ad ad

ब्लग


त्यसपछि पुष्पलाल पार्टीभित्र अल्पमतमा पर्न थाले, महामन्त्रीबाटै हटाइए

त्यसपछि पुष्पलाल पार्टीभित्र अल्पमतमा पर्न थाले, महामन्त्रीबाटै हटाइए

निर्मल बराल
साउन ७, २०७८ बिहिबार १९:१,

यतिबेला हामी नेकपाका संस्थापक महासचिव क.पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस मनाइरहेका छौँ। नेपालमा क्रियाशील विभिन्न कम्युनिष्ट घटकहरुले उहाँलाई गहिरो श्रद्धा र आस्थाका साथ स्मरण गर्दै आएका छन्। 

आजको सन्दर्भमा पुष्पलाललाई कसरी स्मरण र सम्मान गर्न सकिन्छ भन्ने विषयमा विचार–विमर्श गर्नु हाम्रो कर्तव्य पनि हो।

१५ असार १९८१ मा रामेछापमा पुष्पलालको जन्म हुँदा नेपालमा राणाहरुको जहानिया र अत्याचारी शासन थियो। पिता सरकारी कर्मचारी भएका कारण उहाँको बाल्यकाल बुवा-आमासँगै रामेछाप, ओखलढुङ्गा, सिन्धुपाल्चोक लगायतका जिल्लामा बित्यो। किशोरावस्थामा काठमाडौँ आएपछि उहाँले माध्यमिक शिक्षा पाटन हाइस्कुलबाट पूरा गर्नुभयो। त्यसपछि भने उहाँ कलेज भर्ना भएर उच्च शिक्षातिर नलागी नागरिक अधिकार प्राप्तिको आन्दोलनमा क्रियाशील हुनुभयो। 

१९९८ बाट पुष्पलाल राणाशासनविरुद्धको अभियानमा संगठित हुनुभयो। पुष्पलालका जेठा दाइ गंगालाल श्रेष्ठ त्यो आन्दोलनमा त्यसअघि देखि नै सक्रिय हुनुहुन्थ्यो। पुष्पलाल पनि दाजु र साथीहरुको प्रभावबाट उच्च शिक्षाभन्दा पनि राणा शासनविरोधी राजनीतितर्फ आकर्षित हुनुभयो।

राणा शासनविरुद्धको आन्दोलन अघि बढ्दै गर्दा गंगालालसहित शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दलाई १९९७ सालमा राणा शासकले मृत्युदण्डको सजाय दिए।

आफ्ना दाजुसहित चारजना युवालाई राणा शासकले क्रुरतापूर्वक हत्या गरेको घटनाले पुष्पलालको मस्तिष्कमा विद्रोही एवं क्रान्तिकारी भावनाको विजारोपण गरेको हामी पाउँछौँ। मृत्युदण्ड दिनुअघि सपरिवार कारागारमा भेट्न जाँदा दाजु गंगालालले पुष्पलाललाई भन्नुभएको थियो, ‘मैले प्रजातन्त्रको लागि बालेको दियोलाई तिमीले देशभरिे प्रज्वलित गर्नु।’ 

अन्तिम संस्कारको बेला गंगालालको चिता अघि उभिएर पुष्पलालले आफ्नो जीवनको उद्देश्य क्रान्तिलाई बनाउने, अत्याचारी राणा शासन ढाली छाड्ने र नागरिकलाई अधिकार सम्पन्न बनाउने संकल्प गर्नुभयो। दाजुको चिता अघि उभिएर पुष्पलालले गरेको त्यही संकल्पसहित उहाँ राणाशासन विरोधी आन्दोलनमा सचेततापूर्वक सहभागी हुन थाल्नुभयो। त्यतिबेला गंगालालले माफी मागेको भए राणाहरुले वहाँलाई जीवनदान दिन सक्थे। परिवारका अन्य सदस्यहरुले पनि त्यही गर्न उहाँलाई आग्रह गरेका थिए। तर गंगालालले अत्याचारी राणाहरुसँग जीवनको भीख माग्नु भएन, बरु मृत्युदण्ड स्वीकार गर्नुभयो। जसको छाप किशोरावस्थाका पुष्पालालमा गहिरो गरी पर्यो। 

गंगालासहित चार योद्धाहरुको शहादतपछि पुष्पलालसमेतको संलग्नतामा वि.सं. १९९८ मा प्रजातान्त्रिक संघ नामक राजनैतिक संगठनको स्थापना भयो। पछि पुष्पलालले नेपाली राष्ट्रिय कांग्रेसमा संलग्न भई नागरिक अधिकार प्राप्तिको आन्दोलनको नेतृत्वसमेत गर्नुभयो। त्यसक्रममा गिरफ्तार भएर उहाँले राणाहरुको कठोर यातनासमेत भोग्नुभयो। 

नेपाली राष्ट्रिय कांग्रेसको केन्द्रीय सचिवालयमा सचिवको जिम्मेवारीमा रहेर उहाँ प्रवासमा क्रियाशील हुन थाल्नुभयो। त्यतिबेला उहाँले विश्व कम्युनिष्ट आन्दोलनको गहिरो अध्ययनसँगै राणाविरोधी आन्दोलनलाई संगठित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। 

काम गर्दै जाँदा नेपाली राष्ट्रिय कांग्रेसले राणाशाही विरुद्धको संघर्षलाई टुंगोमा पुर्याउँदैन भन्ने पुष्पलाललाई लाग्न थाल्यो। नेपाली राष्ट्रिय कांग्रेसमा नेतृत्वबीच तीब्र कलह थियो। त्यो देखेपछि पुष्पलालले नेपाली राष्ट्रिय कांग्रेस परित्याग गर्नुभयो। त्यसपछि उहाँ माक्र्सवादी दर्शन, विचार र साहित्यको अध्ययनमा लाग्नुभयो। यसै क्रममा कम्युनिष्ट पार्टी निर्माण गर्ने सोच उहाँमा आएको हामी पाउँछौँ। 

कम्युनिष्ट पार्टीबिना राणा शासनको अन्त्य हुँदैन भन्ने निष्कर्षमा पुष्पलाल पुग्नुभयो। त्यसपछि उहाँले कम्युनिष्ट पार्टी स्थापना गरेर राणा शासन, सामन्तवाद र साम्राज्यवादकाविरुद्ध लड्ने संकल्प गर्नुभयो। पार्टीको वैचारिक एंव सैद्धान्तिक आधार निर्माण गर्ने तयारीस्वरुप पुष्पलालले पहिलोपटक माक्र्स, एङ्गेल्स्द्वारा रचित कम्युनिष्ट पार्टीको घोषणा पत्र नेपाली भाषामा अनुवादको काम अघि वढाउनुभयो। त्यो घोषणापत्रको भूमिकासमेत लेखेर उहाँले २००५ सालमा त्यसको प्रकाशन गर्नुभयो। 

वि.सं.२००६ साल वैशाख १० गते लेनिन जयन्तीको अवसर पारेर पुष्पलालको नेतृत्वमा नेकपाको स्थापना भयो। सहयोद्धाहरु नरबहादुर कर्माचार्य, नारायण विलास जोशी र निरञ्जन गोविन्द वैधसहितको सहभागीतामा उहाँले नेकपाको स्थापना गर्नुभयो। त्यतिबेला नेकपाको स्थापनामा कमरेड मोतीदेवीकोसमेत  महत्वपूर्ण योगदान देखिन्छ। 

कम्युनिष्ट पार्टी स्थापनासँगै पार्टीलाई वैचारिक राजनैतिक, सांगठनिक र संघर्षको क्षेत्रमा सही दिशाबोध गराउने काम मूलरुपमा पुष्पलालले नै गर्नुभयो । राणाहरुको हुकुमी शासनविरुद्ध सम्झौताहीन संघर्ष चलाउने, देशीय सामन्तवादलाई चकनाचुर पार्ने, विदेशी एकाधिकार पूँजीवाद तथा साम्रज्यवादबाट देशलाई मुक्त पार्ने, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनसँग एकता कायम गर्ने र नेपालमा नयाँ जनवादी गणतन्त्रात्मक राज्य व्यवस्था स्थापना गर्ने संकल्पसहित पुष्पलाले नेकपाको घोषणापत्र तयार गर्नुभएको थियो। 

जुन घोषणापत्रलाई ५ महिना पछि ३० भदौ २००६ (१५ सेप्टेम्बर १९४९) मा सम्पन्न नेकपाको प्रथम भेलाले पारित गर्यो। सोही भेलाले सर्वसम्मत रुपमा पुष्पलाललाई महामन्त्रीमा चयन ग¥यो। २००७ सालमा भएको राणाशाही विरुद्धको आन्दोलनमा नेकपाले नेतृत्वदायी भूमिका निर्वाह ग¥यो।

पार्टी स्थापना भएको दुई वर्षपछि २००८ सालमा कलकत्तामा सम्पन्न पार्टीको प्रथम सम्मेलनले पुष्पलाललाई नै महामन्त्री चयन गर्यो। तर, त्यसको चार महिनापछि बसेको पोलिटव्यूरो बैठकले वहाँलाई महामन्त्रीबाट हटाएर अन्याय गरेको थियो। त्यतिबेला वहाँलाई किन महामन्त्रीबाट हटाइयो यसको जवाफ आजसम्म अनुत्तरित छ। स्वयं पुष्पलाललेसमेत यस प्रकरणबारे ठोस रुपमा बोलेको पाइँदैन। तर, पुष्पलाललाई महामन्त्रीबाट अपदस्त गरिएको यो परिघटनापछि पार्टीभित्र संगठित रुपमा अवसरवादको प्रवेश भएको देखिन्छ। पार्टीभित्र दरवार र भारत परस्त चिन्तन पनि यो परिघटनासँगै पार्टीभित्र प्रवेश गरेको हामी पाउँछौँ।

पार्टीको प्रथम महाधिवेशन (२०१०)ले पनि मूलरुपमै पुष्पलालकै लाइन बमोजिम स्थापना कालको रणनैतिक लक्ष्य नयाँ जनवादी क्रान्तिको बाटोलाई निरन्तरता दिने र कार्यक्रमिक रुपमा संविधान सभा, प्रजातान्त्रिक अधिकार, संसदको सार्वभौमिकता, दिल्ली सम्झौताको विरोध र राज्यप्रमुखलाई विशेषाधिकार दिन नहुने प्रस्ताव पारित ग¥यो। तर मुख्य नेतृत्वमा पुष्पलाल चुनिन सक्नु भएन। क. मनमोहन अधिकारी पार्टीको महासचिव चयन हुनुभयो। 

त्यसले पार्टीको नीति र नेतृत्वका बीचमा गहिरो अन्तरविरोध देखा प¥यो। पार्टीको पोलिटव्युरो सदस्यसमेत नरहेका डा.केशरजंग रायमाझीलाई अनपेक्षित रुपमा उपमहामन्त्री बनाइयो। त्यसपछि उनीहरुले पार्टीभित्र प्रथम महाधिवेशनद्वारा पारित पार्टीको क्रान्तिकारी नीति कार्यक्रम र कार्यनीतिबारे विवाद सुरु गर्न थाले।

क.मनमोहन अधिकारी उपचारको क्रममा चीन जाने भएपछि रायमाझीलाई पार्टीको कार्यवाहक महासचिव बनाइयो। त्यसपछि पार्टीका रायमाझीको दबदवा सुरु हुन थाल्यो। मनमोहन चीनमै रहँदा २०१४ जेठमा भएको दोश्रो महाधिवेशनमा कावा महामन्त्री रायमाझी पक्ष नै हावी भयो। नेतृत्वमा रायमाझी आए। त्यसपछि पार्टी संशोधनवाद र अवसरवादको दलदलमा फस्न पुग्यो।

नेकपाको नेतृत्व रायमाझीले हत्याएपछि पार्टीमा सैद्धान्तिक रुपमै विचलन आएको निष्कर्ष निकाल्दै जिल्ला पार्टीहरुले केन्द्र सँगको सम्पर्क विच्छेद गर्न थाले। अल्पमतमा परे पनि पुष्पलालले केन्द्रमा बसेर जिल्लाहरुसँग सम्पर्क स्थापित गरी आफ्नो विचार सम्प्रेषण गर्दै उत्साहित बनाउने प्रयास गरिरहनुभयो।

२०१५ सालमा भएको आम निर्वाचनमा नेकपा १०९ निर्वाचन क्षेत्रमध्ये ४८ क्षेत्रमा उम्मेदवारी दियो। जसमध्ये ४ क्षेत्रमा नेकपाका उम्मेदवार बिजयी भए भने राष्ट्रिय सभामा एकजना नेकपाका उम्मेदवार निर्वाचित भए। त्यतिबेला पुष्पलालले चुनावी घोषणापत्र तयार पार्नेदेखि निर्वाचन परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। पार्टीभित्र डा. रायमाझीका गलत विचार र प्रवृत्ति विरुद्ध निरन्तर अन्तर संघर्ष गर्नुभयो। भारतसँग गरिएको १९५० को सन्धि र उत्तरी चेकपोष्टमा राखिएका भारतीय सैनिक फिर्ता गरिनुपर्नेमा पुष्पलालले जोड थियो। 

२०१७ पौष १ गते राजा महेन्द्रले संसद विघटन गरी राजनीतिक दलहरुमाथि प्रतिवन्ध लगाउने घोषणा गरे। जसलाई रायमाझीले ‘प्रगतिशील कदम’ भन्दै स्वागत गरे। क.पुष्पलालले राजाको सो कदमको तीब्र निन्दा र भत्सर्ना गर्नुभयो।

२०१७ सालको फौजी काण्डपछि पार्टीहरु प्रतिबन्धित भए। भूमिगत रुपमै दरभंगामा नेकपाको १ महिना लामो केन्द्रीय समितिको विस्तारित बैठक (प्लेनम) गरियो। सो बैठकमा पुष्पलालले विघटित संसदको पूनस्र्थापना र राजाको निरंकुश शासनविरुद्ध  कांग्रेससँग संयुक्त मोर्चा निर्माणको प्रस्ताव अघि सार्नुभयो। तर, उहाँको त्यो प्रस्ताव अल्पमतमा पर्यो। दरभंगा प्लेनमले ठोस कार्यक्रम नै तय गर्न सकेन। 

पुष्पलालले रायमाझीको दरबार परस्त नीतिको विरोध र भण्डाफोर गर्नुभयो। २०१९ सालमा सम्पन्न तेश्रो महाधिवेशनले रायमाझीको दरबार परस्त विसर्जनवादी प्रभावबाट पार्टीलाई मुक्त पारे पनि राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पारित गरी महामन्त्रीमा क.तुलसीलाल अमात्यलाई चयन गर्यो। पुष्पलाल पुनः अल्पमतमै पर्नुभयो। 
पार्टी पंक्तिमा तेश्रो महाधिवेशनले कुनै उर्जा र प्रभाव दिन सकेन। महाधिवेशनपछि एउटा बैठकसम्म नबसी नेकपाको केन्द्र विभाजित र विघटित हुन पुग्यो। यस बेला अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा चलेको महाविवाद र पार्टीभित्रको अन्तरविरोधको परिणाम तेश्रो महाधिवेशनपछि क.पुष्पलालद्वारा स्थापित नेपाल कम्युनिष्ट पार्टी एकीकृत रहन सकेन। 

तेश्रो महाधिवेशनपछि पार्टी केन्द्र विहीन मात्र बनेन अस्वस्थ वहस र आरोप प्रत्यारोपले मर्यादाका सबै सीमा नाघिए। दोश्रो महाधिवेशनदेखि पुष्पलालसँगै एउटै कमिटीमा रहेर काम गरेका नेता मोहन विक्रम सिंहले पुष्पलालसँग गम्भीर वैचारिक असहमती राख्दै ‘गद्दार पुष्पलाल’ शीर्षकमा पुस्तकनै प्रकाशित गर्नुभयो। पछि पुष्पलालको निधनको वखत सो पार्टीका महामन्त्री रहेका क.निर्मल लामाले ‘क.पुष्पलालको निधनले कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको’ भनेर शोक विज्ञप्ती प्रकाशित गर्दा मोहन विक्रमसहित सिंगो केन्द्रीय कमिटीले महामन्त्री क.लामाको आलोचना गर्ने निर्णय गरेको थियो। 

क.पुष्पलालले पार्टी केन्द्रीय मूखपत्र ‘मुक्तिमोर्चा’ प्रकाशनको जिम्मेवारीमा राखेका नेताहरु जीवराज आश्रित, मोदनाथ प्रश्रित र मदन भण्डारीले पुष्पलाललाई नवसंशोधनवादी, दलाल पूँजीपती वर्गका सहचर, सामन्तवादका गुप्त बन्धु, विस्तारवादका शुभेच्छुक, सामाजिक साम्राज्यवादका अनुयायी, माओविचार धाराका शत्रु, पार्टी एकताका दुश्मन जस्ता १२ वटा अभियोग लगाएका थिए। त्यसपछि पुष्पलाले पार्टी परित्याग गरी कोर्डिनेशन केन्द्रसँग पार्टी एकता गर्नु भयो। यसै अवधिमा चिनियाँ सांस्कृतिक क्रान्तिको सकारात्मक प्रभाव नेपाली कम्युनिष्ट आन्दोलनमा देखिन थाल्यो।

पार्टी पुनर्गठनको पहल
स्पष्ट विचारधारात्मक राजनैतिक कार्यदिशाका आधारमा केन्द्रीय स्तरबाट पार्टी पुनर्गठनको पहिलो संगठित पहल (२०२३) सालमा गोखपुर सम्मेलनमार्फत क. पुष्पलालले गर्नुभयो। त्यस पहलका सैद्धान्तिक मान्यताहरुमा आधुनिक संशोधनवादको विरोध, मालेमा विचारको पक्षपोषण, सामन्तवाद र साम्राज्यवादका विरुद्ध नयाँ जनवादी क्रान्तिको आवश्यकता, दीर्घकालीन सशस्त्र किसान संघर्ष र पार्टीलाई देशव्यापी बनाउनु नै मुख्य थिए। 

२०२४ साल भदौमा पुष्पलालले नेकपाको पुनः संयोजनको प्रयास गर्नुभयो। त्यो भेलाले राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमको सट्टा पुष्पलालको नयाँ जनवादी क्रान्तिको लाइनलाई सही ठह¥यायो। २०२५ सालमा गोखपुरमा पार्टीको तेश्रो सम्मेलन भयो। जसले पुष्पलाललाई पार्टीको महामन्त्री चयन गर्यो। 

केन्द्रीय न्यूक्लियस हुँदै मोहन विक्रम सिंह, निर्मल लामा र मोहन वैधद्वारा नेतृत्व गरिएको समूहबाट कम्युनिष्ट पार्टी पुनर्गठनको अर्को प्रयास सुरु भयो। वहाँहरुले २०२८ सालमा केन्द्रीय न्यूक्लियस गठन गरी २०३१ मा चौथो महाधिवेशन गर्नुभयो।

माक्र्सवादको प्रचार र त्यसलाई स्थापित गर्न गरेको अथक पहल, अनवरत संघर्ष गर्ने इच्छाशक्ति, राजतन्त्रका विरुद्ध गणतन्त्रको पक्षमा लिएको व्यापक संयुक्त मोर्चाको नीति र पार्टी पुनर्गठन गर्न लिएको पहलले क.पुष्पलाल आधारभूत रुपमा सही भएको निश्कर्षसहित कालान्तरमा क.पुष्पलालमाथि लगाइएका आरोपहरुप्रति आत्मालोचना गरिएको हामी पाउँछौँ। क.मदन भण्डारीले २०४४ सालमा सम्पन्न पार्टीको चौथो महाधिवेशनमा क.पुष्पलालले लिएको संयुक्त मोर्चाको नीति सही भएको विश्लेषण सुनाउनुभयो। 

संयुक्त मोर्चा सम्बन्धी नीतिमा क.पुष्पलालका केही कमजोरी देखिए पनि क.पुष्पलाललाई गद्दार भन्नु ठूलो गल्ती थियो भन्ने निष्कर्ष मोहनविक्रम सिंहले निकाल्नुभयो। क.प्रचण्डले पनि पुष्पलालको उच्च मूल्यांकन गरेको पाइन्छ। क.पुष्पलाललाई नेतृत्वबाट विस्थापित गरी कम्युनिष्ट पार्टीलाई ध्वस्त पार्न, कम्युनिष्ट आन्दोलनभित्र प्रायोजित रुपमा घुसपैठ हुन आइपुगेको डा.केशरजंग रायमाझीको धारा आज अस्तित्वमा छैन। 

तेश्रो महाधिवेशनपछि टुटेको कम्युनिष्ट आन्दोलनको कडी विभिन्न काल खण्डहरुमा एकिकृत र विभाजित हुँदै यतिबेला नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को रुपमा क्रियाशील छन्। 

क.पुष्पलाल अध्ययनशील र वैचारिक नेता हुनुहुन्थ्यो। लेनिनको अध्ययन, अध्ययन र फेरि पनि अध्ययनबाट वहाँ अभिप्रेरित हुनुहुन्थ्यो। वहाँले माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र, इतिहास, भूगोल, समाजशास्त्र र संस्कृतिको गहिरो अध्ययन गर्नु भएको थियो। पुष्पलालले माक्र्स, एङ्गेल्सद्वारा रचित कम्युनिष्ट पार्टीको घोषणापत्रको नेपाली भाषामा पहिलो पटक अनुवाद मात्र गर्नु भएन, नेपाली क्रान्तिमा त्यसको महत्वसहितको वेजोड भूमिकासमेत लेख्नुभयो। 

नयाँ जनवादी कार्यक्रम, नेपाली क्रान्तिको मूलबाटो, नेपालको मातृसत्तात्मक समाज, नेपाली जनआन्दोलन एक समीक्षा, नेपाल कम्युनिष्ट पार्टीको १८ वर्षको सिंहवालोकन एवं समीक्षा, नयाँ जनवादी संस्कृति, दस्तावेजको अध्ययन कसरी गर्ने, नोट्स् अफ् कम्युनिष्ट मुभमेन्ट इन नेपाल, नेपाल नाम कसरी रहन गयो जस्ता अमूल्य कृतिहरु हामीलाई पुष्पलाले दिनुभएको छ। 

उहाँले नेपाली क्रान्तिका आधारभूत सिद्धान्त, कार्यक्रम र नीति निर्माण गर्नुभयो। नेपाली समाजको चरित्र अर्धसामन्ती, अर्ध औपनिवेशिक रहेको तथ्य उजागर गर्नुभयो। नेपाली क्रान्तिको चरित्र निरुपण, क्रान्तिको लक्ष्य निर्धारण, क्रान्तिको बाटो, मित्रु र शत्रु पहिचान जस्ता नेपाली क्रान्तिका विचारधारात्मक समस्या हल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। 

नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा लेखन, प्रकाशन लगायत कयौं विचारधारात्मक एवं विश्लेषणात्मक रिपोर्ट र दस्तावेजहरु लेखन गरी पुष्पलाले नेपालको कम्युनिष्ट आन्दोलनमा वैचारिक रुपमा महत्वपूर्ण योगदान दिनुभएको छ।

कम्युनिष्ट पार्टीको संगठनात्मक क्षेत्रमासमेत उहाँको ठूलो योगदान छ। वहाँ संगठनलाई क्रान्तिको साधन ठान्नु हुन्थ्यो। स्वयं कुशल संगठकसमेत हुनुहुन्थ्यो। राणा शासनको अन्त्य गर्न वि.सं. १९९८ मा भूमिगत रुपमा प्रजातन्त्र संघको निर्माणमा पुष्पलालले गर्नुभएको योगदान, गणतन्त्रको माग अघि सार्दै १९९९ मा गठित अखिल नेपाल वर्ग सभाको गठन, राणाशाहीको विरुद्ध नेपाल राष्ट्रिय कांग्रेसको संगठन विस्तार, पेशागत संगठनहरुको परिकल्पनामा पुष्पलालको ठूलो योगदान छ। 

सादा जीवन, उच्च विचार
पुष्पलालको जीवन शैली सादा थियो, बिचार भने उच्च। उच्च बिचार र कठोर परिश्रम उहाँका विशेषता हुन्। वहाँको जीवन आर्थिक रुपमा अभावै अभावमा बित्यो । व्यक्तिगत सम्पत्तिको मोहमा कहिल्यै लाग्नुभएन। पार्टी संगठन, कार्यकर्ता र जनताको निम्ति नेताको सम्पूर्ण जीवन अर्पित हुनुपर्ने, नेताको दोहोरो जीवन प्रणाली हुनु नहुने, निष्ठा, त्याग र वलिदानको राजनीति गर्नुपर्ने वहाँका मान्यताहरु हुन्। 

राजनैतिक र सैद्धान्तिक रुपमा जति नै तिक्ततापूर्ण विवाद भए पनि उच्च राजनैतिक संस्कार भएको कारण व्यक्तिगत रुपमा सबैप्रति वहाँको सद्भाव र सम्मान पाइन्थ्यो। असाध्यै सरल, अध्ययनशील, मिलनसार, मेहनती, सहनशील, अविचलित र उन्नत संस्कृतिको विशेषताहरुबाट युक्त नेता हुनुहुन्थ्यो पुष्पलाल।

पुष्पलालका कमजोर पक्ष
कम्युनिष्ट पार्टीका अन्य संस्थापक सदस्यहरु जो पार्टीको योजनामा संगठन र संघर्षको मोर्चामा क्रियाशील थिए, उहाँहरुलाई पार्टी स्थापनापछि केन्द्रीय समितिमा नराख्नु उहाँको सबैभन्दा गम्भीर कमजोरी थियो। जसको कारण पार्टी स्थापनाको दुई बर्षमै पुष्पलाललाई पोलिटब्युरोको बैठकले महामन्त्रीबाट हटायो। त्यसपछि उहाँ पार्टीभित्र लगातार अल्पमतमा पर्न थाल्नुभयो।

पुष्पलालले प्रथम, द्वितीय, तृतीय महाधिवेशनमा मूलतः गणतन्त्र र नयाँ जनवादी क्रान्तिको पक्षमा वहस गर्नुभयो। तर तत्कालीन अवस्थामा पार्टी भित्रका संशोधनवादी एवं दरवार परस्त नेतृत्वका विरुद्ध समयमै निर्णायक सम्बन्ध विच्छेद गरी पार्टी निर्माण र पुनर्गठन भने गर्न सक्नुभएन।

२०१७ सालको फौजी काण्डपछि राजाको निरंकुश शासनको विरुद्ध नेपाली कांग्रेस सहितको संयुक्त मोर्चा निर्माण गरी संघर्ष गर्ने र प्रहारको निशाना बनाउने पुष्पलाले कार्यनीति असाध्यै सही थियो। तर, त्यो हुँदा हुँदै पनि नेपाली कांग्रेसको वर्ग चरित्र अन्तर्राष्ट्रिय पुँजीवाद र सामन्तवाद परस्त रहेकोले कम्युनिष्टहरु शक्तिशाली भएपछि मात्र कांग्रेस लत्रिएर प्रजातान्त्रिक आन्दोलनमा सहकार्य गर्न आउने कुरा बुझ्न नसक्नु उहाँको अर्को कमजोर पक्ष हो।

(बराल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .