hongkong


मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’


जुनु राना
काठमाडौं, जेठ ४

जुनु राना

‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर दौडिरहेको मलाई देखेर उनले के सोचे खै? अचानक मेरो हात समेतर आफूतिर ताने।’

हिंड्न र बोल्न सिकेपछि हामी बाबासँगै स्कुल जान्थ्यौं। बाबा स्कुलको प्रधान अध्यापक हुनुहुन्थ्यो त्यतिबेला। र, त्यही स्कुलमा एकजना अर्का सर थिए। सानैदेखि देखिराखेका ती सरसँग झ्याम्मिएर हामी उनको काखमा लुट्पुटिने गर्थ्यौं। बाबाले अँग्रेजी पढाउनु हुन्थ्यो, ती दारीवाल सरले नेपाली विषय। ती सर हामीलाई आफ्नो गालाको कालो दारी मुसार्न लगाउँथे। हामी मुसारिदिन्थ्यौं।

प्रथामिक तह पार गरेपछि माध्यमिक स्कुलमा सर्नुपर्यो। धेरैपछि भेट हुँदा ती दारिवाल सरले भने, ‘सानो हुँदा मेरो दारी मुसारिदिन्थ्यौ। अहिले पनि मुसारिदेउ न।’ उनले त्यसो भनेपछि असहज लागेर हामी नजिक जान पनि छाड्यौं। 
***
एउटा उमेर हुन्छ। जुनबेला साथीभाइसँग हिंड्ने, उनीहरुकै घरमा सँगै सुत्ने, आफ्नो घरमा पनि सुत्न बोलाउने गरिन्छ। किशोरावस्थामा त्यसो गरिन्छ। हामी केटी साथीहरू कहिले मामाघर, कहिले घर, कहिले साथीको घरमा यसरी सँगै सुथ्यौं।

एकरात साथी छेउमा सुतिरहेकी थिएँ। नातामा कान्छी बजैको दिदिको छोरीसँग। हाम्रो फूपू पर्थी। ऊ छेउमा म कुनामा सुत्यौं। मिति याद छैन, सायद दशैंताका हुनुपर्छ। सुतिरहेको अवस्थामा मध्यरातीतिर कसैले कुनाबाट छोएजस्तो लाग्यो। त्यो कसैको चिसो हात थियो। साथी त निदाइसकेकी थिइ। म बेस्सरी तर्सें। को हो भन्दै सोध्दै गर्दा ऊ उठेर लुरुलुरु गयो। जुनेली रातको उज्यालो आँगनमा भए प्रष्ट देख्न सकिन्थ्यो। तर ऊ पछाडि अँध्यारोतिरको बाटो गयो। यति छिटोछिटो यो गतिविधि भयो कि मैले न बत्ति बाल्न सकें न उसको अनुहार स्पष्ट चिन्न। आजसम्म पनि त्यो मानिस को थियो र किन छुन आयो भनेर बुझ्न सकेको छैन।
***
छिमेकी जिल्लाका वा चिनेजानेका गाउँलेसँग हाँसेरै बोल्छौं हामी। यहि हाँसोले हामीलाई गाल पनि पारेको छ। तर मान्छेको स्वभाव न हो। कहिलेकाहीँ पार्टी वा कार्यक्रमतिर दिदिबहिनी दाजुभाइसँग हाँसेर नाच्दै गर्दा पनि देख्नेहरुले अर्कै सोच्दा रहेछन्।

एक पटक यस्तै भयो। हामी हाँस्दै नाच्दै गरेको देखेर एकजना व्यक्तिले नाचिरहेका दिदिबहिनीको शरीरमा शरीर ठोक्काउन आए। उनले बारम्बार त्यही हर्कत दोहोर्याएपछि ‘त्यो व्यक्तिलाई नछोइकन नाच’ भन्दै पछाडि धकेलि दिएको छु। त्यसपछि उसले नजिक आउने आँट गरेन। 
***
सधैंजस्तै त्यो बर्ष पनि तीज मानियो। प्रवासमा नै सहि। हामी धुमधामले नेपाली चाडपर्व जो मनाउछौं। माघे संक्रान्ती, तीज र तिहार जस्ता चाडमा आयोजना गरिने कार्यक्रममा सबै भेला भएर रमाउँछौ। यसरी रमाउँदा सायद कतिलाई उत्ताउली वा अरु केही लाग्दोरहेछ। नौ बर्षअघिको एउटा घटना सम्झँदा अहिले पनि असजिलो लाग्छ। हङकङको ताईतोङ डाँडामा तीज मनाएर सधैंजस्तो दिदिबहिनी, मामा, अंकलहरुसँगै हिंडेर तलसम्म आउँदै थियौं।

तीजको बेला त नाच्नै पर्यो। नाच्दानाच्दै खुट्टा दुखेको थियो। त्यसमाथि त्यो दिन झन् थोरै हिल भएको स्यान्डल लगाएकी थिएँ। राति घर फर्कने बेलामा स्यान्डल लगाउनै नसक्ने अवस्थामा पुगें। डाँडाबाट तल बसस्टपसम्म हिंडेरै जाऔं भन्दै हिंडियो। ओरालोमा हिल जुत्ता र खुट्टाको तालमेल मिलेन। थोरै हिंडेपछि स्यान्डल फुँकालें। अलिक तल रुपा दिदी, आन्टी र अंकलहरु हिंड्दै हुनुहुन्थ्यो। रातको दस बजिसकेको थियो। जंगलको सुनसान बाटो। जुत्ता फुकाल्दा म थोरै पछाडि छोडिएको एक जना अंकलले थाहा पाएछन्। उनी बाटोमा उभिएको देखें। हातमा स्यान्डल लिएर दौडिरहेको मलाई देखेर उनलाई के लाग्यो खै? उनले अचानक मेरो हात समेतर आफूतिर ताने। म निकै डराएँ। बेस्सरी बल लगाएर हात छुटाएँ अनि ओरालोमा दौडिएँ। तल हिंडिरहेका दिदिहरुलाई बोलाउने आँट आएन। आफै दौडेर उनीहरुको भिडमा मिसिएँ।

जुत्ता हातमा देखेर मामाले ‘जुनु र रुपाको स्यान्डल जहिले हातमा हुन्छ’ भन्दा पो झसंग भएँ। आज सम्झन्छु, त्यो बेला मसँग आजको जस्तो बलियो आत्मविश्वास थिएन। नत्र हात तान्ने ती अधबैंसे पुरुषलाई लात हान्न सक्थें होला। त्यसरी हात तान्दा चित्त नबुझेकोले विद्रोह गर्न सक्थें होला। नभए पनि ‘किन, के सोचेर हात तानिस’ भन्न त सक्थें। ती मानिसका दुई छोरीहरु हामीसँगै नाचेका थिए। आजकल मैले ती मान्छेलाई देखेको छैन। तर भेटें भने, अहिले पनि सोध्नेछु– किन हात तानेको थिइस? तरुनी सम्झेर तानिस कि छोरी सम्झेर?

सोच्छु किन यस्ता क्रियाकलाप भइरहन्छन्? यो सेक्स प्रतिको कौतुहलता र चासो हो कि लालच? आजका मानिसमा झन् झन् किन सेक्सप्रति झुकाव बढिरहेको छ? आधुनिक सभ्यता र प्रविधिको विकाससँगै यौनजन्य हिंसा झन् झन् किन बढिरहेको छ? आपसी मिलोमतोमा गर्ने काम किन जबर्जस्तीमा परिणत भइरहेको छ?

यति लेख्दालेख्दै अर्को खबरमा आँखा गयो। लेखिएको रहेछ, ‘१५ वर्षीय युवकले १७ वर्षीय युवतीलाई नशाजन्य पदार्थ खुवाएर बेहोशी अवस्थामै जबर्जस्ती गरे। काम फत्ते भैसकेपछि उनले सोधे- डिड यु लाइक्ड इट?’

जेठ ४, २०७६, शनिबार

जुनु राना हङकङस्थित लेखक हुन्
लेखकबाट थप

Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors