ब्लग

Tata MotorsTata Motors

नेपाललाई कर्मयोगीहरुको देश बनाऔँ


केपी शर्मा ओली
काठमाडौं, असार ६

आज २१ जुन, अन्तर्राष्ट्रिय योग दिवस। पाँच वर्षदेखि विश्वले आजको दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाइरहेका छौँ। सन् २०१४ मा संयुक्त राष्ट संघले आजको दिनलाई योग दिवसको रुपमा घोषणा गरेको हो। हामीले विश्वसँगै सन् २०१५ बाट अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुुरु गरेका हौँ। 

आजको दिन सबैलाई योगतर्फ आकर्षित गर्न, योगका उद्देश्यहरु मानवलाई स्वच्छ, प्रशन्न चिन्त, सुखी, शान्त राख्न योगदान गरोस्। मानव समाजलाई अत्यन्त सभ्य, शान्त र प्रशन्न रहोस् भन्ने योगको उद्देश्य हो। यो पुरा गर्ने दिशामा आजको दिनले हामी सबैलाई प्रेरित गरोस् भन्ने म शुभकामना भन्न चाहन्छु।

हामीले योग दिवस यो व्यक्तिगत रुपमा हरेक दिनलाई हामीले योग दिवसको रुपमा मनाउँदै आयौँ। कसैले थाहा नपाउनु बेग्लै कुरा हो, तर हजारौँ वर्षदेखि यो जीवनको अंगको रुपमा दैनन्दिन कार्यको रुपमा, दिनको प्रारम्भको रुपमा योग अभिन्न अंगको रुपमा रहँदै आयो।

हामी अलि तनावग्रस्त दुनियाँमा छौं, भ्याउँदैनौं। नभ्याउने कुराले झन तनाव हुन्छ। त्यसकारण बिहान अलिकति समय निकाल्ने दिनभरिको तनाव, हप्ताभरिको तनाव, महिनाभरिको तनाव, वर्ष भरिको तनाव र जीवनभरिका तनावबाट मुक्त हुने, त्यो नै योगको उद्देश्य हो।

ऋषिमुनिकै पालादेखि नै योग

योगका विभिन्न पक्षहरुका बारेमा पनि म जान चाहन्न। किनभने हामीसँग समय धेरै छैन। अहिले मैले भनेर योग सम्बन्धी चर्चा फेरि पर्याप्त हुने पनि होइन। यसको अभ्यास लिपी बन्न भन्दा अगाडि, भाषा बन्न भन्दा अगाडिदेखि नै सुरु हुँदै आयो। मान्छेले सोध्दै–खोज्दै गयो– जीवन भनेको के हो? त्यसको बारेमा सोच्यो। र, जीवन कसरी स्वास्थ्य रहन्छ? आहार, व्यायाम, आराम तीनवटा अथवा बाँच्नका लागि खान, शारीरिक श्रम गर्नु र आराम लिनु पर्छ भन्ने निष्कर्ष निकाल्यो। हुनपनि मानव जीवनका लागि यिनै तीन कुरा आवश्यक छन्। 

हाम्रा ऋषिमुनिहरुले हजारौँ वर्ष अगाडि, धेरै हजार वर्ष अगाडि यस सम्बन्धमा चिन्तन–मनन् गरे। साधना गरे, खोज गरे। अध्ययन– अनुसन्धान गरे।

हामी गीतामा योगको वर्णन पाउँछौँ। कृष्णले अर्जुनलाई उपदेश दिँदा योगको बारेमा बताएका छन्। योगको महत्वको बारेमा भनेका छन्। कृष्णले कपिलमुनिको गीतामा वर्णन गरेका छन्– ‘योगी कपिलमुनि जस्तो।’

योगी अथवा कपिलमुनिलाई पतञ्जलीको युग भन्दा पनि धेरै अगाडि पतञ्जलीको युग ईश्वी सम्बतको सय/डेढ सय जस्तो मानिन्छ। तर, त्यस भन्दा १३ सय वर्षदेखि १५ सय वर्ष अगाडि द्वापरयुगमा कृष्णले अर्जुनलाई उपदेश दिँदा योगको बारेमा चर्चा गर्नुभयो।

त्यो मात्रै होइन, हामीले ५ हजार वर्ष अगाडिको मोहनजोदाडो सभ्यता हे¥यौँ भने त्यहाँ योगमुद्रामा मूर्तिहरु भेटिन्छन्।  यो अब महाभारतकालीन अथवा द्धापरयुग–त्रेतायुग भन्दा पनि अगाडिका योगमुद्रामा मूर्तिहरु मोहनजोदाडोमा भेटिन्छन्। हाम्रा विभिन्न उत्खनन्हरुमा भएका मूर्र्तिहरुमा पनि योग गर्दै गरेको भेटिन्छ।

अर्थात् उत्खनन् भएका ५–६ हजार वर्ष अगाडिका मूर्तिहरु हेर्दा  योगमुद्रा आशनमा बसेका मूर्तिहरु पाइन्छन्। यसबाट के देखिन्छ भने, योग आजको होइन, धेरै अगाडिको हो।

हामी पुराना वेदमा गयौँ भने वेदले योग र योगीहरुको वर्णन गर्छ। हाम्रा प्राचिनतम् शास्त्रहरुले योग र योगीहरुको वर्णन गर्छन्। अन्धकारलाई जतिबेला अन्धकारले छोपेको थियो, त्यस बेला ज्ञानको शुन्यताको जस्तो स्थिति थियो। ज्ञान केही पनि थिएन। जैविक इच्छा मात्रै थिए। जैविक प्रारम्भिक जैविक इच्छा भनेको बाँच्ने इच्छा हो, जिजीविषा हो। बाँच्ने इच्छा नै जीवको पहिलो संकेत हुन्छ, त्यो मात्रै थियो। चेतनाको हिसावले अन्धकारलाई पनि अन्धकारले छोपेको थियो।

त्यसबेला एउटा ज्ञानमय वाणी पैदा भयो ॐ भन्ने। ॐ बाट अहम्, भयम् आदिबाट भाषातिर गयो। संकेतबाट भाषातिर गयो दुनियाँ। भाषामा सँगसँगै ज्ञानहरु संकलित हुन थाले। प्रारम्भिक चरणदेखि नै योगा ज्ञानको मानवीय चेतनाको र ज्ञानको एउटा अभिन्न अंगको रुपमा आयो। हामी गर्व गर्न सक्छौँ, र, त्यसको प्रारम्भ–सुरुवात धर्तीको यही भागमा भएको थियो।

मैले धेरै ठाउँमा भन्ने गरेको छु– वेदका ऋचाहरुको रचना यहीँ भएको थियो। वेदका ऋचाहरुको रचना विभिन्न ऋषिमुनिहरुले गण्डकी किनार, कोशी किनारमा गरेका थिए। त्रेतायुगको वाल्मिकी आश्रम यहीँ छ। वाल्मिकी, व्यास, विश्वामित्र, वशिष्ट, कौशिक लगायत अरु ऋषिहरु गण्डकी किनारमा बसेका थिए। वेदको अध्ययन–रचना–संकलन लगायतका कामहरु यहीँ हुन्थे।

सबै भन्दा पुराना मन्त्रहरु वेदका मन्त्रहरु हुन्। सबै भन्दा पुरानो लय वेदको लय हो। सबभन्दा पुराना छन्दहरु वेदका छन्दहरु हुन्। वेद सिर्फ वेद मात्रै होइन, छन्दको, लयको सृष्टि पनि वेदबाटै भएको हो। र, वेदको सबैभन्दा प्रमुख मानिएको मन्त्र गायत्री मन्त्र होः

ॐ भूर्भुवः स्वः

तत्सवितुर्वरेण्यं

भर्गो देवस्य धीमहि

धियो यो नः प्रचोदयात् ।।

कोशी किनारमा बसेर वशिष्ट ऋषिले यो रचना गरेका थिए।

अर्थात् सबै भन्दा पहिलो मन्त्र यही बन्यो। भाषा यही बन्यो, लिपी यही बन्यो, सबै यही बन्यो। सबै भन्दा ‘लङ्ग लास्ट’ (दीर्घजीवी) र सबै भन्दा सारगर्वित मन्त्र गायत्री मन्त्र यही कोशी किनार, चतराधाममा बन्यो। त्यसै कारण यस भूमिलाई भनिन्छ– तपोभूमि, ज्ञानभूमि, ध्यानभूमि, देवभूमि।

यो देव भूमि हो। किनभने देवताहरु यहीँ बस्थे। ज्ञानको सृजना यहीँ भएको थियो, यहीँबाट विस्तार भएको थियो। त्यसैले यसमा हामी गर्व गर्न सक्छौँ।

व्यक्तिगत तवरमा योगलाई हाम्रा ऋनिमुनिहरुले पहिलेदेखि आफ्नो जीवन पद्दति बनाए। हामीले ऋषिमुनिहरुलाई हेर्यौँ भने झरिला–भरिला देखिन्छन्। ती झरिला–भरिला किन छन्? बेस्सरी मासु भात खाएर उनीहरु झरिला–भरिला भएका होइनन्। उनीहरु नियमले नै झरिला–भरिला भएका हुन्। खानको नियम, बस्नको नियम, आहार–विहार–आराम–व्यायामको अथवा खाना र व्यायामको अत्यन्तै सन्तुलित संयोग एकै ठाउँ भएको योग।

शारीरिक व्यायाम गरेपछि स्वास बढ्छ। अर्थात् शारीरिक व्यायामको प्रणायामसँग सम्बन्ध हुन्छ। जुन खालको व्यायाम गर्नुस्, स्वास बढ्छ। त्यसले प्राणायम व्यायामसँग सम्बन्धित छ भन्ने देखाउँछ। व्यायामको प्राणसम्बन्धी आयामलाई हामी प्राणायम भन्छौँ। त्यो प्राणायामले सम्पूर्ण रक्तसञ्चार मात्रै होइन, मस्तिष्कमा उपयुक्त ढंगले अक्सिजन पुर्याउने र मस्तिष्कलाई ताजा र स्वास्थ्य पनि राख्ने काम गर्छ। योगामा यस्तो पनि विशेषता छ।

मस्तिष्क अतृप्तीबाट, इष्र्याबाट, अहंकारबाट ग्रष्त भएर विकृत हुन्छ। अनि डिप्रेसनमा जानसक्छ मानिस। डिप्रेसन भन्दा परपनि जान सक्छ। इष्र्या गर्दागर्दै मान्छे इष्र्याभावले जलिजलिकन आफैलाई असहज स्थितिमा पुर्याउँछ। त्यसबाट आफैलाई मुक्त गर्ने, मस्तिष्कलाई आत्मनियन्त्रणमा राख्ने दुई पक्ष हुन्छन्।

एउटा, प्राकृतिक पक्ष।

अर्को, सचेतन पक्ष, वैचारिक पक्ष, सामाजिक पक्ष, बनाइएका थिति, मूल्य–मान्यताले विकास गरेका सभ्यताका पक्ष।

मानिसले विवेक पुर्याउँछ

पशुपंक्षीहरुले जस्तो व्यवहार गर्छन्, त्यो प्राकृतिक पक्ष हो। राम्रो घाँस देखेपछि आफ्नो हो कि होइन, खान मिल्छ कि मिल्दैन, त्यसलाई मतलब छैन। खान्छ। राम्रो घाँस देखेपछि गोरुले खान्छ, भैसीले खान्छ।

तर मिठो खाने कुरा देख्दैमा मान्छेले खाईहाल्दैन। पसलमा त देख्छ नि उसले। भोक लागिराख्या’ हुन्छ, मीठो खानेकुरा देख्छ। तरपनि खाँदैन। किनभने उ मस्तिष्कले काम गर्छ। उसले विचार गर्छ, यो खाने कुरा मेरो हो कि होइन? मेरो लागि बनेको हो कि होइन? मसँग त्यो खाने कुराको हक लाग्ने कुनै अवस्था छ कि छैन? त्यो बेच्न राखेको हो भने किन्ने पैसा मसँग छ कि छैन? मलाई उधारो त्यस व्यापारीले पत्याउँछ कि पत्याउँदैन? उसले सबै हिसाब गर्छ।  भोग लाग्यो भन्दैमा खाँदैन।

तपाईं मेरो घरमा आउनु भएको छ। मेरो घरमा स्वादिस्ट खाना बनेको छ, तपाईंलाई भोक लागेको छ। म तपाईलाई खाना खाउँ भन्छु। तपाईं भन्नुहुन्छ, ‘होइन, म आफ्नो घरमै खान्छु। आज यहाँ खान्न।’

त्यहाँ उसले ‘किन तपाईं किन त्यसो भन्नुहुन्छ’ भन्यो भने तपाईंले विचार गर्नुहुन्छ। तपार्इंले मनमनै भन्नुहुन्छ, ‘यहाँ मैले खान्छु भनेको थिइनँ पहिले। मेरो लागि यहाँ खाना बनेको छैन। मेरो लागि खाना घरमा बनेको छ। घरमा खाना बढ्ता भएर उब्रिन्छ। यहाँ खाना पुग्दैन, मैले खाएँ भने कसैको लागि फेरि पकाउनु पर्छ। त्यसकारण मैले यहाँ खानु हुँदैन।’

प्राकृतिक पक्ष भनेको त भोक लागेपछि खानु हो। प्राकृतिक पक्षका कारण ‘खाउँ खाउँ त लागेको थियो’ भन्ने हुन्छ। मनको पक्ष भन्छौँ नि हामी, तर मस्तिष्कको पक्ष, सामाजिक अनुशासनको पक्ष हो त्यो। अप्रशोधित अवस्थामै हामीले छोडिदिएको मन भन्छौँ हामी त्यसलाई। प्रशोधित, नियन्त्रित, विश्लेषित चिजलाई हामी निष्कर्ष– मस्तिष्क भन्छौँ।

हृदयबाट होइन,मस्तिस्कबाट बोलिन्छ

कसैले भन्छ नि– म मस्तिष्कले होइन, मनले काम गर्छु। म हृदयबाट भन्छु– हृदयबाट बोलिदैन, हृदय मस्तिष्क जस्तो होइन। चेतना हृदयमा होइन, मस्तिष्कमा हुन्छ। तर त्यसको परिपक्क पाटो चाहिँ मस्तिष्कले दिन्छ। त्यो मस्तिष्कलाई हामीले हरदम शान्त, सामाजिक, थिति प्रबन्ध, मानवीय सभ्यताको उचाईमा उठेको सभ्य स्थितिमा राख्न सक्नुपर्छ। लोभ, पाप, काम, क्रोधबाट मुक्त भन्छ नि– त्यो भनेको त्यही हो। त्यसबाट मुक्त, खास गरी इष्र्या, अतृप्ती, अहंकार जस्ता कुराहरुबाट आजको दुनिया निकै नराम्रोसँग ग्रस्त छ।

कसैले आफ्नो अहंकार वा स्वार्थका निम्ति अरुका हक अधिकार, अरुका स्वभाविक नैसर्गिक अधिकार, बाँच्न पाउने हकको  र अरुको अधिकारको कदर पूर्ण रुपमा गर्ने हो भने समस्या कहीँ पनि आउँदैन। मान्छेले उचित–अनुचित छुट्याएर उचित मात्र कदम चाल्दिने हो भने आउँदैन समस्या।

तर, मान्छे उचित होइन, अहंकार पूर्तिका निम्ति कदम चाल्छ, स्वार्थ पूर्तिका निम्ति कदम चाल्छ। त्यसैले, समस्या आउँछन्। त्यसलाई नियन्त्रण कसरी गर्ने त? असहिष्णुताबाट कसरी जोगिने त? त्यही कुरालाई ध्यान दिएर मानिसले आफूलाई नियन्त्रण गर्छ। त्यसैले, ध्यानको विशेष महत्व छ।

ध्यान दिवस होइन, बुद्ध जयन्ती

साथीहरुले ध्यान दिवसलाई अन्तर्राष्ट्रियकरण गर्ने भन्ने कुरा उठाउनु भएको छ। त्यसको अर्थ र महत्वलाई म बुझ्छु। एउटा मात्रै कुरामा अलिकति ध्यान दिनु पर्छ। बुद्ध जन्मिएको वा बुद्धले ज्ञान प्राप्ति गरेको अथवा महापरिनिर्वाण प्राप्त गरेको दिनलाई हामीले ‘ध्यान दिवस’ भन्यौँ भने दुनियामा ध्यान दिवस जान्छ। बुद्धको जन्म, ज्ञान र मृत्यु त्रियोग दिवस हो। त्यो दिवस, जो संयुक्त राष्ट्रसंघले सन् १९९९ मा पारित नै गरेर सन् २००० देखि २ वैशाखका दिन मनाउने गरेको छ।

अर्को, अस्ति भर्खर बुद्ध जयन्ती (बैशाख दिवस) हामीले भियतनाममा मनायौँ। अर्को बर्ष भरसक हामी नेपालमा मनाउन खोज्दैछौँ। त्यसका लागि लुम्बिनीमा छिटो यस सम्बन्धी तयारी गर्नुपर्छ। बुद्धको ध्यान, ध्यानबाट प्राप्त हुने शान्ति–संयमको  पाटोमा बुद्धको असाधारण योगदान छ। त्यो कुरा ओझेलमा पर्ने खतरा हुन्छ। बुद्ध जयन्तीलाई ‘ध्यान दिवस’ मात्र भन्यो भने सबैको  ध्यान दिवसमा मात्रै जान्छ।

म के कुरामा पनि सचेत गर्न चाहन्छु भने, दुनियाका विभिन्न धर्मबीच रस्साकस्सी चलिराखेको छ। बुद्ध जयन्तीकै दिन मनाउने भनिएको अन्तर्राष्ट्रिय ध्यान दिवस बुद्ध जयन्तीलाई ओझेलमा पार्ने कोसिस पनि हुन सक्छ। त्यसकारण ध्यान दिवसलाई छुट्टै दिनको रुपमा मनाउनु उपयुक्त हुन्छ।

बुद्ध मानव जातिका यस्ता सपुत, महानायक, महामानव हुन्, जसलाई विश्वले भगवान मानेको छ। उनका विचार र सन्देशहरु यत्तिका वर्षपछि पनि अझ ताजा भएर अझै धेरै मानिसलाई प्रभावित गरिरहेको छ। ती बुद्ध, जो नेपालमा जन्मिए, तिनलाई ओझलमा पर्न दिनु हुँदैन। बुद्ध ओझेल नपर्ने गरी अरु काम गर्नुपर्छ। 

यसका निम्ति हामीले केही काम गर्न बाँकी छ। एउटा, विश्व ध्यान केन्द्र बनाउने। किनभने ध्यानका सर्जक नै हाम्रा पुर्खा हुन्। त्यसकारण नेपालमा विश्व ध्यान केन्द्र स्थापना गर्न सकिन्छ।

योग अब योगा हुन लागिसक्यो। ‘योग–योग’ भन्दाभन्दै योगा हुन लागिसक्यो। जे सुकै होस्, ‘आकार’ लगाउनु र  नलगाउनुले केही फरक पार्दैन, कुरा एउटै हो।

नेपालीले जति अरुले योगका सबै पक्ष बुझ्दैनन्। धर्तीको यस भेगले जति अरुले बुझ्दैन। यहाँको हावाले जति योग बुझ्न अन्यत्रको हावाले दिँदैन। यहाँको पानीको जति योग बुझ्न अन्यत्रको पानीले दिँदैन। यहाँको वातावरणले जति योग अरु तिरको वातावरणले बुझ्दैनन्। एसी (एयर कन्डिसन) मा बस्नु र प्राकृतिक शीतल हावामा बस्नु फरक कुरा हो। ‘एसी’ मा बसेर त्यो ज्ञान प्राप्त हुँदैन, जो प्राकृतिक शीतल हावामा बसेर प्राप्त हुन्छ।  छानामुनि पनि शीतल हुन्छ, बोधीबृक्ष मुनिपनि शीतल हुन्छ। किन बुद्ध छानामुनि नबसेर बोधीबृक्ष मुनि बसे?

त्यस कारण यो ज्ञानभूमि, पुण्यभूमि, तपोभूमि, देवभूमि हो। यस भूमिलाई त्यसै गरी हामीले अगाडि बढाउनु पर्छ।

देशलाई सभ्यतातिर लैजाऊँ 

कसैको स्वार्थको लागि देशलाई आज आग्रह, उत्तेजना, आवेशतिर लैजान खोजिएको छ। तर देशलाई समृद्धितिर, सभ्यतातिर, सुसंगत परिपाटीतिर लैजानुपर्छ, क्रोध, उत्तेजना आवेशतिर होइन। सुशान्त– प्रशन्न चिन्तन, शान्त चित्ततिर लैजानुपर्छ।

त्यसका लागि हरेक व्यक्ति सबैभन्दा पहिले मानसिक रुपमा स्वस्थ हुनु पर्यो। पहिले उसको मन ठीक ठाउँमा हुनुपर्यो। क्रोधमा भएपछि त माया गरेको श्रीमतीलाई पनि पड्याङ्ग हिर्काइदिन्छ। भनेपछि, त्यो पागलपन भएन? रिस उठेका बेला आमाले आफ्नो अत्यन्तै प्यारो छोराछोरीलाई चड्याम्म चड्काउँछ। त्यो किन भएको भने, मन स्थिर नभएर हो। रिसै उठेको भए पनि त्यो बच्चा शत्रु हो र? तर, त्यसलाई ठ्याम्म हिर्काइदिन्छ। किन यस्तो हुन्छ भने, क्रोध भनेकै यस्तै कुरा हो। आफ्नै सन्तानलाई सबभन्दा बढी माया गरेको सन्तानलाई पनि हिर्काइदिन्छ। त्यस कारण क्रोधबाट बच्नपनि योगमा जाऊँ।

कर्मयोगीहरुको देश 

अस्वस्थ शरीर, अस्वस्थ मन–वचन, अस्वस्थ मानसिकताबाट बच्न आफंैलाई अस्वस्थ चिन्तन प्रवृत्ति जस्ता अनेक कुराहरुले ग्रस्त बन्न नदिनबाट जोगाउन पनि योगमा जाऊँ।

यो योगीहरुको, कर्मयोगीहरुको देश हो। नेपाललाई साँच्चिकै कर्मयोगीहरुको देश बनाउनु पर्दछ। योगका विभिन्न पाटाहरु छन्। ती पाटाहरु मध्ये हामी आम जनताको पाटो कर्मयोग हो। योग पनि गर, कर्म पनि गर। 

योग दिवसको दिन सबैलाई मनका योगी बन्न आग्रह गर्दछु। म तपाईंहरुलाई यस्तो–उस्तो बस्त्र धारण गर्नुस् भन्दिन। मनको योगी हुनुस्, बस्त्र आफ्नो खुसी हो। सबैको भलो होस्।

(प्रम केपी शर्मा ओलीद्वारा विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रममा दिइएको विचारको सम्पादित पाठ

असार ६, २०७६, शुक्रबार

केपी शर्मा ओली


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors