hongkong


राजा वीरेन्द्रको नाम अंकित मेरो यो तक्मा


कमल पौड्याल
हङकङ, जेठ २३

तत्कालीन पर्यटन मन्त्री स्व मोहम्मद मोहसिनसँग तक्मा ग्रहण गर्दै लेखक

सात राष्ट्रप्रमुखले हातमा ग्लास लिएर अनौपचारिक भलाकुसारी गरे। राजा वीरेन्द्र मसिनो स्वरमा पटकपटक ‘यिनीहरूका ग्लास खाली हुन लाग्यो है’ भन्थे। ‘हामीले सोधिसक्यौं, खान्नन् रे’ भन्न पाइन्नथ्यो। जेभने पनि मसिनो स्वरमा ‘सरकार जो हुकुम’ मात्रै भन्नुपथ्र्यो।

केहीबेर सन्नाटा छायो। राजा वीरेन्द्रले ‘गोर्खालीहरूको दौरा त घुँडासम्म हुनुपर्ने होइन र प्रभाकर’ भनेर प्रश्न गरे। सबैले मुखामुख गरे, कसैले केही बोलेनन्। राजवाणी ढुंगाको अक्षर बराबर हुन्थो त्यो बेला। नाकको डाँडीमा चस्मा थिच्दै प्रभाकर शमशेर राणाले...

यसरी प्रवीण गिरीले समाचार भनेको साँझको भोलिपल्ट बिहान दुर्गानाथ शर्मा र दिउँसो साढे २ बजे कृष्णा ताम्राकारसम्मले दोहोर्याउँथे। कुनै जमाना थियो, पुस १ गते र फागुन ७ गते पनि यस्तै खाले घोषणा हुन्थ्यो। महारानी, युवराज, युवराज्ञी, शाहज्यादा, शाहज्यादी, शाही नातेदार, दरबारका सचिव, कर्मचारी, तत्कालीन शाही सेनाका उच्च अधिकारी, मन्त्री, पञ्चहरू र निजामती कर्मचारी आदिले तक्मा पाउँथे त्यस बेला। गीत, संगीत, शिक्षा खेलकुदका क्षेत्रमा योगदान दिएकाहरू पनि पर्थे।

राजतन्त्रको अन्त्य भएपछि मुलुकले भर्खरै १२औं गणतन्त्र दिवस मनायो। के आयो, किन आयो, कसलाई आयो, कसरी आयो, जनताले के पाए? बिहानैदेखि पक्ष विपक्षमा सामाजिक सञ्जाल वादविवादले भरिए। हरेक वर्षझैं यस वर्ष पनि गणतन्त्र दिवसका अवसरमा नेपालकी राष्ट्रपतिले तक्मा लगाइदिने भइन् कैयौंलाई। सामाजिक सञ्जालमा तक्मा पाउने आफैं र तिनका आफन्तहरूले तक्मा लिनु, बधाई दिनु र तस्बिर देखाउनुअगाडि नै अनलाइन र छापाहरूमा कैयौंका जन्मपत्री छापियो। पाउनु पर्नेहरूले त पाए तर सँगसँगै नपाउनुपर्नेहरूले समेत पाए भनियो।

यो तक्मा भन्ने चिज पनि अर्थमन्त्रीले बजेट भाषण गर्दा प्रतिपक्षीले विरोध गरेजस्तै हो, जे गरे पनि सुख छैन। अरू त अरू विश्व प्रसिद्ध नोबेल शान्ति पुरस्कारसमेत शान्तिका लागि योगदान दिएका तथा केही नगरी चर्चामा आएकाहरूले पनि सँगै थापेको देखिएकै हो। अझ अहिले आएर अमेरिका र पश्चिमा मुलुकहरूका लागि चीन तथा आफूलाई मन नपरेका देशविरुद्ध राजनीतिक दबाब दिने यौटा साधन बनेको छ नोबेल पुरस्कार।

कहावत नै छ– चीनमा कुनै कसैलाई राजनीतिक कारणले थुनियो भने ‘थुनामुक्त गर नत्र नोबेल पुरस्कार दिन्छौं भनेर दबाब दिन्छन् रे पश्चिमाहरूले।’

स्वभाविक रूपमै हिजो ‘निरंकुश पञ्चायती व्यवस्था चाहिँदैन’ भन्नेहरूले भन्दा ‘श्री ५ महाराजधिराज सरकारको जय, श्री ५ बडामहारानी सरकारको जय, पञ्चायती व्यवस्था अमर रहोस्’ भन्नेहरूले पदक पाउँथे। तर अहिले ‘राजा आऊ देश बचाऊ’ भन्नेले त पाउँदैनन् नै, ‘जय नेपाल’ भन्नेहरूलाई पनि दिँदैन नेकपाको सरकारले। तक्मा जसको मातहतमा छ उसैले आफ्नाहरूलाई, मनपर्ने र समर्थन गर्नेहरूलाई दिइने चिज हो, मेरो बुझाइमा। संसारभर कहीं, कतै विपक्षीलाई तक्मा दिइन्न सकेसम्म। तैपनि केही पाउन लायकहरूले भने पाएका हुन्छन्।

नेपाली गीत, संगीतका धरोहर अम्बर गुरुङले राजकीय प्रज्ञा प्रतिष्ठानको यौटा कार्यक्रमबाट घर फर्केर आफ्नो कोठाको भित्तामा सजाएको ‘गोरखा दक्षिण बाहु’ निकालेर झ्यालबाट फ्याँकिदिएछन्। तर केही दिनपछि उनी घरसँगैको मकैबारीमा दिनदिनै केही खोजेजस्तो गरेर घुमिरहँदा रहेछन्। श्रीमतीले सोध्दा ‘हैन, मकै कति बढ्यो झारले खान लाग्यो कि’ भनेर हेरेको भन्दा रहेछन्।

दिनदिनै त्यही रुटिन भएपछि उनकी श्रीमतीले ‘तपाईंले खोज्नु भएको यही हैन’ भनेर ‘गोरखा दक्षिण बाहु’ दिइछन्। अर्थात् उनले फालेको देखेकी श्रीमतीले ल्याएर राखिदिएकी रहिछन्। प्रज्ञा भवनमा नालायकहरूको छातीमा उही तक्मा झुन्डिएको देखेर उनले विरक्तिएर फालेका रहेछन्। एकजना हितैषीले राजाको शासनमा ‘त्यो फेला पारेर उजुरी गरेमा ठूलो कानुन लाग्न सक्छ’ भन्दिएपछि डराएर उनले फेरि खोजेका रहेछन्।

हङकङमै पनि कार्यकारी प्रमुखबाट तक्मा या सम्मानपत्र पाउनेहरूलाई सानोतिनो गल्तीमा अदालतका न्यायाधीशले सजाय माफ या कम गर्नसक्ने प्रावधान छ। तर हङकङको प्रशासनमा लामो समय रहेर दुई कार्यकाल कार्यकारी प्रमुखसमेत रहेका डोनाल्ड चाङले दुई वर्ष जेल सजाय पाएका थिए। राम्रो आचरण देखाएको भनेर २० महिनामै छुटे उनी, केही महिना अघि मात्र। उनले पदमा रहँदा निजी फाइदाका लागि एकजना इन्टेरियर डिजाइनरलाई आफ्नै तजबिजले मेडल दिएको लगायत अरू दुई तीनवटा आरोप लागेको थियो। यद्यपि यहाँका पश्चिमा समर्थित राजनीतिक बुज्रुक र मिडियाहरू भने उनले बेइजिङतिर भन्दा पश्चिमाहरूप्रति बढी झुकाव राख्ने गरेकाले त्यसो गरिएको भन्ठान्छन्।

medal
लेखकले हङकङमा सजाएर राखेका तक्मा

तीस वर्षअघि मैले पनि यौटा तक्मा पाएको थिएँ। किन हो म आफैंलाई थाहा छैन, त्यस दिनबाहेक त्यो कहिल्यै लगाइनँ र सार्वजनिक पनि गरिनँ। तर मेरो तक्माको नालीबेलीचाहिँ विल्कुलै फरक छ। सन् १९८७ को तेस्रो सार्क शिखर सम्मेलन नेपालमा हुने निर्णय भएपछि काठमाडौंको कमलादीस्थित राजकीय प्रज्ञा प्रतिष्ठानको भवन जीर्णोद्वार वा आधुनिकीकरण हुँदै थियो भने सोल्टी क्राउन प्लाजाको हाताभित्र सातजना सरकार प्रमुख बस्न मिल्ने अहिलेको रिगल स्विटको युद्धस्तरमा निर्माण सकिँदै थियो। जसको अनुगमन राजा वीरेन्द्र, रानी ऐश्वर्य, होटलका अध्यक्ष प्रभाकर शमशेर राणा र तत्कालीन सरकारले विशेष रूपमा गरेका थिए। उतिबेला सोल्टी होटल ओबराय ग्रुपको मातहतमा भएकाले दिल्लीबाटै आएका इन्जिनियर ए के मन्त्रीको टोली सोल्टीमै बसेको थियो, निर्माण सम्पन्न नहुन्जेल।

छानिएका मसहित करिब १२ जना सुपरभाइजरलाई विशेष तालिम सुरु भयो। हुन त सन् ८०।८१ मै ‘ओबराय स्कुल अफ होटेल म्यानेजमेन्ट’ प्रोफेसर मितुल बेनर्जी, अरूणकुमार अग्रवाल र अहिलेका चर्चित रिम्पोचे बनेका श्रीधर शमशेर (स्विजरल्यान्ड पुगेर राणा खलकबाट होटल म्यानेजमेन्ट गर्ने पहिलो नेपाली, उति बेलाका ट्रेनिङ म्यानेजर) बाट झन्डै अन द जब ट्रेनिङ २ वर्ष गरिएको थियो। तर सात राष्ट्रप्रमुखलाई एकै ठाउँ राखेर खानपिन, बसाइ सहित यो खाले समारोह आयोजना गर्नु ‘च्यालेन्जिङ’ थियो सबैका लागि।

सात राष्ट्रप्रमुखसँग एक एकजना सँगै बस्नुपर्ने र बाँकी पाँच जगेडामा हुने भए। शाही परिवार, नातेदार र विदेशी भीभीआईपीहरूसँग बोलिने भाषा, सर्भिसबारे दिनदिनै मिटिङ रिहर्सल हुन्थो। हिज मेजेस्टी, हर मेजेस्टी, हिज एक्सिलेन्सी, हर एक्सिलेन्सी। शाही परिवारमा भने अंग्रेजीभन्दा नेपाली बोल्नु भन्ने आदेश थियो। जस्तो कि वाटर, आइसभन्दा ‘सरकार जल टक्र्याउँ वा सरकार बरफ टक्र्याउँ’, ‘हिज मेजेस्टी फुड इज रेडी’ भन्नुभन्दा ‘सरकार ज्युनार तयार छ’ भन्ने खालका भाषालाई प्राथमिकता दिनुपर्थ्यो। विदेशीहरूसँग भने अंग्रेजी शब्दै भन्नुपर्ने हुन्थ्यो।

daura suru
पुरस्कार लिन दौरा सुरुवालमा पर्यटन मन्त्रालयबाहिर लेखक दायाँबाट पाँचौं

तालिमसँगै सबैका लुगाको नाप दिएर दौरा–सुरुवाल, कोट, कालो टोपी, सेतो पन्जा तयार भएर आयो। हामी बटलर अर्थात् राष्ट्र प्रमुखको निजी सहयोगी त्यो लुगामा कस्ता देखिन्छौं भनेर राजा वीरेन्द्र आफैंले हेर्ने इच्छा निजी सचिवमार्फत प्रभाकर शमशेर राणासमक्ष व्यक्त गरेका रहेछन्। राजा आउने दिन तय भएपछि म र मेरा एकजना तत्कालीन सहकर्मी सुरेन्द्र बस्नेत मोडलका रूपमा तयार हुनेमा छानियौं।

सायद म पनि उतिबेला झिल्के रहेछु क्यार!

दिउँसोेदेखि प्रहरी र सेना होटल वरिपरि देखेपछि होटलमा बसेका पर्यटकहरूले थाहा पाइहाले– राजा होटलमा आउँदै छन्। नीलो कमिज, सुरुवाल, कालो भादगाउँले टोपी, कालो इस्टकोट र चस्मा लगाएका हँसिलो मुहारका राजा वीरेन्द्र सोल्टी होटल प्रवेश गर्नुअघि नै तस्बिर खिच्न लबीमा क्यामरा बोकेका पर्यटकहरू खचाखच भए।

१९८७ नोभेम्बर (२०४४ मंसिर) को सार्क शिखर सम्मेलन अगाडिको एक साँझ हुनुपर्छ, त्यो दिन। सोफामा बसेका राजाभन्दा अलि पर कुर्सीमा लहरै तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्याय, प्रभाकर शमशेर रणासहित दरबार र परराष्ट्र मन्त्रालयका उच्च तहका गन्यमान्यहरू थिए। सरकारलाई दर्शन गरेर उतिबेलाको ‘हिमालचुली रेस्टुरेन्ट’ स्टेजमा जानु भनियो हामीलाई। त्यसै गर्यौं। श्रीलंकन मूलकी हाउस किपर मनी बोसले दायाँ घुम, बायाँ घुम, पछाडि फर्क अनि थोरै निहुरेर सिधा हुन भनिन् सरकारका अगाडि। त्यसै गर्यौं। म आफैंले मोडल बनेको अनुभव गरें त्यसबेला।

केहीबेर सन्नाटा छायो। राजा वीरेन्द्रले ‘गोर्खालीहरूको दौरा त घुँडासम्म हुनुपर्ने होइन र प्रभाकर’ भनेर प्रश्न गरे। सबैले मुखामुख गरे, कसैले केही बोलेनन्। राजवाणी ढुंगाको अक्षर बराबर हुन्थो त्यो बेला। नाकको डाँडीमा चस्मा थिच्दै प्रभाकर शमशेर राणाले उठेर भने, ‘सरकार जो हुकुम, जो आज्ञा।’

तुरुन्तै सबै जनालाई ‘घुँडासम्म पुग्ने दौरा सिलाउनु’ भनियो हाउसकिपरलाई। राजा फर्केर गए त्यसपछि। दुई दिनमै घुँडासम्म आउने दौरा तयार भयो हामी सबैलाई।

सातवटै प्रेसिडेन्सियल स्विट तयार भएपछि अन्तिम निरीक्षण गरे राजा वीरेन्द्र र रानी ऐश्वर्य आफैंले। हामीले पनि सबै तयारी पूरा गर्यौं। कामको बाँडफाँडमा मेरा त्यतिबेलाका सहकर्मीमध्ये गोसाइँकुण्ड स्विटमा राजा रानीसँग बी आर मानन्धर, रारा स्विटमा राजीव, सोनिया गान्धी बस्ने स्विटमा प्रकाश चापागाईं, मुगु स्विटमा पाकिस्तानी प्रधानमन्त्री जुनेजो खानसँग देव शाह, भुटानका राजा जिग्मे सिंगे वाङचुक, मालदिभ्सका राष्ट्रपति मोहम्मद अब्दुल गैयुम र श्रीलंकन राष्ट्रपति जुनियर रिचर्ड जय बर्धनेसँग को परे बिर्सिएँ मैले अहिले। मचाहिँ तत्कालीन बंगलादेशी राष्ट्रपति हुसेन मोहम्मद यर्सद र श्रीमती यर्सदसँग तिलिचो स्विटमा रहने भएँ।

असुरक्षाका कारण त्यतिबेला ३ दिनसम्म घर जान नपाउने भइयो, होटलकै रूममा बसियो काम सकिएपछि।

राजीव गान्धीलाई भारतीय सुरक्षाकर्मीको जत्थाले विशेष पहरा दिए पनि अरू राष्ट्रप्रमुख भने दुई तीन जना एडीसी मात्र लिएर आएका थिए। राजीव गान्धीका लागि आएका सबै उपहार उनका सुरक्षाकर्मीले बाहिर लबीमा खोलेर मात्र भित्र लान दिन्थे। सबै सरकार प्रमुख आइपुगेपछि सम्मेलनको एक दिनअगाडिको साँझ राजा वीरेन्द्रले सबैलाई रात्रिभोज आयोजना गरे, गोसाइँकुण्ड स्विटमा। भुटानका राजा, बंगलादेश र श्रीलंकाका राष्ट्रपतिसँगै गफिएका राजालाई उनीहरूपछि ड्रिंक सोध्दा ‘पहिला उनीहरूलाई सोधन’ भनेर अलि पर बसेका राजीव–सोनिया गान्धी, रानी ऐश्वर्य र अरू भएतिर इशारा गरे।

पछि ‘मलाई कोन्याकमा थोरै आइस राखेर देऊ’ भने आफूले चाहिँ।

सात राष्ट्रप्रमुखले हातमा ग्लास लिएर अनौपचारिक भलाकुसारी गरे। उनीहरूको वार्तालाप सुन्ने उत्सुकता भए पनि ध्यान नदिएजस्तो गर्नुपर्ने हुन्थो। राजा वीरेन्द्र मसिनो स्वरमा पटकपटक ‘यिनीहरूका ग्लास खाली हुन लाग्यो है’ भन्थे।

‘हामीले सोधिसक्यौं, खान्नन् रे’ भन्न पाइन्नथ्यो। जेभने पनि मसिनो स्वरमा ‘सरकार जो हुकुम’ मात्रै भन्नुपथ्र्यो।

डिनर सुरू भयो। डिनरमा कन्टिनेन्टल खानाका सात कोर्सका परिकार थिए। सुपदेखि डेजर्टसम्म। पालैपालो एक एक गरी सबैलाइ प्लेटमा होसियारीपूर्वक सर्ब गर्यौं। तत्कालीन फुड एन्ड बेभरेज म्यानेजर, हाल होटल हिमालयका सीईओ प्रल्हाद राज कुँवर, रमेश खत्री थिए हाम्रा टिम लिडर। तत्कालीन जनरल म्यानेजर जर्मनी मूलका यचयल क्याफेन बर्गर र अर्का फुड एन्ड बेभरेज म्यानेजर माइकल वेग्नर गोसाइँकुण्ड स्विट पछाडि पेसेजबाट अनुगमन गरिरहेका थिए।

‘योर किङ इज ह्यापी, क्विन इज ह्यापी’ भन्दै सोध्थे पटकपटक। ‘य नो प्रोब्लम, एभ्रिथिङ फाइन’ भन्दा हँसिलो मुख लगाउँथे। ओबराय ग्रुपका भारतीय मूलका चर्चित एक्जुकेटिभ सेफ इन्द्र धवन आफैं टिमसहित स्ट्यान्डबाई थिए, किचनमा। वास्तवमा जागिर भनेको जागिर नै हो, जुनसुकै पोजिसन भए पनि। डिनरपछि सबै आ–आफ्ना स्विटमा लागे। हाम्रा राजा, रानी भने सबैभन्दा पछि त्यहाँ नसुती नारायणहिटी फर्किए, त्यो दिन र अरू दिन पनि।

भोलिपल्ट ब्रेकफास्टपछि सबै सम्मेलन स्थलतिर लागे। भर्खरै मात्र होटलमा भित्रिएको सोनी रंगीन टेलिभिजनमा सार्क सम्मेलनको प्रत्यक्ष प्रसारण हेर्थ्यौँ हामी। त्यसबाहेक अरू दिन खासै सँगै खाना खाएनन्, राष्ट्रप्रमुखहरूले। राष्ट्रपति यर्सद र श्रीमती यर्सद असाध्यै मिजासिला, फ्रेन्डली थिए। बिहानै दिउँसो र रातको खाना मलाई बताउँथे। अन्तिम दिन राष्ट्रपति यर्सदले सबै सरकार प्रमुखसँग शिष्टाचार बिदाइको तालिका बनाएका रहेछन्। उनका एडीसीले अल्कोहलबाहेक हल्का फिंगर फुड र पेय पदार्थ तयार गर्नु भनेका थिए बिहानै। फ्रेस जुस, कोल्ड क्यानपी, केक पेस्ट्री सबै तयार गरें। हरेक आधा घण्टामा, १० मिनेटको अन्तरालमा समय दिइएको थियो।

पालैपालो राजीव सोनियादेखि जय बर्धने, जिग्मे सिंगे, अब्दुल गैयुम, जुनेजोको खानपछि ८ बजेतीर राजा–रानीको समय मिलाइएको थियो। राजा–रानीकोमा चाहिँ निकै सतर्क हुनुपर्थ्यो। सानो गल्ती पनि प्रभाकर शमशेर राणा, जनरल म्यानेजर हुँदै फुड एन्ड बेभरेज म्यानेजरसम्म पुग्थ्यो। यद्यपि राजा वीरेन्द्र मीठो बोल्ने, दम्भ नभएका, हँसिलो, शालीन व्यक्तित्व लाग्थ्यो जहिल्यै। रानी भने अलि घमण्डी र रूखो बोल्थिन्। उनीहरू आएर बसेपछि गएर सोधेँ। रानीले पेस्ट्री मात्रै भनिन्, राजाले चाहिँ ‘मलाई ब्ल्याक टि नो सुगर’ भने। यर्सद दम्पतीले ताजा मौसमको जुस भने।

भोलिपल्ट यर्सद फर्किने भए। मलाई हिँड्ने बेला उनका एडीसीले ‘आवर प्रेसिडेन्ट लाइक टु समिट यु’ भने। लिभिङ रुममा गएँ र अंग्रेजीमा अभिवादन गरें। कोटबाट यौटा सानो खाम निकालेर मतिर हात बढाए। मसँग हात मिलाउँदै ‘थ्यांक्यु सो मच, यु डिड एक्सिलेन्ट जब, वि आर भेरी ह्यापी’ भन्दै त्यो खाम दिए। मिसेस यर्सदले पनि मुस्कुराउँदै थ्यांक्यु भनिन्। ‘माइ प्लेजर योर एक्सिलेन्सी’ भनें मैले।

यौटा ठूलो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको अनुभव भयो मलाई त्यो समय। मेरो जीवनको ३५ वर्षे फुड एन्ड बेभरेज क्यारियरमा यो ३ दिनको अनुभव निकै महत्वपूर्ण थियो। उनले हरियो मसीले बंगलादेश प्रेसिडेन्ट लेखेर दिएको सानो खाममा एक सय युएस डलर रहेछ। मासिक १२ सय रुपैयाँ तलब लिनेलाई त्यो रकम निकै ठूलो थियो। ठमेलमा गएर साट्दा करिब ३६ सय रुपैयाँ भएथ्यो।

एक हप्तापछि पर्सनल म्यानेजर तुलाराम भट्टले अफिसमा बोलाएको भन्ने खबर आयो। जाँदा काठमाडौंको बंगलादेशी राजदूतावासले पुनः राष्ट्रपतिको बटलरका लागि भनेर २५ सय रुपैयाँ पठाएको रहेछ। करिब एक महिनापछि ‘तेस्रो सार्क सम्मेलन सफल पार्न प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्नेहरूलाई राजा वीरेन्द्रले तक्मा बाँड्दै छन्’ भन्ने गाइँगुइँ सुनियो। सेना, प्रहरी, परराष्ट्र, गृहका जंगी र निजामती कर्मचारी सँगै सोल्टी होटलका उतिबेलाका ७ सय ५० कर्मचारीमध्ये प्रभाकर शमशेर राणा, होटलका जनरल म्यानेजर लगायत करिब ४० जनामा मेरो नाम पनि गोरखापत्रमा निक्लेको रहेछ।

तर हामीलाई तक्माचाहिँ राजाले नभई राजाका तर्फबाट तत्कालीन पर्यटनमन्त्री मोहम्मद मोहसिनले लगाइदिने खबर आयो। बिहानै नेपाली पोसाकमा दशरथ रंगशालानजिकै रहेको पर्यटन मन्त्रालय पुगियो। मोहम्मद मोहसिनले पालैपालो ‘बधाई छ’ भन्दै एकापट्टि ‘श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेव’, बीचमा खुकुरी क्रस र अर्का पट्टि ‘तेस्रो सार्क सम्मेलन स्मृति पदक कठमाडौं’ र बीचमा सार्कको लोगो भएको मेडल लगाइदिए। मेरो जीवनको पहिलो तक्मा यही थियो।

हिजोआज हङकङमा रहँदा जब समाजिक सञ्जालमा तक्माबारे वादविवाद सुन्छु, पढ्छु तब पुरानो खिया लाग्न लागेको आफ्नो त्यही तक्मा सुमसुम्याएर नेपालमा आफूले बिताएको जीवनको अतितमा चुर्लुम्म डुब्छु।

जेठ २३, २०७६, बिहिबार

कमल पौड्याल हङकङका व्यवसायी र लेखक हुन्
लेखकबाट थप

Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors