hongkong


हङकङमा ‘टाइम इज मनी’ कि सिर्जना?


कमल पौड्याल
हङकङ, साउन ११
तीन जना हङकङेली स्रष्टाका तीनवटा पुस्तक मेरो हातमा आइपुगेका छन्– सुनिता गिरीको ‘माइत जाने बाटो’, दाजु गुरुङको ‘टाँकीका फूलहरू’ र भर्खरै प्रकाशित क्रान्ति सुब्बाको ‘हङकङ भित्र’। हङकङजस्तो ‘टाइम इज मनी’ भनिने ठाउँमा सिर्जनामा समय छुट्याएर कृति निकाल्ने तीनै जना स्रष्टा हङकङे नेपालीका लागि गौरव हुन्।

सन् ९० को दशकमा दशौं हजारको संख्यामा नेपालीको आगमनसँगै हङकङमा नेपाली भाषा–साहित्य पनि बसाइँ सरेर आएको देखिन्छ। हुन त यसको श्रीगणेश बेलायती सेनामा आबद्ध ब्रिटिश गोर्खा भूपू सैनिकहरू हङकङ आएसँगै भएको हुनुपर्छ। म हङकङ आउँदा बीएफबीएस (ब्रिटिस फोर्स ब्रोडकास्टिङ सर्भिस) ले सञ्चालन गर्ने नेपाली भाषाको कार्यक्रम यहाँ रहेका सबै ब्रिटिस गोर्खा सैनिक, तिनका परिवार र निकै न्यून संख्यामा रहेका गैरसैनिक नेपालीले पनि सुन्थे।

सन् १९९५ तिर हङकङको सेकोङ बोर्नियो लाइनमा बीएफबीएसको स्टुडियो घुमेर किशोर बडा, रूपा राना र अन्य कार्यक्रम प्रस्तोतासँग भलाकुसारी गरेको सम्झना ताजै छ। त्यतिबैलै ‘ब्रिगेड अफ गोर्खाज रिकर्ड अफिस’ ले ब्रिटिस गोर्खाहरूको सम्पादनमा प्रकाशन गर्ने मासिक पत्रिका ‘पर्वते’ पनि पढिन्थ्यो। हङकङकै सौ कि वानमा छापिने पत्रिकामा सैनिक बटालियन स्थानान्तरण, पदोन्नति, सैनिकम्बन्धी समाचारसहित कथा, कविता, मुक्तक गीत, गजल र चुट्किला आदि हुन्थे। जसमा सैनिक र गैरसैनिक सबैका सिर्जना छापिन्थे। हङकङलाई बेलायती उपनिवेशबाट मातृभूमि चीनलाई हस्तान्तरण गर्ने बित्तिकै यो सबै सृष्टि बेलायत सर्यो। सैनिक जीवनको व्यस्तताका बाबजुद हङकङ डायस्पोरामा नेपाली भाषा–साहित्य बीजारोपण गर्ने ब्रिटिस नेपाली सेनाका अग्रजहरू सम्मान र प्रशंसायोग्य छन्। १९९७ पछि अझ सशक्त रूपमा उनै गोर्खा ब्रिटिसका परिवार, नातागोता र आफन्तजनले यो साहित्यिक उत्तराधिकार ग्रहण गरेको देखिन्छ।

सन् १९९७ यता करिब दुई दशकमा हङकङमा आधा दर्जन नेपाली साहित्यिक संघसंस्था सक्रिय छन्। सन् २००३ मा कवि मोहन कोइराला र चर्चित सञ्चारकर्मी दुर्गानाथ शर्मालाई अतिथि बनाएर वार्षिक कार्यक्रम गर्ने ‘हङकङ नेपाली साहित्यिक प्रतिष्ठान’ को गर्ल्स गाइड एसोसिएसनको सभाहलमा कविता वाचन गर्न पाइएथ्यो, उहिल्यै।

DurgaNath
दुर्गानाथ शर्मा र कुलप्रसाद गुरुङसँग लेखक कमल पौड्याल

यही संस्थाले पुनः २००८ मा प्राज्ञ साहित्यकार डा. गोविन्दराज भट्टराई र आठपहरिया राई भाषामा विद्यावारिधि गरेका डा. टंक न्यौपानेलाई बोलाएर अर्को वार्षिकोत्सव आयोजना गरी कविता वाचनसहित अन्य साहित्यिक कार्यक्रम गर्न भ्याएथ्यो। त्यही मेसोमा मैले पनि कंगन रेस्टुरेन्टको कुनाको दराजमा स्व. पिताजी ‘केवलपुरे किसान’ को नाममा यौटा दराज पुस्तकालय राखेर शुभारम्भ गर्न लगाएको थिएँ, यिनै प्राज्ञद्वयलाई। गैरसाहित्यिक संस्था हुँदाहुँदै पनि मितेरी सेवा समाजले हङकङमा ‘पोखरेली झ्याल’ आयोजना गरी सरुभक्त, प्रकट पंगेनी र तीर्थ श्रेष्ठलाई बोलाएर कविता प्रतियोगिता गराएको थियो, सन् २००८ तिरै। त्यही मेसोमा यिनै तीन स्रष्टासँग समय निकालेर ‘देउराली भञ्ज्याङ पलेटी कविता यात्रा’ गर्न भ्याएथ्यो हङकङ नेपाली साहित्यिक प्रतिष्ठानले नै उतिबेला। सन् २००८ सेप्टेम्बर १५ मा अनेसास हङकङ च्याप्टरले हङकङको लामा आइल्यान्डको पदयात्रासहित गरेको ‘बतासे डाँडा कविता यात्रा’ चर्चित र पृथक कार्यक्रम थियो भन्छन्, सहभागीहरूले अझै।

किरात राई यायोक्खा हङकङको अगुवाइमा श्रवण मुकारुङको युनलङ थिएटरमा सशुल्क कविता वाचन र एभरेस्ट साप्ताहिकको दशौँ वार्षिकोत्सवमा हङकङ आएका वैरागी काइँला त भई नै हाले, हङकङ भएर विदेश आवतजावत गरेका स्रष्टाहरूसँग गरिएका कार्यक्रमको नालीबेली खोतल्दा लेख लामो हुन सक्छ।

पछिल्लो समय ‘हङकङ नेपाली साहित्य परिषद्’ ले आयोजना गरेको पारिजात स्मृति दिवसका क्रममा लेखक तथा साहित्यकार खगेन्द्र संग्रौला र प्रगति राई हङकङ ओर्लिसकेका छन् र यो क्रम जारी छ। जे होस्, नेपालकै मूलधारको साहित्यको चर्चा हुँदा पनि हङकङलाई कर्मथलो बनाएका स्रष्टाहरू छुट्दैनन्। हङकङबाट मात्रै प्रकाशित किताबहरूको यौटा सानो पुस्तकालय बनाउन सकिने भएको छ, अबचाहिँ। आठ वर्षदेखि अनवरत रूपमा हरेक महिनाको अन्तिम आइतबार मासिक साहित्यिक कार्यक्रम गर्दै आएको साहित्यिक साझा शृंखला ८८औं शृंखला र आठौं वार्षिकोत्सव मनाउने तरखरमा छ। हुन त अब आउने पुस्तामा यो भाषा साहित्य हस्तान्तरणको आश झिनो हुँदै गएको छ। जसमा हङकङ सरकारको शिक्षा नीति मात्र नभएर, छोराछोरीले आफूले जस्तै नेपाली भाषाभन्दा गोराहरूले जस्तै अंग्रेजी बोलेकामा मख्ख पर्ने अभिभावकहरू पनि जिम्मेवार छन्।

हामी सबैको कर्मभूमि हङकङको मातृभूमि गणतन्त्र चीनका उच्च नेताहरू देश-विदेशका सभा, समारोहमा अंग्रेजी भाषामा चुँसमेत गर्दैनन्। भनिन्छ– चीनले अंग्रेजी नबोल्ने मात्र हैन, अब संसारलाइ मेन्डारिन (चिनियाँ भाषा) सिकाउँदै छ। युरोप, अमेरिका, क्यानडा र हङकङका प्रपर्टी बजार उथलपुथल पार्नेदेखि फ्रान्सका चर्चित वाइनरी र अफ्रिकाका सुनखानी किन्नेसम्म चिनियाँ लगानीकर्ताहरूले गर्दा ती देशमा बग्रेल्ती चिनियाँ भाषा सेन्टर खोलिएका मात्र छैनन्, चिनियाँ भाषा बोल्ने टुर गाइडको माग ह्वात्तै बढेको छ। आर्थिक मात्रै नभएर भाषिक रूपमा पनि चीनले संसारमा आधिपत्य जमाउँदै छ। यही रफ्तारमा चीनले प्रगति गर्दै गए गोराले जस्तो अंग्रेजी बोल्नेभन्दा चिनियाँले जस्तो मेन्डारिन बोल्नेले धेरै अवसर पाउँछन्, अब नयाँ पुस्तामा।

विडम्बना, त्यही चीनका माओत्सेतुङ र चीनलाई आदर्श मानेर सरकारमा गएका हाम्रा नेपाली नेताहरू चाहिँ अन्तर्राष्ट्रिय सभा, समारोहमा नेपाली बोल्दा किन हीनताबोध गर्छन्? कतिपय राजनेताहरूले कनीकुथी अशुद्ध अंग्रेजी बोलेको सुन्दा ‘देख्नेलाई लाज’ अनुभूति हुन्छ। अहिलेलाई यो बहस यहीं बिट मार्दै अब लागौं अन्य विषयवस्तुतिर।

यसै सिलसिलामा तीन जना हङकङेली स्रष्टाका तीनवटा पुस्तक मेरो हातमा आइपुगेका छन्– सुनिता गिरीको ‘माइत जाने बाटो’, दाजु गुरुङको ‘टाँकीका फूलहरू’ र भर्खरै प्रकाशित क्रान्ति सुब्बाको ‘हङकङ भित्र’। हङकङजस्तो संसारको यौटा व्यस्त सहर ‘टाइम इज मनी’ भनिने ठाउँमा पनि सिर्जनामा समय छुट्याएर कृति निकाल्ने तीनै जना स्रष्टा हामी हङकङे नेपालीका लागि गौरव र बधाईका पात्र हुन्।

सुरू गरौं, सुनिता गिरीको ‘माइत जाने बाटो’ बाट।

book2

नेपालको चितवनमा जन्मिएर हङकङलाई कर्मथलो बनाएकी सुनिता यहाँका सामाजिक सभा, समारोह वा साहित्यिक कार्यक्रमहरूमा अग्रपंक्तिमा देखिन्छिन्। करिब एक दशकअगाडि आमा गुमाएकी कवि सुनिता श्रीमानको साथ, आमाको आशीर्वाद र खासगरी बाबा साहित्यप्रेमी सर्जक नारायण ‘प्यासी’को हौसला र प्रेरणाले आफू साहित्यमा अगाडि बढेको बताउँछिन्। सन् २०१८ मा हङकङ नेपाली साहित्य परिषद्को आयोजनामा सम्पन्न पारिजात स्मृति दिवसमा वरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाको उपस्थितिमा ‘पारिजात स्मृति पुरस्कार’ पाएकी सुनिताले आफ्नो ७८ पृष्ठको कविता संग्रहमा ३२ कविता कोरेकी छन्।

नेपाल क्लब हङकङले प्रकाशन गरेको उक्त पुस्तकको आवरण वसन्तराज अज्ञातले बनाएका हुन्। पृष्ठभूमिमा पहाड, हिमाल देखिने कभरमा बादल वा कुहिराले ढाकेकाले माइत जाने गोरेटो स्पष्ट देखिन्न। आमा नभएको माइत जान चेलीलाई नरमाइलो लागेको पनि हुन सक्छ, मेरो बुझाइमा।

‘माग्दा मिल्ने भए आमा माग्थें’ भन्दै कविले स्व. आमालाई नै कविता संग्रह समर्पण गरेकी मात्र छैनन्, संसारमा आमा नहुनेहरूको एकमुस्ट भावना पनि व्यक्त गरेकी छन्। आफ्नै सानो भूमिकासँगै ‘सपनामा आमा’ र ‘आमाको साथ छुट्दा’ दुई कविता आमाप्रति समर्पित त छन् नै, साथै आफ्ना बुवाको तस्बिर पनि टल्काएर राख्न भ्याएकी छन्, उनले ‘बाबाको तस्बिर’ कवितामा। यसरी बाबा–आमा नछुटाई आफ्नो सिर्जना पस्किने कविले आफूलाई एउटा जिम्मेवार, एक्काइसौँ शताब्दीको असल छोरीमा दर्ज गराएकी छन्।

यौटा कविताः

भालेको डाकसँगै
उघारेर जीवनको दैलो
सपनाको सामल बोकी
झिसमिसे यात्रामा निस्केकी
कतै हराएकी छैन
यही पृथ्वीमै
पिठ्युँमा जीवन बोकेर
आज पनि हिँडिरहेको छु
तिमीले नदेखेर त के भो
आकाशले त देख्छन् मलाई
तिमीले नभेटेर, के भो
बाटोले त भेट्छ नि मलाई
तिमीले नछोएर के भो
बतासले त छुन्छ नि मलाई

आमनेपाली मात्र नभएर हङकङेलीहरूको दिनको सुरुवातलाई मीठो शैलीमा पस्केकी छन्, सुनिताले परदेश कवितामा। आमाको स्पर्श सपनामा पनि सम्झँदै मृत्युलाई पत्रमा निराश कविमनलाई रातो रङमा बहकाउँदै उनी नारी स्वतन्त्रताको उद्घोष गर्छिन्, यसरीः

कविता लेखिसकेर
नारी पस्छे भान्सामा
पुरुष पुग्छ कवि गोष्ठीमा
जहाँ वाचन गर्छ पुरुषले
नारी स्वतन्त्रताको कविता
याद रहोस्
घरको चौघेरा मात्र होइन
नारीको संसार
घरको सिलिङ मात्र होइन
नारीको आकाश
यसर्थ संसारका प्रत्येक नारी हो
बाहिर हेर,
आकाशले तिमीलाई पर्खिरहेछ
बाहिर निस्क।

कहिले जूनसँग भलाकुसारी गर्दै विश्वास र बिर्सिएका यादहरूमा बग्दै ग्रेटवाल पुग्छिन्, उनी। अक्सर संसारका आश्चर्यहरू पिरामिड, ताज महल वा ग्रेटवाल निर्माणमा नदेखिने मानवका क्रूर कहानी उनले उजागर गरेकी छन्। यस्ता संरचनामा दुई औंला ठड्याएर सेल्फी खिच्नेहरूलाई उनले झकझकाएकी छन्, यसको इतिहासभित्रको अर्को पाटो उदांगो पार्दै। कतै ‘प्रकृति’ कतै ‘ऐना’ हेर्दै, ‘फूलको समुद्र’, अनिँदो रात’, ‘आमाको साथ छुट्दा’ को वेदना बिर्सिन ‘वसन्त ऋतु’ लाई पर्खाउँदै ‘हङकङ’ कवितामा टक्क अडिन्छिन् फेरिः

यो हङकङमा
मानिसको सपना
जन्मिन्छ कि मर्छ
यहाँको बाटोमा
मानिसको पाइला
भेटिन्छ कि हराउँछ
समुद्रका छालहरू
किनारमा ठोकिएजस्तो
हाम्रो प्रत्येक पाइला
किन यहीं ठोकिन्छन्
बालुवामा पानी सोसिएजस्तो
हाम्रो हरेक रहर
किन यहीँ सोसिन्छन्
रूखको पहेंलो पात
दहमा तैरिएजस्तो
हाम्रो सबै भरोसा
किन यहीँ तैरिन्छन्

यस्तै मन, चरी र मन, मेरो हजुर, संयोग, पश्चाताप, धरहरासँगै ढलेको धरहरा, ‘उदघोष गरिदेऊ मेरो माइक’, ‘भूल’ ‘समाधीमा एक थुँगा फूल’ र अन्य कवितामा छरपस्ट भएर जताततै बहकिएकी छन्। सबै कविता भाषिक हिसाबले सरल सुन्दर हुँदाहुँदै पनि गुणात्मक एकरूपता छैन, तलमाथि छ। उनको यो पहिलो कृति भएकाले पनि हुनसक्छ, तर आगामी रचनामा कलम तिखार्दै अब्बल सिर्जना आश गर्न सकिने प्रशस्त ठाउँ छन्। कविलाई यस्तै सिर्जनामा तनमन लागोस्, उज्ज्वल साहित्यिक भविष्यको शुभकामना!

(दाजु गुरुङको ‘टाँकीका फूलहरू’ र क्रान्ति सुब्बाको ‘हङकङ भित्र’ पुस्तकको चर्चा अर्को अंकमा प्रतीक्षा गर्नुहोला।)

साउन ११, २०७६, शनिबार

कमल पौड्याल हङकङका व्यवसायी र लेखक हुन्
लेखकबाट थप

Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors