बिहेपछि छोरीले घर–माइती गर्ने समाजमा हुर्केकी म केही समयअघि भारतको मेघालय पुगेँ। त्यहाँ पुगेपछि बनेका मेरा साथी हुन् हरि लिङ्दो। हुरीसहितको झमझम पानी परिरहेको एक साँझ हरि, उनकी श्रीमती सल्ला र छोरीसँगै म हरिको आमाघर (माइती) मअल्यङ् गएँ। मअल्यङ् मेघालयमा रहेको एउटा सुन्दर गाउँ हो, जहाँ मातृप्रधान सामाजिक व्यवस्था छ।
नेपालमा छोरीलाई अन्माएर ज्वाइँको घरमा पठाएजस्तै यहाँका खासी जातिमा छोरालाई अन्माएर बुहारीको घरमा पठाइन्छ। यो गाउँमा खासीहरुको बाक्लो बस्ती छ। यस मातृप्रधान समाजको मुख्य पेसा व्यापार हो। यो गाउँ लामो कुचोका कारण प्रसिद्ध छ। म पनि उनीहरुको साथ लागेर हरिको माइती गएँ।
माइत जाँदा हरिले नै गाडी हाँकेर लिएर गए। बाटोमा उनलाई मैले हिन्दीमा सोधेकी थिएँ– ‘कति पछि माइत आयौ हरि?’ उनले हाँस्दै नेपालीमा भनेका थिए– ‘यता काम पर्दा कहिलेकाहीँ निस्कन्छु। यहीँ बस्नेगरी नआएको त धेरै भयो।’ व्यापारी भएका कारण धेरै ठाउँ डुल्ने र बुबा नेपाली भएकाले उनी हिन्दी, अंग्रेजी, नेपाली र खसिया भाषामा सहज बोल्न सक्छन्। तथापि अधिकांश खासीहरु आफ्नोबाहेक अन्य भाषा बुझ्दैनन्।
हामी उनको माइती पुग्दा आमा धेरैपछि घर आएका छोराबुहारीको र बहिनीहरु दाइभाउजूको स्वागत गर्न कुरेर बसेका थिए। हरि त्यहाँ पुग्दा यस्तै खुसी थियो, जस्तो खुसी अन्य समाजमा वर्षौंपछि छोरी ज्वाइँ लिएर माइती आउँदा हुन्छ।
विवाह गरेर बुहारीको घर गएको जेठो छोरा बुहारीसँगै घर आएकोले आमा र छोरीहरु मिलेर मेजमानको तयारी गरिरहेका थिए। घरमा पालेको कुखुराको मिजारे भाले काटिँदै थियो र त्यहाँ अगेनामा अन्य परिकार पनि पाक्दै थियो। त्यहस् मेजमानमा थिएँ म पनि।
हरि जानेबित्तिकै थाकेको छु भनेर सुतिहाले। सुतिरहेको छोरोलाई सिरक ओढाएर थुम्थुम्याउँदै आमाले भनिन्– कामले थाकेको हुन्छ, त्यत्तिकै निदायो। छोराप्रति आमा प्यार त्यसरी व्यक्त गर्दै थिइन्, जसरी हाम्रो पितृप्रधान समाजमा धेरैपछि माइत आएकी छोरीलाई आमाले गर्छिन्।
बाहिर हुरीसहित झमझम पानी परिरहेको थियो। हामी भने त्यो चिसो साँझमा अगेनाको वरिपरि गफिँदै बसेका थियौँ। बुहारी सल्ला पनि हामीसँगै थिइन्, तर चुपचाप एक पाहुनाको रुपमा। रापिलो अगेनामा दाउरा चट्चट् पड्कँदै आगो दन्किरहेको थियो। खरानीले माझेर वरपर राखिएका टलक्क टल्कने किसिमकिसिमका भाँडामा ज्वालाको प्रतिबिम्ब देखिँदै थियो र सँगसँगै खाना पाक्दै थियो। उनीहरु भन्साघरलाई पनि पाकघर भन्दा रहेछन्।
पाक संस्कृत शब्द हो। आमा चाहिँले अगुल्टो ठोसेर फु फु गर्दै ठूलो आगो बालिन् र मलाई हेर्दै केही सोधिन्। उनले भनेको अरु केही बुझिएन। मैले सामिश र निरामिश शब्द मात्र बुझेँ। अनि लख काटेँ, मलाई मासु खाने हो कि होइन भनेर सोधेको रहेछ। मैले मासु नखाने जनाउ दिँदै टाउको हल्लाएँ। संस्कृत शब्द सुनेर मैले सोधेँ, ‘कसरी सिक्नुभो संस्कृत शब्द?’ उनले आफ्नै भाषा भनिन्– ‘खै, हजुरआमाहरुले यस्तै बोल्थे, त्यसै जानेको।’
तर, ती शब्द संस्कृतबाट आएका हुन् भन्ने उनलाई थाहा थिएन। उनकी छोरी आरती हाम्रो भाषा मध्यस्तकर्ता थिइन्। मैले पनि सम्झाइदिएँ, यस ठाउँको नाम नै मेघालय। जो आफैँ संस्कृत शब्द हो। मेघ भनेको बादल अनि आलय भनेको घर अर्थात् बादलको घर। यो सुनेर उनीहरु नै छक्क परे। आरतीले भनिन्– हामीलाई त थाहै थिएन।
अगेनाको वरपर सबै बसेर खाना बनाउने काम भैरहेको बेला सबैभन्दा सक्रिय रहेकी हरिकी आमासँग मैले सोधेकी थिएँ, ‘तपाईंले त दुवै परिवार देख्नुभएको छ, बाहरु मुखिया हुने परिवार राम्रो कि आमा मुखिया परिवार राम्रो?’
मसिनो स्वरमा उनले मतिर हेर्दै भनिन्– ‘बच्चा जन्माउने र घर चलाउने आमा, अनि सम्पत्ति र थर बाउको? यस्तो त सरासर अन्याय भो। हामीलाई अन्य जातिमा उमेर पुगेकी छोरीलाई अंश र वंशबाट छुटाएर छोरा मान्छेको घरमा रित्तै पठाइन्छ भनेर सुन्दा पनि नराम्रो लाग्छ।’
यति भनेर उनी निहुरिएर चुलेसीमा अदुवा काट्न थालिन्। काटेको अदुवा अगेनामा उम्लिँदै गरेको भाँडोको पानीमा हालिन्। के सोचिन् कुन्नी, फेरि तिखा आँखा पारेर मतिर हेर्दै भनिन्– ‘जसले बच्चा पाउँछ उसैको थर हुने, उसैले परिवार चलाउने चलन परिवारको र समाजको लागि राम्रो हुन्छ।’
कुखुराको मासु काटेर अगेनामा उम्लिरहेको पानीमा हालिसकेपछि उनी आगोमा हात सेकाउन लागिन्। त्यही मौकामा मैले सोधेँ– ‘लोग्ने मान्छे कसरी जान्छ श्रीमतीको घर?’ मेरो प्रश्न सुनेर बुहारी सल्ला मुसुक्क हाँसिन्। त्यसैबेला जेठी छोरी आरतीले भनिन्– ‘विवाह नै हुन्छ। जन्तीले दुलाहा लिएर केटीको घरमा जान्छ अनि त्यो बेहुलालाई केटीकै घरमा छोडेर जन्ती फर्कन्छ। पछि दुलही दुलन फर्काउन ल्याए जस्तै दुलाहा दुलही लिएर परिवारमा चिनजान गर्न ल्याउँछ। त्यसपछि दुलहीको घर गएको छोरो छोरीहरु माइत आएजस्तै कहिलेकाहीँ मात्र आमाघर आउँछ।’
ससुराली आएको ज्वाइँजस्तै बसेर सुनिरहेकी बुहारी सल्लाले अलिअलि नेपाली मिसाउँदै बोलिन्, ‘तर पहिलाजस्तो लामो विवाह हुँदैन अचेल। उमेर पुगेका छोरालाई कुनै केटीले मन पराएमा केटा केटीको घरमा गएर बस्न पनि सक्छ। पहिलापहिला कम उमेरको केटा हुनु पर्दथ्यो अहिले त्यस्तो हुन्न। अझ क्रिश्चियन भएकाहरुले त चर्चमा गएर औँठी साटासाट गरेर विवाह गर्छन्।’
खाना खाइसक्दा निक्कै रात भएको थियो। हरिकी आमाले माइत आएको छोरो हिँड्ने बेलामा कुचो र अन्य केही सामानको पोको गाडीसम्म लगेर हालिदिइन्। नातिनीलाई म्वाइँ खाइन् र भनिन्– ‘छिट्टै आऊ है।’ निस्केर हरिले गाडी हाँके, गाडी गुडेपछि सबैले विदाईको हात हल्लाए।
भारतको मेघालय र यस वरपर बस्ने खसिया समुदायमा आमाको वंश चल्छ। यहाँ परापूर्व कालदेखिको मातृसत्तात्मक समाज आज पनि कायम छ। आमाको नाममा सम्पत्ति हुन्छ। छोरीहरु आमाको नाममा भएको सम्पत्तिको आफूले पाउनेजति अंश लिएर छुट्टिएर बस्छन् भने छोराहरु विवाह गरेर श्रीमतीको घर जान्छन्। विवाह गरी आमासँग अंश लिएर बसेका छोरीहरुको थर पनि आमाको नै हुन्छ। यसो भनौँ– आमाको थरबाट वंश चल्छ।
छोरीहरुमा पनि कान्छी छोरीको विशेष भूमिका हुन्छ। कान्छी छोरीलाई आमाबुबा पाल्नेदेखि सबै सम्पत्तिमा हक हुन्छ। जसरी अन्य समाजमा वंश चलाउन छोरा चाहिन्छ भनिन्छ, त्यस्तै यहाँ आमाबा पाल्न छोरी हुनु आवश्यक ठानिन्छ। त्यसैले खसिया समाजमा छोरी जन्मनु अनिवार्य ठानिन्छ र छोरी जन्मँदा उत्सव मनाइन्छ।
जसरी अंश र वंशबाट छुटाएर छोरीहरुलाई छोरा मान्छेको घर जाने व्य्वस्था अन्य समाजमा छ, त्यसैगरी यहाँका खसिया जातिमा पुरुषहरु अंश र वंशबाट छुट्टिएर श्रीमतीको घर जाने समाजिक नियम छ। उता छोराबाट जन्मिएको सन्तानको थर भने उनकी श्रीमतीको रहन्छ।
पुरुषप्रधान परिवारिक संरचनामा महिलाहरुले हिंसामा छौँ भनेको सुनिरहेका हामीलाई परिवारको प्रमुख स्त्रीहरु भएको ठाउँमा कस्तो होला भन्ने प्रश्नले उत्सुकता जगाउँछ। तर सन्तान जन्माउनु पर्ने प्राकृतिक चरित्रका कारण स्त्रीहरुमा पुरुषमा जस्तो ज्यादा शासक चरित्र नहुने रहेछ। बच्चा जन्माउने र लालनपालनको बोधले आमाहरुमा त्यो किसिमको आक्रमकता पनि जन्मन नपाउने रहेछ। खसिया समाजमा अधिकांश परिवारमा आज पनि धेरै सन्तान जन्माउनु राम्रो मानिँदा आमाहरुको जीवन बच्चा जन्माउने र परिवारको जोहोमै बित्दो रहेछ। त्यसैले पारिवारिक नेतृत्व भए पनि उनीहरुको भूमिका शासकजस्तो नभएर समन्वयकर्ताको जस्तो देखिन्छ।
त्यसबारे बुझ्न यही परिवारलाई हेरौँ। यो परिवारमा हरिपछिका तीन छोरी र तीन छोरा छन्। अरु दुई सन्तान जन्मेर मरेका रहेछन्। यति धेरै बच्चा जन्माउने आमा भने मात्र ४५ वर्ष पुगेकी छन्। उनी विवाह गर्न बाँकी रहेका तीन छोरा र कान्छी छोरीसँग बस्छिन्। तीनवटा छोरालाई बिहे गरेर बुहारीको घर पठाउन बाँकी छ। बिहे भइसकेका छोरीहरु अंश लिएर ज्वाइँसँगै बसेका छन्। यति धेरै सन्तान जन्माउने आमाले सँगै रहेका यी सन्तानको खानेबस्ने व्यवस्था मिलाएकी छन्। बा भने काम गर्न घर बाहिर जान्छन् र घरमा एकदमै कम आउँछन्।
पितृप्रधान समाजमा पुरुषले सम्पत्ति आफ्नो हातमा हुँदा अह्रनखटन गर्ने शासकको भूमिकामा रहेको हामीले हेरिरहेका छौं। तर यहाँ दर्जन बच्चा पाउने, सम्पत्ति आफ्नै नाममा र वंश पनि आफ्नै नाममा हुँदा पनि आमा समानरुपमा काममा खटिरहेकी थिइन्। यति धेरै बच्चा पाउने, परिवारको जिम्मेवार भूमिकामा रहेर सधैँ काममा खटिने यहाँका स्त्रीहरुको औसत आयु पुरुषको भन्दा ६ वर्ष बढी रहेछ।
यहाँका स्त्रीहरुको पहिरनको पहिचान घलेक र छड्के पारेर भिर्ने सानो झोला हो। खसिया स्त्रीले घलेक लगाउनु अनिवार्य छ। घलेकको भित्र उनीहरुले झोला बोकेका हुन्छन्। झोलामा एउटा चक्कु अनिवार्य हुन्छ। यस्तो चलन धेरै पहिलेदेखि रहेको उनीहरु बताउँछन्। पछि स्त्रीहरु काममा निस्कनु पर्दा आक्रमणमा पर्ने भएकोले यसरी चक्कु राख्ने गरेको तर अहिले त्यसको आवश्यकता नपरे पनि बोक्ने चलन यथावत रहेको उनीहरु बताउँछन्।
दम्पतीबीच झगडा भए या श्रीमानलाई अरु केटीसँग लागेको भेटेमा श्रीमतीले श्रीमानलाई निस्केर जा भन्दा जानु पर्ने नियम छ। किनकि यहाँ जा भन्नु नै पारपाचुके बराबर हुन्छ। समाजका अधिकांश समस्या समाजमै मिलाइन्छ। कुनै केटी आफ्नो पतिसँग लागेको भेट्टाए त्यसलाई समाएर कपाल खौरिइन्छ र नाङ्गै बनाएर गाउँ घुमाइन्छ। तर अहिलेको परिवार पहिलाजस्तो कट्टर छैन। अहिले त समाजका मान्छेहरु मिलेर केटीलाई भगाइन्छ। सबै शक्ति आफैँमा केन्द्रित गरेर बसेका स्त्रीहरु रहेको समाजमा स्त्रीहरु बलात्कारी किन भएनन् भन्ने जिज्ञासा मनमा आइरह्यो।
नजिकका पुरुषप्रधान संस्कृति अपनाउनेहरु खसिया बस्तीमा प्रशासनिक अधिकार पनि महिलाले राखेको बताउँछन्। उनीहरु भन्छन्– ‘खसिया महिलाहरु यति तागतिला र निर्णायक हुन्थे कि उनीहरुको घरमा आउने चोर या केटी जिस्काउने केटाहरुलाई यिनीहरु प्रशासनलाई नबुझाई आफैँ कारबाही गर्थे।’
मातृप्रधान संस्कृतिका कारण यहाँका स्त्रीहरुको मौलिक गुण देखिन्छ। उनीहरु अन्यत्र जस्तो लाजले भुतुक्क हुने, बोलाउँदा मुख छोप्ने खालका हुँदैनन्। सिधा आँखा जुधाएर कुरा गर्ने स्वभावका हुन्छन्।
मेघालयका मातृप्रधान समाजका जातजातिहरु बसेको ठाउँ अनुसारको नाम छ। तिनमा खासी, जयन्तिया र गारो तीन प्रमुख नाम हुन्। यी सबै जनजाति प्रकृतिपूजक हुन्। जयन्तिया यहाँ रहेको मावजिम्बुइन गुफाको शिवलिङ्ग पुज्छन्। जसलाई हाटकेश्वर नाम दिइएको छ। उनीहरु शिवरात्री मनाउन त्यहीँ पुग्छन्।
काठमाडौंभन्दा ६ सय मिटर उच्चाइमा रहेको मेघालय रातो माटोको पहाडमा बसेको बस्ती हो। यहाँ वर्षभरि नै चिसो भइरहन्छ। बस्न र कमाइ गर्न सहज यहाँ विभिन्न ठाउँका मान्छे आएर बसेका छन्। त्यसैले अंग्रेजले यही ठाउँ छानेर बसेका थिए।
यहाँ अंग्रेजहरु बसेपछि उनीहरुले आफ्को प्रभाव छोडेर गए। अंग्रेजको शासनपछि ज्यादातर खसियाहरु क्रिस्चियन भए। हिन्दु समाजमा अपहेलित भएर क्रिस्चियन भएको उनीहरु बताउँछन्। तर, क्याथोलिक र प्रोटेस्टेन्टका अलावा क्रिस्चियन धर्ममा समेत जात पसेर माथिल्लो जातको चर्च र तल्लो जातको चर्च बनेको उनीहरु बताउँछन्।
मेघालयमा मात्र होइन आसाम, गारु, त्रिपुरा, जयन्तिया हिल्सदेखि मणिपुरसम्म जहाँ बसे पनि खासीहरुमा वैदिक सनातनी संस्कृति भने मरिसकेको छैन। खसियाहरु प्रकृतिपूजक र तान्त्रिक पनि हुन्। मर्दा लास जलाउँछन्, होली खेल्छन्, मेहन्दी लगाउँछन्। मेघालयमा काठमाडौँका नेवारहरुको जस्तै विभिन्न जात्रा पनि मनाइन्छ। ती जात्रामा रथ तान्ने चलन छ। त्यसलाई उनीहरु बेडीङ्खलम भन्छन्। यो चाड बर्खामा मनाइन्छ। यो चाडमा सबैले आफूसँग भएको गरगहना लगाएर जात्रामा आउँछन् र हिलोमा नाच्छन्। यसरी नाच्दा लगाएको गहना झ¥यो भने टिप्न नहुने र त्यो भगवानलाई चढाएको मानिने भनाइ छ। पछि त्यो गहना पानीमा लगेर सेलाइन्छ। यहाँ कुलपूजा पनि धेरैले छोडेका छैनन्। उनीहरुको देउतालाई उवल्ये भन्छन्।
अगेनाको वरपर बसेर मातृ र पितृसत्ता भएका समाजबारे तुलनात्मक छलफल भइरहेको बेला मैले भनेकी थिएँ, ‘अंश छोरीले लिऊन् या छोराले, वंश पनि छोराको होस् या छोरीको के फरक भयो र? मान्छेको रुपमा जन्मेपछि पाएको जीवन कटाउन बनाइएको एउटा संस्कृति न हो।’
मेरो कुराको ठाडो प्रतिकार गर्दै आरतीले भनिन्– ‘अघि आमाले भन्नुभएको सुन्नु भएन? जसले बच्चा पायो उसैको वंश चल्नु मात्र न्याय हो।’
२५ वर्षकी आरती दुई छोराकी आमा हुन्। उनका बा नेपाली र आमा खसिया भएका कारण उनले दुवैतिरको संस्कृति हेरेकी छन्। उनी भन्छिन्– ‘म त जता गएर पनि विवाह गर्न सक्थेँ। तर मैले मेरै आँखाले देखेको छु, मातृसत्तात्मक समाजमा जस्तो पितृसतात्मक समाजमा स्त्रीहरु स्वतन्त्र छैनन्। त्यहाँ त विवाहअघि चराजस्ता स्त्रीहरु विवाह गरेको एक वर्ष नबित्दै सबै शक्ति गुमाएर तारमा अल्झिएको चिलजस्तो हुँदारहेछन्।’
उनले खुसी भनेकै स्वतन्त्रता हो भन्ने दार्शनिक भनाइ सुनाइन् र भनिन्, ‘हिंसा अन्त्य गर्ने एउटै उपाय स्वतन्त्रता हो।’
यसरी एउटा मातृप्रधान समाजको स्वतन्त्रता अनुभूत गरेर म फर्किएँ।
Shares
प्रतिक्रिया