज्जाले सुतिराखेका थिए। यो कुरा बिहान मात्र मामाले थाहा पाउनुभएछ। रातभरि राम्रो सुताइ पनि नहुँदा उहाँलाई ग्यास्टिकले झन् च्यापेछ। बिहान उहाँले निकै पेट दुखेको बताएपछि मामा मेरो पसलमा औषधि लिन जानुभएको रहेछ।

मामाले यी सबै कुरा सुनाएपछि मलाई क. मोहन वैद्यप्रति अझ सम्मान जागेर आयो। साधु यादवसँग भने एक खालको रिस उठ्यो। मामाले लगेको औषधि लिनासाथ मोहन वैद्य त्यहाँबाट निस्कनुभएछ। त्यहाँबाट निस्किएपछि उहाँ कता लाग्नुभयो, केही थाहा हुन सकेन। मलाई मोहन वैद्यलाई भेटेर उहाँको स्वास्थ्य अवस्था बुझ्ने मन थियो तर त्यो सम्भव भएन। 

आफूलाई अपमान गरेपछि उहाँ बिहानै हिँड्नुभएको पनि हुन सक्छ। मैले मामासँग पनि यो कुरा गरेँ। मेरो कुरा सुनेपछि मामाले पिर मान्नुभयो। माओवादीका वरिष्ठ नेता मोहन वैद्य आफ्नो घरमा बास बस्दा पनि आफूले चिन्न नसकेको भनेर उहाँले मसँग गुनासो गर्नुभयो।

त्यति बेलासम्म साधु यादव त्यही नजिकैको अर्को घरमा थिए। मोहन वैद्य हिँडे पनि साधु यादव त्यहाँबाट हिँडेका थिएनन्। मसँग कुराकानी भएपछि मामा तुरुन्तै साधु यादव भएको ठाउँमा जानुभयो। उहाँले बेलुका भएको घटनाका विषयमा साधु यादवसँग थप कुरा बुझ्नुभयो। साधु यादवलाई ‘तपाईंसँग राति सुत्ने बूढो मान्छे माओवादी नेता मोहन वैद्य ‘किरण’ रहेछन्’ भनेर सुनाउनुभयो। मामाको कुरा सुनेपछि साधु यादव तीन छक्क परे। उनी डराए।

बेलुका सँगै सुत्दा मोहन वैद्यलाई खाटबाट झार्न के–के हर्कत गरेका थिए, उनले सायद त्यो सम्झिए होलान्। त्यसपछि थप केही नबोली तुरुन्तै उनी त्यहाँबाट कुलेलम ठोके।

मोहन वैद्यजत्तिको सरल र इमानदार नेता नेपालमा धेरै होलान् जस्तो मलाई लाग्दैन। विद्वान् पनि हुनुहुन्छ। कम बोल्ने, हार्दिकतापूर्वक गफ नगर्ने उहाँ भित्रका कमजोरी हुन्। त्यसरी हेर्दा उहाँ सङ्कीर्ण र जड जस्तो पनि देखिनुहुन्छ। युद्धकाल र शान्तिवार्ता कालमा उहाँ धेरैपटक म कहाँ आउनुभयो। उहाँलाई नचिन्दै र चिनिसकेपछि पनि मैले उहाँलाई धेरै सहयोग गरेँ।

शान्ति प्रक्रियामा आइसकेपछि पहिलोपटक काठमाडौँमा भेट्दा उहाँले मलाई नचिने जस्तो गर्नुभयो। के छ रामकुमारजी भनेर पनि सोध्नुभएन। 

त्यतिबेला रामरिझन यादव पनि मसँगै हुनुहुन्थ्यो। ‘युद्ध कालमा मैले मोहन वैद्यलाई धेरै सहयोग गरेको छु’ भनेर कुनै बेला मैले रामरिझनलाई सुनाएको थिएँ। रामरिझनसँगै हुँदा मोहन वैद्यले मलाई नचिने जस्तो गर्नुभयो। 

उहाँको त्यो व्यवहार मलाई खल्लो लाग्यो। त्यतिबेला मैले उहाँलाई पुरानो कुरा सम्झाउने प्रयास पनि गरेँ। ‘कमरेड अब कहिले जानुहुन्छ ढल्केवर’ भनेर सोधेँ। उहाँले ‘आवश्यक पर्दा जाउँला नि’ भन्ने छोटो जवाफ दिनुभयो। थप कुरा गर्नुभएन। यसले पनि उहाँ व्यावहारिक नेता हो जस्तो मलाई लागेन। सायद मैले टेम्पो चढाएर पठाएको झोँक फेर्नुभएको हो कि? (महतोद्वारा लिखित ‘भूमिगत डाक्टर’ पुस्तकबाट) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .