ad ad

ब्लग


भारतीय लगानी भित्र्याउन रुक्मशमशेरको त्यो पहल

भारतीय लगानी भित्र्याउन रुक्मशमशेरको त्यो पहल

रुक्मशमशेर राणा


सुनिल केसी
असोज १३, २०७८ बुधबार ९:४७, काठमाडौँ

रुक्मशमशेर राणा– नेपाली राजनीति/कूटनीति, उद्योग/व्यवसाय एवं खेलकुद क्षेत्रमा चिरपरिचित नाम हो। उहाँको बहुआयामिक परिचय छ। कसैले उहाँलाई राजनीतिक क्षेत्रका एक अदृश्य तर प्रभावशाली व्यक्तित्वका रूपमा चिन्छन् त कसैले एक कुशल तथा सफल उद्योगीका रूपमा; कसैले कूटनीतिज्ञ अनि कसैले खेलप्रेमी एवं खेलकुद क्षेत्रको विकासमा योगदान दिएका व्यक्तिका रूपमा चिन्छन्। यस हिसाबले उहाँ जो कोहीका लागि एक प्रेरणाका स्रोत हुनुहुन्छ। 

नेपालको राजनीतीमा सुवर्णशमशेर राणा अत्यन्त निष्ठाका साथ सम्झिने नाम हो, जसले राणा शासन अन्त्य तथा प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिमा पुर्याएको योगदान स्वर्ण अक्षरले लेखिएको छ।

उहाँ नेपाली कांग्रेसका संस्थापकमध्ये एक हुनुहुन्छ, जसले पार्टी स्थापनामा कोषाध्यक्षका रूपमा योगदान दिनुभएको थियो। उनै राजनीतिक योद्धा स्वर्गीय सुवर्णशमशेर राणाका कान्छा छोराका रूपमा भारतको कोलकात्तामा सन् १९३६ मार्च १२ का दिन रुक्मशमशेर राणाको जन्म भएको थियो।

रुक्मशमशेर राणामा पनि राजनीति बिरासतका रुपमा रगतमै थियो भन्न सकिन्छ। त्यसैको एउटा कडी २०४८ (सन् १९९१) मा उहाँ राष्ट्रिय सभाको सदस्य बन्नुभयो भने सन् २००९ देखि २०११ सम्म मित्रराष्ट्र भारतका लागि नेपाली राजदूतका रूपमा काम गर्नुभयो। 

राणा दिलोज्यान दिएर नेपाली खेलकुद तथा खेलाडीको विकासमा लाग्नुभएको व्यक्ति हुनुहुन्थ्यो। खेलसम्बद्ध विभिन्न संस्थामा उहाँको संलग्नता तथा नेतृत्व नेपाली खेलकुदको क्षेत्रमा स्वर्णिमकालको रूपमा रहेको खेलाडी तथा खेल अधिकारीहरू बताउँछन्। 

सन् १९९३ मा उहाँले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका रूपमा नेपाली खेल जगतलाई नेतृत्व प्रदान गर्नुभयो भने सन् १९९७ देखि १९९९ सम्म दक्षिण एसियाली खेलकुद महासंघको अध्यक्ष बनेर नेपाली खेलकुद क्षेत्रमा योगदान गर्नुभयो। 

त्यस्तै उहाँले सन् १९९८ मा आठौं साउथ एसियन फेडेरेसन गेम (साफ गेम) काठमाडौंमा आयोजना गर्न पनि महासचिवका रूपमा सक्रिय भूमिका खेल्नुभयो। त्यस्तै नेपालको खेलकुदलाई अन्तर्राष्ट्रिय जगतमा सहभागी गराउन सन् १९९२ मा ६ वर्षसम्म नेपाल ओलम्पिक कमिटीको महासचिव तथा सन् १९९८ देखि २००७ सम्म अध्यक्षका रूपमा योगदान दिनुभयो। 

त्यस्तै सन् २००३ देखि २००७ सम्म एसियाको ओलम्पिक काउन्सिलमा कार्यसमिति सदस्य भएर खेल विकासमा योगदान गर्नुभयो भने ओलम्पिक अभियान प्रवद्र्धनमा पुर्याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै सन् २००७ मा उहाँलाई ओसिए मेरिट अवार्डले सम्मान गरियो।

त्यस्तै उहाँले नेपालको ताइक्वान्दो तथा फुटबल खेलको विकासका निम्ति सम्बन्धित संघमा रहेर खेलप्रतिको आफ्नो प्रगाढ माया दर्शाउनुभएको थियो। वैचारिक मतभिन्नता भए पनि नेपाली खेलजगतको विकासप्रति उहाँको प्रेम, लगन, क्रियाशीलता अनि समर्पणप्रति जो कोही नतमस्तक हुने गर्छन्। 

आर्थिक, सामाजिक रूपमा उच्च हैसियतका भए पनि रुक्मशमशेर राणाको व्यक्तित्व धेरैले सोचेभन्दा भिन्न थियो। उहाँ अत्यन्त सौम्य, शालीन एवं सरल स्वभावको हुनुहुन्थ्यो, मृदुभाषी हुनुहुन्थ्यो। रुक्मशमशेर राणाको अर्को महत्त्वपूर्ण पाटो भनेको नेपालमा आर्थिक विकासबारे उहाँको चिन्तन र दूरदर्शिता हो भन्न सकिन्छ। आधुनिक औद्योगिक विकास तथा रोजगारीको अवसर सिर्जना गरेर उहाँले राष्ट्रकै आर्थिक विकासमा योगदान दिनुभएको थियो। 

संयुक्त लगानीका रूपमा ठूला विदेशी कम्पनीलाई नेपालमा लगानी गर्न लगाएर नेपालको औद्योगिक विकासमा संलग्न गराउने कार्यको सुरुवात उहाँले नै गरेको इतिहास छ। उहाँकै अग्रसरतामा २०४६ वैशाख २६ मा उद्योग विभागमा डाबर नेपाल प्रा.लि. दर्ता गरी भारतीय कम्पनी डाबर इन्डियालाई लगानीका लागि नेपाल ल्याउन सफलता मिलेको थियो। 

सुरुवातमै प्रबन्ध निर्देशकका रूपमा नेतृत्व गरेर डाबर नेपाललाई सफल बनाएका राणाले जीवनको अन्तिम समय अध्यक्ष तथा प्रबन्ध निर्देशकको दोहोरो भूमिकासमेत निर्वाह गर्नुभएको थियो। यसरी हेर्दा उहाँलाई नेपालको आधुनिक औद्योगिक विकासका अग्रणी व्यक्तिका रूपमा समेत सम्झिन सकिन्छ। 

रुक्मशमशेर राणाको कार्यक्षमता, कार्यशैली, नेतृत्व र संलग्नताका सन्दर्भमा भुल्नै नसकिने र महत्त्वपूर्ण आयाम भनेको नेपाल–भारत उद्योग वाणिज्य संघमा उहाँको आबद्धतालाई लिन सकिन्छ।

सन् १९९५ फेब्रुअरी १५ देखि विधिवत् रूपमा सदस्यता आवेदन भरेर संघमा संलग्न भएका राणा सन् १९९८ देखि २००१ सम्म यसको अध्यक्षको जिम्मेवारीमा रहनुभयो। सन् १९९६ मा भएको नेपाल–भारत वाणिज्य सन्धि गर्नमा संघका तर्फबाट उहाँको अमूल्य योगदान रह्यो। उहाँ संघको नेतृत्वमा रहँदा भएका कामको सूची हेर्ने हो भने पनि उहाँको सक्रियता प्रस्ट हुन्छ। उहाँ संघको अध्यक्ष हुँदा उता डाबर नेपालको सुरुवाती समय नै थियो। जुनबेला बढीभन्दा बढी समय आफ्नो उद्योगको प्लान्ट स्थापना, संस्थागत विकास, जनशक्ति व्यवस्थापनलगायत व्यवस्थापकीय कार्यमा व्यस्त हुनुपर्ने थियो, त्यस्तो बेला पनि उहाँ संघका कार्यक्रमहरूमा सक्रिय हुनुभएको देखिन्छ।

यसबाट उहाँ संघप्रतिको जिम्मेवारीप्रति गम्भीर भएको प्रस्ट हुन्छ भने उहाँको नेतृत्वशैली, व्यवस्थापकीय कार्यकुशलताबाट जो कोहीले पाठ सिक्न सक्ने देखिन्छ।

नेपाल–भारत उद्योग वाणिज्य संघमा अध्यक्ष रहँदा पनि अन्य संघ/संस्थासँग सहकार्य गरेर अघि बढ्नुपर्छ भन्ने मान्यता उहाँमा रहेको पाइन्छ। यसैको उदाहरण स्वररूप सन् २००० १५ मार्चमा भारतीय राजदूतावास र बीपी कोइराला नेपाल–भारत प्रतिष्ठानसँग मिलेर काठमाडौंमा ईपीजेड (इकोनोमिक प्रोसेस जोन) सम्बन्धी सेमिनार आयोजना गरिएको थियो। नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा २९ अगस्ट २००१ मा नेपाल–भारत वाणिज्य सन्धि नवीकरण सम्बन्धमा गोलमेच अन्तरक्रिया तथा १६ सेप्टेम्बर २००१ मा भारतीय राजदूतावाससँग मिलेर गोष्ठी आयोजना गरिएको थियो। 

राणाकै अध्यक्ष कार्यकालमा विभिन्न भारतीय उच्च पदस्थ सरकारी अधिकारीसँगका कार्यक्रमहरू जस्तैः १९९९, जनवरी ५ मा तत्कालीन भारतीय वाणिज्यमन्त्री रामकृष्ण हेंगडेसँग तथा सन् १९९९ सेप्टेम्बर १० मा भारतीय विदेशमन्त्री जसवन्त सिंहसँग अन्तरक्रिया कार्यक्रम गरिएबाट पनि नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन उहाँले योगदान गरेको देखिन्छ। 

त्यस्तै नेपाल र भारतबीचको व्यापार प्रवद्र्धनका लागि पनि विभिन्न कार्य भएको पाइन्छ। उदाहरणका लागि सन् २००० सेप्टेम्बर ९ देखि २४ सम्म काठमाडौंको भृकुटीमण्डपमा भारतीय व्यापार प्रवद्र्धन संस्था (आईटीपीओ) सँगको सहकार्यमा इन्डिया एक्जिबेसन, सन् २००० सेप्टेम्बर २० मा ‘नेपाल–इन्डिया : न्यु भिस्टस अफ इकोनोमिक कोअपरेसन’लगायत भारतको गुजरातमा गएको महाभूकम्पका पीडितका लागि नेपाली व्यवसायीका तर्फबाट २००१ फेबु्रअरी २२ मा भारतीय राजदूत देव मुखर्जीमार्फत सहयोग राशि प्रदान आदि। 

नेपाली उद्यमी/व्यवसायीको हितका लागि निर्यातकर्ताहरूसँग २००१ अगस्ट १२ मा अन्तरक्रिया, नेपाल–भारत वाणिज्य सन्धि नवीकरण सम्बन्धमा १९९६ अगस्ट १२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्तालगायत उल्लेखनीय कार्य रुक्मशमशेर राणा नेपाल–भारत उद्योग वाणिज्य संघको अध्यक्ष रहेका बेला भएका हुन्।  

रुक्मशमशेर राणा आज हामीबीच हुनुहुन्न, २०७८ भदौ २५ (२०२१ सेप्टेम्बर १०) का दिन उहाँ यो संसारबाट बिदा हुनुभएको हो। तर उहाँ एक बहुआयामिक व्यक्तित्वका रूपमा भने सधैं हामीमाझ बाँचिरहनु हुनेछ। 

नेपाल–भारत उद्योग वाणिज्य संघले आफ्नाे अभिभावक गुमेको महसुस गरेको छ। नेपालको आधुनिक औद्योगिक विकासका अग्रणी राणालाई नेपालको औद्योगिक, व्यावसायिकलगायत समग्र निजी क्षेत्र तथा सिंगो खेल जगतले सदा स्मरण गरिरहनेछन्। 

(सुनिल केसी नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष हुन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .