हङकङ आन्दोलनमा ज्याकी चेन तरंग

हङकङ आन्दोलनमा ज्याकी चेन तरंग

कमल पौड्याल
भदौ ४, २०७६ बुधबार ५:४१,

रातो बत्तीमा बाटो काटे, बाटोमा थुके, जथाभावी फोहोर फ्याँके, गाडी पार्किङ गर्दा समय सीमा नाघे कडा नीति–नियम भएको सहर हो– हङकङ। यस्ता गल्तीमा पक्राउ पर्नेहरूले अदालतमा न्यायाधीशसामु गल्ती स्वीकारेर जरिवाना तिर्नुको विकल्प छैन। तर केही महिनादेखि जारी आन्दोलनको प्रकृति र शैली हेर्दा यतिबेला हङकङ भोगेका सबैलाई आश्चर्य चकित पारेको छ। यहाँकी कार्यकारी प्रमुख क्यारी लामले संसदमा पेस गरेको सुपुर्दगी विधेयकको निहुँमा सुरु भएको आन्दोलनले विश्वको व्यापारिक केन्द्र हङकङको अर्थतन्त्र र आमनागरिकको जीवनमा गम्भीर असर परिरहेको छ।

यो आलेख तयार गर्दासम्म सरकार र विरोधी दुवै पक्ष आआफ्नै अडानमा छन्। सामाजिक सञ्जालमा विधेयकका पक्ष विपक्षमा हङकङेली नेपाली र अन्य अल्पसंख्यक समुदायका राजनीतिक बुज्रुकहरूको विचार र अड्कलबाजी देखिन्छन्। कोही परिपक्व, तार्किक, कोही मध्यमार्गी, कोही सतही र कतिपय त सिङ न पुच्छरका फेसबुके विद्वता देखाउन तल्लीन छन्। कतिपयमा विषयको गहिरो बुझाइभन्दा एकआपसको बेमेल र तिक्तताले गर्दा उसले या फलानोले ‘सपोर्ट’ गरे विरोध र विरोध गरे ‘सपोर्ट’ गर्नुपर्छ भन्ने मान्यता देखिन्छ। मूल रूपमा हामीले बुझ्नुपर्ने कुरा के हो भने सरकार र आन्दोलनरत पक्ष कसैले पनि हङकङका अल्पसंख्यक समुदायलाई आफ्नो समर्थन वा विरोधमा नाराजुलुस गर्न भनेको छैनन्। केही हप्ताअगाडि युनलोङमा भएको घटनामा स्थानीय मिडियाहरूले दक्षिण एसियाली समुदायलाई लगाएको आरोपमा कतै नेपाली युवा प्रयोग भए कि भन्ने कुरा हाम्रो समुदायका लागि ठूलो चासो र चिन्ताको विषय भएको थियो।

सन् २०१४ को अकुपाइ सेन्ट्रल आन्दोलनमा केही नेपालीले हङकङ र ‘नेप्लिज’ भनेर नेपाली झण्डासहितका तस्बिर सामाजिक सञ्जालमा देखाएपछि चीनले हङकङका नेपालीलाई चीनको भिसामा निक्कै कडाइ गरेको थियो। यसै विषयमा सुरक्षा निकायले चासो राखेपछि तत्कालीन महावाणिज्यदूतले जवाफ दिनुपरेको थियो। यो उदाहरण मैले कसैलाई आन्दोलनमा लाग वा नलाग तथा विरोध वा समर्थन गर भनेर उक्साउन यहाँ राखेको हैन, केवल प्रसंगवश उल्लेख गरेको हुँ।

संसारका व्यापारिक सहरहरूमा हङकङ र सिंगापुर अहिलेसम्म अग्रपंक्तिमा देखिन्छन्। सिंगापुरमा दक्षिण भारतीय मद्रासी मूलका राष्ट्रपति, चिनियाँ मूलका प्रधानमन्त्री या मले र अन्य मूलका नागरिक सरकारको उपल्लो तहमा पुग्न सक्छन्, योग्यता भएमा। बेलायतमा हालै मात्र नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनको मन्त्रिमण्डलमा पाकिस्तानी मूलका साजिद जावेद र भारतीय मूलकी प्रिती पटेल केन्द्रीय मन्त्रीका रुपमा शपथ खाएका छन।

तर हङकङको कुरा फरक छ। हङकङमा व्यापार–व्यवसाय गरेर यहाँको सबैभन्दा धनी बन्न सक्ने अवसर सबै विदेशी नागरिकलाई बराबर छ। तर यहाँको राजनीतिक वा सरकारी पदमा पुग्न त्यति सजिलै सम्भव देखिँदेन। त्यसैले हङकङमा हामीले पक्ष–विपक्ष भएर आपसमा विरोध वा समर्थन गर्नुको म कुनै तुक देख्दिनँ। यहाँका कुनै पनि राजनीतिक पार्टीको सपोर्ट गर्नु र आफ्नो मताधिकार प्रयोग गर्नु नितान्त व्यक्तिगत अधिकार हो भन्ने मलाई लाग्छ।

धेरै टाढा नजाँदा हङकङका सबैभन्दा धनी भारतीय मूलका दोस्रो पुस्ताका विजय हरिलीलाले गएको वर्ष आफ्नै पाँचतारे होटल चिम्साचोइको होलिडे इनमा यहाँका कार्यकारी उपप्रमुखदेखि अन्य यिनेगिनेका हङकङे नेतासम्मलाई बोलाएर आफ्नै अगुवाइमा दक्षिण एसियालीहरूको यौटा संस्था स्थापना गरे। हङकङका सम्भ्रान्त वर्गदेखि राजनीतिक अगुवासम्म सँग उनको उठबस त छँदै थियो। त्यो कार्यक्रम गरेर यहाँको राजनीतिमा पनि केही हिस्सा पाउन सकिन्छ कि भन्ने उनको अपेक्षा रहेको लख काटेका थिए, त्यहाँ उपस्थित मजस्तै आमन्त्रितहरूले। हामी नेपाली र अन्य दक्षिण एसियालीहरूको त कुरै छाडौं।

HKpro2

प्रसंग बदलौं।

अहिलेको आन्दोलनमा बेलायती र अमेरिकी झण्डा फहराइनुले चीन र हङकङ सरकारले विदेशीहरूद्वारा प्रायोजित भनेर लगाइरहेको आरोपलाई बल पुगेको छ। अझ हङकङको संसद् भवनको ढोका फोरेर भित्र पसी हङकङको झण्डामा कालो पोत्दै बेलायती झण्डा टाँस्नु तथा चीनको हङकङ सम्पर्क कार्यालय भवनमा रहेको राष्ट्रिय चिह्न झिकेर मिल्काइदिनुले सरकारी शंकालाई थप बलियो बनाएको छ। चीनको राष्ट्रिय झण्डालाई भिक्टोरिया हार्बरमा फालेपछि अब चीनले के गर्छ भन्ने कौतुहलता सबैलाई हुनु स्वाभाविकै हो। गत हप्ता बेइजिङमा भएको पत्रकार सम्मेलनमा हङकङका आन्दोलनकारीहरूले चीन सरकारलाई आफ्नो देशको इतिहास पढ्न र राष्ट्रियता के हो बुझ्न सुझाव दिएका दिए। अझ उनीहरूले यसको महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै यहाँको सरकार र प्रहरीलाई निरन्तर सहयोग गर्ने ढाडस दिए।

विमानस्थल घेराउ र त्यसमा भएका कतिपय क्रियाकलापले यो आन्दोलन कसले हाँकेको छ र कता जाँदै छ भन्ने जिज्ञासा सबैलाई लागेको छ। हङकङका प्रजातन्त्रवादी पार्टीका नेताहरू पछाडि बसेर आन्दोलनलाई सहयोग र समर्थन गर्छन् तर आन्दोलनको अग्रपंक्तिमा देखापर्दैनन्। आन्दोलनकारीहरूले पनि कालो मास्क लगाउनाको कारण टियर ग्यासबाट बच्न भन्दा पनि आफ्नो अनुहार लुकाउन प्रयोग गरेको अड्कलबाजी गर्नेहरू पनि छन्। तर चीन डरायो वा अब हङकङमा अर्को तियानमेन स्क्वाएर हुन्छ भन्ने कुराचाहिँ राजनीति बुझेका विश्लेषकहरू पत्याउँदैनन्। बरु स्थिति धेरै अराजक भएर यहाँको प्रशासनले नियन्त्रण गर्न नसकेको खण्डमा मात्र हस्तक्षेप हुन सक्छ। जुन स्थिति हङकङका लागि सबैभन्दा बढी दुर्भाग्यपूर्ण हुन सक्छ।

अहिलेको समयमा कुनै पनि देशको राजनीतिक घटनाक्रम विश्लेषण गर्दा विश्वमा भएका राजनीतिक उथलपुथल र घटनाहरू विचार गर्नुपर्ने हुन्छ। शीतयुद्धका बेला हरेक देश आफ्नो राजनीतिक वर्चस्वका लागि एकअर्कासँग सम्बन्ध राख्न तँछाडमछाड गर्थे। तर अहिले पहिला व्यापार–व्यवसाय, फाइदा, त्यसपछि मात्र राजनीतिक सम्बन्धको कुरा हुन्छ। अझ खासगरी अमेरिकामा डोनाल्ड ट्रम्पको उदयपछि विश्व राजनीतिमा नयाँ ध्रुवीकरण भएको छ। अहिलेको संसारमा रुस, चीन र अमेरिकाबाहेक कुनै राष्ट्र स्वतन्त्र छैनन्। सबै कहीं न कहीं, कतै न कतै कसैको छातामुनि छन्। अमेरिकाको दक्षिण–अमेरिकी छिमेकी मुलुक भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोविरूद्ध उर्लेको आन्दोलनले त्यहाँको अर्थतन्त्र डामाडोल भएर लाखौं जनता कष्टकर जीवन जिउन बाध्य भएका छन्। एकपछि अर्को अमेरिकी नाकाबन्दी र विपक्षी नेता ग्वाइडोलाई अमेरिकाले जतिसुकै समर्थन गरे पनि निकोलस मदुरोलाई रुसको घोषित र चीनको अघोषित समर्थनले त्यति सजिलै सत्ता परिवर्तन हुने लक्षण देखिन्न।

सिरियामा दशकौं लामो गृहयुद्धका कारण ठूलो जनधन क्षति हुँदा पनि त्यहाँका राष्ट्रपति बसारअल असदलाई सत्ताच्युत गर्न सकेका छैनन्, उनका राष्ट्रिय र अन्तर्राष्ट्रिय विरोधीहरूले। जसमा खासगरी अमेरिकासहित पश्चिमा शक्ति र रुसको मुख्य हानथाप छ।

२ अक्टोबर २०१८ मा वासिंटन पोस्टका स्तम्भकार तथा चर्चित पत्रकार जमाल खसोजीको इस्तनबुलको सउदी दूतावासभित्र रहस्यमय हत्या भयो। लामै समय संसारभरका मिडियाहरूको हेडलाइन बन्यो, यो घटना। जसको योजनाकार भएको आरोप साउदी राजकुमार महम्मद बिन सलमानलाई लगाइयो। संसारभरकै मानव अधिकार र प्रेस स्वतन्त्रताको आफूलाई पहरेदार ठान्ने अमेरिकाभित्र यो विषयमा ठूलो खल्लीखल्ली भयो। यसै विषयलाई डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टीकासमेत अधिकतर सदस्यले साउदी अरबलाई बेच्ने भनेको अत्याधुनिक बम वर्षक विमान र अन्य सैन्य युद्ध सामाग्री बेच्न रोक लगाउनुपर्ने माग गरे, जुन ट्रम्पले मानेनन्।

पत्रकारहरूलाई उनले खुलेरै भनिदिए– ‘साउदी अरब अमेरिकाको निकै भरपर्दो साझेदार हो, हामीले रोके रुस वा चीनले बेच्छन्।’

अझ केही महिनाअघि जापानमा भएको जी–२० समिटको सामूहिक फोटो सेसनमा ट्रम्पले उनै साउदी राजकुमार सलमानसँग कानेखुसी गर्दै सँगै उभिएर खिचेको फोटो संसारभरका मिडियाहरूको हट केक बन्यो।

हङकङको अहिलेको परिस्थितिबारे विश्लेषण गर्दा चीन अहिलेको विश्वमा सामरिक, आर्थिक, प्राविधिक रूपमा सबैभन्दा अग्रपंक्तिमा देखिसकिएको छ। हङकङका आन्दोलनकारीहरूले आफ्ना केही ब्यानरमा डोनाल्ड ट्रम्पलाई हङकङेली जनतालाई साथ दिन आह्वान गरिएका कुरा उल्लेख थिए। तर ट्रम्पले पटकपटक ‘चीनका राष्ट्रपति सी हङकङ मामिला सुल्झाउन बुद्धिमान र सक्षम छन्, उनले चाहेमा हङकङको समस्या १५ मिनेटभित्र समाधान गर्न सक्नेछन्’ भनेर ठोकुवा गरे, पत्रकारहरूका अगाडि। अमेरिका–चीनबीचको अहिलेको व्यापार युद्ध, आउँदै गरेको अमेरिकी राष्ट्रपतिको चुनाव, पहिलो चुनावमा रसियन घूसपैठ भएको भन्ने समाचारदेखि अन्य आन्तरिक मामिलासम्म झेलिरहेका ट्रम्प यतिबेला चीनलाई चिढ्याउन चाहँदैनन्। बेलायत र युरोपियन युनियन पनि ताइवान वा हङकङको मामिलामा चीनलाई चिढ्याउनुभन्दा चीनसँग व्यापारिक साझेदारी लगानी र चिनियाँ पर्यटक भित्र्याएर आर्थिक समुन्नति चाहन्छन्। एक दशकदेखि कुनै पनि ताइवानी राष्ट्रपति ह्वाइट हाउस छिरेका छैनन्।

केही वर्ष अघिदेखि ताइवानसँग दौत्य सम्बन्ध भएका केही दक्षिण अमेरिकी र अफ्रिकन मुलुकले त्यसलाई विच्छेद गर्दै चीनतर्फ हात बढाउने क्रम जारी छ। अमेरिकी र ताइवानी सेनाको युद्ध अभ्यास हुन छाडेका छन्। त्यहाँको चुनावमा चीनको अत्यधिक प्रभाव रहन्छ। चिकित्सकीय भाषामा भन्दा चीनले ताइवान मामिला वा एक चीन नीति ‘ओपन सर्जरी’ नगरी ‘लेजर अप्रेसन’बाटै निको पार्दै छ।

हङकङ एयरपोर्ट घेराउ र त्यसपछि विकसित घटनाक्रम हामीले केलाउँदा आन्दोलनमा भाग लिएका क्याथे प्यासिफिक एयरलाइन्स पाइलट र अन्य कर्मचारीहरूलाई चीनको भूभागमाथि उड्न प्रतिबन्ध लगाउने निर्णयले ठूलो हल्लिखल्ली भयो। संसारकै टप दश वायुसेवामा पर्ने क्याथे प्यासिफिकले ती पाइलट र कर्मचारीलाई निलम्बन गर्दै ‘कोही पनि कर्मचारी आइन्दा यस्ता खाले कुनै गैरकानुनी गतिविधिमा भाग नलिनु’ भनेर आन्तरिक सूचना जारी गरिसकेको छ। जसका सीईओ रुपोर्ट होग र अर्का एक उच्च अधिकारीले राजीनामा दिइसकेका छन्। यसरी क्याथे प्यासिफिक यो विषयमा विवादमा फस्नुभन्दा मौन रहेर आफ्नो सबैभन्दा ठूलो मुलभूमि चीनको ठूलो बजार यथावत् राख्न चाहन्छ।

हङकङको स्वायर ग्रुपजस्तो ऐतिहासिक घरानियाँ व्यापारिक ग्रुपको जग हल्लिएको छ यतिबेला।

यो उदाहरण कसैको समर्थन वा विरोधमा हैन।

HKprotest

एयरपोर्ट घेराउमा आन्दोलनकारीहरूले देशी–विदेशी यात्रुहरूलाई जान–आउन रोक लगाउनुभन्दा उनीहरूलाई फूलको थुुंगा दिएर ‘हङकङमा स्वागत छ, शुभयात्रा’ भन्दै आफ्ना मागका पर्चाहरू दिएको भए बरु जनताको मन जित्न सक्थे। अझ बिहानको व्यस्त समयमा ट्रेनका ढोका बन्द हुन नदिएर हजारौं यात्रुलाई रोक्नुले उनीहरूको लोकप्रियतामा ह्रास आएको हङकङेली जनता नै स्वीकार्छन्। त्यसो गर्नुभन्दा एमटीआरको हरेक प्रवेशद्वारमा आफ्ना मागका पर्चाहरू दिएको भए राम्रो हुन्थ्यो।

कुनै पनि देशको आन्दोलनमा आर्थिक स्रोत मुख्य रहन्छ। हङकङका सबै व्यवसायी टाइकुनहरू यो आन्दोलन समाप्त भएको हेर्न चाहन्छन्। किनभने यहाँको स्टक र प्रपर्टी ओरालो लाग्यो भने त्यसलाई पुरानो ठाउँमा ल्याउन निकै गाह्रो हुनेछ, उनीहरूलाई। यहाँका आन्दोलनकारीहरूले भिक्टोरिया हार्बरमा फ्याँकेको चिनियाँ झण्डाबारे संसारभरि समाचार बिनरहँदा हङकङ चीन मात्र नभई हलिउडकै चर्चित अभिनेता ज्याकी चेनले समेत ‘म मेरो देशको राष्ट्रिय झण्डाको पहरेदार’ हुँ भन्दै युट्युबमा भनेको कुराले ठूलो तरंग छाएको छ, अहिले।

HKpro3

हङकङको राजनीतिमा महत्वपूर्ण भूमिका भएका यहाँका सबैभन्दा धनी लि का सिङ प्रायः मौन छन्। गत हप्ता उनको अफिस रहेको चोङ कोङ सेन्टरमा लगभग संसारका सबै अग्ला बिल्डिङ आरोहण गरेका फ्रेन्च स्पाइडर म्यान स्थानीय प्रशासनको अनुमतिबिना उक्लिए र हङकङ तथा चीनको झण्डामुनि हात मिलाएको फोटो भएको ब्यानर टाँसे। जुन घटनालाई यहाँ निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

ठेट नेपालीमा भन्दा घरको छिँडीमा, चोटामा र बुइँगलभरि धानको भकारी भएको जमिन्दारले झोक चल्यो भने एक वर्ष खेत बाँझो राखेर गाईवस्तु चराउन छाडिदिन्छ। फरक त उनीहरूलाई पर्छ जो असारमा रोपाइँ गरेर मंसिरमा धान भित्र्याएर वर्षभरि हातमुख जोड्छन।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .