hongkong


हङकङे नेपालीका रोमाञ्चक १७ कथा


कमल पौड्याल
काठमाडौं, साउन २८
‘अर्चनाको सेरोफेरोमा घुमेको कथा ‘सुनाखरी ओइलाएपछि’ वियोगान्त छ। हङकङ आइडीको लोभमा गलत व्यक्तिसँग संगत र असफल विवाहपछि अन्त्यमा निराश भएर नेपाल फर्केका धेरै उदाहरणको प्रतिनिधित्व गरेको छ, यो आख्यानले।’

व्यापार, व्यवसाय, आर्थिक सम्पन्नता छाडेर हङकङमा रहेका खासगरी दक्षिण एसियाली मुलुकका अल्पसंख्यक समुदायको भाषा साहित्यको कुरा गर्दा हामी नेपाली समुदाय सबैभन्दा अग्रपंक्तिमा हुनु खुसी र गौरवको विषय हो।

सन् नब्बेको दशकमा भारतीय समुदायले निकाल्ने अंग्रेजी भाषाको मासिक ‘द इन्डियन’ धेरै पहिला बन्द भइसकेको छ। सानो संख्यामा भए पनि ९९ प्रतिशत व्यवसायी रहेका बंलादेशीहरू जम्मा सत्तापक्ष र प्रतिपक्ष गरी दुईवटा मात्र संस्थाले आयोजन गर्ने भेटघाटमा आफ्नै भाषा बोल्ने गरेका भए पनि कुनै प्रकाशन भने गरेको पाइँदैन। भाषा साहित्यभन्दा धार्मिक प्रयोजनका लागि भए पनि पाकिस्तानी समुदायको घना बस्ती एरियामा भने केही भाषिक र धार्मिक सेन्टरमा उर्दू भाषा पढ्न–लेख्न सिकाइन्छ।

राजस्थानी समाज हङकङले राजस्थानका हास्य कविहरू बोलाएर धेरैपटक गरेको ‘हास्य कवि सम्मेलन’ अहिले बन्द भएको छ।

आफ्नो भाषा साहित्य हस्तान्तरण गर्न नसक्दा यस्ता कार्यक्रमभन्दा अंग्रेजी भाषाको ‘स्टयान्ड अप कमेडी’ मा नयाँ पुस्ता आकर्षित भएको यसका अगुवाहरू बताउँछन्। सानो समुदायका रूपमा रहेको श्रीलंकनहरूको भाषा–साहित्यको केही अवशेष पनि भेटिन्न। हाम्रै समुदायको कुरा गर्दा पनि अबको दुई दशकपछि अहिलेको जस्तै अग्रपंक्तिमा हुने आशा झिनो हुँदै गएको छ।

जे होस्, अहिलेलाई नेपालीहरूलाई अग्रपंक्तिमा ल्याउने अभियानमा इँटा थप्ने दाजु गुरुङको ‘टाँकीका फूलहरू’बारे चर्चा गरौँः

घुम्दै आउनु सोल्टी राजा तीनपानेको निहुँमा 
मनको ढोका खोलिदिउँला पिरतीको छेउमा
अलिकति तिमी पिउनु अलिकति मलाई
पिरतीको मीठो सगुन सबै तिमीलाई।

मनजस्तै छल्किदिन्छ तीनपानेको पानी
घरैबसी सोल्टी राजा हुर्क्यो जिन्दगानी
पर्खिरा’छु तिम्रो नाममा बाटो हेरी हेरी
ढिलो भए सोल्टी राजा उम्किजाला फेरि।

चौबन्दी चोली राजै झुम्के रांगा डोरी
फरियामा राम्री छु रे म आमाकी छोरी
आमासँग माया लाग्छ बाबासँग भर
स्वर्गभन्दा सुन्दर हुन्छ आफ्नो जन्मघर
राजै मेरो प्यारो घर।
२३/७/२०१६

सामाजिक सञ्जालमा दाजु गुरुङसँग जोडिए लगत्तै यस्तै मीठा खाले सिर्जना, गीत, मुक्तक, कविता दर्जनौं संख्यामा पढ्न पाइन्थ्यो। हङकङको ‘साझा साहित्यिक शृंखला’ मा आक्कलझुक्कल भेट्दा र उनका वाचन सुन्दा पक्कै पनि अब यस्तै सिर्जनाका संग्रह निकाल्नान् भन्ने मेरो अनुमान मिलेन। दाजु त कथा संग्रहको पोको बोकेर पो आए, पहिलो कृति स्वरूप। सूर्य बुढाथोकीले डिजाइन गरेको आकर्षक आवरणको कथा संग्रह उनले आफ्ना स्व. बाबाआमाप्रति समर्पण गरेका छन्।

संखुवासभामा जन्मेर–हुर्केर आफ्नै माटोमा प्राध्यापन गरेका दाजु गुरुङ (उपेन्द्र कोरङ्गी) को यो पहिलो कृति भए पनि उनी परिपक्व र अनुभवी लाग्छन्, सिर्जना पढ्दा। १८४ पृष्ठको कथा संग्रहमा १७ कथा समेटिएका छन्। कतिपय कृतिमा वरिष्ठहरूबाट लामो भूमिका लेख्न लगाउने परम्परा अन्त्य गर्दै कथाकार गुरुङले आफैँले ‘आरम्भ’ लेखेर नयाँ चलन सुरुवात गरेका छन्। ब्रिटिस उपनिवेशकालका अन्तिम वर्षहरूमा हङकङ अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गर्दाको संस्मरण एवं आफूजस्तै आमनेपालीका भोगाइ उनले कथा संग्रहमा सरल भाषामा मिहिन ढंगले प्रस्तुत गरेका छन्। विभिन्न पारिवारिक, शैक्षिक, आर्थिक पृष्ठभूमिबाट हङकङ आएका नेपालीहरूले यहाँको वातावरणमा भिज्न सुरुका दिनहरूमा गरेका संघर्षलाई उनले नढाँटी जस्ताको तस्तै पस्केका छन्। यौटा प्रसंगमा लेखक गुरुङ ऐतिहासिक क्षण यसरी सम्झन्छन्ः

‘गज्जबको कुरो, शताब्दिदेखि राज गर्दै आएको ब्रिटिस कोलोनी सरकार सधैंका लागि अवसान भएको छ। पाटे झण्डाको ठाउँमा फुलबुट्टे झण्डा फहराइएको छ। हिजो उसलाई राम्रो लागेर सलाम ठोकिन्थ्यो, आज यसलाई ठोकिरहेछु। ठोक्नु न हो, जसलाई पनि ठोकिरहेकै हो, फेरि ठोकिन्छ। बस जिन्दगी चलेकै छ।’

म भन्ने गर्छु– ‘हङकङको एउटा ५०–६० तले घरमा सबै मिलाउँदा नेपालको दुर्गम जिल्लाको जनसंख्या बराबर मान्छे बस्छन्। अक्सर कोही कसैसँग हाइहल्लो हुँदैन। हामीसँग मात्रै हैन, स्वयं उनीहरूबीच पनि। तर पनि लेखकले मजासँग बोलीचाली गर्ने छिमेकी पाएका छन्। ब्रिटिस औपनिवेशिक ‘सुपेरियर’ हुँ भन्ने भूतदेखि बहुविवाह, अन्तरदेशीय अनमेल विवाहले ल्याएका समस्या, एउटै छतमुनि बसेर पनि खुसी हुन नसक्दा एउटा घरपालुवा जनावरसँग छिमेकीको दिनचर्या बितेको कुरालाई मनोवैज्ञानिक विश्लेषण गर्दै चाखलाग्दो ढंगले कथा संग्रहमा पस्केका छन्, दाजुले।

अर्को तेस्रो आख्यान ‘हराएको मान्छे’ मा आमनेपालीले नेपालको कागजात बनाउँदाका लापरबाही र यहाँका अध्यागमन कर्मचारीहरूले कसरी गल्ती समातेर सकभर टार्ने कोसिस गर्छन् भन्ने अनुभूतिको प्रतिनिधि पात्र बनेका छन्, कथाकार। सबै एउटै परिवेशबाट आएका हुँदैनन्, घरजग्गा बन्धकी राखेर ऋण काढेर टाँकीका फूल टिप्न नपाउने हो कि भन्ने बलदेव थापा मगरको मनोविज्ञानमा पाठकलाई सँगै लैजान कथाकार गुरुङ सफल देखिन्छन्।

म स्वयं यही पीडाको भुक्तभोगी हुँ सन् १९९७ तिर। अझ सन् ९० मा पर्यटक भिसामा हङकङ छिरेर, यहाँ रोजगारी भिसामा निवेदन दिएर अध्यागमनको तारिख धाउँदा त्यतिबेलाको मेरो मनस्थिति ताजा भएर आयो। ‘मोनिका’ अर्को हङकङेली नेपाली समाजसँग जोडिएको आख्यान होजस्तो लाग्छ मलाई। तर पनि भेट्नेबित्तिकै म्याकडोनाल्डमा गइहाल्न वा पार्कमा लडेको व्यक्तिलाई तुरुन्तै उठाएर घर पुर्याएको अलि कता–कता चाँडो भएजस्तो लागे पनि आमघरेलु कामदारप्रति हङकङमा रोजगारदाताले गर्ने व्यवहारका हिसाबले विषयको सही उठान भएको छ। विदेशमा बस्ने एकल युवा–युवतीको स्वाभाविक सम्बन्ध विवाहमा परिणत हुनु वा नहुनुभन्दा पनि सन्तान जन्मेपछि आपसी धोका यत्रतत्र सर्वत्र देखिन्छ नै। यसैलाई टुक्का जोडेर जीवन्त बनाउने कोसिस गरेका छन्, लेखकले।

अर्को कथामा लाहुरे, सम्पन्न परिवारबाट भए पनि वैंशको अन्धोपनाले कसरी जीवनलाई पछाडि धकेल्छ? हुँदा हुँदा मिल्ने साथीकै पतिप्रति नजिकिन खोज्नेदेखि पछिल्लोपटक अर्कै वेशभूषामा नचिनेझैं गर्नेसम्म अहिलेको स्वार्थी मानसिकताको मीठो प्रस्तुति छ– ‘बिर्सिएको साँझमा’। हङकङको रात्रिकालीन जीवनशैली, झिलिमिली सम्पन्न वैभवता बोकेको सहरको कथामा लेखक पाठकलाई पनि रोसिता चाङसँगै लैजान सफल भएका छन्, ‘मिलेनियम साँझ’ मार्फत। विछोडको घाउ मेट्न बारहरूमा ग्लास रित्याउँदै आफ्ना कुरा सुनिदिने मान्छेको खोजीमा रोसिता चाङजस्ता अनगन्ती पात्रको प्रतिनिधित्व गरेको छ, यो कथाले। यस्तो रोमान्टिक साँझमा पनि हङकङ सहरको विकास निर्माणले कसरी पर्यावरण नोक्सान गर्दै छ भन्नेमा उनको यथेष्ट ज्ञान र चिन्ता देखिन्छ, कथामा। अझ साँझ पर्यो कि ग्लास नसमाती नहुने लत लागेका व्यक्तिहरूको जमघट हुने ‘बार’ लाई ‘जँड्याहाहरूको गंगाधाम’ भनेर मीठो विशेषण दिएका छन्, लेखकले।

‘ब्याज’ कथाले अन्य कथाजस्तै पाठकलाई लुरुलुरु सँगै लैजान नसके पनि नामको पगरी गुथेर त्यसकै ब्याजमा लुटपुटिनेदेखि हङकङबाट संखुवासभाको बाबाको कन्तुर छाम्नेसम्मको अतीतमा चुर्लुम्म डुब्छन्, कथाकार। ब्याजको आश र त्यसमै पल्केकाहरूलाई सटिक व्यंग्य वाण त छँदैछ। मजस्ता कथाकारका समकालीन अझ काँचो छालाले मोहोरिएको भोटे ताल्चा लगाएको पेटारो, टिनको कन्तुर र काठको सन्दुकमा हराउँछन्, उनी केही बेर।

‘मुन्ना चौधरी’ मा कथाकार पाठकलाई पूर्वी नेपालका जिल्लाहरूमा सँगै लिएर जान सक्षम भएका छन्। पहाड र मधेसको मीठो आत्मीयता पस्कँदै फरक विषयवस्तुमा मैथली भाषाको संवाद हङकङमा नसुनिए पनि लेखकीय विद्वताले यथार्थतामा पस्कन सफल भएका छन्, लेखक। बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपाली समाजमा सिंगो मधेसलाई बिर्सेका छैनन्, लेखकले। पुरुषप्रधान नेपाली समाजमा ‘अरे दाजु भैया खुसीको बात छ, हमर घर मे बेटिया कि जनम भेल है’ भन्ने अन्तिम संवाद मर्मस्पर्शी छ।

ब्रिटिस गोर्खा पल्टनका सैनिकहरूलाई विभिन्न कारणले नामकरण गरिने ‘सतासी मामा’, अर्को चाखलाग्दो कथा हो। सहरको घना बस्ती बीचमा रहेको काउलुन पार्क र यसको परिवेशको व्याख्याले यो ठाउँ झलझली पाठकका आँखामा आउँछ। हङकङे नेपालीको दैनिकी र जागिरे जीवनको सेरोफेरोबाट लेखकले स्वस्थ रहनाका लागि बढ्दो उमेरसँगै दैनिक कसरत र के खाने, के नखाने भन्ने ज्ञान पनि बाँडेका छन्। माओवादी जनयुद्धका नाममा आमजनताले भोगेका अन्याय, युद्ध अपराधको जरासम्म खोतलेका छन्, कथाकारले। न्याय नपाएपछि आँसु झार्दै चित्त बुझाउनुको विकल्प नरहनु त छँदैछ। पुराना र नयाँ पुस्तामा पारिवारिक बेमेलपछि पुनः सतासी मामाको पुनर्विवाहले कथा सकिन्छ।

नेपालबाट घरेलु कामदारका रूपमा हङकङ आएकी अर्चना भन्ने महिला पात्रको सेरोफेरोमा घुमेको कथा ‘सुनाखरी ओइलाएपछि’ वियोगान्त छ। हङकङ आइडीको लोभमा गलत व्यक्तिसँग संगत र असफल विवाहपछि अन्त्यमा निराश भएर नेपाल फर्केका धेरै उदाहरणको प्रतिनिधित्व गरेको छ, यो आख्यानले। सागको प्रजाति ‘चोइ–साम’ बाट कथा उठान गरेर युवाहरूले बोल्ने कोड वर्ड हाँसो समस्तीकालाई भन्न नसक्दा सुजिता र सन्तुवरिपरि कथा घुमेको छ। शुभचिन्तकका नाताले यस्तो नहोस् भन्दाभन्दै पनि अन्त्यमा सुन्नैपर्ने हुन्छ, कथाकारले। हङकङको खुला समाजमा आफैंलाई काबुमा राख्न नसक्दा पुरूष परस्त्री र महिला परपुरुषसँग नजिकिएको यौटा यथार्थ कथा छ, यसमा ।

सबै हङकङे नेपालीले भोगेको ‘मंकी हिल’लाई लेखकले फरक रूपमा पस्केका छन्। महावाणिज्य दूतावासमा कागजपत्र बुझाउन जाँदा फोटोकपिका लागि भौंतारिँदाको उनको संस्मरणले धेरै भुक्तभोगीलाई झलझली पुरानो याद आउँछ। सबैभन्दा धेरै नेपालीको सामूहिक जमघट र रमाइलो गर्ने मंकी हिलमा सबै रमाइरहँदा मानवीय त्रुटिले वातावरण र बाँदरलगायत अरू जंगली जनावरबारे ध्वनी प्रदूषणले कति नराम्रो असर पर्छ भन्दै कथाकारको मन कुँडिन्छ। 

पिकनिक वा वनभोज, जे भने पनि गहना प्रदर्शनदेखि समाजिक अगुवाहरू यस्तो ठाउँमा पनि पट्यारलाग्दो आसन ग्रहण, कसैले नसुने पनि माइक मोह, भाषण, मपाईंत्व, बिल्ला खादासम्मका विषयमा उनले एउटा सचेत नेपाली भएर विश्लेशण गरेका छन्। यौटा प्रसंगमा नेपालका राजनीतिक पार्टीहरूले सिकाएका संस्कार विदेशमा पनि अनुकरण भइरहेको देखाउन खोजिएको छ। ‘दाइ यहाँ त नेपालीहरू छैनन्, खाली जातजातीहरू मात्र छन्। विश्वास नलागे सोधीखोजी गरे हुन्छ, नेपाल र नेपालीका नाममा कोही आउँदैन र आएका पनि छैनन्। केवल जात, जातजातिका झण्डा उचाल्नेहरू मात्र छन् यहाँ’ भन्ने प्रशंग सुन्दा मन कुटुक्क हुन्छ। यसरी यस कथामा लेखक नामजस्तै अब्बल सोचाइ पनि लिएर प्रस्तुत भएका छन्।

नरेन्द्र र अर्पणावरिपरि घुमेको ‘मौइसी’ कथा कतै–कतै अरू कथाका जस्तै विषयवस्तुमा घुमेको छ। परिवार छाडेर हङकङका पुरूष वा स्त्रीको एकल बसाइले समाजमा भएका घटनाहरू ब्युँताइदिएको देखिन्छ। ‘सरी’ कथामा हङकङस्थित नेपालीको घना बस्ती रहेको पाँचतले भवनमा उक्लिँदा रातो भाले रेस्टुरेन्टको परिवेशको जस्ताको तस्तै व्याख्या छ। साथीभाइको लहैलहैमा अत्यधिक मादक पदार्थ पिएपछि बल्लबल्ल घर पुग्दा बच्चाहरूको मनोविज्ञानमा कसरी असर पर्छ भन्ने चिन्ता उक्त कथामा छ। समस्तीका यो कथामा पनि समुद्रझै‌ं शान्त व्यवहार र शालीन देखिन्छिन्। अझ हङकङमा विभिन्न बहानामा गरिने कार्यक्रमको टिकट जबर्जस्ती भिडाउने, यस्ता अनुत्पादक कार्यक्रम ल्याएर समय र पैसाको बर्बादी गराउने अनि यसैलाई आयआर्जनको पेसा बनाउनेहरूप्रति कथाकार खरो रूपमा प्रस्तुत भएका छन्।

जोर्डन र काउलुन पार्क सेरोफेरोमै बगेको कथा ‘मर्निङ वाक’ अलि फरक छ। मर्निङ वाकका क्रममा कानमा ठोक्किएको आवाजको कौतुहलता हुँदै युवतीको पोटिलो शरीरले पात्र लोभिँदै कल्पनामा रमाउँछ। यस्तै कल्पनामा रम्दै गर्दा पनि काठमाडौं सहरको प्रदूषण, वाग्मती सफाइ अभियान, मेलम्चीको पानी आदि प्रसंगले जतिसुकै सम्पन्न विदेशी सहरमा बसे पनि लेखकमा देशप्रति चिन्ता देखिन्छ। समस्तीकाका साथी भनेर थाहा पाउँदा पनि कल्पनामा रमाइरहेका पात्र सुजिता दुई जिउकी भएपछि छाँगाबाट खसेझैं हुँदै पश्चाताप गर्छन्।

हङकङका नेपालीको पारिवारिक परिवेशको तीतो यथार्थ बोकेको कथा हो– ‘ब्लाक’। बेलैमा शुभचिन्तकहरूको सल्लाह नमान्दाको परिणाम तथा आफ्नै खुसीले सन्तान जन्माउँदा पनि निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे सन्देश दिएको छ, कथाले। अझ यहाँका मिडिया र प्रशासनले दक्षिण एसियाली भन्नेबित्तिकै कति हेप्छन् भन्ने कटु सत्य पनि कथामा प्रस्तुत छ। हुङहाम फ्युनरल पार्लरको बयान र जोर्डन पार्कको परिवेश प्रस्तुतिले कथालाई जीवन्त बनाएको छ।

समस्तीकालाई ढाँट्दै परस्त्रीसँग नयाँ वर्ष मनाउन आइल्यान्ड पुगेका पात्र कथा सकिँदा शीर्षकजस्तै ‘बाटो बिराएका मान्छे’ नै लाग्छन्, यथार्थमा। हङकङको परिवेशमा पारिवारिक विखण्डन र अल्कोहलको लतमा टुल्ल हुने युवतीसँग शाकाहारी एवं मादक पदार्थ नखाने पात्रको जोडी जम्दैन। अझ हरेक कथामा जिम्मेवार शालीन देखिने समस्तीकाको फोन म्यासेजले आत्मग्लानी महसुस गर्छन्, लेखक।

अन्त्यमा ‘आफ्नो कुरा’सहित बिट मारेका छन्, कथा संग्रह लेखकले। उनी लेख्छन्– ‘अलिक पर अझै रंगीन, सुन्दर र सरल होला भन्ने सोच पलाइरहन्छन् र झाँगिइरहेछन्। तर जीवनको बचत खातामा केवल थाकेको यात्राभित्र समयले डामेको अनगन्ती खस्रा, चाम्रा डाम र खतका धर्साहरू स्थायी पुँजी र परिचय भएर बसिदिँदा रहेछन्, जिन्दगीभरिका लागि। सायद यसरी नै फूल्दारहेछन्, टाँकीका फूलहरू।’

हङकङमा आमनेपालीले ‘टाँकीका फूल’ याने हङकङ डलर कमाउन आउँदाका विभिन्न परिस्थिति र समयको ऐना हो–‘टाँकीका फूलहरू’। हुन त केही कथा उस्तै परिवेशमा दोहोरिएजस्तो लागे पनि विषयहरू फरक छन्। आममानिसले अनुभव गरिरहेको दिनचर्या र वरपरको परिवेशलाई कथामा बुन्न कथाकार सफल भएका छन्। उनी यौटा विषयमा मियो अड्याएर त्यसकै वरिपरि दाइँ हालेर पाठकलाई लुरुलुरु डोर्याउन सफल देखिन्छन्, यो कथा कृतिमा।

प्रा. डा. जगमान गुरुङको भनाइ सापटी लिँदा दाजु गुरुङ नेपाली साहित्यका साँच्चैका दाजु हुनुहुन्छ। विदेशमा रहेर पनि उहाँले आफ्नो देशलाई बिर्सनुभएको छैन। यो नै उहाँको सदगुण हो। ‘टाँकीका फूलहरू’ उहाँको कथा संग्रहमा कतिपय नेपाली संस्कृतिको झलक पाइन्छ। अतः उहाँको यो कृति स्तुत्य एवं पठनीय छ।

अन्त्यमा, यस्तो पठनीय कृति सिर्जना गरेकामा हार्दिक बधाईका साथै निरन्तरताको शुभकामना दाजु गुरुङलाई।

(क्रान्ति सुब्बाको ‘हङकङभित्र’ को चर्चा अर्को अंकमा प्रस्तुत गर्नेछु, प्रतीक्षा गर्नुहोला)

साउन २८, २०७६, मंगलबार

कमल पौड्याल हङकङका व्यवसायी र लेखक हुन्
लेखकबाट थप

Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors