हङकङमा कोरोना भाइरसको संक्रमण फेरि उकालो लागेपछि गत डिसेम्बर ११ तारिखदेखि सरकारले सबै रेस्टुरेन्ट/बार बेलुकी अनिवार्य बन्द गर्न आदेश दिएको छ। जसले गर्दा म तेस्रोपटक पुनः बेलुकाको समय फुर्सदिलो भएको छु।
आफ्नो देशका समाचार हेर्ने जाँगर पटक्कै छैन। ‘समृद्ध नेपाल, सुखी नेपाली’ हेर्न त हाम्रो पुस्ताले अर्को जुनीमा मात्र पाउला ! मुलुकमा यतिबेला कोरोना महामारीलाई माथ गर्दै राजनीतिक आरोप/प्रत्यारोपले अहिलेसम्मकै उच्चतम् बिन्दु छोएको छ।
नमस्कार गर्दै जोडिने हात र कमरेड अभिवादन भन्दै उचालिने मुठ्ठी एकाएक भूमिगत भएका छन्। सट्टामा एकअर्कालाई आरोप लगाउँदै, कुरीकुरी, छिःछिः र दूरदूर गर्ने चोर औंलो सक्रिय भएका छन्, अहिले। दुवै पक्षका नेता भनाउँदाहरूलाई कानमा समातेर तपाईंका यी यी गल्ती छन्, सुधार्ने कि नसुधार्ने भनेर चेतावनी दिने हुती कुनै कार्यकर्तामा देखिएको छैन। बरु आआफ्ना समूहको समर्थनमा शक्ति प्रदर्शन गर्न, ताली बजाउन र जुहारी खेल्न प्रतिस्पर्धा गरिरहेका छन्। कुन्साङ काकाको भाषामा भन्ने हाे भने अर्काथरीचाहिँ ‘कुनचाहिँ साँढेको जाइफल’ पहिला झर्ला र खाउँला भनेर जोखना हेरिरहेका छन्।
यो पार्टी वा फलानो नेताले चाहिँ देश सम्हाल्छ भन्ने व्यक्ति यतिबेला कोही भेटिँदैन। खैर, यो गुनासो/असन्तोषलाई यहीँ बिट माराैँ र लागौं विषयवस्तुतर्फ।
हिजोआज बेलुका पुराना, सुमधुर, कर्णप्रिय लोकधुन बजाउने वाद्यवादक टोली, साजसज्जा र फरक चरित्रका पात्रसहित दोस्रो सिजनको ‘जितु कमेडी’, ‘द कपिल शर्मा सो’, अमिताभ बच्चनको ‘कौन बनेगा करोडपति’, राजेश हमालको ‘को बन्छ करोडपति’का छुटेका शृंखला, नहेरेका हिन्दी/नेपाली चलचित्र तथा पुस्तक मेरा साथी बनेका छन्। चलचित्रमा अभिनयको पाटोबाहेक ‘को बन्छ करोडपति’ मा प्रस्तुति शैली र व्यक्तित्वका हिसाबले राजेश हमाल अमिताभ बच्चनकै समानान्तर लाग्छन्, मलाई।
हालसालैको ‘द कपिल शर्मा सो’मा राज बब्बर र जयाप्रदाको जोडी पहिलोपटक देखापर्याे। चलचित्र क्षेत्रबाट करिब-करिब सेवानिवृत्त भइसकेका यी दुई कलाकार अहिले अलग–अलग दुई भारतीय पार्टीमा आबद्ध भई सक्रिय राजनीतिक जीवन बिताइरहेका छन्। राज बब्बर र जयाप्रदा दुवैलाई मैले फरक–फरक कालखण्डमा प्रत्यक्ष भेटेको छु। दुई दसकपछि यौटै चलचित्रमा सँगै देखिन लागेका उनीहरूका चलचित्र र राजनीतिक यात्राबारे कपिल शर्माले बडो रमाइलो तरिकाले त्यो शृंखला बिट मारे। म भने आफ्नो विगतमा निकैबेर हराएँ, हङकङको आकाशमुनि।
राज बब्बरले हस्ताक्षर गरेको त्यो १० रुपैयाँको नोट
काठमाडौं उपत्यकामा न्युरोडको रञ्जना, दरबारमार्ग नजिकैको विश्वज्योति, पाटनको अशोक, राजदरबार दक्षिणपट्टिको जयनेपाल र भक्तपुरमा यौटा गरी जम्माजम्मी पाँचवटा सिनेमा हल थिए होलान्। जतिबेला नेपाली सिनेमा वर्षमा यौटा/दुइटा मात्र बन्थे। बाह्रै मास हिन्दी सिनेमाकै आधिपत्य रहन्थ्यो।
अझ तराई मूलवासीले यौटा हार्मोनियमजस्तो बाकसमा ‘ये हेमा मालिनी देखो’, ‘अमिताभ बच्चन देखो’, ‘सेरावान देखो’, ‘जिनित अमान देखो’, ‘हावडाका पुल देखो’ भन्दै प्रचार गर्थे। अनि एक सुका (९२५ पैसा) तिरेर दूरबिनजस्तो सिसाबाट पालैपालो हेरिन्थ्यो। सिनेमा हेर्न टिकट लाइनमा बस्यो, अक्सर काउन्टरनिर पुग्दा टिकट सकियो भन्दै झ्याल बन्द हुन्थ्यो। प्रहरी र सिनेमा हल प्रसाशन नदेखेझैं गर्थे। अनि ब्ल्याकमा किनेर हेर्न परेपछि महिनाभरिको बजेट चौपट !
सन् ८० काे दसकमा जीवनको पहिलो रोजगारदाता पाँचतारे सोल्टी होटलको व्यवस्थापनको जिम्मेवारी भारतीय ओबराय ग्रुपको मातहत थियो। भारत वा संसारबाटै आउने नेता, अभिनेता, कलाकार सबैजसो अक्सर त्यहीं बस्थे।
अहिलेको जस्तो स्मार्ट फोनको त कल्पनासम्म थिएन। होटलका ७ सय ५० कर्मचारीमध्ये औँलामा गन्न सकिनेसँग मात्रै रिलवाला क्यामरा हुन्थे। त्यतिखेर नयाँ नोटमा अटोग्राफ माग्ने चलन थियो।
अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टर, बलिउड अभिनेताहरू अमिताभ बच्चन, शक्ति कपुर, डेनी डेङजोम्पा, मिथुन चक्रवर्ती तथा तेस्रो सार्क शिखर सम्मेलन (सन् १९८७) मा तत्कालीन ७ राष्ट्रका प्रमुखलाई आमनेसामने भई हेर्न पाइए पनि अटोग्राफ लिने मौका भने मिलेन। करिब ३ महिनासम्म सोल्टी होटलमा बसेका आचार्य रजनीश ‘ओशो’बारे बुझेकै रहेनछु। जसले जे भने पनि एक्काइसौँ शताब्दीका यी अदभूत विद्वानसँग तस्बिर खिच्न तथा अटोग्राफ लिन नपाएकामा चाहिँ अहिले पछुतो लाग्छ, उनका पुस्तक पढ्दा/प्रवचन सुन्दा।
त्यही सेरोफेरोमा त्यो समयका चर्चित बलिउड अभिनेता राज बब्बर हिमालयन विङ्स भनिने भवनको पाँचौ तलाको ५१६/१८ स्विट रुममा बसेका थिए, श्रीमतीसहित। जतिबेला मेरो काम रूम सर्भिसमा अर्डर टेकर थियो अर्थात् पाहुनाले फोनबाट गरेको अर्डरअनुसार कोठामै खाना (खाद्य तथा पेय) पठाइदिने।
एकदिन बिहान राज बब्बरको स्विट रूमबाट दुई जनाका लागि अमेरिकन ब्रेकफास्टको अर्डर आयो। क्यासियरबाट १० रुपैयाँको नयाँ नोट साटेर सहकर्मी निमा शेर्पाले तयार गरेको ब्रेकफास्टको ट्रलीसँगै उनकाे रुममा गएँ, म पनि। उनी देखिएनन्, उनकी पत्नी नदिरा जहिरलाई नमस्कार गर्दै मिस्टर राज बब्बरबाट अटोग्राफ पाए आभारी हुने थिएँ भनेपछि पुलुक्क मुखमा हेरेर रुखो लवजमा भनिन्- ‘ठैरो’। अनि पन्जाबी लवजमा राज यिनीहरूलाई तिम्रो अटोग्राफ चाहियो रे भनिन्, बाहिरबाटै ठूलो स्वरमा। मनमनै सोचेँ- यति ठूलो अभिनेताकी श्रीमती किन यति घमण्डी र रुखी ! प्लिज वेट वा जरा रुकिए भने पनि हुन्थ्यो। केही बेरमा रुमालले हात पुछ्दै राज बब्बर कोठाबाट निस्किए।
‘गुड मर्निङ सर !’
‘गुड मर्निङ। हाउ आर यु’ भन्दै सोफामा बसे।
‘फाइन, थ्यांक्यु सर।’
‘मे आइ ह्याभ योर अटोग्राफ प्लिज’ भन्दै बिल फोल्डरमाथि १० रुपैयाँको नोट र कलम तेर्स्याएँ।
‘लभ यु, राज बब्बर’ लेख्दै मुसुक्क हाँसेर नोट फिर्ता गरे।
‘थ्यांक यु सर’ भन्दै म कोठाबाट बाहिर निस्किएँ।
त्यो समय हिन्दी चलचित्रको केन्द्रबिन्दुमा मज्जैसँग रजाइँ गरेका थिए, यिनले। इन्साफका तराजु, अगर तुम ना होते, आजकी आवाज, यारानाजस्ता सिनेमा अवार्डको मनोनयनमा परेका यी अभिनेताले अभिनय गरेका चलचित्र उतिबेला सुपर डुपर हिट थिए। उनको अनुहार, व्यक्तित्व, मिजास हेर्दा वास्तविक हिरो लाग्यो मलाई, त्यो एकदिन मिनेटभन्दा कम समयको भेटमा। सम्हालेर राखेका पुराना/नयाँ देशी/विदेशी नोटसँगै जतनसाथ एल्बममा राखें, त्यो नोट पनि।
एकदिन अलि ढिला फर्किंदा कोठामा खाद्य सामग्री सकिएको रहेछ। अल्लारे उमेर, तलब आउने दिन नजिकिँदै गर्दा खल्ती रित्तिएको यादै भएन। कोठाका चारैतिर हेरेँ। जीवनमा उधारो वा सापटी माग्नु र जुनसुकै कारण भए पनि चन्दा उठाउनु सबैभन्दा गाह्रो लाग्ने विषय हुन् त्यसबेलादेखि नै। भोकले जुक्ति निकाल्यो। नोट संकलनको एल्बम पल्टाएँ। सबै विदेशी मुद्रा मात्र थिए। नेपाली नोटमा त्रिभुवन र महेन्द्रका पालाका १/१ रुपैयाँबाहेक ‘लभ यु, राज बब्बर’ लेखेको १० रुपैयाँको नोट मात्रै ! त्यही नोट लिएर डेरानजिकैकाे लक्ष्मीचाको किराना पसलमा गएँ। पसलेको कान्छो छोरो बाबुचा रहेछन्, एकमाना चिउरा र अन्डा लिएँ। अनि नोट दिँदै भनें, ‘बाबु ! यो मैले संकलन गरेर राखेको विशेष नोट हो, अहिले छुट्टै राख्नु, भोलि अर्को नोट ल्याएर दिन्छु अनि यो फिर्ता लान्छु भन्दा उनले नोट ओल्टाईपल्टाई हेरेर वाउ राज बब्बरले सही गरेको भन्दै सहमति जनाए।
भोलिपल्ट बेलुकी अर्को नोट लिएर त्याे फिर्ता माग्न जाँदा त ला मैले छुट्टै राखेको थिएँ तर बाउले कल्लाई दिएर पठाएछन् भन्दै सरी पाे भने। साँच्चै उनका बाउले अरूलाई दिए वा केटो आफैंले राखे शंका लाग्यो, मलाई। त्यत्राे मिहिनेतसाथ राखेको नोट एकछाकको भोकले गुमाउनुपर्दा मलाई निकै नरमाइलो लाग्यो।
जयाप्रदासँगकाे त्याे जम्काभेट
सन् १९९३, रोजगार भिसामा हङकङ टेकेको करिब ३ वर्ष भइसकेको थियो। चिमसाचुई ४८ मोदी रोडको भूमिगत तलामा रहेको सूर्य रेस्टुरेन्टमा बेलुकी अक्सर तीन छिमल ग्राहक आउँथे। यस्तैमा राजस्थानी मूलका नियमित ग्राहक प्रेमबल जभेरीको फोन आयो।
‘कमल भाइ कैसे हो?’
‘ठीक हुँ।’
‘दस/बाह्र जनके लिए टेबल मिलेगा?’
‘हाँ, जी जरुर आजाइए।’
‘लेकिन एकबात है। मै जरा देर से आपाउङ्गा। भीभीआईपी लोग है। खुद ख्याल रख्ना प्लिज।’
स्योर नो वरी आइ विल जभेरीजी भन्दै फोन राखेको केही बेरमै आइपुगे उनका ती भीभीआईपी।
उनीहरू अर्डर गरेर खाना खाँदै थिए, रेस्टुरेन्ट व्यस्त थियो। त्यस्तैमा त्यो बेलाका मेरा सहकर्मीहरू नेत्र विश्वकर्मा (हाल बेलायत) र किशोर पुनले ७/११ स्टोरबाट डिस्पोजेबल कोड्याक क्यामरा किनेर ल्याइसकेका रहेछन्। यो केका लागि भन्दा उनीहरूले भने, ‘ल तपाईंलाइ थाहा छैन, ऊ त्यो बीचमा बसेकी जयाप्रदा हुन् नि, अनि निलो सारीमा गायिका कविता कृष्णमूर्ति र अर्का संगीतकार रवीन्द्र जैन।’
जयाप्रदा साधारण पहिरनमा सबै महिलाका बीचमा भएकीले मैले त ख्यालै नगरेको रहेछु !
उनीहरूले भने, ‘सर कुरा गर्नुस् है, फोटो खिच्नुपर्छ।’
सन् १९७९ को ‘सरगम’ चलचित्रमा यौटी सुन्दरी लाटी केटी आँखामा नाच्न थाल्याे। सदाबहार गीत ‘डबलीवाले डबलीबजा’ कानमा गुन्जियो। तिनै जयाप्रदा हुन् त मेराअगाडि ! सोचमग्न भएँ केही बेर।
त्यत्तिकैमा जभेरीजी पनि आइपुगे।
मैले भनें, ‘अरे आपने पहले बताया नहीं जयाप्रदा आरही है। हम सबको तस्बिर लेने है उनके साथ। आप बोलोगे उनको या मै बोलुँ?’
उनले भने, ‘आप बात करो मानेगी, बहुत सिम्पल है जयाप्रदा। हमारे समाज के कार्यक्रममे बुलाया था कल जारही है वापस।’
बहाना त चाहियो। उनका अगाडि गएर भनें, ‘मेडम इट्स आवर ग्रेट प्लेजर टुमिट यु एट आवर रेस्टुरेन्ट होप यु इन्जोइ द फुड ह्यर।’
‘एक्सिलेन्ट फुड एन्ड सर्भिस।’
‘अल युगाइज फ्रम नेपाल?’
‘नट अल मेडम फिलिपिना चाइनिज एन्ड सम सेफ फ्रम इन्डिया अल्सो। बट वनर अफ दिस रेस्टुरेन्ट इज नेपाली।’
त्यसपछि मैले तस्बिर खिच्नका लागि अनुरोध गरें।
एस स्योर भन्दै उठेर आइन्। पालैपालो तस्बिर खिचियो। त्यत्तिकैमा रेस्टुरेन्टका अन्य चिनियाँ ग्राहकले पनि ‘भेरी फेमस इन्डियन एक्टर्स’ भन्ने थाहा पाएपछि फोटो खिच्ने रहर गर्दा २२ वटा रिल सक्किइसकेको थियो।
उनीहरू बिदा भए।
सन् ७० को दसकबाट तेलुगु, मलायलम हुँदै ८० को दसकमा हिन्दी भाषाको चलचित्रमा प्रवेश गरेकी यिनले दर्जनौं फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी थिइन्। तीन सयभन्दा बढी सिनेमामा अभिनय गरेकी यी अभिनेत्रीसँगको छोटो भेटघाटमा अहंकारको लेस थिएन।
हङकङका अरू रेस्टुरेन्ट छाडेर हाम्रोमा आएकामा विशेष धन्यवाद दिएँ, प्रेमबल जभेरीजीलाई।
‘कमल भाइ ए सब हमारी दोस्ती और आपका बिहेभका वजह से है। हमें अच्छा लग्ता है यहाँ आना’ भन्दै उनी पनि बिदा भए।
हङकङमा आक्कलझुक्कल जम्काभेट हुन्छ उनीसँग अझै।
यो लेखको बिट मार्दै गर्दा अहिलेको भाषामा ‘हङकङको अत्याधुनिक सुविधा’ सम्पन्न ४६ तलाको १२ सय स्क्वायर फिटको छतमुनिबाट फेरि स्वदेशको सन् ८० को दसकको जीवनशैलीमा हराएँ, निकै बेर।
कालिमाटी रविभवनपारि सुनार गाउँको करिब सय स्क्वायर फिटको ६० रुपैयाँ भाडाको कोठा मेरो काठमाडौंमा पहिलो बासस्थान थियो। मुस्किलले पाएको जागिरबाट मासिक तलब करिब ८ सय रुपैयाँ थाप्दा कति रमाइलो लाग्थ्यो !
पाँच फिटको पलङ बेडरुम, पलङमुनि आमाले तानमा बुनेर पठाइदिएको परालको गुन्द्री र माथिको सत्रन्जा लिभिङ रुम, कोठाका कुनामा रहेको मट्टीतेलको स्टोभ र एकसरा पकाउने/खाने भाँडाकुडा किचन, ठूलो सिलाबरको बाटा डिसवासिङ वा वास बेसन, एकापट्टिको झ्यालमा राखिएको खुला काठको दराज स्टडी रुम र काठको लामो ह्याङ्गरमा झुन्ड्याइएका दुईचार जोर लुगाफाटा ड्रइङ् रुम थिए, मेरा। अझ बल्खु खोलाको बोक्सी दहको किनार मेरो वासिङ मसिन र बाथरुम थियो।
भर्याङमुनि चौबीसै घण्टा जिरो वाटको बत्ती बल्ने, निहुरिएर बस्नु/उठ्नुपर्ने दुर्गन्धित सामूहिक शौचालयचाहिँ यातना नै लाग्थ्यो। तर पनि म खुसी नै थिएँ, २२ बर्से त्यो जीवन शैलीमा।
जीवन भनेकै आखिर जिउनु नै त हो, जसरी भए पनि। भौतिक, आर्थिक सुख/सुविधा क्षणिक हुन् भन्ने जान्दाजान्दै पनि अपवादबाहेक सबै मानिस किन आफूलाई त्यसकै पछि दौडाउँछन् ! बुझ्न सक्तिनँ म। तर जसले आफ्नो विगत बिर्सिन्छ, ढाँट्छ, मलाई लाग्छ- उसले वर्तमानमा न आफूलाई खुसी राख्न सक्छ न अरूलाई। विगतलाई सम्झिएर आफूलाई जस्ताको तस्तै प्रस्तुत गरेर मात्र वर्तमानमा मज्जाले रमाउन सकिन्छ भन्ने लाग्छ, मलाई त।
प्रतिक्रिया