मेरो आँसु आमालाई माया

मेरो आँसु आमालाई माया

ललित लिम्बू
जेठ २७, २०७६ सोमबार १०:३,

लामो समयदेखि आमा काठमाडौंमा विरामी अवस्थामा हुनुहुन्थ्यो। म हङकङमा। आउने जाने क्रम चलिरह्यो। मामाको छोरा युवराजले मार्च २८ को बिहान अचानक फोन गरे। बाबासँग कुरा भयो। ‘आमाको अवस्था राम्रो छैन, नेपाल आउनु’ भन्नुभयो। घर सल्लाह गरि नेपाल लाग्ने तयारी गरें र आमालाई फोनमा ‘म आउँदै छु, निको भैहाल्छ, चिन्ता नलिनु’ भनेर सान्त्वना दिने प्रयास गरें।

हङकङ विमानस्थलतिर लाग्दै गर्दा आमालाई फेरि फोन गरेर नजिकैको मेडिसिटी अस्पताल गएर स्वास्थ जाँच गर्न भनें। तर म बिना कुनै अस्पताल नजाने निर्यण गर्नु भो। नेपाल एयरलाइन्सको विमानबाट काठमाडौं उड्दै गर्दा आमाकै सम्झना आइरह्यो अनि आमासँगको आफ्ना संस्मरण मोवाइलमै लेख्न थालें।

आमाले मलाई धर्ति, आकाश देखाउनु भो। सानोमा काखमा राखेर खाईनखाई जिम्मेवारी पूरा गर्नु भो। म सानै थिएँ। गाउँमा आलोपालो गर्ने चलन भएकाले आमा अरुकोमा सहयोग गर्न जानु हुन्थ्यो। यसरी अरुकोमा खेतीपातीमा सहयोग गर्न जाने क्रममा खाजा दिने चलन हुन्छ। जुन खाजा आमाले आफ्नो भोको पेट पटुकीले बाँधेर मलाई ल्याइदिनु हुन्थ्यो। मानौं म चराको बच्चा हुँ। जब आमा बाहिरबाट घर फर्कनु हुन्थ्यो तब म दौडेर आमाको काखमा बस्थें र पटुकी कोट्याउन थाल्थेंं।

आमाले जोगाएर ल्याइदिएको मकै भटमास र अन्य खाजा खुशी हुँदै मैले खाँदा आमाको अनुहारमा छुट्टै आनन्द देखिन्थ्यो। दिनभर काम गरेर आएपनि खाना पकाउनु पर्ने बाध्यता आमालाई छँदै थियो। मेरो दिउँसोको काम भने पानी भर्ने हुन्थ्यो। हामी सात जना सन्तानमध्ये भाग्यले जम्मा दुई जना बाँच्न सफल भएका थियौं। सबै बाँचेका भए म काइँलो हुने थिएँ, अहिले कान्छो भएको छु।

म बुझ्ने हुँदै गएसँगै आमाका दुःखहरु देख्दै गएँ। बाबासँग बर्षमा एक दुई दिन मात्र भेट हुने हुँदा घर व्यवहारदेखि हामीलाई पढाउने सबै जिम्मेवारी आमाकै काँधमा थियो। शिक्षाको महत्व आमाले बुझ्नु भएको थियो। त्यसैले बेला बेला भन्नु हुन्थ्यो, ‘सबै काम म गर्छु, तिमीहरू पढ्नु, ठूलो मान्छे बन्नु।’

आमाका ती वाणी अहिले पनि म सम्झन्छु। समय काल अनुसार कर्मको खोजीमा काठमाडौँ हुँदै हङकङ आइयो। सन् २००२ मा आमा बाबालाई घुमफिरका लागि हङकङ ल्याएँ। त्यसबेला आमा बाबाको मुहारमा खुशी देख्दा आफ्नो सपना र अठोट पूरा भएको महशुस गरें। त्यसपछि पर्शुराम धाम, सिक्किम, दार्जिलिङ, माङसेबुङ र पछि फेरि आफ्नै प्यारो गाउँ ताप्लेजुङको नेसुम यात्रा गराएँ।

आमाबारे सोच्दै र केही लेख्दै थिएँ, जहाज काठमाडौं ओर्लन लागेको सूचना आयो। ओर्लेपछि आमाको फोनमा पहिलो कल गरें। फोन बाबाले उठाउनु भयो र भन्नु भो, ‘आमा छैन।’

बाबाको मुखबाट यस्तो सुनेपछि मलाई सबै अन्धकार भए झैं लाग्यो। न बोली आयो न आँसु। घर जाउँ कि कता जाउँ, कसरी जाउँ? एकछिन अलमलमा परें। मेरो जीवन संगिनीको आमालाई सम्झें। अनि सोचें, जन्म दिने आमा नभए पनि कर्ममा साथ दिने आमा त छन्। फोन गरेर भनें, ‘मेरो आमा बित्नु भएछ।’

सासुआमाको बोली पनि रोकियो एकछिन। अनि भन्नु भयो, ‘जीवन यस्तै हो, कर्मको खेल हो, सबै एक दिन जानु नै पर्छ, घर जानुस्।’

अन्तिम पटक आमाको मुहार हेर्न घरतिर लागें।

नचाहँदा नचाहँदै आमालाई बिदा गर्ने समय आयो। काठमाडौंमा बसोबास गर्ने सबै आफन्त जम्मा भइसक्नु भएको रहेछ। मावलीका मामाहरुले ‘भोलिसम्म रोक्नु, हामी अन्तिम पटक दिदीलाई हेर्न आउँछौं’ भने पनि हामीले पर्खिन उचित ठानेनौं। त्यो रातभर आमाको छेउमा बसें र आमासँग विगतका सम्झनाहरु कोट्याउँदै रोइरहें। बिहान पशुपती आर्यघाट लैजाने व्यवस्था गरिएको थियो।

जब १२ बजे आमाको शरीर आर्यघाट लगियो, म यति कमजोर भएछु कि मेरा हातहरु बाउँडिए र खुट्टा पनि काम्न थाले। मलाई अलि असहज भएको महशुस भयो। बेहोस् हुने अवस्था आउन लागेपछि तत्काल सम्हालिएँ। आर्यघाटमा पुगेपछि लाग्यो अब आमाको मुहार हेर्ने यति नै हो। संसार नै गुमाए जस्तो भयो। दाईले जति सम्हालिन भनेपनि मेरो रुवाई रोकिएन। हामी दुई भाई भएपनि म एक्लैले आमालाई दागबत्ती दिएँ र छोराको अन्तिम कर्तव्य पूरा गरें। अन्तिम श्रद्धाञ्जली अर्पण गरें र आमालाई हेर्दा हेर्दै गुमाएँ।

आमाप्रति श्रद्धाञ्जली दिनु हुने, हामीमाथि सहानुभूति राख्नु हुने र मलाई सहयोग र साथ दिनु हुने सबै आफन्त, साथीभाइ, इष्टमित्रप्रति हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।

आमाले छोडेर जानु भएको पनि दुई महिना पूरा भएछ। अहिले पनि म आमासँगका हरेक पलहरु सम्झिरहेको छु। आमा बसेको ठाउँ र सुतेको ओछ्यान हेरेर अझै आमालाई खोजिरहेको छु। आमाले कतै कुना कुन्दराबाट ‘ए कान्छा, यता आइज’ भनेर बोलाउनु हुन्छ कि जस्तो लाग्छ।

‘तपाईंलाई सधैं फोनमा या भेटमा तोङवा, खाना र दबाई खानु भो भनेर सोधिरहन्थें। अब कसलाई सोधुँ, आमा?’

aamasanga

भन्न मन लाग्छ— आमा तपाईं सुख शान्तिसँग बैकुण्ठ बास गर्नुहोला। यहाँ हरेक पल तपाईंको यादले मलाई सताउँछ। तपाईंले खाना खुवाएका र माया गरेका यादहरु कसरी बिर्सौं म? ४९ बर्ष पुग्दा पनि तपाईंका लागि म बालक नै थिएँ। बाबाले तपाईंलाई गर्ने माया आज पनि त्यत्ति नै छ है आमा। बाबा प्रायः तपाईंको कोठामा तपाईंको सुन्दर तस्वीर सजाएर बस्नु हुन्छ। त्यो कोठामा बसेर बाबा र म कति रोयौं म कसरी भनुँ आमा?

बस, तपाईंलाई बिदा गरेपछि म बल्ल हङकङ फर्कंदै छु र फेरि आकाशमा त्यही बाटो उड्दै गर्दा तपाईंसँगको सम्झनाको यो लेख पूरा गर्दै छु।

मेरो आँसु तपाईंलाई मेरो माया हो। तपाईं जहाँ पुगे पनि तपाईंले दिनु भएको आर्शिवाद पुन्य छ। बाँचुन्जेल तपाईंप्रतिको मेरो जिम्मेवारी र कर्तव्य पूरा गर्न पाएँ भन्ने ठानेको छु। तपाईंका ईच्छा र चाहनाहरु पूरा गर्नु मैले आफ्नो सौभाग्य ठानें। सायद त्यसैले होला, तपाईं गएपनि आज मलाई पश्चाताप छैन तर तपाईं नहुँदाको पीडा त कसरी हट्थ्यो र?

यति लेख्दै म फेरि कर्मथलो हङकङ फर्किएँ है आमा!

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .