hongkong


युनलोङ घटनाले जन्माएको प्रश्नः हङकङमा हाम्रो प्रतिनिधित्व कसले गर्छ?


जुनु राना
काठमाडौं, साउन ९

जुनु राना

आन्दोलनकारीको समर्थन गर्दा हामी सरकार बिरोधी हुन्छौं, सरकारको समर्थन गर्दा आन्दोलन बिरोधी ठहरिन्छौं। हामी केही गर्नसक्ने अवस्थामा छैनौं। अहिलेको हाम्रो प्राथमिकता एउटै हुनुपर्छ– आफ्नो र आफ्नाहरुको सुरक्षामा ध्यान दिने।

१. हङकङमा नेपालीका लागि अर्को संस्था चाहिएकै हो?
२. कि भएका संस्था सुध्रीनु पर्यो, नत्र सक्षम अगाडि आउनुपर्यो!

हङकङका धेरै संस्थामा आवद्ध नेपाली मध्ये एक हुन्, किसन राई। एनआरएनए हङकङका महासचिव, नेपाल जनजाति महासंघका अध्यक्ष र अन्य विभिन्न संघसंस्थामा उनी सक्रिय छन्।

गत साता राईले आफ्नो फेसबुक पेजमा ‘हङकङमा नेपालीको प्रतिनिधित्व गर्ने एउटा रक्षात्मक संस्थाको आवश्यकता छ’ भन्दै स्ट्याटस लेखे। उनले के कति कारण र आसयले त्यस्तो लेखे त्यो उनलाई नै थाहा होला। तर हङकङका नेपालीका निम्ति फेरि अर्को संस्थाको आवश्यकता परिसकेको हो? त्यस्तो नयाँ संस्थाले चाहिँ हङकङका सम्पूर्ण नेपालीको प्रतिनिधित्व साँच्चै गर्न सक्छ? त्यो संस्था राजनीतिक, क्षेत्रीय र जातीय पूर्वाग्रह भन्दा टाढा रहन सक्छ?

हङकङमा हामी करिब चालीस हजार नेपाली बसोबास गर्छौं। हाम्रा आमाबाबाहरु पहिलो पुस्ता हुन् हङकङ आउने। हामी दोस्रो पुस्ता भयौं। हङकङमै जन्मेको नेपालीको तेस्रो पुस्ता पनि हुर्किसकेको छ।

हङकङमा नेपालीका डेढ दुई सय संस्था छन्, जसले राजनीतिक, क्षेत्रीय र जातीय समूहको प्रतिनिधित्व गर्छन्। कतिपय संस्था राजनीतिक क्रियाकलापमा संलग्न छन् भने अन्य कतिपय जातीय सामुदायको उत्थानमा सक्रिय देखिन्छन्। नेपालका जति प्रदेश वा जिल्लाबाट मानिसहरू हङकङ आएका छन् त्यत्ति नै संख्यामा क्षेत्रीय संस्थाहरू खोलिएका छन्। त्यत्ति मात्र होइन, नेपालका गाउँ टोल स्तरका संस्थाहरू पनि हङकङमा छन्।

जिल्लागत रुपमा स्थापना गरिएका संस्थाहरूले कम्तिमा त्यो जिल्लाका नेपालीलाई आपतबिपतमा आर्थिक र अन्य सहयोग गर्दै आइरहेका छन्। जुन निकै राम्रो सामाजिक कार्य हो।

तर हङकङमा बस्ने समग्र नेपाली समुदायको हकहित हेर्ने र नेपालीलाई मात्रै नेपालीको रुपमा एकअर्कामा जोड्ने संस्था खै? त्यसरी समग्र नेपालीको प्रतिनिधित्व गर्छौं भनेर दाबी गर्ने संस्थाहरू छन्, तर तिनिहरु के काम गरिरहेका छन् त? अधिकांश नेपाली संस्थाको काम रिबन काट्ने, आफुले तक्मा पाएपछि आफु निकटको अर्को कसैलाई सिफारिस गरिदिने, अनि सरकारले परियोजनाका नाममा दिएको रकम पचाउने मात्रै हो त?

अहिले हङकङ अस्तव्यस्त छ। दुई महिनादेखि आन्दोलन चलिरहेको छ। यो आन्दोलन किन, कसरी सुरु भयो भन्नेबारे हङकङ बस्ने नेपाली परिचित नै छौं। हङकङमा यो आन्दोलनलाई अहिले सम्मकै हिंसात्मक आन्दोलन भनिएको छ। आन्दोलनको क्रममा मुठभेड र कुटपिटदेखि केहीले आत्महत्या समेत गरिसकेका छन्।

गत हप्ताको आइतबार, जुलाई २१ मा पनि चर्काचर्की चल्यो हङकङमा। आन्दोलनमा सहभागी भएर फर्केका मानिसलाई नेपालीको बाक्लो बसोबास रहेको युङलोङ रेल स्टेसनमा अर्को पक्षबाट सांघातिक हमला भयो। बालबालिका, महिला समेतमाथि स्टिलको रड र बाँसको लाठीले आक्रमण गरियो।

‘नहान, हामी आन्दोलनकारी होइनौं, सामान्य यात्रु हौं’ भन्नेहरू पनि आक्रमणबाट जोगिएनन्। जुनसुकै समूहले गरेको भएपनि यो निन्दनीय घटना थियो। यसले मानवीयता र सभ्य समाजको धज्जी उडाएको छ।

घटनाको भोलिपल्ट सोमबार युङलोङ बजार पूर्णरुपमा बन्द रह्यो। फेरि अर्को सांघातिक हमला हुने हल्लाले युङलोङबासीको मनमा त्रासले डेरा जमाइरह्यो। स्थानीय सञ्चार माध्यमले युङलोङ ‘घोस्ट टाउन’ अर्थात् ‘भूत सहर’ भनेर घोषणा नै गरिदिए। हुँदाहुँदै त्यो हिंसात्मक घटनामा दक्षिण एशियालीहरु संलग्न रहेको हल्लाले स्थिति झन् भयावह बन्यो। कुनै पनि समय हामी दक्षिण एशियालीमाथि आक्रमण हुन सक्ने आशंका बढ्यो। हङकङका नेपालीहरुका फेसबुकमा त्यो घटनामा नेपालीको संलग्नताबारे बहस चलिरह्यो। केही नेपाली संलग्न भएको किटानी समेत हुन थाल्यो।

युङलोङका स्थानीयले घटनामा नेपाली र पाकिस्तानी मूलका मानिस पनि संलग्न भएको आरोप लगाए। साधारण काम गर्ने चिनियाँहरुले पनि ‘पैसामा बिकेर त्यसरी आक्रमण गर्न जाने तिमिहरू’ भन्दै नेपालीमाथि आक्रोश पोखे। कथित ‘सेतो क्लोथ ग्याङ’ मा पाकिस्तानीहरूको संलग्नता त प्रष्ट देखिएको छ। तर नेपाली पनि संलग्न छन् भन्ने औपचारिक रुपमा खुलेको छैन।

यस्तो चिन्ताजनक अवस्थामा पनि हङकङका नेपाली संस्थाहरु कोही बोलेनन्। यस्तो घटनाले नेपाली समुदायलाई के असर गर्छ र नेपालीले कसरी सावधानी अपनाउने भनेर कसैले सचेतना अभियान चलाएको थाहा पाइएन।

नेपाली समुदायको प्रतिनिधित्व गर्छौं भनेर स्थापना भएका र परियोजना समेत चलाइरहेका संस्थाका व्यक्तिहरू यतिसम्म गैरजिम्मेवार हुन मिल्छ?

हङकङका नेपालीको सामाजिक सञ्जाल हेर्ने हो भने ‘नेपाली संस्थाहरूले केही गरेनन्, सरकार वा विपक्षीको खेलौना बनेर बसे र नेपाली समुदायको हितमा काम गरेनन्’ भन्दै आक्रोश पोखिरहेको देख्न सकिन्छ। यसरी दोहोरो ठेलाईमा परेको नेपाली समुदायले आज आफ्नो बलियो प्रतिनिधित्व गर्ने संस्थाको आवश्यकता महशुस गरेको छ भनेर सजिलै बुझ्न सकिन्छ।

अब के गर्ने त?

हामी सामाजिक सञ्जालमा बिरोध गरिरहने, उता संस्थामा बस्नेहरु सरकारले दिने परियोजनाको रकम पचाउँदै बस्ने? अनि स्थानीय चिनियाँहरूले नगरेको गल्ती पनि गरिस् भन्दै हामीमाथि आक्रोश खोखिरहने?

आक्रोश पोख्दासम्म समस्या नहोला तर, बिनागल्ती नेपाली वा दक्षिण एशियाली हुनुकै कारण केही भतिभब्य भैहाल्यो भने के गर्ने? हामी एक्लै छैनौं। एक्लै भए ज्यानको माया मारिन्थ्यो सायद। एक्लो ज्यान जसरी पनि चल्छ। तर यहाँ हामी चालीस हजार बढी छौं। कुनै एकको गलत कामले पूरै चालीस हजार नेपालीको बदनाम कसरी चुपचाप सहनु?

अनि ती अपराधिक समुहले सांघातिक हमला नै गरे के गर्ने? कोसँग गुहार माग्ने? अहिले प्रहरीले समेत सुरक्षा दिन कठिन भइरहेको छ। हङकङे हामी नेपाली अहिले यस्तो कठिन अवस्थामा छौं। आन्दोलन कहिले रोकिने हो र अवस्था सामन्य हुने हो, ठेगान छैन। आन्दोलनकारीको समर्थन गर्दा हामी सरकार बिरोधी हुन्छौं, सरकारको समर्थन गर्दा आन्दोलन बिरोधी ठहरिन्छौं। हामी केही गर्नसक्ने अवस्थामा छैनौं। त्यसैले अहिलेको हाम्रो प्राथमिकता एउटै हुनुपर्छ— आफ्नो र आफ्नाहरुको सुरक्षामा ध्यान दिने।

युनलोङ घटना घटेको ठिक एक हप्तापछि आइतबार एनआरएनए हङकङको अधिवेशन छ। ‘नेपालीका लागि नेपाली’, ‘एक पटकको नेपाली सधैंको नेपाली’ नारा बोक्ने यो संस्थाले अहिलेको कठिन घडीमा सचेतनाको कुनै सुचना दिन जरुरी ठानेन्, कि हामीलाई खबर भएन?

अन्तमा, किसन राईले भनेजस्तै हामीले समग्र नेपालीको प्रतिनिधित्व गर्ने नयाँ संस्थाको निर्माण गर्नैपर्ने समय आएको हो? त्यस्तो संस्था जन्मियो भने पनि सक्षम र अनुभवी व्यक्ति त्यसको नेतृत्वमा पुग्लान?

एनआरएनए र योजस्ता ठूला संस्था नेतृत्व गर्ने नेपाली के सोच्छौं यसबारे?

साउन ९, २०७६, बिहिबार

जुनु राना हङकङस्थित लेखक हुन्
लेखकबाट थप

Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors