hongkong


शिक्षण पेसा छाडेर यसकारण आएँ कोरिया


दिलीप वान्तवा
दक्षिण कोरिया, जेठ १४

दिलीप वान्तवा

अंशका नाममा बाउले काढेको ऋण भाग लगाउने निम्न मध्यम वर्गीय परिवारको मान्छेले सामान्य जागिर खाएर सुखी जीवनको कल्पना गर्नु भ्रममा रुमल्लिनु मात्र हो।

सन् २०१७ मे २३ को बिहान, स्थानीय समयअनुसार ठीक ५ः५५ बजे– हामी चढेको बोइङ ७७७–२००ई आर को के ई ६९६ जहाज इन्छन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा फन्को मार्दै थियो।

नेपालको समयअनुसार अघिल्लो राति ८ः३०  बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छाडिएको थियो। एक हजार ७३२ माइलको आकाशे दूरी ६ घन्टा १० मिनेटमा पार गरिएको सो विमानमा विभिन्न मुलुकका नागरिकसहित रोजगार अनुमति प्रणालीअन्तर्गतका हामी ६९ नेपाली थियौँ।

वैदेशिक रोजगार र रेमिट्यान्सले निर्धारण गर्ने नेपाली अर्थतन्त्रको ठूलो हिस्सा खाडी तथा मध्यपूर्वमा अवस्थित छ। नेपाल सरकार र कोरिया सरकारबीच सम्झौतापछि सन् २००७/०८ मा सुरु गरिएको रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली रोजगार नेपाली युवाका लागि निक्कै आकर्षक मानिन्छ। अहिलेसम्म वैधानिक तवरले ५० हजारभन्दा बढी नेपाली युवा कोरियामा छन्। जी टु जी सम्झौताका आधारमा नेपाली कामदारले कोरिया प्रवेश पाउने भएकाले यसलाई कम लागतमा आकर्षक रोजगारी र तलब मानिएको हो।

थुप्रै युवा आफ्नो भइराखेको पेसा र व्यवसाय छाडेर पनि कोरिया आइरहेका छन्। अधिकतर नेपाली युवा अन्य देशबाट आउनेहरू भन्दा उच्च शैक्षिक पृष्ठभूमिका हुन्छन्। कतिपयले नेपालकै आकर्षक जागिरसमेत हापेर यता हाम्फाल्न पुग्छन्।

६ घन्टा १० मिनेटको आकाशे यात्रामा यस्तै थुप्रै कुरा मनमा खेलिरहे। मसँगै बस्ने दुई साथी भारत र चीनको सिमानातिर पुग्दै गर्दा एयरहोस्टेसले दिएको वाइन खाएर निदाएँ। म भने त्यहीं दिइएको हेडफोन कानमा ठोसेर गीत सुन्दै उतै फर्किएँ।

म १२ वर्ष लामो शिक्षण पेसालाई त्यागेर आउँदै थिएँ। केही पटकको असफल प्रयासपछि बल्ल भाषा परीक्षा पास गरेको थिएँ। पास गरेको हल्ला चलेपछि मिश्रित प्रतिक्रिया आउने नै भए। कतिपयले ‘सरकारी जागिर छाड्नु हुँदैन। पछिसम्मका लागि काम लाग्छ, यो भनेको जरुवा पानी हो’ भने। अब यसको बुद्धि बिग्रियोसमेत भने। कतिपयले ठीकै छ, अहिलेको समय पैसा नभए केही गर्न सकिन्न भन्ने तर्क गरे। तर मैले भने यी दुवै थरी तर्कलाई वर्षाैंदेखि मनमा खेलाइरहेको थिएँ।

अंशका नाममा बाउले काढेको ऋण भाग लगाउने निम्न मध्यम वर्गीय परिवारको मान्छेले सामान्य जागिर खाएर सुखी जीवनको कल्पना गर्नु भ्रममा रुमल्लिनु मात्र हो। कि त पुर्ख्यौली सम्पत्ति प्रशस्त हुनुपर्‍यो कि त पैसा कमाउन सकिनेजति सबै विकल्प प्रयोग गर्न सक्नुपर्‍यो। अनि मात्र एउटा सामान्य जागिरेले सोँचेजस्तो जीवन निर्वाह गर्न सक्छ। तर म यी दुवै कुराबाट टाढा भएको मान्छे। सिर्फ जागिरमा मात्र झुन्डिँदा मलाई आफ्नो प्राण धान्न मात्र सहज थियो।

Bidhlabmobile bidhlab

वर्षमा एउटा गन्जी किन्नसमेत धेरैपटक हिसाब मिलाउनुपर्ने अवस्थामा दिनदिनै हुर्किरहेका बालबच्चा र तिनका आवश्यकताहरूलाई टुलुटुलु हेरेर बस्नुबाहेक विकल्प हुँदैनथ्यो मसँग। सन्तानको सुखद भविष्यको चाहना त कुन आमाबाउलाई हुन्न होला र! तर आवश्यकताहरूका चाङ पार लाउन नसक्दा कतिपय अवस्थामा आमाबाउहरूले आफैँलाई धिक्कार्नुपर्ने हुँदोरहेछ।

यी र यस्तै तर्कनाहरूले निरन्तर मन पोलिरहन्थ्यो। म दायाँबायाँ कुनै ‘साइड जब’ गर्न नसक्ने भएकाले, आर्थिक दायित्वको घनले निरन्तर टाउकोमा ठोकिरहन्थ्यो।

अझ बद्लिँदो समय र परिवेशले नेपाली समाजलाई निक्कै पर धकेलिरहेको छ। हामीसँग उत्पादन छैन, आर्थिक रुपमा परनिर्भर छौँ। बैदेशिक आयातले बजार भरिएको हुन्छ, क्रयशक्ति र हाम्रो आम्दानी बीचको तादाम्यता नमिल्दा व्यवस्थापन भद्रगोल भैदिन्छ। अर्थात हाम्रो समाज, जीवनशैली रवाफिलो र आडम्बरी भैसक्यो। उत्पादनमा आत्मनिर्भरता छैन। अर्थतन्त्र नै परनिर्भर छ। मानिसहरु बजार केन्द्रीत भए जसले उनीहरुलाई श्रम र उत्पादनबाट टाढा बनायो तर आर्थिक रुपले बोझिलो। यस्तै चक्रीय पद्धतिले युवाहरु बैदेशिक रोजगारीको म्याराथनमा होमिन्छन्। कोरिया यात्रा पनि त्यसै क्रममा जोडिन्छ।

मेरो निष्कर्ष पनि त्यस्तै रह्यो। मान्छेलाई सबैतिरबाट पहिचान गरिने आधार र हैसियत निर्माण पनि आर्थिक सम्पन्नताकै भरमा गरिन्छ। सामाजिक, राजनीतिक गतिबिधिहरु जो विशुद्ध सेवामूलक काम हुन् तर यी सबैमा पनि आर्थिक हैसियत नजोडिई नहुने रहेछ। सबै तिरबाट सम्झेर ल्याउँदा आर्थिक बिपन्नता भनेको जिउँदो लास हुनु रहेछ। त्यो समय मैले भेटेको निष्कर्ष यही थियो। त्यो निक्कै नै कठिन निचोड थियो मेरो लागि। आर्थिक उपार्जनमा चित्त बुझ्दो नभए पनि सामाजिक दायित्व र उत्तरदायित्वको हिसाबले आनन्द लाग्दो थियो, सन्तोक पनि थियो। तर पारिवारिक जिम्मेवारीको सम्झनाले भने घचेटिरह्यो निरन्तर। त्यसैले समयको मझधारबाट उठाएर आफुलाई त्यो निर्णयको किनारमा पुर्‍याएको थिएँ।

अध्यागमन जाँचपछि तालिम केन्द्र पुग्यौँ। त्यहाँको दुई दिने ओरिएन्टेशन सकेर २५ मे मा सबै आआफ्नो कम्पनितिर बाँडियौँ। त्यसको ठिक तीन महिनापछि तालिमकेन्द्रको एउटै बेडमा बसेको एउटा साथिलाई डिप्रेशनले आत्महत्या गरायो। मन निक्कै कुँडियो। त्यो महिना लगातर दुई हप्तामा तीन जना नेपाीहरुले त्यसो गरेका थिए। हामी नेपालबाट आउँदै गर्दा यहाँको आकर्षक तलब मात्र सम्झिन्छौँ। नेपालमा परिवारसँग आफुले चाहे जस्तै गरेर बसिराखेको, सानदार र सुकिलो भएर जागिर गरेको, अथवा आनन्दले बसेर आफ्नो पेशा व्यवसाय सञ्चालन गरेको मान्छेलाई यहाँ आएर ‘एड्जस्ट’ हुन हम्मे हम्मे पर्छ। आकर्षक तलब भएसँगै जोखिमपूर्ण कामहरु अनिवार्य नै हुन भन्ने कुरा मनमा राखिएन भने निक्कै नै सकस हुन्छ। नेपाली युवाहरुमा डिप्रेशन र आत्महत्याको क्रम निक्कै उच्च छ भनिन्छ यहाँ जसको कारण भन्नु नै नेपालमा बिताएको जीवनशैली र यहाँको सकसपूर्ण दैनिकी बिचको तादम्यता नमिल्नु हो।

आज ठिक दुई बर्ष बित्दैछ। यहाँको चालचलन, काम गर्ने पद्धती, यहाँका मानिसहरुको शैली, उनीहरुको विचार र बानी ब्यहोरा हाम्रो लागि निक्कै नै अनौठो लाग्छ। राज्यको सेवा प्रबाहको तरिका, नागरिक प्रतिको उत्तरदायित्व, प्रबिधी यी सब हाम्रो लागि फगत कल्पना हुन् कमसेकम अहिलेका लागि। कल्पिन्छु, हाम्रो गाउँ गाउँबाट हरेक युवाहरु हरियो पासपोर्ट बोकेर बिदेशिरहेका छन्। सरकारले समृद्धिको सपना बाँडिरहेको छ, तर खै कसरी सम्भव होला र? उर्बर समय र मस्तिष्क जति परदेशमा प्रयोग गरेर बाँकी समय बिताउन मात्र आफ्नो देश पुगिने अवस्था छ। आशा गरौँ, बैदेशिक रोजगारमा रहेका लाखौँ युवाहरुलाई स्वदेश फर्किने रहरलाग्दो अवस्थाको सृजना होस देश भित्रै। असंख्य सपनाहरुले जेट चढेर हरेक फ्लाईटमा अन्तर्राष्ट्रिय सिमाना काट्नु नपरोस्।

जेठ १४, २०७६, मंगलबार
Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors