ब्लग


त्यो दसैँ, जुन बेला फेसबुक हाम्रो साथी थिएन

त्यो दसैँ, जुन बेला फेसबुक हाम्रो साथी थिएन

दीपकराज गिरी
असोज १५ , काठमाडौँ

हामीले उतिबेला बाँचेको समय र अहिले बाँचिरहेको समय निकै फरक भइसक्यो। हाम्रो पालामा अभाव थियो। महिनामा एक छाक मासु भान्छामा पाक्न मुस्किल हुन्थ्यो। मासु पाकेको दिन टोलभरि हल्ला गर्न मन लाग्थ्यो। खसीको मासु खान त दसैँ नै कुर्नु पथ्र्यो। वर्षदिन कुरेको चिज पाइने पर्वको महत्व बेग्लै हुन्थ्यो। 

कम्तीमा दुई महिना अघिबाट हरेक दिन क्यालेन्डरमा चिनो लगाउँदै दसैँ आउन बाँकी दिन गनिन्थ्यो। हरेक दिन कहिले घटस्थापना आउला र स्कुल बिदा होला भनेर हिसाब गरिन्थ्यो। त्यो बेला घटस्थापनाबाटै सरकारी कार्यालय तथा स्कुल बिदा हुन्थे। जागिर खान घरबाहिर गएकाहरु पनि सके घटस्थापनाको अघिल्लो दिन नसके पनि घटस्थापनाको साँझसम्म घर आइपुग्थे। घरको माहोल अर्कै हुन्थ्यो। घरपरिवारको महत्व थियो। अहिले यो माहोल र महत्व पहिलाको जस्तो बलियो देखिँदैन। 

दसैँमा आउने नयाँ लुगाको पर्खाइ हुन्थ्यो। नयाँ लुगामा पनि स्कुलको ड्रेस आउँथ्यो। त्यही ड्रेस पनि लगाएर गाउँभरि हिँडिन्थ्यो। आफूसरहका साथीले आफ्नो नयाँ लुगा देखुन् भन्ने हुन्थ्यो। अहिले जुन बेला जे आवश्यकता पर्छ वा मन पर्छ त्यतिबेलै लुगा किन्ने प्रचलन छ। ठूला मान्छेका लागि मात्रै होइन साना केटाकेटीलाई पनि दसैँमा नयाँ लुगाको महत्व छैन। उनीहरुले चाहेको बेलामा हरेक कुरा पाएका हुन्छन्। निम्न आयस्ता भएका परिवारले पनि अहिले आवश्यकतामा जोहो गर्छन्, नयाँ लुगाका लागि दसैँ नै कुर्नुपर्ने अवस्था छैन। 

हाम्रो पालामा हामीले पाउने दक्षिणाको पनि ठूलो महत्व थियो। हाम्रो समयमा १ रुपैयाँको ठूलो महत्व थियो। ५ रुपैयाँ दक्षिणा पाउँदा त ठूलो खुसी मिल्थ्यो। अहिल्यै त्यो महत्व र खुसी पनि हराउँदै गयो। 

पहिला पिङका लागि पनि दसैँ कुर्नु पथ्र्यो। त्यसैले पिङको बेग्लै महत्व थियो। अहिले पिङ खेल्न दसैँ कुर्नु पर्दैन। विभिन्न पार्क र मेलाहरुमा पिङको स्वाद लिन सकिन्छ। ऊ बेलाको जस्तो लिङ्गे पिङ भेटिँदैन त्यो अर्कै कुरा। तर कहिले दसैँ आउला र पिङ खेलुँला भन्ने पर्खाइ छैन। 

हाम्रो पालामा साथीभाइसँगको रमाइलो, खेल र झगडाको पनि बेग्लै महत्व थियो। त्यतिबेला फेसबुक साथी थिएन। मान्छेका साथी मान्छे नै हुन्थे। समय आत्मीय थियो। एकअर्कासँग खेलेर, लडेर रमाइन्थ्यो। अहिले त्यो आत्मीयता भेटिँदैन। एकै घरमा भएका मानिस पनि आ–आफ्नो मोबाइलमा घोप्टिरहेका हुन्छन्। अहिले हामी हाम्रा साथी हुन सकेका छैनौँ। साथीको महत्व फेसबुक आएसँगै घट्दै गयो। दसैँको महत्व पनि यसरी नै खुम्चिँदै गएको छ। हामी फेसबुकमा विजया दशमीको शुभकामना भनेर हाल्छौँ, त्यहीँ आएका कमेन्टमा मक्ख पर्छौँ, दसैँको महत्व त्यहीँ सीमित भयो। 

दैनिकजसो माछामासु खाइन्छ। सकेसम्म हरेक दिन भान्छामा आफ्नो स्वाद अनुसारका परिकार पाक्छन्। गरिखाने वर्गले पनि दुःख गर्ने हो, मिठै खाने हो भन्ने समय छ। दसैँमा पाक्ने मासु र परिकारको के महत्व!

पुराना दिन सम्झँदा अहिले पनि मन भरी भएर आउँछ। म त्यो बेला त्यस्तै ७/८ वर्षको थिए हुँला। त्यो साल बुबाले झण्डै दुई महिनाअघि नै दसैँका लागि खसी ल्याउनु भयो। मैले हरेक दिन स्कुलबाट आएर खसीसँग खेलेँ। अहिलेको पुस्तालाई सुन्दा अचम्म लाग्ला, खसीसँग कसरी खेल्ने? हामी खेल्थ्यौं। आफ्नो गोठमा भएका वस्तुभाउसँग पनि हाम्रो छुट्टै खालको प्रेम हुन्थ्यो। उनीहरुले कराउँदा हामी तिनको भाषा बुझ्थ्यौं। उनीहरुले पनि हाम्रो भाषा बुझ्थे। त्यो वर्ष घरमा बाँधेको खसी मेरो यति प्यारो भयो कि हरेक दिन स्कुलबाट आएपछि पहिला उसलाई बोलाउँथे। तर दसैँको अष्टमीको दिन त्यो खसी काट्ने कुरा भयो। मैले दिइनँ, खसीसँग मेरो गहिरो प्रेम थियो। सबैजनाले सम्झाएर खसी काटे, म दिनभरि रोएँ। मासु खान्नँ भनेर गनगन गरेँ। तर साँझ पर्दै गएपछि बिर्सिंदै गएँ। आमाले फकाउनु भयो। मासु खाएँ। गहिरो अनुराग भएका कुरा पनि छिट्टै छोड्न सकिन्थ्यो र बाल्यकाल फूलजस्तै हलुका थियो। अहिले हामी साना कुराको ठूलो असर मनमा बोकेर हिँड्छौं। हामीलाई जीवन पनि भारी लाग्छ। 

सानो हुँदाको आफ्नै कति सम्झनाले आफैँलाई किन गरे हुँला भन्ने पनि हुन्छ। टीका लगाएर आफन्तले दिने दक्षिणाको महत्व थियो। त्यस्तै महत्व मानिन्थ्यो धेरै दक्षिणा दिने आफन्तलाई। सबै आफन्तको आर्थिक अवस्था एकै प्रकारको हुँदैनथ्यो। टीकामा दक्षिणा कम दिने आफन्तका घरमा टीका लगाउनै जान नपरे पनि हुन्थ्यो भन्ने लाग्थ्यो। मन नलागी नलागी टीका लगाउन गयो, कतिबेला त्यो घरबाट निस्किएर अर्को घरमा जानु भन्ने हतारो हुन्थ्यो। अहिले सम्झिँदा त्यसो नगरेको भए हुन्थ्यो भन्ने लाग्छ। 

हाम्रो पालामा घरको कौसीमा बसेर चङ्गा उडाउनु पर्दैनथ्यो। खेत, आँगन र चौतारा हुन्थे। चङ्गा उडाउँदै अरुका खेतमा दौडिएर धान बाली बिगारिदिन्थ्यौं। खेत धनीले गाली गर्थे। त्यो बेलाको गालीमा पनि त माया मिसिएको हुन्थ्यो। यी सम्झनाहरु अहिले पनि उस्तै मिठा लाग्छन्। सायद सम्झनाहरु नै वास्तविकता भन्दा मिठा लाग्ने पनि हुन् कि? 

हामी हुर्कंदाका घर पनि दसैँ कुरेर बस्थे। दसैँ लाग्यो भन्ने भएपछि गाउँका आमा, दिदीहरु रातो माटो र कमेरो लिन जाने योजना बनाउँथे। माटोका बोरा बोकेर आएका उनीहरुका आकृतिले दसैँ पनि नजिकै बोलाउँथ्यो। तल रातो माटो, माथि कमेरोले घर चिटिक्क सिँगारिन्थे। फुस्रा घरका भित्ता चिटिक्क परेपछि झन् धेरै रमाइलो हुन्थ्यो मन। अहिलेका घरहरुले सिँगारिनका लागि दसैँ कुर्नु पर्दैन। हाम्रा घरका भित्तामा वर्षौंसम्म नखुइलने रंग पोत्छौँ। हरेक वर्ष पोतिने कमेरो र रातो माटोको महत्व पनि कम भएर गयो। अझै पनि कमेरो र रातो माटो पर्खिएर बस्ने घरका भित्ता छन, तर देख्न मुस्किल छ। गाउँघरमा पनि रंगको प्रयोग हुन थालेको छ। अहिले हामी धेरै भौतिकवादी भयौं। यी सबै चिज स्मरणमा मात्रै रहे। आफैंले बाँचेर आएको जिन्दगी, देखेर आएको दृश्य कथा भए। हजुरबाले बाँचिआएको कति कुरा हामीलाई कथा लाग्थ्यो। हामीले बाँचेको, भोगेको कुरा हाम्रा छोराछोरीलाई कथा लाग्छ। 

असोज १५, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad