hongkong


दीपक जंगमले माला लगाइदिएपछि भावुक भएको मेरो मन


कमल पौड्याल
हङकङ, जेठ २७

दीपक जंगम

वास्तवमा अनुपम खेरको उक्तिजस्तै हो जीवन– ये भि हो सकता है, ओ भि हो सकता है, जिन्दगीमे कुछ भि हो सकता है। जीवनमा आफूलाई अरूभन्दा कम नसोच्नुस्, जुन कुरा तपाईंसँग छ, मसँग छ त्यो अरूहरूसँग नहुन पनि सक्छ। त्यो कसैको माया अथवा आफैंभित्र खेलिरहेको खुसी पनि हुन सक्छ।

सन् २०१४/१५ तिर बलिउडका चर्चित अभिनेता अनुपम खेरले एउटा कार्यक्रम चलाउँथे– द अनुपम खेर सो कुछ भि हो सकता है। जसमा बलिउड सिनेमाका जानेमाने पुराना र नयाँ हस्तीहरू निम्त्याइन्थे।

अक्सर पुराना कलाकारका जीवनका सुरुवाती संघर्षका दर्दनाक अनुभवको सारै चाखलाग्दो कथा सुन्न पाइन्थ्यो त्यसमा। कार्यक्रममा निम्त्याइएका अतिथिहरू आउनुअगाडि भूमिका बाँध्दै उनले भन्ने गरेका कुराहरू सम्झनामा ताजै छन् अझै।

‘तो दोस्तो रोज दिनमे १० किलोमिटर पैदल चलके शिक्षा आर्जन करनेवाला लालबहादुर शास्त्री भारतके प्रधानमन्त्री बन सकता है, रेलको प्लेटफर्म पर चाय बेचनेवाला एक चाय ब्वाई नरेन्द्र मोदी हिन्दुस्तानके सरकार बना सकता है, अपने उच्च शिक्षा पुरे किए बगर रवीन्द्रनाथ टैगोर लिट्रेचर कि दुनियाँमे नोबल प्राइज पा सकता है, न्युरोलोजिक डिसअर्डरसे जुझ्ते हुए एक इन्सान वैज्ञानिक अनुसन्धानके दुनियाँमे स्टिफिन हाकिन्स अपना नाम लिखा सक्ते है तो जिन्दगी मे कुछ भि हो सकता है!’

अरू त अरू उनी आफ्नैबारे यसो भन्ने गर्थे, ‘हिन्दुस्तानके एक मामुली क्लर्कके बेटे अनुपम खेर बलिउड सिनेमाके क्षेत्रमे अपना स्थान बनासक्ते है तो जिन्दगी मे कुछ भि हो सक्ता है!’

मैले हेरेका कार्यक्रममध्ये अभिनेता अक्षय कुमार, मनोज बाजपेयी, परेश रावल, नसुरिद्दन शाह, शहारूख खान र बुमन इरानीका संघर्ष मननयोग्य र भावुक थिए। मलाई मनपरेको कुराचाहिँ बलिउडमा गीत, संगीत, सिनेमा र राजनीतिक क्षेत्रमा अग्रजहरूलाई सम्मान गर्ने संस्कार अनुकरणीय छ। सबैले कार्यक्रममा आएकाले आफ्नो विगतका पानाहरू जस्ताको तस्तै पल्टाइदिन्छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कैयौं अन्तर्वार्तामा भनेका छन्, ‘हाँ मै चायवालाका बेटा हुँ। मै रेलके डिब्बेमे चाय बेचाता था अपने बचपनमे, करिब ४० साल मैने भिक्षा मागकर खाया।’

दिल्लीको लालकिल्लामा पहिलो पटक प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै मोदीले ‘मै आप लोगों के प्रधानमन्त्री नहीं प्रधानसेवक हुँ’ भन्दा लामो समय तालीको गडगडाहट भयो।

Bidhlabmobile bidhlab

सफलता र सम्पन्नताको शिखर चुमेपछि आफ्नो विगत ढाँट्ने मान्छे मन पर्दैन मलाई। भन्न खोजिएको के हो भने वास्तवमा हामी नेपालीका पनि हरेकको जीवनमा यस्ता कथा छन् खासगरी हाम्रो पुस्तासँग। नब्बेको दशकमा हङकङ आएर लामो संघर्ष गर्दै सम्पन्नताको शिखर चुमेका नेपालीको एउटा चाखलाग्दो कथा या आर्ट चलचित्र बन्न सक्ने देखेको छु मैले।

जीवनमा आफूलाई अरूभन्दा कम नसोच्नुस्, जुन कुरा तपाईंसँग छ, मसँग छ त्यो अरूहरूसँग नहुन पनि सक्छ। त्यो कसैको माया अथवा आफैंभित्र खेलिरहेको खुसी पनि हुन सक्छ। गहिरिएर सोच्ने हो भने सन् नब्बेको दशकमा दक्षिण एसियाली मूलका मानिसहरूलाई घर भाडामा दिन पनि अनकनाउँथे हङकङका रैथानेहरू। हिजोआज तिनैलाई ‘सर लाइक टु बाइ न्यु हाउस?’ भन्दै पछ्याउने मात्र हैन, फोन गरेर हैरान पार्छन् प्रपर्टी ऐजेन्टहरू।

स्थानीय चिनियाँ, भारतीय र अन्य देशका नागरिकलाई घर भाडामा लगाएर ब्रिटिस औपनिवेशिक बोलीचालीको भाषामा ‘ल्यान्डलर्ड’ बनेका नेपाली प्रशस्तै छन् यहाँ। सुन पसल हुन् वा चस्मा पसल, प्रपर्टी एजेन्सी, मासु पसल, सब्जी मन्डी जताततै नेपालीमा सूचना टाँस्नेदेखि टुटे फुटेका नेपाली बोलेर आकर्षित गर्छन् अचेल। अरू त अरू हङकङमा युरोपेली मूलका मानिसलाई लक्ष्य गरेर खोलिएका टेलर सपका (खासगरी सुट बनाउने) भारतीय र बंगलादेशी मूलका व्यवसायीहरू नेपाली ग्राहक आकर्षित गर्न कुनै कसर बाँकी राख्दैनन् अचेल।

मलाई नै कतिपयले ‘कमलजी आप लोगोका बिजिनेस डाइरेक्टरी कब निक्लेगा बता ना एड् रख्ना है’ भन्छन्। ब्रिटिस औपनिवेशिक कालदेखि नै जमिनमा स्वामित्वदेखि आफ्नै भवन भएको इन्डिया क्लबमा सबभन्दा धेरै सभा समारोह नेपालीहरूकै हुन्छन्। हङकङको निर्माण र सुरक्षा व्यवसायमा, माथिल्लो तहमै नेपालीहरूको उपस्थिति छ। हङकङकै चर्चित वान्चाई, सेन्ट्रल, सोहो र केनेडी टाउनका रेष्टुरेन्ट बारहरूमा नेपाली व्यवसायीहरूको सफल सहभागिता युरोपेली र स्थानीय व्यापारीहरूको टाउको दुखाइ बनेको छ।

सार्वजनिक यातायातमा संसारकै उत्कृष्ट, सजिलो र सस्तो मानिएको हङकङका चिल्ला सडकहरूमा महँगो ब्रान्डका गाडी गुडाउने नेपाली प्रशस्तै भेटिन्छन् अहिले। एउटा कार्यक्रममा याउमातेइ प्रहरी मुख्यालयका डिभिजनल कमान्डरले ‘कमल यु नो योर नेपलीज बिजिनेस म्यान ... कम्पनी नाउ लिस्टेड अन हङकङ स्टक एक्सचेन्ज’ भनिदिँदा आफू नेपाली भएकामा गर्व लाग्यो मलाई। रोजगारी क्षेत्रमा पनि प्रतिव्यक्ति आम्दानीका हिसाबले संसारमै हङकङ सबैभन्दा माथि छ। एउटा निर्माण कम्पनीमा काम गर्नेहरूको आम्दानी सानोतिनो व्यवसाय गर्नेहरूकै जति पुग्छ। अर्को कुरा, आम्दानी करका हिसाबले पनि हङकङ सरकारको नीति फराकिलो छ।

बलिउडका ती चर्चित व्यक्तिहरूको त कुरै नगरौं, माथि उल्लिखित नेपालीभित्र पनि परुँ या नपरुँ, तर म आफैंभित्र रमाउँछु जहिल्यै। १९९० फेब्रुअरी २० मा म हङकङ ओर्लेको दिन बेलुका मेरो पहिलो रोजगारदाताले सापटी दिएको २०० हङकङ डलरबाट सुरु भएको मेरो दिन र आजसम्म आइपुग्दा प्राप्त सफलता र खुसी जाँच गर्ने यन्त्र भए म भन्छु– कुनै फरक देखिने छैन।

सन् ८० को दशकमा सोल्टी ओबराय (अहिलेको क्राउन प्लाजा) मा काम गर्दै बिहान कलेज पढ्थें। मासिक तलब ६ सय ५० रूपैयाँ थियो। हरेक वर्ष दसैंमा ‘होटल व्यवस्थापकलाई पर्याप्त मुनाफा नहुँदा नहुँदै पनि कर्मचारीहरूको हितलाई ध्यानमा राखी यस वर्ष पनि एक महिनाको बोनस दिने निर्णय गरिएको छ’ भन्ने सूचना होटलको सूचना पाटीमा देख्दा खुसी लाग्थ्यो। लगभग बाह्रै महिना होटल भने भरिभराउ हुन्थ्यो। अहिलेजस्तो कर्मचारी संगठन थिएनन्। राजाको होटलमा कर्मचारी अधिकारका कुरा गर्दा जागिर जान सक्थ्यो। ज्ञानेन्द्र शाहका तर्फबाट प्रभाकर शमशेर राणा सोल्टी होटल लिमिटेडका डाइरेक्टर थिए भने व्यवस्थापनको जिम्मा ओबराय ग्रुपले लिएको थियो। केही बाठा पर्यटकले होटलका कर्मचारीहरूलाई टिप्स दिएर पथ प्रदर्शक बनाउँथे। त्यो हाम्रो अतिरिक्त आम्दानी हुन्थ्यो।

एकजना सहकर्मीले भने, ‘एउटा इन्डियन छ रुममा, टन्नै क्यासेटका चक्कै चक्का छन्, के भनेको हो मैले त कुरै बुझिनँ।’

रुममा गएर हेरें। उनी रहेछन्– दिल्लीको उतिबेला गुलसन कुमारको सुपर क्यासेट कम्पनीका मार्केटिङ एक्जुकेटिभ रूपेन्द्र शर्मा। अनि मलाई काठमाडौं, पाटन सिटी टुर र एकजना मान्छेलाई नभेटी नहुने भनेर कार्ड देखाए उनले। ती व्यक्ति अरू कोही नभएर उतिबेलादेखि अहिलेसम्मै चर्चित संगीत साधक दीपक जंगम थिए। तत्कालीन रत्न रेकर्डिङ संस्थानका महाप्रबन्धक उनी मलाई मनपर्ने संगीतकार हुन्। सन् असीको दशकमा रेडियो नेपालको ‘अनुरोध संगीत’ कार्यक्रम होस् वा औंलामा गन्न सकिने गजल रेस्टुरेन्टमा, उनले संगीत भरेका गीत धेरैको रोजाइमा पर्थ्यो।

अझ सोल्टी ओबरायको उतिबेला लाइभ सांगीतिक कार्यक्रम हुने हिमालचुली रेस्टुरेन्टमा– पंकज उदासको ‘चिट्ठी आइ है, चिट्ठी आइ है बडे दिनो के बाद‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ ...’ जत्तिकै उनले संगीत भरेका ‘गाजलु ती ठूला–ठूला आँखा तीर बनी बसे यो दिलैमा’, ‘लोलाएका ती तिम्रा दुई नजरले हेरिदिए मलाई चाहिन्न अर्को केही’ देखि ‘मलाइ छाडी मेरै छाया कता गएछ’ सम्मका गीत धेरै गाउन लगाउँथे स्रोता दर्शकले गजल गायकहरूलाई।

भोलिपल्ट ट्याक्सी रिजर्भ गरेर साइड सिन र लन्चपछि सिंहदरबार छिरियो करिब ४ बजेतिर। उनले समय लिइसकेका रहेछन्। उनीहरूको कार्ड आदानप्रदान भयो। मैले टुर गाइडका रूपमा आफ्नो परिचय दिएँ। कालो चियासँगै उनीहरूको वार्तालाप सुरू भयो। म साइडमा नसुनेझैं गरेर त्यही टेबलमा रहेका पत्रिकाका पाना पल्टाएर बसें। कुरा सुन्दा उतिबेला रत्न रेकर्डिङ संस्थानमा सिंगापुरबाट क्यासेट चक्का आउने रहेछ। त्यो भन्दा कम रकममा दिल्लीको सुपर क्यासेट कम्पनीले दिने कुरामा उनीहरूको छलफल भयो। पछि त्यो कुरा अगाडि बढ्यो या बढेन, थाहा भएन। दिनभरिको घुमाइफिराइपछि रूपेन्द्र शर्माले मलाई भारु ५०० दिए। म खुसी हुँदै डेरा फर्किएँ त्यो साँझ।

get img 5

संयोगले भनौं या भाग्यले, म जागिरले डोर्याएर हङकङ छिरें। दीपक जंगम संगीत साधना र सिर्जनामा अनवरत लागिरहे। सन् २०१६ डिसेम्बरमा नेपाल क्लब हङकङले आफ्नो वार्षिकोत्सवमा उनै दीपक जंगम र संगीत विषयमै विद्यावारिधि (पीएचडी) गरेकी उनकी पत्नी डा बेनी जंगमलाई निम्त्याउन लागेको कुरा रीता गुरुङले सुनाइन्। त्यति मात्र हैन, ‘दीपक जंगम एकल साँझ’ मा उनको जीवनको सांगीतिक यात्राबारे करिब १०–१५ मिनेटको लिखत तयार पारेर बोल्नुपर्ने जिम्मेवारी पनि आइलाग्यो मलाई। यति ठूलो सांगीतिक साधकलाई एक पन्नामा अटाउनु चानचुने काम थिएन। सन्दर्भ सामाग्री खोजेर बल्ल बल्ल तीन दिनमा लेखें तर लामो भयो। प्रिय भाइ रत्नाखर काफ्लेले मैले लेखेको त्यो लामो लिखतलाई सम्पादन गरेर छोटो पार्न सहयोग गरे। वि.सं. २०१९ मा रेडियो नेपालबाट सुरु भएको दीपक जंगमको पाँच दशक लामो सांगीतिक संघर्षको कथा उनको एकल साँझको सुरुमा मैले पढिरहँदा जंगम दम्पती मलाई याउमातेई कम्युनिटी हलमा उत्सुकतापूर्वक हेरिरहेका थिए।

उनले त्यो साँझ, आफ्ना कालजयी गीतहरू प्रस्तुत गरे। जसमा उनका नेपालदेखि नै चिरपरिचित र हङकङलाई कर्म थलो बनाएका सांगीतिक जोडी गणेश र यशोदा पराजुलीसँगै कृष्णभक्त महर्जन, चेतमान गुरूङ, रोशा लिम्बू, विजय श्रेष्ठ र हङकङका स्थानीय कलाकारहरूले साथ दिएका थिए। त्यो साँझ मलाई निकै रमाइलो लाग्यो। आफैंलाई चिमोटें, विगत र वर्तमान सम्झेर। कार्यक्रम सकिएको पर्सिपल्ट हङकङस्थित समीक्षक समाजले अन्तरक्रिया र नेपाल क्लबले विदाइ कार्यक्रम राख्यो कंगन रेस्टुरेन्टमै। सहभागीहरूले सोधेका– किन चाँदनी शाहका गीत नारायण गोपालले धेरै गाएका? राजा महेन्द्रले तत्कालीन बलिउड सिनेमा अभिनेत्री माला सिन्हालाई देखेपछि ‘लोलाएका ती तिम्रा ठूला दुई नजरले’ किन लेखे? राजा आफैं रचना गर्थे या सहयोग लिन्थे? आदि विषयमा उनले प्रस्ट्याए।

दरबारबाट नारायण गोपाललाई बोलावट भएर धेरै फकाएर पठाएको तर धेरै बेर कुर्नु परेपछि खराब मुडमा फर्किएको त्यो दिनको सम्झना उनले सुनाए। पछि धेरै मिहिनेतपछि मात्र नारायण गोपाललाई राजी गराउन सकेको उनले बताए। उनी जति कुशल संगीतकार थिए, प्रश्नोत्तरमा त्यति नै कूटनीतिज्ञ पनि लाग्थे। मविवि शाहको रचना गुलाम अलिको स्वरमा उनले संगीत भरेको गीत हो– ‘गाजलु ती ठूला–ठूला आँखा तीर बनी बसे यो दिलैमा’। उनको जीवनको पर्याय बनेको यो गीतसहित अन्य गीतबारे पनि प्रश्नोत्तर भए। त्यसक्रममा उनले मविवि शाहको रचना गुलाम अलिसम्म पुर्याएर गीत बनाउँदाको रमाइलो प्रसंग सुनाए।

अन्त्यमा उनै दीपक जंगमले मलाई माला लगाइदिए। पच्चीस वर्षपहिला रत्न रेकर्डिङ संस्थानमा उनलाई भेट्दाको याद आयो मलाई।

मैले माइक समातें र भनें, ‘वास्तवमा अनुपम खेरको उक्तिजस्तै हो जीवन ‘ये भि हो सकता है ओ भि हो सकता है तो दोस्तों जिन्दगीमे कुछ भि हो सकता है।’

आजभन्दा करिब २५ वर्ष अगाडि एउटा होटलमा साधारण काम गर्ने २० वर्षे केटो जो भारू ५ सय लिएर पथप्रदर्शक बन्दै रत्न रेकर्डिङ संस्थानको ढोकामा छिरेको थियो तर आज ऊ, तिनै संगीतकारलाई हङकङमा त्यो पनि आफ्नै रेस्टुरेन्टमा स्वागत र बिदाइ गर्दै छ। जीवनका गोरेटाहरूमा उही पात्रलाई फरक परिवेशमा भेट्दा म अलि भावुक भएँथें, त्यो साँझ।

मैले आफूलाई निक्कै सम्पन्नशाली सम्झेर यो सब भनिरहेको छैन। मपाईंत्व देखाएको अर्थमा नलिइयोस्।

कसैले पनि जन्मँदै जीवनको मार्गचित्र (रोड म्याप) बनाएको हुँदैन, यहाँ–यहाँ जान्छु र यसरी यति धनी हुन्छु, यति नाम कमाउँछु भनेर योजना निर्माण गर्दैैन। मान्छेको जीवन समय, परिस्थिति, लगनशीलता, धैर्यता र सायद ‘भाग्य’ ले डोर्याएर लैजाने कुरा हो। मृत्युलाई अहिलेका औषधि, खानपान र रहनसहनले थोरै पर सारे या धकेले पनि रोक्नै भने सक्तैन। त्यसैले बाँचुन्जेल खुसीले बाँच्नु नै सबैभन्दा ठूलो कुरा हो। भनिन्छ– खुसी किन्न पाइन्न उमार्नु र हुर्काउनुपर्छ आफैंभित्र। त्यसैले विगतको धरातल नबिर्सी त्यसमै उभिएर वर्तमानमा हरेक पलपल रमाएर बाँच्न सक्नुपर्छ।

जेठ २७, २०७६, सोमबार

कमल पौड्याल हङकङका व्यवसायी र लेखक हुन्
लेखकबाट थप

Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors