ad ad

ब्लग


जनताको जनवादको वायुपंखी घोडा चढेर कहाँ पुग्ने?

जनताको जनवादको वायुपंखी घोडा चढेर कहाँ पुग्ने?

सूर्य थापा
असार ७, २०७६ शनिबार १५:२६,

१. नौलो जनवाद २. राष्ट्रिय प्रजातन्त्र ३. नयाँ जनवाद ४. देशभक्त तथा जनतान्त्रिक शक्तिहरूको सरकार ५. बोधिसत्व जनवाद ६. जनताको बहुदलीय जनवाद ७. परिमार्जित नौलो जनवाद ८. वातावरणीय जनवाद ९. राष्ट्रिय जनवाद १०. प्रचण्डपथ ११. एक्काइसौँ शताब्दीको जनवाद १२. प्रजातान्त्रिक समाजवाद १३. वैज्ञानिक समाजवाद र, १४. जनताको जनवाद।

उल्लेखित १३ थरी जन र समाजवाद पढ्न, बुझ्न र व्याख्या गर्न दस्तावेज उपलब्ध छन्। सही वा गलत दस्तावेजको आधारमा बहस र छलफल गरी दृष्टिकोण बनाउन सकिन्छ।

जनताको जनवाद– पार्टी एकीकरणको संयुक्त वक्तव्यमार्फत ‘दुई शब्द’ को अस्तित्वमा झुल्कियो। यसको न अवधारणा छ, न परिकल्पना नै१ दस्तावेज त छँदैछैन। यो कुन चरीको नाम हो, कसैलाई थाहा छैन। यो केवल इगो र जनताको बहुदलीय जनवादप्रतिको द्वेषपूर्ण, नकारात्मक र पूर्वाग्रही दृष्टिदोषको परिणाम हो।

अन्यथा ‘माछा मिठा काँडा तिता’ भनेजस्तो जबजको मार्गदर्शनमा चुनाव लड्ने र जित्ने, सांसद, मन्त्री र प्रधानमन्त्री बन्ने, सरकारले जनताको पक्षमा काम गरेर प्रतिस्पर्धामा श्रेष्ठ बन्दै समाजवादउन्मुख कार्यक्रम लागू गर्ने निष्कर्ष स्वीकार गर्ने, तर जबज भन्न कब्जियत भएकोजस्तो रवैया किन प्रदर्शन गर्ने? मदन भण्डारीबाहेक नेपालमा १२–२७ थरी कुन जनवादले आज पार्टीले अवलम्बन गरेको बाटो देखाएको छ?

जेसुकै होस्, त्यतातिर तर्क बहस नगरौं। तर चार पानाको सही लघु आकारमै किन नहोस्, नेतृत्वले ‘यो हो जनताको जनवाद’ भनेर रूप, सार र आकार प्रस्तुत गर्नुपर्दैन? एकताको १४ महिनासम्म कोरल्दा पनि चल्ला नहुने यो कस्तो बतासे फुल हो? हामी निराकार अन्धविश्वासका शोकमग्न यात्री हौ र?

राजनीतिक प्रतिवेदन त जनताको जनवाद होइन। दुई शब्द (जनताको जनवाद) मानिदिने हो कि यसको दस्तावेजमा छलफल, सहमति र संस्थागत समझदारी चाहिन्छ? १५ महिनासम्म कुर्दा पनि दस्तावेज ल्याउने कुनै छाँटकाँट देखिएको छैन। अनि निराकार जनताको जनवादको वायुपंखी घोडा चढ्ने भनेर पुगिन्छ कहाँ?

यो सब के हो? किन यसको रटान? अस्तित्वमै नभएको बुटीलाई पार्टीको फहराइरहेको झण्डा स्वीकार गरेर बुलन्द गर्न कसरी संभव होला?

पार्टी अध्यक्षद्वयसामू विनम्रतापूर्वक जिज्ञासा– खाली कागजमा जनताको जनवादको मसी भर्न नसक्ने हो भने यसले स्पष्ट दिशानिर्देश पनि कदापि गर्न संभव छैन। र, वैचारिक रूपमा अन्योलग्रस्त वा मनोगत बनेर समाज र राष्ट्रको नेतृत्व गरिरहन संभव नहुने निश्चित छ।

महाधिवेसनसम्मका लागि संक्रमणकालीन वा अन्तरिम विचार हो भने पनि दस्तावेजबेगर यो कसरी स्वीकार्य र मान्य हुन्छ?
(नेकपा केन्द्रीय सदस्य थापाको फेशबुक पेजबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .