बेमौसमी झरीपछि हङकङको आकाश छ्याङ्ग उघ्रिएको छ। मूलभूमी चीनको चुहाई मकाउको घेरो र क्यासल पिकपछाडि सेन्जेन सहरका गगनचुम्बी भवनका धुरी समेत देखिएका छन्। कोभिडको कहरबाट तंग्रिदै गर्दा चेक लाप कोक विमानस्थलमा करिब तीन वर्षको अन्तरालपछि एमिरेट्स वायुसेवाको सबैभन्दा ठूलो यात्रुवाहक एअरबस ३८० का २२ वटा पांग्राले हङकङको जमिन छुँदा समाचार बन्यो यसपालि।
४६ तलाको बासस्थानको आधुनिक आँखिझ्यालबाट हङकङ अन्तर्राष्ट्रिय विमानस्थलतिर हेर्दै गर्दा १२ वर्ष अगाडि प्रतीक्षालयबाहिर बालाई अन्तिम पटक लिन पुगेको झलझली याद आयो।
२०६८ असोज २१ गते दसैँको टीकाको भोलिपल्ट पृथ्वी ग्रहको ८४ वर्ष ५ महिना २२ दिनको यात्रा पुरा गरेर बा परलोक प्रस्थान गर्नु भएको ११ वर्ष भएछ। घरको भित्तामा झुन्डिएको वहाँको सानो आफ्नै निवास छ, आमासँगै त्यो बेलादेखि। अक्सर सपनामा भने आउनुहुन्छ अनि कुरा हुन्छ मसँग। सधैँ बिहान बेञ्जुले पुजा गर्दा वहाँहरुलाइ पनि एक अम्खोरा पानी चढाएर मैनबत्ती बाल्छिन्। म भने आजकल पदयात्रामा हङकङका समुद्री तट वा खोलानालामा पुग्दा बाआमा र अन्य परलोक भएका सबै आफन्तको जीवित हुँदाको आकृति सम्झिएर अञ्जुलीले पानी अर्पण गर्ने गर्छु।
नढाँटी भन्दा यो हामीले चढाएको पानी र मैनबत्ती बाल्दा बाआमा र आफन्तहरुको आत्माले शान्ति पाउँछ या पाउँदैन थाहा छैन। तर यसो गर्दा शान्ति महसुस हुन्छ मलाई चाहिँ।
उसैपनि पशुपति आर्यघाटमा आफ्नै आँखाअगाडि आमाबा खरानी र धुँवामा परिणत भएको साक्षी हुँ म क्रमशः २५ र ११ वर्ष अगाडि। वहाँहरुलाई जलाएर बचाइएको नैनसुत कपडामा गाँठो पारेको सानो अस्थिको पोको पनि घाटे पण्डितको आदेशमा म आफैँले बागमतीमा बगाएको थिएँ। मभन्दा दशक नै बढी उमेर भएकाहरुले पनि दसैँमा आआफ्ना बाआमासँग टीका थापेर हामी तीन या चार पुस्ता सँगै भनेर तस्बिर सामाजिक सञ्जालमा देख्दा नरमाइलो लाग्छ। म चाहिँ यो अवसरबाट किन बञ्चित? किन यो सजाय? म आफैँलाई प्रश्न गर्छु।
मानिस मरेपछि कहाँ जान्छ, के हुन्छ, त्यो आफैँ नमरी थाहा हुँदैन। सबै धर्म, सम्प्रदाय, राजनीतिक वाद, जातजाति, आआफ्ना धार्मिक, दार्शनिक, तार्किक डम्फु बजाउँछन्। त्यसैले त क्षेत्रप्रताप अधिकारीको कवि मन फुरेको रहेछ।
जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ।
हो एकदिन म पनि मर्छु र पालैपालो हामी सबै। अक्सर बाको याद आउँदा भने म वहाँका कविताका पुस्तकहरु पल्टाएर हेर्छु। पढदै गर्दा बाको आत्मा भेट्छु, मलाई नै सुनाएझैँ लाग्छ चार दशक बितिसके पनि। कालजयी, भविष्यद्रष्टा र अमर लाग्छन् मलाई सबै खासगरी देशको अहिलेको परिवेशमा।
दुई हजार छ साल हो फागुन हो मैना
तेइस गते बिहिबार तिथी थाहा छैन
लामिडाँडा केवलपुरमा नयाँ पाइला सारेँ
हलो जोत्न हुन्छ भन्दै गोरू मैले नारेँ।
करिब २०३२ साल तिर केवलपुरमा घरको पिँढीमा बसेर बाले यी गीतका हरफ सुनाउँदा म ११ वर्षको थिएँ होला। जहिल्यै लेखिसकेपछि बालाई म सुनाउनु भन्थेँ, वहाँ भाका हालेर सुनाउनु हुन्थ्यो। अझै सम्झना छ, यी हरफपछि मैले भनेँ, ‘बा अब कविता पछि है, कथा भन्नुस पहिले।’
वहाँले सुनाउनुभएको थियो।
‘ल सुन् है छोरा, म बाइस वर्षको थिएँ र गाउँमै शंङ्खप्रसाद गुरुपछि सबैभन्दा धेरै पढेलेखेकोमा मानिन्थेँ। त्यो दिन दिउँसो १२ बजेतिर मैले मेरा तीनजना ब्राम्हण जातकै साथीहरूलाई बोलाएर भनेँ– ‘जातपात केही पनि होइन सबै अन्धविश्वास हो। गोर्खापत्रले नै हलो जोतेर जात जाँदैन भनेर छापिसक्यो। अब हामी पनि मिहिनेत गर्नुपर्छ, गोरु जोत्न पनि सिक्नु पर्छ।’
‘अनि ठूलो पाटोमा हल गोरु नारेँ। हामी सबै जनै फुकालेर हलो जोत्न थाल्यौँ। यो देखेर सबै गाउँले एकएक गर्दै जम्मा भए। जेठाबाले आत्तिँदै आएर गोरु फुकाइदिनु भयो। यो खबर भुसको आगोझै गाउँ र जिल्लाभरि फैलियो। देशभर राणा शासन विरुद्धको आन्दोलनले पनि उचाइ लिंदै थियो त्यो बेला।
तेसको केही दिनपछि त्यतिबेला पश्चिम १ नम्बर भनिने नुवाकोट र धादिङका राणाकालका बडाहाकिम तोयनाथ गौतम गाउँमा आए। चिउरी पाटीको चौतारोमा ठूलो कचहरी बस्यो। अब तिमीहरूले बाहुन भएर हलो जोतेर ठूलो गल्ती गर्यौ, धर्म नष्ट भयो। सबैले कान समातेर सार्वजनिक माफी माग्ने अनि बडाहाकिम साहेबले सबैलाई पण्डितले विशेष मन्तरेको जनै लगाइदिने अनि बडाहाकिम सहित सामूहिक भतेरमा तिमीहरूलाई सरिक गराए पछि जात पुनः फर्किने र भात चल्ने बनाउने बताए। साथीहरू डराएर माने, म भने चुपचाप उभिइरहेँ। बडाहाकिमको अगाडि माफी नमागेपछि उनैले ‘केही भन्नु छ तेरो’ भनेपछि मैले भनेँ– मैले जे गरेँ ठीक गरेँ। जनै निकाल्दैमा हलो जोत्दैमा जात चराझैँ भुर्र उडेर जाने अनि जनै लाउँदा फर्केर आउने पनि होइन। मलाई जातमा विश्वास छैन फिर्ता पनि चाहिएन जात।
सबै मुखामुख गर्न थाले अनि जेठाबाले मलाई चिमोटेर पर लगेर लौ अब तैंले गर्दा हामीले समेत गाउँमा बस्न मुस्किल हुने भो। बरु तँ केही समयको लागि काठमाडौँतिर जा भन्दै एक मोहर मेरो इस्टकोटको खल्तीमा हालिदिनु भो। मैले नजान्दै बाआमा बितेपछि उनै जेठाबाले मलाई टुहुरो भनेर माया गरेर हुर्काएकोले म वहाँलाई अप्ठ्यारो पार्न चाहन्नथेँ। त्यसैले अनि म गाउँ छोडेर काठमाडौं सहरतिर लागेँ।’
त्यसपछि बाले फेरि कविता सुनाउन थाल्नुभयोः
हल्लाखल्ला ठूलो चल्यो धादिङ जिल्ला भरि
पुरेत र पण्डित मलाई हेर्थे आँखा तरी
देवीप्रसाद उल्लु रेछ भन्थे ठूलाठालु
बाहुन भै हलो जोत्ने मान्छे हैन भालु!
चेलीबेटी माइत आए आफैँ पकाइ खाने
सराद्धेमा पुरेत आए भोकै घर जाने
गर्नु गर्यो यो हलोले लेखी साध्य छैन
त्यो बेलाको चलनमा सानु क्रान्ति हैन
त्यसपछि देश निकाला मैले हुनुपर्यो
केही वर्ष मेरो बास बनारसमा सर्यो।
मैले बुझ्ने भएपछि थाहा पाएँ, यो हलो क्रान्ति नेताहरुले जस्तो चुनावमा भोट या राजनीतिक फाइदा वा जनताको भावनात्क मनोभावनाबाट फाइदा उठाउनको लागि नभएर जातीय विभेदविरुद्ध उहाँले चालेको एउटा निस्वार्थ, आँटिलो कदम रहेछ। त्यसैले वहाँ गाउँमा बस्न सक्नुभएन र सहर पसेर राणाशाहीविरूद्ध आन्दोलनमा सक्रिय हुनुभएछ।
देशमा गणतन्त्र आइसक्यो।
‘हाम्रो पार्टी देशका पिछडिएका, अन्यायमा परेका जनजाति, दलित, महिला, मधेशी, गरीब र समग्र सबैको मुक्तिको लागि’ भन्ने थेगो सबै नेताहरुको मुखमै झुन्डिएको छ, खासगरी चुनावको बेला।
तर अझै पनि दलितलाई एउटा कुवा, धारा या इनारको पानी लिन जाँदा कुटपिट गर्ने, बहिष्कार गर्ने, वृद्ध महिलालाई बोक्सीको आरोपमा दिसा खुवाउने, हातपात गर्ने र ज्यान लिनेसम्मका घटना भइरहेकै छन्। अन्तरजातीय विवाह गर्दा जीवन नै गुमाएका छन् कतिले। कयौँ मन्दिरमा दलितलाई प्रवेश निषेध छ अझै।
तर पनि त्यो बेलामा वहाँले त्यत्रो आँट कसरी गर्नुभयो? अचम्म लाग्छ सम्झँदा। पिताजीको निधनपछि तत्कालीन प्रधानमन्त्रीको हैसियतमा समवेदना दिन हाम्रो घर आएका बाबुराम भट्टराईले घरको बैठकमै पत्रकारहरूको अगाडि भनेका थिए, ‘हामीले जनयुद्धकालमा उठाएको हतियारभन्दा कता कता ठूलो मिसाइल थियो, त्यो बेलाको केवलपुरे किसानको हलो क्रान्ति।’
तिथिमिति यकिन भएन, सायद २०३३–३४ सालतिर हुनुपर्छ बासँग म काठमाडौं गएको थिए। वि.सं २००४ सालमा जयतु संस्कृतम छात्र आन्दोलनमा लागेर देश निकाला हुँदा बासँगै निकालिएर बनारस बसेका कमलराज रेग्मीले बालाई उनको निवासमा भेट्न बोलाए। ०१७ सालको घटनापछि पञ्चायतलाई समर्थन गरेर उनी गाउँ फर्क राष्ट्रिय अभियानको माथिल्लै पदमा आसीन थिए क्यारे। बालाई माया पनि गर्थे। झम्सीखेलको घरमा बिहानको खाजा खाँदै उनले बालाई भने, ‘बाबु, यो प्रगतिशील, क्रान्तिकारी कविता सविता लेख्नुभन्दा एउटा वक्तव्य निकालेर पञ्चायतलाई समर्थन गरौँ, म दरबारका मान्छेसँग परिचय भेट गराउँला। कतै राम्रै जागिर, पदको मेसो आइहाल्छ। यी छोराछोरीको भविष्य राम्रो हुन्छ।’
त्यसो भन्दै उनले मतिर देखाए।
बाले उनलाई भन्नुभयो, ‘कमलराजजी मेरो कपाल फुल्न थाल्यो। यो उमेरमा दरबारको चाकडी गरेर पद पैसा कमाउनु खै मेरो त मनै मान्दैन। गाउँमा मास्टरको जागिर र खेतीपातीले जीविका चलेकै छ।’
बासँगका यस्ता अनगिन्ती सम्झनाका तरेलीहरु छन्। एउटा ठूलो किताब बन्छ सबै लेखे। आमाको निधनपछि बा एक्लो हुनुभयो। वहाँले ‘आँसुको पोखरी’ भन्ने शोककाव्य लेख्नुभएछ। आँसु झार्दै पढेँ। पर्यटक भिसामा हङकङ आउँदा झन्झटिलो हुने भएकाले हङकङ आईडी कार्ड बनाइदिएँ।
वहाँ भन्नुहुन्थ्यो, ‘छोरा त्यही समुद्र, त्यही पार्क कसैको भाषा बुझिन्न। नेपालमा समय कटाउन सजिलो हुन्छ। हप्तैपिच्छे कतै न कतै कार्यक्रममा बोलाउँछन्। भाइबुहारीले राम्रोसँग हेरचाह गरेकै छन्।’
ठीकै थियो, चल्दै थियो। वहाँ एक्कासि बिरामी परेर कठमाडौँ मोडल अस्पतालमा भर्ना भएपछि डाक्टर सरोज धितालसँग कुराकानी भयो।
‘कमलजी, बुबालाई प्रोस्टेट क्यान्सर भएको छ, यो उमेरमा किमोथेरापी दिनु भनेको अरु दुःख दिनु हो। अब बाँचुञ्जेल खुसी राख्ने है बालाई!’
यी शब्दहरु तीखो वाणझैँ कान हुँदै मस्तिष्क र मुटुमा बिझे।
नियमित जाँच र औषधिउपचार गर्दै केहीवर्ष बित्यो। भक्तपुर क्यान्सर अस्पतालले रिपोर्ट दिएपछि भाइले फोन गरेर मलिनो स्वरमा भने, ‘खै दाइ यहाँको उपचार त सकियो भन्छन् डक्टर के गर्ने?’
अब अन्तिम उपाय हङकङमा बोलाएँ, केही तातोपानी लागिहाल्छ कि भन्ने सोचाइ आयो। सधैँ पिताजीलाई विमानस्थलमा लिन जाँदा र त्यो दिनमा आकाशजमिन फरक थियो। सहयात्री मित्र जगन्नाथ ज्ञवालीसँग बा अध्यागमनबाहिर निस्कनुभयो। दर्शन गर्ने, गोडा छुने ढोगभेटलाई बा सामन्ती चलन भन्नुहुन्थ्यो। मैले बाको हातमा स्पर्श गरेँ बाले मेरो कुम मुसार्नु भयो। धेरै दुब्लाउनु र गल्नु भएको रहेछ। एअरपोर्ट बसमा चढ्दै गर्दा दुई वटा अक्टोपस कार्ड सुँघाएँ।
मलाई सोध्नुभयो, ‘हैन के यो खुद्रा पैसा हाल्न पर्दैन?’
मैले भनेँ, ‘यो सुँघाए हुन्छ, आजकल पैसा यसैमा हुन्छ।’
जिब्रो टोक्दै भन्नु भयो, ‘देश विकास हुन सबैभन्दा ठूलो वाद त इमान्दारवाद, नैतिकतावाद र अनुशासनवाद भए पुग्ने रहेछ।’
घर पुगियो। राति धेरैबेर बाउछोरा साहित्य र देशको राजनीतिबारे गफियौँ। अक्सर कवितामा सटिक उत्तर दिने वहाँको बानी थियो। राजनीतिबारे बाले कवितात्मक टिप्पणी गर्नुभयोः
‘उल्ले उल्लाइ उडायो उल्ले उल्लाइ उडायो
कार्यकर्ता भोकै छन नेताले मोटर गुडायो।’
हङकङमा निजी अस्पताल अकल्पनीय महङ्गो, सरकारी राम्रो भए पनि लामो समय कुर्नुपर्ने। बल्लतल्ल कोङ्गवा अस्पतालमा सबै कागजात देखाएको करिब पाँच महिनापछिको समय पाइयो। निकै तनाव भयो। एकजना भारतीय मित्रले उपाय सुझाए, त्यसै गरेँ।
बेलुकी आठ बजेतिर आपतकालीन नम्बर ९९९ मा फोन गरेको करिब दस मिनेटमै एम्बुलेन्ससहित स्वास्थ्यकर्मी आइपुगे। सोधे, के भयो?
‘हि इज क्यान्सर पेसेन्ट एन्ड सडेन्ली अन्कन्सियस फर अ ह्वाइल।’
नेपालका सबै कागजात झोलामा तयार थियो, बासँगै एम्बुलेन्समा बसेँ म पनि। क्विन एलिजावेथ अस्पतालको आकस्मिक कक्षमा जाँचपछि नेपालको कागजात हेर्ने बित्तिकै भर्ना गरिहाले, केही आशा पलायो। भोलिपल्ट बिहानै ठूलो आश लिएर अस्पताल पुगेँ। नर्सिङ स्टेसनकी नर्ससँग कुरा गरेँ। उनले भनिन्, ‘सबै परीक्षणको रिपोर्ट आज दिउँसोसम्म आइपुग्छ। युरोलोजिकल चिफ सर्जन डक्टर चाउसँग बेलुकी ६ बजेपछि भेट्नुस्।’
केही तातोपानी लाग्ला त छोरा भन्दै बा खिसिक्क हाँस्नुभयो, लागिहाल्छ नि, किन नलाग्नु भन्दै म जाउलो खुवाएर हिँडेँ।
बेलुकी ६ बजे पुगेँ। सबै बिरामीहरु हेर्दै डा. चाउ आइपुगे। परीक्षणको ठूलो फाइल पल्टाउँदै उनले लामो समयको प्रोस्टेट क्यान्सरले अगाडिको पिसाबनलीमा ट्युमर बढेको र त्यसलाई खुर्केर या पाइप राखेर सहज गर्ने नभए अपरेसन गरेर पछाडि कम्मरबाट पाइप राखेर सधैँको लागि पिसाबथैली झुण्ड्याउनु पर्ने राय राखे। केही आशा केही निराशा। बा जसरी पनि बाँच्नै पर्छ भनेर मैले स्वीकार गरेँ।
पिताजीले राम्रो अंग्रेजी नबुझ्ने भएपछि बिरामीसँगै मलाई अपरेसन कोठामा लैजान हङकङको हस्पिटल अथ्योरिटीसँग अनुमति लिनुपर्ने रहेछ। त्यसको स्वीकृति आएपछि अपरेसनको समय तय गर्ने बताए डक्टर चाउले। उनलाई धन्यवाद दिँदै पिताजीसँग गफिएँ।
बाले सोध्नुभो, ‘के भन्छन् त डाक्टर?’
‘किड्नीमा फोहोर छ अरे सफा गर्नुपर्छ। एक दुई दिनमै अपरेसन गर्ने अरे अनि ठीक हुन्छ रे।’
केको पत्याउनु!
अनि गुनगुनाउनुभो, हरेक मान्छेको माथि जाने एउटाएउटा बहाना भन्दै। नजिकैको खाली बेड देखाउँदै भन्नुभो, ‘हिजो राति १२ बजेतिर एउटा बुढालाई ल्याएका थिए, बिहान चार बजेतिर सुइँकियो, कालो ब्यागमा पोको पारेर लगिहाले एकैछिनमा। मेरो पनि के भर!’
मैले ढाडस दिने कोसिस गरेँ। तर अचम्मको कुरा, वहाँलाई मृत्युसँग डर थिएन।
करिब दुई दिन पछि अस्पतालबाट फोन आयो। भोलिपल्ट बिहानै पुगेँ। आठ बजे अप्रेसनको तयारी रहेछ।
डाक्टरको जस्तै कपडा फेरेर म पनि अपरेसन कक्षभित्र उभिएँ। एउटा ठूलो कोठाको चारतिर सिकारू डाक्टरहरु अवलोकनको लागि उभिएका हुँदा रहेछन्। तीन जना नर्सहरू तयारी गर्दै थिए। पिताजीलाई बेहोस नगराई डक्टर चाउले औजारहरू निकाले। यसो गर्दा वहाँलाई दुख्छ भन्ने लागेर मैले बेहोस नगरी वहाँलाई दुख्छ होला भनेँ। डाक्टरले अलिअलि त दुख्छ तर वहाँको मुटुको चाल र रक्तचाप पनि सामान्य छ, बेहोस गर्न जरुरी छैन भने।
करिब एक घण्टा कोसिस गर्दा पनि अगाडिको पिसाब नली खुलाउने प्रयास सफल भएन। पिताजी छोरा दुख्यो, दुख्यो भन्दै हुनुहुन्थ्यो।
‘किड्नी सफा गरेको, एकैछिन हो दुख्ने,’ म झूटो बोलिरहेको थिएँ।
अब डाक्टर चाउले अगाडिको पिसाब नलीमा ट्युमर बढेकोले पछाडि कम्मरबाट पाइप राखेर सधैंको लागि पिसाब आउने ब्याग राख्नुबाहेक अरु उपाय नभएको बताए। मैले स्वीकृति त दिएँ तर पिताजीलाई कसरी बताउने! मनमनै भनेँ, जे होस् बा बाँच्नुपर्छ बस।
अपरेसन करिब तीन घण्टा लाग्ने र वहाँको स्वास्थ्य स्थितिले अहिले नै गर्ने बताए। कोठामा भएका सबैले लुगा फेर्नु पर्ने रहेछ फेरि। अर्को बेड र औजारहरू आइपुगे तुरन्तै। बालाई घोप्टो पारेर ठूलो जेलीको जस्तो नरम डल्लोमा सुताइयो। पछाडि ढाडमा नदुख्ने औषधि लगाएर रेडियोको एरियल जस्तो औजारले पछाडिको भागमा प्वाल पारेर सियोमा धागो उनेझै ससाना रौं जस्ता पाइप ठूलो कम्पुटर स्क्रिनमा हेर्दै दुवै किड्नीको मुखमा छिराए। यसरी परिस्थितिले गर्दा अत्याधुनिक चिकित्सा विज्ञानको साक्षी भएँ म।
पिताजीले युरिन ब्यागतिर देखाएर सोध्नुभयो, ‘यो के हो?’
मैले भनेँ, ‘किडनीको फोहोर सफा भएपछि निकाल्ने।’
बासँग फेरि झुट बोलेँ मैले। जे होस अपरेसन सफल भयो।
अझै दुई हप्ता अस्पतालमै रहनु पर्ने भयो। डाक्टर चाउ र उनको टिमलाई हात जोरेर धन्यवाद दिएँ।
बालाई अस्पतालमा दिइने चाइनिज खाना मन पर्दैनथ्यो। बेञ्जु गर्भवती थिइन्। त्यसैले म हरेक दिन बिहानबेलुका भेटने समयमा खाना लिएर जान्थेँ।
देशविदेशका समाचार सुनाउँथेँ, गफिन्थेँ। एकदिनको घटनाले पिताजीले आँसु झार्नुभयो निकैबेर। बाको बेडको पल्लोपट्टि अलि भीड थियो, एकजना वृद्धलाई माया मारेर भेन्टिलेटरमा राखिएको थियो। परिवार र आफन्तहरूले भेन्टिलेटर निकाल्न स्वीकृति दिएछन्। तर बाहिरदेखि नै श्रीमती डाँको छाड्दै आइन् र पतिलाई मुसार्दै सबैलाई भनिन्, तिमीहरु जाओ जाओ, जतिन्जेल सास रहन्छ म कुर्छु एक्लै, भन्दै लोग्नेको गोडामा घोप्टिएर सुँक्कसुँक्क गरिरहिन् धेरैबेर। सायद बाले आमालाई सम्झिनुभएको होला भन्ने सोचेँ।
डिस्चार्ज भएको दिनमा डा. चाउसँग संक्षिप्त कुराकानी भयो। एउटा किड्नी सुकिसकेको र अर्को पनि आधी मात्र कामलाग्ने भएकोले अब करिब एक वर्षको मात्र समय छ भने।
अरु रोगीहरुजस्तो कचकच नगर्ने हाँसि मात्रै रहने बालाई नर्सहरुले सुमुसुम्याएर बिदा गरे।
कति बिल आयो त छोरा बाले सोध्नुभो। ४६०० हङकङ डलर अपरेसन चार्ज र २६ दिन बसेको बेडचार्ज सबै गरेर नेपाली करिब ५० हजार रुपैयाँ।
‘तपाईंको उमेर र हङकङ आईडी भएर छुट भएको हो नत्र ४०–५० लाख नै लाग्छ,’ मैले भनेँ।
यस्तो देश पो देश भन्दै अस्पतालको चारैतिर हेर्नुभो।
घर पुगेर ढोकाबाट छिर्दै गर्दा बेञ्जुले बा ठिक छ नि सबै भनेर हात समाउँदै गर्दा के ठिक के बेठिक हङकङले बाँच्नलाई दिएको गहना भन्दै युरिन ब्यागतिर देखाउनु भयो। के को पत्याउनु मेरो कुरा।
करिब एकमहिनाको फलोअप सकिएपछि डाक्टरको सल्लाहमा बालाई लिएर काठमाडौँ गएँ।
‘वन किड्नी नो मोर वर्किङ, वन हाफ हाफ’ भन्ने डाक्टर चाउको भनाइले मलाई चिमोटी रहन्थ्यो। ड्रेसिङ फलोअपको सबै बताएर भाइ बुहारीलाई जिम्मा दिँदै म हङकङ फर्कें। फोनमा अक्सर कुरा हुन्थ्यो। एकदिन के छ बा भनेको त कविता भनौँ भन्नुभो।
भन्नुस्, मैले भनेँ।
घरको भित्तो समातेर घर भित्रै घुम्छु म फनफनी
लडेमा उठाउने मान्छे यो घरमा छैन है क्वैपनि!
अनि फेरि भन्नुभो, ‘छोरा पीर नगर है भाइ बुहारीले राम्रोसँग हेरबिचार गरेका छन्। उनीहरू बाहिर गएका छन् अहिले, त्यै भएर। एक्लै हुँदा कहिलेकाहीँ यो कवि मन अलि निराशा लाग्दो रहेछ। मान्छे भेट्न आइरहन्छन्, युरिन ब्याग देखाएर यो के भन्छन्। हङकङले बाँच्नको लागि दिएको गहना भन्छु म।’
‘म दसैँमा आउँछु यसपालि,’ मैले भनेँ।
सोही वर्ष जन्मेकी छोरी कायालाई हङकङमा पहिलो टीका लगाएर काठमाडौँ जाने तयारी गर्दै गर्दा भाइको फोन आयो, ‘बाले हिजो अलिकति रगत उल्टी गर्नुभो।’
बीएन्डबी अस्पतालमा आईसीयूमा राखेको छ। यसै भन्न सकिन्न, जतिसक्दो चाँडो आउनुपर्ला। भोलिपल्ट जान टिकट त काटिसकेको थिएँ। अब बालाई भेट्न नपाइने भो त? समय तालिकाभन्दा दुई घण्टा ढिलो जहाज उड्यो। जहाजभरि त्यति छट्पटी कहिल्यै भएको थिएन।
विमानस्थल बाहिर त्यतिबेलाका बीएन्डबी अस्पतालकै अर्थोपेडिक सर्जन भान्जा विज्ञान भण्डारी लिन आएका रहेछन्। उनले सामान गाडीमा राखेर गाडी चलाउन थाले। हङकङका डाक्टर चाउले मेक्सिमम वन मोर इअर भनेको समय पुरा भैसकेको थियोे। मैले भान्जालाई सोध्ने आँट गरिनँ। सिधै आईसीयूमै लिएर गए मलाई।
अक्सिजन मास्क र सलाइन पानीका पाइपहरु अझै निकालेको रहेनछ, मैले भान्जातिर हेरेँ। उनले बिस्तारै एकघण्टा जतिअगाडि हो मामा भनेर नर्सहरुतिर इसारा गरे। नर्सहरुले हङकङमा त्यत्रो दुःखले लगाएको कम्मरको युरिन पाइपदेखि सबै पाइप चट्चट् कैँचीले काट्न थाले। दुई घण्टा जहाज ढिलो नभएको भए भेटन पाउने रहेछु।
‘ल है छोरा तिमी ढिलो आइपुग्यौ, म चाहिँ लागेँ है अब’ भनेजस्तो बाको आवाजको प्रतिध्वनि महसुस गर्दै म भक्कानिएँ। भाइपनि पछाडि सुँक्कसुँक्क गरेपछि म सम्हालिएँ।
अब बाँकी काम भोलि गर्ने भन्दै तल एकाउन्टमा हिसाबकिताब गर्न ओर्लियौं।
एकैछिनमा बालाई सेतो कपडाले बेरेर ट्रलीमा गुडाउँदै बाहिर लाँदै थिए।
म पछि लागेँ र सोधेँ, ‘कहाँ लान लगेको?’
‘शवगृहमा।’
अस्पतालको पछाडिपट्टि सानो टिनले छाएको घर रहेछ। ट्रलीसहित बालाई त्यहीँ छाडेर ताला मारेर उनीहरु फर्किए। मैले सिसाको झ्यालबाट बालाई हेरेँ निकैबेर।
सिरक, डसना, तकिया, नजिकैको टेबल, पानीको करुवा, घडी, चस्मा, पत्रपत्रिका, किताब, कापीकलम केही छैन। बा अब शव नै हुनुभयो त साँच्चै? आफैँलाई प्रश्न गरेँ। पछाडिबाट भाइले कोट्याए, ‘घर जाउँ अब।’
पहिलो पटक हङकङबाट जाँदा बा ढोकामा नआएको दिन थियो त्यो। बाको कोठामा पस्यौँ। भित्तामा एउटा कुनै साहित्यिक संस्थाले बाको तस्बिरसहित छापेको क्यालेन्डर सहितको फोटोलाई हेरेँ निकैबेर। बाका सबै सामान, ओछ्यान जस्ताका तस्तै।
वहाँको निधनबारे बेलुकीदेखि नै एफएमहरुले समाचार फैलाएपछि तारन्तार फोन आइरहेका थिए भाइको मोबाइलमा।
‘झलनाथ खनालको निजी सचिवले भोलि कमरेड झलनाथ पार्टीको झण्डा लिएर ओढाउन आर्यघाट आउने भन्दैछन्, के भनौँ?’ भाइले सोधे। उनी एमाले पार्टीका महासचिव थिए त्यो बेला।
मैले भनेँ, ‘आउँदा हुन्छ तर पार्टीको झण्डा हैन फूल लिएर।’
थला परेर बाँचुन्जेल कविजी के कस्तो छ तपाईंलाई भन्न कोही आएनन् पार्टीबाट। सास जानेबित्तिकै हाम्रो मान्छे हो है यो भनेर झण्डा ओढाउन हतार।
बिहान ६ बजे नै बीएण्डबी अस्पतालतिर लाग्यौँ। बाका साहित्यिक शुभचिन्तकहरुले बाको शव ल्याएर शवयात्राको तयारी गर्दै रहेछन्। भिडिओ क्यामरा बोकेका अन्य छापा र एफएम पत्रकारहरुको बाक्लै चहलपहल थियोे।
माओवादी पार्टीको तर्फबाट आर्यघाटमा आउन समय नमिलेकोले मन्त्रीे नारायणकाजी श्रेष्ठ कमरेड आउँदै रे एकछिनमा भन्ने सन्देश ल्याए एकजनाले। झण्डा हल्लाउँदै आएका कमरेडले बालाई माला लाइदिएर पत्रकारहरुसँग कुरा गर्दै बाटो लागे। सोही दिन प्रचण्डका बा बितेको र उनको अन्त्येष्टिमा चितवन पुग्न उनलाई हतार भएको पछि थाहा पाइयो।
पार्टीको तर्फबाट आउनै परे बाका कवितासंग्रहमै भूमिका लेख्ने मोहन वैद्य किरण आएको भए भैहाल्थ्यो नि! भाइले र मैले कुरा गर्यौँ।
तर वैद्य मन्त्री थिएनन्। झण्डा, गाडी, सुरक्षाकर्मी नभएपछि समाचार नबन्ने भएर होला सायद।
बाको अन्तिम यात्राको लागि शववाहनमा आर्यघाट पुग्दा धेरै मान्छे जम्मा भइसकेका रहेछन्। एमाले नेता माधव नेपाल, झलनाथ खनाल, प्रदीप ज्ञवाली, मोदनाथ प्रश्रित, सीपी मैनालीलगायत बा र बाको सिंगो प्रगतिशील साहित्यिक जीवनयात्रालाई नजिकबाट बुझेका र मनमुटुदेखि नै श्रद्धा र सम्मान गर्ने पत्रकार, लेखक र साहित्यकारहरुको बाक्लो उपस्थिति थियो। कुन्साङ काका र गोविन्द भट्ट अलि पर चुरोट तान्दै मलिनो अनुहारमा बाको शवलाई हेरिरहेका थिए।
बाको शव फूलैफूलले छोपिँदै थियो। पार्टीको तर्फबाट प्रदीप ज्ञवाली कमरेडले छोटो बोल्ने अरे भन्दा हामीले नाइँ भनेनौँ।
एकजना एमालेकै मझौला नेता फुत्त भिडबाट निक्लिएर कमल–विमल भन्दै हाम्रो कुम सुम्सम्याउन आइपुगे। सायद उनी अहिले माधव नेपाल समूहमा छन्।
माधव नेपाल प्रधानमन्त्री हुँदा यिनको निकै हालीमुहाली चल्थ्यो। देशमा पुरुष संसदहरुले समेत सुत्केरी भत्ता खाइरहेका छन्। तपाईंजस्तो निस्वार्थ देशको लागि योगदान गरेको मान्छेले यो उमेरमा अलिकति औषधि खर्च सहयोग लिए पनि पाप लाग्दैन त भनेर बाका शुभचिन्तक साहित्यकारहरुले सुझाएपछि भाइले यिनै कमरेडलाई पटकपटक फोन गरेछन्।
माधब कमरेडसँग कुरा गरेर म जवाफ दिन्छु भनेका उनले पछि भाइको फोन नै उठाउन छाडेछन्। तर त्यो दिन यिनै कमरेड सबको अगाडि केवलपुरे किसानको सबभन्दा नजिकको म भनेर सबका अगाडि देखाउन खोज्दै थिए।
बालाई अन्तिम पटक परिक्रमा स्पर्श गर्दै हरेक जेठो छोराले गर्नुपर्ने अकाट्य जिम्मेवारी पुरा गरेँ मैले। भाइ मेरो पछि पछि लागे।
हेर्दा हेर्दै मलाई सानोमा म्वाइ खाने मुहार, मलाई डोर्याउने, बोक्ने हात, शरीर जलेर सकिएर बाका दुई वटा गोडा मात्रै बाँकी रहे। मैले पछिल्लो समय हङकङमा पानीमा ढड्याएर पैताला खुर्किएर नङ काटेर तेल लगाएको सम्झिदै गोडा हेर्दै गर्दा बाँकी खुट्टा पनि आगोतिर पल्टाइदिएँ।
एकछिनपछि लौ अब यो बागमतीभित्र बालुवामा गाडिदिनुस् भन्दै सेतो कपडाको डल्लो हातमा दिए घाटे पण्डितले। यसरी बाको बाँकी भौतिक अस्तित्वलाई समेत हत्केलामा लिएर बागमतीमा समाहित गरेँ मैले।
हामी घर फर्किनै लाग्दा अर्का एमाले नेता वामदेव गौतम आइपुगे। समवेदना दिनुभन्दा पहिला उनले भन्न थाले, ‘केवलपुरे किसान सिङ्गो देशको हनुहुन्थ्यो, जनताको हुनुहुन्थ्यो। कमसेकम वहाँको शव दिनभरि प्रज्ञा भवनमा राखेर बल्ल अन्त्येष्टि गर्नुपथ्र्यो, किन हतार?’
बाँचुञ्जेल सबै वाम एकठाम भन्ने बा कुनै राजनीतिक पार्टीको सदस्य हुनुहुन्थेन। जिउँदो हुँदा वास्ता नगर्ने प्रज्ञा प्रतिष्ठानमा मृत्युपछि आफूलाई नलगियोस् र कुनै पनि पार्टीको झण्डा नओढाइयोस् भन्ने बाको इच्छा हामीलाई थाहा थियोे।
पटकपटक पार्टी र राज्यको उपल्लो ओहदामा पुग्दा बा बाँचुन्जेल् सञ्चोबिसञ्चो नसोध्ने यी कमरेडसँग दुःखको बेलामा बहस गर्न मन लागेन। शोक पुस्तिका मागेर सहि धस्काएर बाटो लागे उनी पनि।
धेरै पत्रपत्रिकाका हेडलाइन बन्नुभो बा निकैदिन।
अधिकांश प्रगतिशील लेखक, साहित्यकार, सम्बद्ध संघसंस्था र आफन्तजनको लर्को लाग्न थाल्यो घरमा। भाइको मोबाइलमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिवको फोन आयो, लौ आज प्रम कमरेड समवेदना दिन घरमा आउनी भनेर। साइरन बजाउँदै सुरक्षाको लर्को लाएर बाबुराम आएपछि हाम्रो हात्तिवनका छिमेकी पनि दङ्ग परे, हामीले सधैँ देखिरहने बुढा मान्छे त ठूलै पो रहेछन भनेर।
शोक पुस्तिकामा समवेदना हस्ताक्षरपछि पत्रकारले के हो प्रधानमन्त्रीज्यू बाँचुञ्जेल वास्ता नगर्ने, मरे छि चाहिँ यो त हाम्रो मान्छे पो हो त भन्न तँछाडमछाड गर्ने परिपाटी कहिले अन्त्य हुन्छ भन्दा गोलमटोल जवाफ दिँदै प्रम कमरेड बाटो लागे। त्यो राति धेरै टेलिभिजनले बाको जीवनबारे समाचार प्रसारण गरे। त्यसको केही दिनपछि केपी कमरेडको बाट फोन आयो, लौ कमरेड बेलुका आउँदै हुनुहुन्छ है भनेर। पार्टीका उपनेता थिए उनी त्यो बेला सायद। शोक पुस्तिकाको पाना थपिदिए उनले पनि।
हामीलाई लाग्यो– मृत्युपछि वर्षिएका यी प्रशंसा र आत्मीयताका फूलहरु बा जीवित छँदै वर्षिदिएको भए सायद वहाँ अझ धेरै बाँच्नुहुन्थ्यो होला। बा पटकपटक महाकवि देवकोटाले बाँचुन्जेल दुःख पाएको अनि बनारसका गल्लीमा फालेका चुरोटका ठुटा खोजेर सल्काएर सत्रन्जामा बसेर लेखेको सुनाउनु हुन्थ्यो।
त्यसैलै एकचोटि देवकोटा जयन्तीमा बाले कविता भन्दाको साक्षी थिएँ म।
मरेपछि श्रद्धाञ्जली सबै दिन जान्ने
बाँचुञ्जेल दुःख पर्दा पछिल्तिर तान्ने
अब यस्तो परम्परा दोहोरिन हुन्न
सामन्तीका स्तुतिका कविता म छुन्नँ!
यसरी बासँगको भौतिक सामीप्य बिसर्जन गरेर पहिलो पटक बाबिनाको काठमाडौँलाई आकाशबाट हेरेर हङकङ सोझिएको एघार वर्ष भएछ ठ्याक्कै।
आज म फेरि हङकङको आकाशमुनि बसेर सोच्दै छु, बाले हामी परिवारको लागि भौतिक आर्थिक सम्पत्ति छोडेर जानुभएन। तर इमान र आदर्शको जिन्दगी बाँच्नुभयो, जे सोच्नुभयो, त्यही लेख्नुभयो र त्यसैमा अडिग रहनुभयो जीवनभर। बस एउटा नाम दिनुभयो हामी सन्ततिहरुको लागि, युगौँयुगसम्म बाँच्ने नाम ‘केवलपुरे किसान।’ त्यो नाम नै अमूल्य, अतुलनीय सम्पत्ति हो हामी सन्तान दरसन्तानका लागि।
बाह्रौँ पूण्य तिथिमा मुटुभरिको आदर, सम्मान माया र श्रद्धाञ्जली बालाई!
प्रतिक्रिया