ad ad

ब्लग


‘पत्रकारका नाममा चीन गएका व्यक्ति नै पछि मन्त्री बने’

‘पत्रकारका नाममा चीन गएका व्यक्ति नै पछि मन्त्री बने’

राजु सिलवाल
मंसिर १, २०७६ आइतबार ६:११,

आज यति धेरै खेलकुद पत्रकारहरु एक ठाउमा भेला भएका छन्। एक दिन यस्तो थियो, खेल पत्रकारिता गर्ने व्यक्तिहरुल सीमित थिए। त्यसमा पनि खेल नबुझेकै व्यक्तिले पनि खेलकुदका सामग्रीहरु समेट्नुपर्ने हुन्थ्यो।

मैले २०३८ देखि खेलकुद पत्रकारिता सुरु गरेको हुँ। त्यसैवर्ष काठमाडौंमा प्रथम राष्ट्रिय खेलकुद भएको थियो। दशरथ रंगशालामा १६ वटा इभेन्ट भएका थिए। त्यसको समाचार संकलन गर्न हामी दिनहुँ रंगशाला जान्थ्यौं। सुखद् कुरा के थियो भने त्यतिखेर पनि राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले मिडिया सेन्टर सञ्चालन गरेको थियो। मिडिया सेन्टरमा हामी सेड्युल लिन्थ्यौं। रिजल्टहरु त्यहाँ पाइन्थ्यो। विभिन्न खेलमा राष्ट्रिय कीर्तिमान कायम भएका थिए। ती हामीलाई उपलब्ध गराइन्थ्यो। हामीले प्रशारण, प्रकाशन गथ्र्यौँ।

त्यसपछि नै ‘राष्ट्रिय कीर्तिमान कायम’ भन्ने शब्दावली प्रयोग गर्ने क्रम बढ्दै गयो। तर, अहिले अचम्म लाग्छ, अन्तर्राष्ट्रिय खेल हुँदा पनि हामी समाचार रिलिज गर्छौँ। फलानो खेलमा, फलानो खेलाडीले राष्ट्रिय कीर्तिमान कायम गरेको छ। एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुदमा राष्ट्रिय कीर्तिमान कायम गर्ने हैन। अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रिय कीर्तिमान भंग गर्ने जाने हैन। तर, बिडम्बना हामी त्यो समाचार दिन्छौं र आधिकारिक निकाय पनि खुशी हुन्छन्।

प्रथम राष्ट्रिय खेलकुदमा १६ वटा खेलहरु खेलाइएको थियो। त्यतिबेला बाघचाललाई पनि प्रतियोगिताका रुपमा समावेश गरिएको थियो। हामीले बाघचाललाई खेलकुदका रुपमा त्यसअघि कहिल्यै पनि देखेका थिएनौं। नदेखेको खेल हुँदा हामीलाई अचम्म लागेको थियो। त्यसपछि दोस्रो राष्ट्रिय खेलकुद भयो। दोस्रो राष्ट्रिय खेलकुदमा अचम्म लाग्दो कुरा लोकगीत र लोक नृत्यलाई पनि समावेश गरिएको थियो। यस्तै वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा दोहोरी गीतलाई पनि खेलकुदका रुपमा समावेश गरियो। हामीले त्यसको समाचार पनि संकलन गरेका थियौं।

हामीले विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोतिाको पनि रिपोर्टिङ गर्ने मौका पायौं। सन् १९८६ मा दशौं एसियाली खेलकुद दक्षिण कोरियाको सियोलमा भएको थियो। त्यतिबेला नेपालले अभूतपूर्व रुपमा ८ वटा कास्य पदक जितेको थियो। नेपालले १९५१ देखि एसियाली खेलकुदमा भाग लिन थालेपछि हात पारेको यो सर्वाधिक ठूलो उपलब्धि थियो। नेपाल फर्केपछि खेलाडीहरुको भव्य स्वागत गरियो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म खेलाडीको ‘सिन्दुर जात्रा’ गरियो। सिन्दुर जात्रा गर्दा तत्कालिन अञ्चलाधीश कार्यालयले खेलाडीहरुलाई पुरस्कार पनि दिएको थियो। खेलाडीलाई मोटरसाइकल समेत प्रदान गरिएको थियो। यस्तै सुट पिसहरु, थाल कचौरा, भाडाकुडा, पैसा पुरस्कारका स्वरुप दिएको थियो। त्यो सिन्दुर जात्रामा हामी पनि समाचार संकलनका लागि मेचीदेखि महाकालीसम्म गएका थियौं। त्यसपछि नेपाली खेलाडीहरुलाई त्यति ठूलो सम्मान गरेको मैले देखेको छैन।

तेस्रो दक्षिण एसियाली खेककुद सन् १९८७ मा कोलकातामा भयो। त्यसअघि तत्कालिन ब्लुस्टार होटल (थापाथली)मा राखेपले पत्रकार सम्मेलनको आयोजना गर्यो। त्यसमा  त्यसबेला कडा प्रश्न सोधेको तत्कालिन पदाधिकारीहरुले मन पराउँथे भन्ने बल्ल हामीले अनुभव गरेका थियौं।

म आफूलाई एकदम भाग्यमानी खेल पत्रकार मान्छु। नेपालबाट चारपटक ओलम्पिकमा सहभागिता जनाउने तथा सागमा तीनपटक स्वर्ण जित्ने बैकुण्ठ मानन्धरले कोलकातामा म्याराथनमा राखेको २ घण्टा १५ मिनेटको कीर्तिमान राख्दाको साक्षी म पनि हो। त्यो कीर्तिमान हालसम्म कसैले भंग गर्न सकेको छैन। र, गणेश थापाको ३ गोल। भुटानविरुद्धको खेलमा उनले ३ गोल प्रहार गरेका थिए।

त्यसबेला कोलकातामा फुटबल प्रशिद्ध थियो। त्यहाँ गणेश थापाको खुबै प्रशंसा भएको थियो। त्यसबेला फुटबलको फाइनलमा नेपाल र भारत नै भिडेका थिए। ८० हजार दर्शकहरु उपस्थित रहेको रंगशालामा अन्तिम एक मिनेट बाँकी रहँदा नेपालले गोल खाँदै स्तब्ध बन्यो। त्यो खेलको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो। त्यसबेला कमेन्ट्रीमा हाम्रा एक जना अग्रजले नेपालले हार्छ भनेर अनुमान गर्दा निकै गाली खानु परेको थियो।

त्यसबेला अस्थायी खेलपत्रकारहरु पनि थिए। खेलकुद पत्रकारका रुपमा विदेश जाने तर आएपछि खेलसँग कुनै साइनो छैन। आयोजकले कोलकातामा पत्रकारका लागि एउटा होटलको व्यवस्था गरेको थियो। त्यहाँ बस्नका लागि फ्रि थियो। खानलाई भने पैसा तिर्नुपथ्र्यो। दुईदिन पछि होटलले पत्रकारहरुको खानेबस्ने सबै सित्तैमा व्यवस्था गरिएको सूचना दियो। हामी त्यही होटलमा खाने मान्छेको पैसा जोगियो। तर त्यहाँ बसेर बाहिर खाना खानेहरुले होटल व्यवस्थापनसँग हामीलाई पैसा फिर्ता देऊ भनेर माग्न गएका थिए।

तत्कालिन सदस्यसचिव हरेक पत्रकारको कोठाकोठामा आएर पत्रकारलाई समाचार सप्रेषणमा कुनै समस्या भए नभएको बुझ्थे।

खेल पत्रकारिताका दौरानमा दशरथ रंगशालाको दुःखद् घटना पनि हामीले बेहोर्यौ। २०४४ फागुन २८ गते बंगलादेशको टिम र नेपालको जनकपुर चुरोट कारखानाबीच रंगशालामा त्रिभुवन च्यालेन्ज कपको फाइनल खेल थियो। खेलको १९ मिनेट चलिरहँदा उत्तरपट्टीबाट कालो भुमरी आयो। त्यो भुमरी आएपछि रंगशालामा फुटबल हेर्न बसेकाहरुको भागदौड भयो। त्यसबेला पूर्वतर्फको गेटमात्रै खुलेको थियो। एउटा गेटबाट मानिसहरु बाहिर निस्कन खोज्दा थिचाथिचले गर्दा ९३ जनाको दुःखद् मृत्यु भयो र १०० भन्दा बढी घाइते भए। फाइनलको रिपोर्टिङ गर्न गएका हामी दुःखद् घटनाको रिर्पोटिङ गर्न बाध्य भयौं। त्यसबेला टेलिभिजनमा अहिलेजस्तो ब्रेकिङ न्यूज दिने चलन थिएन। दिउँसो भएको घटनाको समाचार हामीले रातिमात्रै दिन सकेका थियौं।

११ औं एसियाली खेलकुद १९९० मा बेइजिङमा भयो। नेपालमा बहुदलपछिको त्यो पहिलो सहभागिता थियो। काठमाडौंमा चार्टड प्लेन गरेर नेपाली खेलाडी तथा अफिसियलहरुलाई बेइजिङ लगिएको थियो। त्यसबेला हामीले जीवनमा कहिलै नदेखेका व्यक्तिहरु खेलकुद पत्रकारका रुपमा बेइजिङ गएका थिए। तीमध्येकै एकजना पत्रकारका रुपमा गएका व्यक्ति पछि देशकै मन्त्री पनि बन्नुभयो। त्यो संस्करण अझै पनि मेरा लागि स्मरणीय छ।

बेइजिङमै एक जना नेपाली खेल पदाधिकारी नेपालको झण्डासहितको जर्सीमा चौरमा सुतिरहेका रहेछन्। त्यो फोटो रोयर्टसका फोटो पत्रकारले खिचेर नेपाल खेलाडी चौरमा सुतेको भन्दै सम्प्रेषण गरेछ। पछि उक्त फोटो अन्तर्राष्ट्रिय मिडियाहरुमा भाइरल बनेको थियो। त्यहाँबाट फर्कदा एक जनाले हङकङमा पासपोर्ट हरायो भनेर नाटक गरे। पछि हङकङमै लुक्न पासपोर्ट हराएको उक्त नाटक गरेको पनि खुल्यो।

१२ औं एसियाली खेलकुद, हिरोसिमा जापानमा भएको थियो। नेपालबाट खेलकुद प्रतिनिधिमण्डल गयो। गएको तेस्रो दिनमा नेपाली टोलीको टोली नेता सेफ द मिसनको निधन भयो। त्यो निकै दुःखद् क्षण थियो। त्यसैबेला पहिलो पटक नेपाली खेलाडीहरु भागे। देशको बेइज्जत भयो। जापनिज मिडियाले हामीलाई घेरे। सबै मिडियामा नेपालका बारेमा नराम्रो चर्चा भयो। जापानी मिडिया हामीलाई पछ्याउँदै काठमाडौंसम्म आए।

१९९३ मा भएको साग खेलकुद ढाकामा भयो। त्यसबेला फाइनलमा भारतलाई पराजित गर्दै नेपालले उपाधि जित्यो। हामीले कोलकातामा अन्तिम समयमा भारतसँग हारेको बदला ढाकामा लियो भनेर समाचार सप्रेषण गरेका थियौं। त्यसबेला बंगलादेशमा हामी जाँदा जसले पनि गणेश थापालाई चिन्छौं भनेर सोध्थे। त्यसबेला त्यहाँ व्यवसायिक फुटबल खेलिरहेका गणेश थापाको त्यो लोकप्रियता देखेर नेपालीका नाताले हामी गौरवाम्वित भएका थियौं।

१३ औं एसियाली खेलकुद थाइल्यान्डमा १९९८ मा भयो। त्यसबेला नेपालले पहिलो एसियाली रजत पदक जितेको थियो। तेक्वान्दोकी सविताराज भण्डारीले त्यो ऐतिहासिक रजत जितेकी थिइन्। त्यसबेला हामीलाई खेलाडीको भन्दा पदाधिकारीको समाचारको बढी दबाब आएको थियो। किनभने खेलकुदमन्त्री तथा उच्चपदस्थ पदाधिकारीहरु त्यहाँ गएका थिए। उनीहरु कहाँ जान्थे, के गर्थे भन्ने रिपोर्टिग गर्नुपथ्र्यो।

सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियालीमा नेपालले ऐतिहासिक ३१ वटा स्वर्ण जित्यो। त्यसबेला नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण भएको थियो। नेपाल टिभीले पनि खेल बुझ्नेलाई कमेन्टेटरमा राखेका थियौं। त्यतिबेला एकजना कमेन्ट्री गरेका व्यक्ति पछि खेलकुद मन्त्री समेत भएका थिए।

सन् २००८ मा गृष्मकालिन ओलम्पिक बेइजिङमा भएको थियो। त्यो गणतन्त्रपछिको पहिलो नेपाली अन्तर्राष्ट्रिय सहभागिता पनि थियो। नेपालका तर्फबाट खेलकुद इभेन्टमा सबैभन्दा ठूलो उच्च पदस्थ नेतृत्व गएको त्यो पहिलो पटक थियो। तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेपाली टोलीको नेतृत्व गरेका थिए। चीनले उनलाई ओलम्पिकको समापन समारोहको अतिथि बनाएको थियो।

अन्त्यमा मेरो अनुभबाट म के भन्छु भने खेलकुद पत्रकार र खेलाडीको सम्बन्ध राम्रो हुनुपर्छ। खेलाडीको मेहनत पत्रकारले सार्वजनिक गरेन भने त्यतिञ्जेलसम्म खेलाडी सीमित दायरामा हुन्छ। खेलाडीहरुको हक अधिकारमा पनि पत्रकार सहयोगी बन्नुपर्छ। खेलाडी प्रशिक्षक, प्राविधिक शब्दावली, नीतिनियमबारे खेलपत्रकार स्पष्ट हुनुपर्छ।

एकपटक एकजना खेलपत्रकार मध्यान्तरपछि स्टेडियममा आएका थिए। उनले लगत्तै आएर फुटबल हेर्ने मान्छेलाई कसले गोल हान्ने भनेर सोधे। एकजनाले बुद्धि गुरुङले हान्यो भन्दिए। भोलिपल्ट उनको पत्रिमामा बुद्धिले ने गोल हान्यो भनेर छापियो। तर, बुद्धि त्यस खेलका रेफ्री थिए। त्यसैले खेलपत्रकारले पूरै खेल पन्छाउँनै पर्ने सुझाब दिन्छु।

(सिलवाल वरिष्ठ खेलपत्रकार हुन्। उनी हाल नेपाल टेलिभिजनमा समाचार निर्देशकका रुपमा कार्यरत छन्। यो सिलवालले नेपाल खेलकुद पत्रकार मञ्चले अघिल्लो साता आयोजना गरेको मिडिया वर्कसपमा राखेको आफ्नो अनुभवको सम्पादित अंश हो।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .