ad ad

ब्लग


बेमौसमी तीज : संस्कृति कि विकृति?

बेमौसमी तीज : संस्कृति कि विकृति?

फाइल फोटो


अम्बिका पौडेल
भदौ २, २०७९ बिहिबार १७:२५, काठमाडौँ

भदौ महिना लागिसकेको छ। यो महिना हिन्दु महिलाका लागि अलि विशेष नै हुन्छ। मलाई पनि एकाबिहानै बालापनको तीज याद आयो। त्यतिबेलाको तीज र आजको तीजमा किन यति धेरै फरक, सोच्न बाध्य बनायो।

पहिला त हामी तीजलाई दरखाने दिन, अर्थात् भाद्र शुक्ल द्वितीयाको दिनदेखि मात्र मनाउन सुरु गर्थ्यौँ। अचेल साउन लागेदेखि नै तीजको कार्यक्रम छ भन्ने साथीहरु भेटिन्छन्।

तीज नेपाली नारीले महान पर्वका रुपमा सदियौँदेखि मनाउँदै आइरहेको पाइन्छ। खासगरी हिन्दु दर्शनमा आधारित यस चाडको आफ्नै मौलिक महत्व र परम्परा छ।

सायद वर्षमा एक दिन मात्रै भए पनि महिलाले स्वतन्त्र रुपमा आफूलाई प्रस्तुत गर्ने र आफ्नो पीडालाई पोख्ने अवसरका रुपमा यो चाडलाई प्रयोग गरेको पाइन्छ।

जतिबेला महिलाको दायरा चार चौकाभित्र सीमित थियो, उनीहरुका भावना व्यक्त गर्ने कुनै ठाउँ थिएन, त्यसबेला आफूले भोगेका यावत् दुःखलाई व्यक्त गरी मनलाई हलुंगो बनाउने एक माध्यम थियो तीज। त्यसैको प्रमाणका रुपमा त्यतिबेला महिलाले गाउने वेदनाका गीतले पुष्टि गर्छ।

हिन्दु दर्शनलाई हेर्दा तीजको आफ्नै खाले महिमा पाइन्छ। पौराणिक कालमा हिमालयकी छोरी पार्वतीले आफूलाई मन परेको वर शिवलाई पाउँ पनि शिव लिङ्गको स्थापना गरी पानीसम्म नखाई व्रत बस्दा भगवान शिव खुसी भएर वर दिई पतिका रुपमा पाएको कथा बृहदनारदीय पुराणमा उल्लेख छ। शिव पुराणले पनि यो कुरालाई उल्लेख गरेको पाइन्छ।

पार्वतीले वर पाएको त्यो दिन हरितालिका तीजको दिन परेको थियो। त्यसैले यस दिन व्रत बस्नाले श्रीमानको सुस्वास्थ्य, दीर्घायु हुने, शरीरमा कुनै बाधा उत्पन्न नहुने साथै अविवाहिताहरुले राम्रो वर पाउने विश्वास रहँदै आएको छ। र, यसैका लागि महिलाले यो व्रत विश्वास र निष्ठाका साथ बस्दै आएका छन्।

विगतको नेपाली समाजको परम्परा र सामाजिक मूल्य, मान्यताअनुसार छोरीहरुलाई सानै उमेरमा विवाह गरी अरुको घर पठाउने चलन थियो। कृषिमा आधारित त्यसबेलाको समाजमा धान रोपाइँ सकेपछि तुरुन्त मनाउने यो पर्वले सामाजिक महत्व पनि बोकेको देखिन्छ।

कलिलो उमेरकी छोरीले पानी र हिलोमा काम गरेर शरीरलाई चाहिने आवश्वक तत्वको कमी भएका कारण ५ दिनसम्म माइतमा ल्याएर पोषिलो परिकार खुवाउनाले र आमासँग बसेर दुःख–सुखका कुराकानी गरी मनलाई हलुको बनाउने संस्कृति बन्न पुग्यो तीज। सायद त्यतिबेलाको समयमा खास गरी ती महिलाका लागि तीज कति सान्दर्भिक थियो होला भन्ने हामी कल्पना मात्र गर्न सक्छौं।

हाम्रा हजुरआमाहरुले भनेको इतिहास सुन्दा लाग्छ, साँच्चै महान् थियो तीजको समय। यो पर्वले माइती मात्र हैन, सातडाँडा वारिपारिका बालसखीहरुसँग पनि भेट गराउँथ्यो।

हो, साँच्चै त्यो दिन स्वतन्त्र हुन्थे महिला। १२ बजे रातिदेखि उठेर ढिकी जाँतो गर्नुर्दैनथ्यो। उज्यालो नहुँदै पँधेरा पुगेर पानी बोक्नुपर्दैनथ्यो। सूर्यको पहिलो झुल्कोसँगै घाँसको भारी ल्याइपुर्याउनुपर्ने बाध्यताबाट मुक्त हुन्थे उनीहरु। अनि मन खोलेर नाच्थे, गाउँथे र पानीसम्म नखाई श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्थे।

तर, समय धेरै अगाडि बढिसक्यो देशको शासन व्यवस्थाले निकै फड्को मारिसक्यो। अब महिलाका लागि मनभरिको बह पोख्न तीजै कुरिराख्नुपर्ने बाध्यता रहेन। छोरीका लागि मिठो मसिनो खाने माइती पुग्नैपर्ने आवश्यकता बाँकी रहेन। आधा धर्ति र आकाशका हिस्सेदार नारीहरु पनि हुन् भन्ने कुरा धेरै हदसम्म व्यवहारमा पनि लागू भइसकेको छ।

समाज जति नै परिवर्तन भए पनि तीजलाई मान्ने कुरामा कुनै परिर्वन भएको छैन। यो प्रथा र संस्कृति आज पनि महिलाका लागि त्यतिकै महत्वपूर्ण छ। आजको गणतान्त्रिक समाजमा फरक यति मात्र हो कि हिजो जम्माजम्मी ५ दिन मनाइने यो पर्व अचेल साउन लागेदेखि नै सुरु हुन थालेको छ। हिजो संस्कृति थियो, तर पछिल्लो समयमा परम्पराको नाम जोडेर गरिएका भड्किला कार्यक्रमहरु मौलिक सांस्कृतिक पक्षलाई ओझेलमा पार्ने कोसेढुङ्गा बन्दै गएका छन्।

हामीले कतै तीजलाई संस्कृतिको साटो विकृति त बनाउँदै गएका छैनौँ? अञ्जानमै धनी र गरिबको खाडललाई छरपस्ट पारिराखेका त छैनौँ? साउन १ गतेदेखि भाद्र शुक्ल पञ्चमीसम्म सडकमा साथीसंगी र आफ्न्तकहाँ दर खान जाने भिड, खास गरी काठमाडौंका ठुल्ठूला पार्टी प्यालेसमा देखिने जमातले पुष्टि गर्दैछ। एकातिर यसले तडकभडकको संस्कृतिलाई बढावा दिँदैछ, अर्कोतिर साथीसंगीको देखासिखी गर्नुपर्ने बाध्यताले केही घरमा कलहलाई समेत निम्त्याउँदैछ।

पर्वलाई सम्मानपूर्वक एक दिनसम्म मनाउनु आफैँमा राम्रो पक्ष हो। किनकि यसबाट संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्छ। तर, संस्कृतिका नाममा आडम्बरी बन्दै महिनौंसम्म एउटैलाई महत्व दिँदै हिँड्नु कत्तिको युग सुहाउने कुरा हो? अनुसन्धानको विषय बन्नैपर्छ।

तीजको अवसरमा गाउने गीतले हाम्रो मौलिक संस्कृतिको विकास गरेका छन् कि विकृतिलाई अँगाल्दैछन्? यसको पनि जवाफ खोज्न जरुरी छ।

तीजको दिन हामीले अवलम्बन गर्दै आएका व्यवहारहरु कत्तिको समय सान्दर्भिक छन्? हप्तौंदेखि हामी चिल्लो, पिरो, अमिलो एवं मादक पदार्थ लगायत खाँदै रहन्छौँ अनि तीजको दिन पानीसम्म नखाई व्रत बस्छौँ। यसले हाम्रो स्वास्थ्यलाई कत्तिको फाइदा गरेको छ?

बेलाबेला खाली पेट बस्नु आफैँमा नराम्रो कुरा पटक्कै हैन। यसले पेटलाई सफा राख्नमा सहयोग पुर्याउँछ। तर, पानीसम्म नखाई बस्नु कत्तिको उचित होला? एकचोटि सोच्नुपर्ने भएको छ।

श्रीमानको आयु लामो होस् भनेर महिलाहरु व्रत बस्छन्। म उहाँहरुलाई एउटा प्रश्न गर्न चाहन्छु– तपाईं पानीसम्म नखाई व्रत बस्दै हुनुहुन्छ, उता तपाईंको श्रीमान् टन्न रक्सी पिएर हिँडिरहनुभएको छ भने के त्यो व्रतले काम गर्ला?

अर्को कुरा, ३६४ दिनचाहिँ श्रीमानको पर्वाह नगरी बस्छौँ। साउन १ गतेदेखि श्रीमान् र बच्चाको भन्दा पनि साथीको तीज कार्यक्रमलाई महत्वका साथ हेर्छौँ अनि के त्यो एकदिनको व्रतले बच्चाको सुस्वाथ्य र श्रीमानको आयु लामो होला? महिना दिनसम्म तपाईंको भड्किलो व्यवहारले श्रीमान् र तपाईंको परिवारमा शान्ति ल्याउला? यी तमाम प्रश्न अब आफैँले आफैँलाई सोध्नेबेला भएको छ।

धेरैका श्रीमानहरु एक तोला सुनको भारी बोकी दिएर मेरी श्रीमतीले मेरा लागि आजको दिन त पानीसमेत पनि नखाइदेओस् भन्ने मानसिकतामा रहनुभएको हुन्छ। श्रीमतीले पानीसमेत नखाई बसेको व्रतले आफ्नो आयु बढ्ने होइन, उल्टै श्रीमतीको स्वास्थ्यमा असर पो पर्ने हो कि? सम्बन्ध व्रतले मजबुत हुँदैन, विश्वासले मात्र हुन सक्छ भनेर सोच्न ढिला भइसक्यो।

श्रीमतीले पानीसम्म नखाई श्रीमानको दीर्घायुको कामना गरिरहँदा श्रीमतीका लागि मैले के गरेँ त? श्रीमान् श्रीमती एक रथका दुई पाङ्ग्रा एकको अभावमा रथ अधुरो हुन्छ अथवा एउटा पाङ्ग्रा कमजोर हुँदा पनि गन्तव्यमा पुग्न सकिँदैन र यात्रा बीचैमा अलपत्र पर्छ भन्ने कुरालाई मनन गरी संस्कृतिलाई देखासिकी एवं भड्किलोभन्दा पनि समय सान्दर्भिक र व्यवहारिकतामा आधारित भएर मनाऔँ। यसो गर्यौँ भने मात्र हामीले संस्कृतिको जगेर्ना गर्न सक्छौँ। अन्यथा यसका विकृतिले थिच्दै लैजान्छ। संस्कार र संस्कृतिले भरिपूर्ण यस पर्वलाई उत्ताउलो बनाउँदै लग्दा हाम्रा सन्ततिले वास्तविक मौलिक संस्कृतिलाई गुगलमा खोज्न बाध्य पार्ने अवस्था त सिर्जना गर्दै छैनौँ? एकचोटि हामी सबैले सोच्ने हो कि!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .