रातो सारी
रातै ब्लाउज
नभए
रातो मजेत्रो
गलामा हरियो तिलहरी
हो यही थियो मेरी आमाको पहिचान
बेला बेला हराउँथ्यो तिलहरी
केटकेटी दिमागमा सोध्ने शुद्धि कहाँ?
त्यो बेला,
कि त स्कुल भर्ना हुने समय हुन्थ्यो
कि चैं महान चाड दशैं लगत्तै तिहार हुन्थ्यो
त्यसो त,
ऋण सापटी दिँदा होस्
छोरा विदेशिंदा होस्
या
सम्पत्ति जोरजाम गर्दा होस्
खोपीभित्र दुईवटा टाउकोले तिलहरीकै खुसुर फुसुर गर्थ्यो
बर्षौं बाद,
त्यो हरियो तिलहरी आमाको गलामा पुनः देख्दा
चारैतिर झलमल्ल घाम उदाएको भान् हुन्थ्यो
उनको हातको काँचको चुरा अघिपछि भन्दा जोरले बज्थ्यो
सन्तान मोहले लपक्कै भिजेकी मेरी आमा
शिर उज्यालो पारी चुलाचौकामा फार्याकफुरुक गर्थिन्
फेरि एकदिन,
त्यो हरियो तिलहरी आमाको गलाबाट हटाइयो
नियतिले लुकामारी खेल्दाखेल्दै गलाको तिलहरी खोसिदियो
उनको त्यो हरियो तिलहरी खसमसँगै माटोमुनी दबाइयो
त्यस दिनदेखि
मेरी आमाको गला सधैं रित्तो देखियो
हो ऊनी बिधवा भइन्
प्रतिक्रिया