ad ad

ब्लग


प्रियंकाको गर्भावस्था उत्सवमा महिला साथ किन?

प्रियंकाको गर्भावस्था उत्सवमा महिला साथ किन?

दुर्गा कार्की
साउन ८, २०७८ शुक्रबार ७:३८,

अहिले सामाजिक सञ्जाल नायिका प्रियंका कार्कीमाथि खनिएको छ। उनलाई सभ्यता र संस्कार सिकाएर गाली गरिरहेकाहरु आफैँले दिएको प्रतिक्रिया कत्तिको सभ्य र संस्कारी छ भन्ने कुराचाहिँ बिर्सिरहेका छन्। नायिका कार्कीले गरेको गल्ती भनेको उनले आफ्नो गर्भावस्थालाई उत्सवका रुपमा मनाएर सामाजिक सञ्जालमा ल्याउनु हो। उनले ‘हामी गर्भवती छौँ’ भनेर सामाजिक सञ्जालमै घोषणा गरेदेखि आफ्ना प्रशंसकहरुका लागि गर्भावस्थाका तस्बिर सामाजिक सञ्जालमा निरन्तर पोस्ट गरिरहेकी छन्। जुन कुरा समाजलाई पचाउन गाह्रो भइरहेको छ। भलै यो समाज सन्नी लियोनीका चलचित्र हेरेर भित्रभित्रै मन मखलेल बनाउँछ र सामाजिक सञ्जालमा आएर सभ्यता र संस्कार सिकाउँछ। यस्तो दोहोरो चरित्र भएको समाजमा प्रियंकामात्रै हैन हरकोही महिलाले सम्मान पाउलान् भन्ने सोच्नु भ्रम मात्रै हो।

गर्भावस्था हरेक महिलाका लागि विशेष अवस्था हो। एउटा जीवनलाई आफ्नो पेटभित्र हुर्काउन सक्ने क्षमता प्रकृतिले महिलालाई मात्रै दिएको छ। ‘मर्निङ सिकनेस’ले गलेर शरीरमा आउने आलस्यलाई पन्छाएर, खानाप्रतिको अरुचिलाई जित्दै सकीनसकी ठुसेर, दिनप्रतिदिन भारी हुँदै गएको ज्यानलाई स्फुर्तिका साथ प्रस्तुुत गर्दै र समस्यालाई झेल्दै हरेक काम एकल ज्यानले झैँ गर्न सक्नुु उत्सव नभएर के हो त? 

‘तिमीलाई समस्या छ, तिमी आराम गर’ भन्ने परिवारका सदस्य वा खासगरी श्रीमानहरू कति होलान्? अझै आफ्नो बढ्दै गरेको पेटलाई कसरी हुन्छ लुकाएर हिँड्ने महिलाको संख्या नै धेरै छ। त्यसैले प्रियंकाले झैँ उत्सव मनाउन सक्ने र त्यसलाई सार्वजनिक गर्न सक्ने अवस्थामा आम महिला छैनन्। अनेक मूल्यमान्यता र संस्कारले किचिएर हुर्केका आम छोरीहरुले यो आँट गर्न सक्दैनन् पनि। तर, चलचित्र क्षेत्रमा लामो समयदेखि काम गरेर आँटिलो बनेकी नायिकाले यो काम गर्न सकिन्। यसमा किन समस्या? 

फेरि उनले आफू सामान्य अवस्थामा हुुँदा सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्बिरहरुमा ‘ओहो!’, ‘फायर’, ‘सेक्सी’ भनेर प्रतिक्रिया दिनेहरु नै अहिले उनलाई गाली गरिरहेका छन्। त्यसैले समाजको यस्तो दोहोरो चरित्र प्रर्दशन हुुनुुलाई सामान्य रुपमा लिने कि यसको विश्लेषण गर्ने, बहसको विषय हुन सक्ला। किनभने नेतादेखि आम नागरिकबीच खासगरी महिलाका मुुद्दामा बारम्बार देखिने यस्तै चरित्र परिवर्तनका लागि बाधक बनिरहेको छ। 

अहिले हामी बाँचिरहेको जमानामा कुनैपनि महिलाले म एउटा वा दुइटा मात्रै बच्चा जन्माउँछुु भनेर निर्णय गर्न सक्छन्? बच्चा मैले जन्माउने हो यसको निर्णय म आफैँ गर्छु भन्न सक्ने महिला छन्? मलाई लाग्छ प्रियंका तिनै थोरैमध्येकी महिला होलिन् जसले म कति बच्चा जन्माउँछु र कहिले जन्माउँछु भन्ने निर्णय गर्ने हैसियत राख्छिन्। त्यसैले नै उनी आफ्नो गर्भावस्थालाई उत्सवका रुपमा मनाइरहेकी छन्। गर्भावस्था लाजको विषय होइन भन्ने कुरामा आम महिलालाई सचेत गराइरहेकी छन्।

हामीले आफ्नो शरीरमाथिको अधिकारलाई आफैँ प्रयोग र निर्णय गर्न सक्ने महिलाहरुको संख्या बढाउनु छ। मेरो शरीर मेरो अधिकार हो भन्ने कुरालाई हरेक महिलाका बीचमा पुर्याउनुछ। त्योभन्दा पहिले उनीहरुका शरीरका अंगप्रत्यंग चिनाउनुु छ, तिनका बारेमा जानकारी दिनु छ, ताकि आफ्नो शरीर परिपक्व भएको उनीहरुले थाहा पाऊन् र निर्णय गर्न सकून्। 

नेपालमा लाखौँ महिलाहरु पाठेघर खस्ने समस्या भोगिरहेका छन्। सामाजिक सञ्जालमा संस्कार सिकाउन आउने दाजुभाइहरु एक पटक आफ्नी आमालाई सोध्नुस् त– कतै उहाँको पाठेघर खसेको त छैन? अथवा तपाईंकी श्रीमतीको सेतोपानी बगेको कुरा तपाईंलाई थाहा छ? दिदीबहिनी भाउजुबुहारीको थाहा पाउनुु त धेरै टाढाको विषय भयो। आमा र श्रीमतीलाई सोध्नुुुस त! 

महिलाहरुलाई सधैँ घुम्टोभित्र देख्न चाहने हाम्रो सामाजिक संस्कारकै परिणाम हो– आफ्ना आमाहरुको पाठेघर चौथो डिग्रीमा खसुञ्जेल थाहा नपाउने। रगत र पिप बगेपछि, क्यान्सरले थला पारेपछि रुँदै उपचारका लागि हिँड्ने। यो सबैको जरो यहीँनेर जोडिएको छ। २१औँ शताब्दीका पुुस्ता भन्छौँ तर महिलाहरु छोरा पाउन लगातार १२ वटासम्म सन्तान जन्माउन बाध्य छन्। छोरी पाएकै कारण घरबाट निकालिएका छन्। 

विज्ञहरुका अनुसार गर्भावस्थामा गह्रौँ भारी बोक्नु, सुत्केरीमा आराम नपाउनु, गर्भावस्था र सुत्केरीमा पोषणयुक्त खाना नपाउनुुु, उमेर नपुगी विवाह गर्नु र बच्चा जन्माउनु पाठेघर खस्ने मुुख्य कारण हुन्। लगातार बच्चा जन्माउनु पनि यसभित्र पर्छ। तपाईंलाई लाग्न सक्ला– यी विषयमा प्रियकांको कुरा कसरी जोडिन्छ? महिलाले आफ्नो शरीरमाथि आफ्नो नियन्त्रणको अधिकार नपाउँदा यी सारा समस्या आएका हुन्। महिलाको सम्पूर्ण शरीरमाथिको नियन्त्रण पुरुष सत्ताले आफ्नो हातमा लिएको छ। 

यहाँको सामाजिक व्यवस्थामा महिलाको शरीर पुरुषको सम्पत्ति हो। त्यसैले महिलाको शरीरलाई उसले चाहेअनुसार भोगचलन गर्छ। उसको अप्राकृतिक भोगचलनबाट यो सम्पत्ति जीर्ण भएमा उसलाई अर्को भित्र्याउन समाजले निर्बाध रुपमा छुट दिएको छ। त्यो जीर्ण शरीरप्रति उसले कुनै जिम्मेवारी पुरा गर्नु पर्दैन, कुनै उत्तरदायित्व हुँदैन। ‘मर्दकी सातवटी’ भन्ने उखान सुनेर वा भनेरै हुर्किएका हौँ, जीर्ण शरीर स्याहारेर बस्ने त कुरै आउँदैन।

सरकारले महिलाको पाठेघर खस्ने समस्याको गम्भीरता थाहा पाएपछि निःशुुल्क शल्यक्रिया गर्ने योजना ल्यायो। थुप्रै निजी संघसंस्थामार्फत यो काम गरिएको थियो। सुर्खेतमा सुष्मा मेमोरियल ट्रस्टले महिलाहरुको निःशुल्क शल्यक्रिया गरेको थियो। यसमा थुुप्रै विवाद पनि आएका थिए यो चर्चा अहिले गर्दिनँ। सुर्खेतमा आयोजना गरिएका निःशुल्क स्वास्थ्य शिविरमा पाठेघरको शल्यक्रिया गराउन आएकी एकजना वृद्धाले भनेको कुराले हैरान बनायो। 

रेडियो कार्यक्रम बनाउने क्रममा गरिएको कुराकानीमा उनले भनेकी थिइन्– पाठेघर खस्न थालेको १५ वर्ष भयो। यो कुरा उनले आफ्ना श्रीमानलाई भनिनन्। सुतेपछि उनले आफ्नो पाठेघर हातले भित्र घुसार्थिन्। अनि श्रीमानले आफैँ यो कुरा थाहा पाएनन्। पाठेघर खस्दाखस्दै तीन जना छोराछोरी जन्माइन्। गर्भ रहँदा उनको पाठेघर बाहिर निस्किँदैनथ्यो। यति कुराले उनलाई सजिलो बनाएको थियो। गर्भवती हुँदा वा सुुत्केरीपछि न त उनले आराम पाइन् न त पोषिलो खानेकुरा। बच्चा जन्मेपछि पाठेघर झन् धेरै बाहिर आउँथ्यो। 

श्रीमानलाई किन भन्नु भएन भन्ने प्रश्नमा उनले दिएको जवाफ झनै डरलाग्दो थियो– ‘श्रीमानले थाहा पाए भने अर्को बिहे गर्छन् भन्ने डरले भनिनँ।’ यस्तो समस्या भोग्ने ती एक्ली महिला थिइनन् र होइनन्। अहिले पनि हजारौँ महिलाहरुको नियति यही हो। 

मानव विकास सूचकांकको पुछारमा भएको बाजुराका महिला कुपोषित छन्। वर्षैपिच्छे बच्चा जन्माउन बाध्य उनीहरुका समय नपुुगी कति बच्चा खेर जान्छन् वा कुपोषित बच्चा जन्मिन्छन् र जन्मिएपछि मर्छन्। सुुुदूरपश्चिमका कति भविष्यका कर्णधार भेडा र गाइगोठमा जन्मिरहेको छन्। कति बालबालिका उमेर नपुगी बिहे गर्न बाध्य छन्। बिहे गरेको वर्षदेखि बच्चा जन्माउने उनीहरु कतिले अस्पतालको मुुख देख्न नपाइ देह त्याग्छन्। जे होस् धेरै महिला बच्चा जन्माउँदा जन्माउँदै मर्छन्। कति छोरी, दिदीबहिनीहरु अहिले पनि महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य छन्। कानुन लगाउँदा पनि यस्ता विकृति किन ज्यूँका त्यूँ छन्? किनभने समाज जहाँको तहीँ छ। परिवर्तनका लागि समाजिक चेतनाको छेउ पनि कोट्टिएको छैन।

हामी बाँचेको जमानाका चेतनशीलहरु बस्ने सहरकै कुरा गरौँ। हाम्रा कति बहिनी छोरीहरुले म बिहे नगरी बस्छु भन्न सक्छन्? अथवा म यो उमेरमा बिहे गर्छु, योसँग बिहे गर्छु, बिहे गरेपनि बच्चा जन्माउँदिनँ वा अलि ढिलो जन्माउँछु भनेर सुख पाउँछन् वा पाएका छन्? अथवा म बिहे गर्दिनँ तर आमा बन्छु वा म छोरीमात्रै पाउँछु, छोरा चाहिन्न भन्न सक्ने अवस्था कति छन्? यस्ता कुरा हाम्रा छोरी, दिदीबहिनीले भन्न सक्छन् वा भनिहाले पनि हामी पचाउन सक्छौँ? अथवा यी सबै कुराको निर्णय तिम्रो हो भन्दै हामी कतिले हाम्रा छोरा वा छोरीलाई हुुर्काएका छौँ? 

हो, यिनै संस्कार र हुर्काइले हो आमाको त कुरै छाडौं तपाईं हाम्रा दिदीबहिनीले समेत आफ्ना श्रीमानलाई आफ्नो पाठेघरको समस्या खुलेर भन्न सक्दैननन्। समस्या अहिलेको पुुस्तामा समेत उही दोहोरिइरहेको छ, जुुन हाम्रा आमा, हजुुरआमाहरुले भोगे– पाठेघर चौथो डिग्रीमा पुुगेर थला परेपछि थाहा पाएर अस्पताल दौडिने। जब यी कुुरामा महिलाले खुलेर छलफल गर्ने वातावरण बन्दैन, जबसम्म आफ्नो निर्णय आफैँ गर्ने अधिकार पाउँदैनन्, जबसम्म आफ्नो शरीरमाथि आफ्नै नियन्त्रणको अधिकार पाउँदैननन्, तबसम्म प्रियंकाहरु अपमानित भइरहनुुपर्छ। यी समस्याहरु महिलाले झेलिरहनु पर्छ। अब विषयमा बहस गरौं। महिलाको प्रजननलाई हाँसो, गाली वा लाजको विषय नबनाऔँ। मेरो शरीर, मेरो अधिकार।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .