ad ad

ब्लग


प्रेस युनियनको महाधिवेशनमा जे देखियो

प्रेस युनियनको महाधिवेशनमा जे देखियो

आशा थपलिया
साउन १७, २०७९ मंगलबार ७:०, काठमाडौँ

बागमती प्रदेशको राजधानी हेटौडामा गत साता सम्पन्न नेपाल प्रेस युनियनको नवौं महाधिवेशनलाई नजिकबाट नियाल्ने अवसर पाएँ। आफूले प्रत्यक्ष देखेका र अनुभव गरेका कुरा समेटेर यो आलेख तयार पार्दै छु।

तीन दशक बढी लामो इतिहास बोकेको प्रेस युनियनको नवौं महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। ०४८ सालमा स्थापना भएको युनियनको यो महाधिवेशनलाई सफल यस अर्थमा भन्नुपर्ने हुन्छ कि ०७१ साल भदौ २१–२२मा पोखरामा सम्पन्न आठौं महाधिवेशनपछि युनियनले प्रत्येक तीन वर्षमा महाधिवेशन सम्पन्न गर्नुपर्ने वैधानिक प्रक्रिया पुर्याउन सकेको थिएन। झण्डै नौ वर्षसम्म अन्योलमा रहेका युनियनकर्मीहरुमा निराशा र आक्रोश व्याप्त थियो।

यस अवधिमा दुई महाधिवेशन सम्पन्न भएर तेस्रोको तयारी हुने समय थियो। त्यसो हुन नसकेका कारण नेतृत्वको दाबेदार युनियनकर्मीेहरु खापिँदै गए र भर्खरै सम्पन्न महाधिवेशनमा नेतृत्वमा पुग्न चाहने आकांक्षीका उम्मेदवारहरुमा अधैर्यता समेत देखियो। त्यसैले पनि महाधिवेशन सम्पन्न हुुनु नै ठूलो उपलब्धि भएको छ। नयाँ नेतृत्वले आफ्नो जिम्मेवारी सम्हाालिसकेको छ भने युनियन अब सक्रिय भएको छ।

लामो समय महाधिवेशन अवरुद्ध हुनुको कारण निरन्तर दुई वर्षसम्म कोभिड संक्रमणको असर, भूकम्प, मूलुकमा भएका विभिन्न चरणका निर्वाचन, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुको राष्ट्रिय सम्मेलन, अधिवेशन तथा महाधिवेशन, स्थानीय तहको निर्वाचन २०७९ लगायत रहेको महासचिवको प्रतिवेदनमा उल्लेख छ।

अन्ततः वर्षाको महिना भए पनि साउनको ६–७ गते युनियन संगठनको वैधानिक गाँठो फुकाउन सफल भयो। आशा गरौं– यस किसिमको गाँठो प्रेस युनियनमा अब फेरि पर्ने छैन।

महाधिवेशस्थलमा जे देखियो
प्रेस युनियन नेपाली कांग्रेस पार्टीको शुभेच्छुक संस्था भनेर भनिरहँदा शुभेच्छुक कम, पार्टीको कार्यकर्ताका रुपमा पत्रकारहरु परिचालन भएको देखियो। लोकतन्त्रमा आस्था र विश्वास राख्ने पत्रकारहरु यसरी परिचालन हुनु अथवा यस किसिमका संस्थालाई पार्टीको भ्रातृ, भगिनी संस्थाहरु जस्तो गरेर पार्टी अग्रपंक्तिमा रहेका नेताहरुले परिचालन गर्नु कत्तिको सान्दर्भिक हुन्छ, छुट्टै बहसको विषय हो।

छाता एउटै भए पनि महाधिवेशनस्थलमा संस्थापन र इतर पक्षका अलग–अलग गुट–उपगुटले फुटको रणनीति अवलम्बन गरेको दृश्य भने अचम्म बनाउने थियो। यस किसिमका क्रियाकलापले न त कुनै संस्था, संगठन, पार्टीलाई बलियो बनाउँछ अपितु त्यसमा व्यावसायिक तथा संगठनात्मक सुदृढीकरण गर्न सक्ने नेतृत्वहरु आउने सम्भावना क्षीण हुँदै जान्छ। वैचारिक मतभेद हुनु अलग पाटो हो तर, संस्थागत चासोका विषयमा एकजुट हुनुपर्ने विषयमा यो महाधिवेशनमा दरिद्रता कायमै देखियो।

इतर पक्षबाट यथास्थितिवादीको आलोचना खेपिरहेका पार्टी सभापति शेरबहादुर देउवा पक्षको कमीकमजोरी पनि छताछुल्ल भयो, यो महाधिवेशनमा। समयमा नेतृत्व चयनको निर्णयमा भएको ढिलाइ तथा युनियनमा आफ्ना पक्षमा रहेकाहरुलाई मिलाउन नसक्नु उनको ठूलो कमजोरी देखियो। यद्यपि महिला नेतृत्वलाई अघि बढाउनुपर्छ भन्ने अडानले महिलाको समान सहभागिताको कांग्रसी एजेन्डामा उनी इमान्दार देखिए।

सोही एजेन्डालाई नारा बनाए पनि इतरपक्ष प्रगतिशील नेताहरु एकजुट भएर मैदान उत्रिए र आफ्ना उम्मेदवारलाई जिताउन सफल भए, तर एउटा सशक्त नेतृ हराउन सम्पूर्ण शक्ति लगाएका उनीहरुको राजनीतिक स्वार्थ अनुरुपको चरित्र न्यायसंगत देखिएन।

काठमाडौंमा केही समयअघि आयोजना गरिएको निर्भिक नारी कार्यक्रममा मञ्चमा कसैले आफ्ना विचार राखिरहँदा महिलालाई असहयोग गर्ने पुरुषहरुलाई लक्ष्य गरिएको देख्दा पंक्तिकारलाई पनि प्रश्न गर्न मन लागेको थियो– त्यसो भए महिला अगाडि बढन खोज्दा असहयोगी बनेका महिलाहरुलाई के भन्ने?

मसँगै बसेकी मेरी नजीककी साथीले मलाई रोकिन् र भनिन्, ‘भो पर्दैन सोध्न अहिले तिमीमाथि खनिन्छन्। उनीहरु खनिने डरले होइन कि पछि कुनै उपयुक्त समयमा यो विषय उठान गरौंंला भनेर रोकिएँ।’ 

युनियनको महाधिवेशनमा महिला नेतृत्वको पक्षमा मत दिन पन्छिएका महिलाहरुलाई देख्दा अहिले यो सन्दर्भ उल्लेख गर्न उपयुक्त देखें। १८ प्रतिशत महिला मत रहेको युनियनमा नेतृको पक्षमा सबै मत नखसेको विश्लेषण गरिनु पनि दुःखद नै थियो भने खुट्टा तान्न भएका पहल, मत नदिन गरेको असहयोग अनि महिलाको समूहबाट उम्मेदवारी दिएर प्रतिस्पर्धीका लागि मत मागिरहेका जस्ता द्वैध चरित्र देखेको हुँदा सहयोगी पुरुष मित्रहरु पक्कै पनि धन्यवादका पात्र देखिए।  

सक्षम महिला भन्दैमा सहजै नेतृत्व पाइने भन्ने हुँदैन, त्यसैले चुनावी प्रक्रियामा सहभागी भइसक्दा महिला नेतृत्व पक्षको अति आत्मविश्वास तथा चुनावी रणनीति नै बनाएर अघि बढ्न नसक्नु ठूलो कमजोरी भएको देखियो।

यद्यपि महाधिवेशबाट दरिलो महिला नेतृत्वलाई जिताएर गर्विलो इतिहास बनाउने अवसरबाट सबै युनियनकर्मीहरु (महिला–पुरुष) चुके। तर, गौरवशाली इतिहास बनाउन चुकेका युनियनकर्मीहरुले आफ्ना बहिनी तथा छोरी पुस्ताहरुको भविष्यको बाटोमा समेत तगारो कोरेका छन्। यसका बाछिटा लामो समयसम्म नेतृत्वमा आउने चाहने तिनै असहयोगी युनियनकर्मी विशेषत महिलाहरुलाई पनि लामो समयसम्म नपर्ला भनेर भन्न सकिन्न।

‘एउटी महिलाले के संगठन चलाउन सक्छे’ भनेर आंशकायुक्त तथा हेपाहा शब्द महाधिवेशन स्थलमा प्रचारसमेत गरियो। यस विषयमा रोइलो गर्नुको कुनै तुक पनि छैन। यस्ता टीकाटिप्पणी गर्नेहरुलाई उनीहरुको सिर्जनाको मूल र अस्तित्वको आधार स्मरण गराउन भने झक्झक्याइरहनुपर्छ।यसले उनीहरुलाई यो समाजमा आफू मात्र सक्षम र उत्कृष्ट भएको भ्रम चिर्न सहयोग गर्छ।

लोकतान्त्रिक प्रणालीको अभ्यास गरिरहेका यस्ता चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन हुुनु यो पद्धतिको एउटा सुन्दर पक्ष हो। संगै नेतृत्वमा सक्षम महिला उम्मेदवारलाई ल्याउन कसरत गरिरहेकाहरुको उच्च मनोबललाई गिराएर चुनाव जित्ने जिताउने गरिएको अवाञ्छनीय प्रयासको कांग्रेस पार्टीभित्र पनि समीक्षात्मक बहस हुनैपर्ने देखिन्छ।

लोकतन्त्रमा विश्वास राख्ने पत्रकारहरुले महाधिवेशनमा गुमाएको निष्ठा र नैतिकता देख्दा भोलि जनताका हकहितका सवालमा आवाज उठाउन उनीहरुबाट इमान्दार प्रयास कसरी होला भन्नेमा आशंका गर्ने ठाउँ प्रशस्त देखियो भने उनीहरुलाई त्यो अधिकार हुन्छ कि हुँदैन भनेर एकपटक सोच्नुपर्ने पनि देखिएको छ।

लैंगिक समानताका विषयलाई मुद्दा बनाएर वकालत गर्ने अनि डलर कुम्ल्याउने अग्रज पत्रकारहरुले चुनाव जित्नका लागि अपनाएको स्तरहीन प्रचारले उनीहरुको बौैद्धिकताको साख गिराएको समेत देखियो। बिडम्वना एक तप्काका यस्ता अग्रजहरुलाइ कहिलेसम्म आदर्श मानेर हिँडनुपर्ने होे थाहा छैन।

सबैभन्दा मुख्य इमान्दारिता तथा नैतिकता नै गुमाउँदै गएको सामाजिक संस्कारमा हामीले आफ्नो बौद्धिक र विवेकशील चरित्रलाई गुमनाम बाटोमा डोर्याउँदै लगेको सत्यलाई बेलैमा स्वीकार्न सकेनौं भने हामीले हाम्रा आगामी पुस्ता तथा सन्ततिहरुलाई कस्तो धरातलमा छाडेर जानेछौं भन्ने कुरा पनि महाधिवेशनको अभ्यासले सोच्न बाध्य बनाएको छ।

अन्त्यमा,
संगठनका लागि समर्पण र त्याग, निष्ठाको राजनीति, नैतिकता, इमान्दार प्रयासको टड्कारो खाँचो खट्किएको अहिलेको परिप्रेक्ष्यमा पंक्तिकारले नजिकबाट नियालेको यो महाधिवेशमा पात्र, परिवेश र चरित्रलाई विश्लेषण गर्दा युनियनकर्मीलगायत संस्थापनलाई सहयोग गर्ने नाममा निकट मानिएका छद्मभेषी तथा हरेक क्षेत्रको नेतृत्वमा महिलाको उच्च सहभागिताको एजेन्डा बोकेका कांग्रेसीहरु (संस्थापन होस् अथवा इतर पक्ष) सबै नेताले एकपटक छातीमा हात राखेर आत्मसमीक्षा गर्नैपर्छ।

भनिन्छ नि- यस्ता लोकतान्त्रिक अभ्यासले एउटा व्यक्तिलाई नेतृत्वमा पुरयाउँछ भने प्रतिद्वन्द्वीलाई नेताका रुपमा स्थापित गराउँछ। यो महाधिवेशनले पनि शिव लम्साललाई नेतृत्वमा पुर्याएको छ भने प्रतिद्वन्द्वी अनिता बिन्दुलाई नेताका रुपमा स्थापित गराएको छ। दुवैलाई शुभकामना। 

(थपलिया पत्रकार हुन्) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .