hongkong


काठमाडौंमा अनुभूति गरें- हङकङ त प्लास्टिकको फूल!


कमल पौड्याल
हङकङ, जेठ १५

डा. सञ्जीव उप्रेती र अर्चना थापासँग लेखक कमल पौड्याल

‘अझै कस्तो आत्मीयता छ, नेपाली समाजमा! कर्मभूमि हङकङ सम्झिएँ– यौटाले ख्वाक्क खोक्यो भने पानी दिनु त कता हो कता, आँखा तर्दै सिट छाडेर हिँड्छन्, चिनियाँ। चुरोट पिउन पाउने ठाउँमै यौटाले चुरोट पिउँदा अर्कोले आँखा तर्दै पत्रिकाले मुख हम्किन्छन्।’

अक्सर विदेश बस्ने नेपालीको स्वदेश फर्किनाका कथा, व्यथा, बहाना वा कारण करिब-करिब उस्तै हुन्छन्। जग्गा किन्ने, घर, बनाउने, बेच्ने, दसैं/तिहारलगायत अन्य चाडपर्व, विवाह, बिरामी, मृत्यु आदि इत्यादि। यसमा पछिल्लो समय थपिएको छ- गैरआवासीय नेपालीको विश्व सम्मेलन।

पछिल्लो सम्मेलनमा विदेशबाट आएका केही गैरआवासीय नेपालीले कारणवश विमानस्थलमै तोडफोड गरेपछि त्यसको सर्वत्र आलोचना भयो। बालबच्चासहित १५-२० घण्टा हवाई यात्रा गरेर काठमाडौं ओर्लिंदा अध्यागमनमा पट्यारलाग्दो गरी कुर्न परेपछि ती महोदयले रिसको आवेग नियन्त्रण गर्न सकेनन् कि! हुन त विदेश बसेर त्यहाँको नागरिकता, घर, गाडी र बैंक ब्यालेन्स बढेपछि नेपाल आउँदा आफूलाई अर्कै ग्रहबाट आएजस्तो अभिनय गर्ने पनि प्रशस्तै छन्।

सबैलाई यौटै डालोमा राखेर हेर्नु अन्याय हुन्छ। यसपालिको सम्मेलनमै पनि राम्रा/नराम्रा चर्चा/परिचर्चा धेरै भए। सामाजिक सञ्जालमा पक्ष/विपक्षमा मत जाहेर गरिए। अझ हिजोआज त ‘भिर गया बन्दुक, हो गया हवल्दार’ हिन्दी उखान चरितार्थ हुन थालेको छ। अर्थात् स्मार्ट फोनमा लेख्न मात्र जान्नुपर्‍याे, पत्रकार भइहालिने। लेख्न आओसु/नआओस्, यौटा नाम जुराएर ‘डटकम’ पुच्छर झुन्ड्याएपछि भइहाल्यो। आफ्ना कुरा कसरी भाइरल बनाउने भन्ने रोग कोरोना भाइरसभन्दा द्रुत गतिममा फैलिँदै छ। सत्यतथ्य नबुझी पहिलो बन्ने होडबाजी त छँदै छ।

आखिर किन विदेशबाट नेपाल जाँदा सबै नराम्रो मात्रै देखिन्छ त? हाम्रो देशमा राम्रा कुरा छँदै छैनन् त? यसपालिका केही घटना/परिघटनाले पनि सधैंझैं मेरो मन भने छोए।

यसपालि म नेपाल जानुपर्ने कारणमा माथि उल्लिखत कुनै थिएनन्। बस्, एउटा स्वतन्त्र यात्रा। विगत जीवनमा जस्तै काठमाडौंभित्र हराउने चाहना। ‘दादा आज के छ प्रोग्राम? गाडी चाहिए भन्नु है भन्नुभ’को छ, दाइले,’ लता सोध्दै थिइन्, बिहानै। उता शारदा पनि गाडी चाहिए ‘भन्नु है भिनाजु’ भन्दै थिइन्। म भने बिलकुल ‘अनौैपचारिक’ भएर घुम्न चाहन्थें। डा.सन्जीव उप्रेतीको ‘घनचक्कर’ उपन्यास स्मरण गर्दै एक्लै घरबाट निस्किएको थिएँ, त्यस दिन।

हात्तीवनको दोबाटोमा डोकोमा राखेर चम्सुर, पालुंगो बेच्दै गरेकी बहिनी बाँकी तरकारी बेच्न ग्राहक नियाल्दै थिइन्।

‘बहिनी सञ्चै?’

‘ठीक छ दाइ, लैजानुस्, सबै ६० रुपैयाँमा।’

‘होइन, आज म बाहिर जाँदै छु। भोलि आउँला।’

नेपाल आएको भोलिपल्ट चिनाजानी भएथ्यो, यिनीसँग। त्यो दिन सोधेको थिएँ, ‘मुठाको कति?’

‘२५ रुपैयाँ।’

चार मुठा लिएर सय रुपैयाँ दिएँ। उनले २० रुपैयाँ फिर्ता दिइन्।

‘किन त,’ मैले सोधें।

‘हैन, खासमा २० रुपयाँ नै हो। सबैले घटाउँछन्, तपाईंले घटाउनु भएन।’

कति इमान्दारिता छ! त्यतिबेला सञ्चारमाध्यममा ‘हट केक’ बनिरहेका सञ्चारमन्त्री गोकुल बास्कोटा तरकारीवालीजत्तिकै इमान्दार भइदिएका भए, प्रधानमन्त्रीले काभ्रेमा गरेको उनको प्रशंसा कति सुहाउँथ्यो। कति उचाइ बढ्थ्यो प्रधानमन्त्रीको! गोकुलले ‘गुरुकुल’को उपमा पाउँथे।

पारिपट्टि यौटा फुच्चे कन्डक्टर लगातार कराइरहेको थियो– ‘लौ आउनुस्, लगनखेल, जावलाखेल, कुपन्डोल, थापाथली, रत्नपार्क जानै लाग्यो।’

बस चढ्न लाग्दा केटोले फूर्तिसाथ भन्यो, ‘चढ्ने पछाडिबाट ओर्लिने अगाडिबाट।’

कोरोना भाइरसको संक्रमण पूर्वी एसियाबाट युरोप, अमेरिका फैलिइसकेको थिएन। एकचौथाइ मान्छेले भने मास्क लगाउन थालिसकेका थिए।

बसको ढोकामा एउटा खुट्टा राखेर केटोले दुइटा औंला मुखमा हालेर सिट्ठी बजायो। बस सुस्त गतिमा अगाडि बढ्दै थियो। दुई जनाले पुलपारि हात उठाए। तीमध्ये एउटीले ‘मेरो गह्रौं झोला छ, सातदोबाटो पारि रोकिदिने भए मात्र जान्छु’ भनिन्।

‘हुन्छ, हुन्छ, आउनुस्,’ कन्डक्टर केटोले तुरुन्तै चालकलाई रिपोर्ट गर्‍याे।

महिला, ज्येष्ठ नागरिक, अशक्तदेखि पत्रकारसम्म लेखिएका सिट छुट्याइएका रहेछन्। म सातदोबाटोमा खालि भएको पत्रकारको सिटमा बसें।

सातदोबाटो पारि पुगेपछि ‘लौ छिटो गरौं है, ट्राफिकले देख्यो भने लभ लेटर भिडाउँछ’ भन्दै गह्रौं झोला भएकी ती आमालाई ओरालियो। लगनखेलमा एकैछिन बस रोकियो। कन्डक्टर केटोले ५, १०, २०, ५० र १०० का नोट हातमा मुखबाट थुक लगाउँदै मिलायो। पाँच सयका नोट ‘ओ गुरुजी’ भन्दै चालकलाई राख्न दियो। हाम्रा पालामा सुका/मोहोर बजाउँदै नोटचाहिँ औंलाले च्यापेर भाडा उठाउँथे, कन्डक्टर। जावलाखेलबाट एक हुल मान्छे चढे। जसमा एक जना वृद्ध आमा लगातार खोक्दै थिइन्।

मसँग मुखमा हाल्ने कुनै स्ट्रेप्सिल वा पानी थिएन, उनलाई दिन। त्यत्तिकैमा यौटी कलेज ड्रेसकी नानी उठिन् र पानीको बोतल दिँदै भनिन्, ‘आमा पानी खानुस्।’

‘जुठो त हैन नि नानी?’

उत्तरमा ती नानीले बोतल देखाउँदै ‘हैन, पखालेर राखेको हो। हेर्नुस्, मैले छोएको छैन’ भनिन्। उनको स्पष्टीकरण सुन्दा यस्तो लाग्थ्यो- यी उनको आफ्नै हजुरआमा हुन्। आमाले बोतलको मुख नछोई पानी खाइन्। मजेत्रोले आफ्नो मुख पुछिन्। बोतल फर्काउँदै गर्दा नानीले भनिन्, ‘राख्नु भए हुन्छ, फेरि खोकी लाग्यो भने!’

‘पर्दैन बा, थापाथलीसम्म मात्र हो, छोरो लिन आउँछ, अस्पताल लान।’

अझै कस्तो मानवता/आत्मीयता छ, हाम्रो समाजमा। कर्मभूमि हङकङ सम्झिएँ- यौटाले ख्वाक्क खोक्यो भने यसरी पानी दिनु त कता हो कता, आँखा तर्दै सिट छाडेर हिँड्छन्, चिनियाँ। चुरोट पिउन पाउने ठाउँमै यौटाले चुरोट पिउँदा अर्कोले आँखा तर्दै पत्रिकाले मुख हम्किन्छन्।

थापाथलीको बस स्टपमै पर्खिरहेका छोराले हात समातेर ओह्राले ती आमालाई।

मचाहिँ सहिदगेटअगाडि ओर्लिंएँ। भूकम्पले निमोठेको धरहरा पुनर्निमाण हुँदैरहेछ। हरियो काँक्रो र नुनखुर्सानी देखेपछि मन थामिएन। अलि पर पोलेको मकैको बास्ना आयो।

‘कति हो मकैको?’

‘२५ रुपैयाँ।’

बीसका दुइटा नोट दिएँ। पटुका भित्रबाट १५ रुपैयाँ फिर्ता दिन लाग्दा मैले भनें, ‘पर्दैन, राख्नुस्।’

‘क्यार्न राख्ने हो चालीस रुप्याँ, पच्चीसका मकैलाई!’

अन्ततः मैले फिर्ता लिएँ। कति इमान्दार, मिहिनेतको कमाइबाहेक लोभ छैन! बोलीको लवज सुन्दा पश्चिम नेपालकी हुनुपर्छ। पसिना चुहाउँदै उनी लगातार आगो फुक्दै मकै पोल्दै थिइन्।

‘जनतासँग सियो र धागोसम्म नि लिँदैनौं’ जस्ता क्रन्तिकारी गीत गाउँदै सत्ताको गोरेटो खनेका कमरेडहरूलाई यिनै आमाको इमान्दार र परिश्रमको मात्र कमाइ खाने आशीर्वाद लागे कस्तो हुन्थ्यो!

त्रिचन्द्र सैनिक अस्पताल, वीर अस्पताल, असनको मुख, पुरानो शैलीमै चीन सरकारले जीर्णोद्धार गरिदिएको दरबार हाइस्कुल, पुनर्निमाण हुँदैगरेको रानीपोखरी, त्रिचन्द्र कलेज, पिताजीलगायतले ‘जयतु संस्कृतम्’ आन्दोलन सुरु गरेको तीनधारा पाठशालाको जीर्ण भवन र घण्टाघर हेरें।

जामे मस्जिदमुनि कपाल काटिन्थ्यो। अझ आरआर क्याम्पस पढ्दा यही वरिपरिका मुस्लिम भोजनालयमा कति मीठो खाना खाइन्थ्यो। रत्नपार्कको रिमझिम भोजनालय सम्झें। अझ गर्मीमा गुच्चा सोडामा कागती र बिरेनुन हालेर पिउँदा कति आनन्द आउँथ्यो!

लगनखेल जाने माइक्रोबसतिर लागें।

‘सिट छ भाइ?’

‘छ छ ल छिटो आउनुस्।’

‘खै त खालि छैन त?’

तीन जनाको सिट हो के, ल दाइ अलिक पर जानुस् भन्दै मलाई थोरै ठाउँ निकाल्यो। सरी है भन्दै बसें। नेपाली गीतसँगै माइक्रो हुइँकियो। हरेक स्टपमा गाडी रोक्नुअगाडि ओर्लिने र हिँडिसकेपछि चढ्ने कला नयाँ पुस्तामा पनि हुबहु रहेछ। कुपन्डोल ओर्लिएर पाटनढोका हुँदै मंगलबजार सोझिँदै थिएँ। भूकम्पपछि जीर्णोद्धार भएका पुरानै शैलीका मठमन्दिर र घर देख्दा एक्काइसौं शताब्दीमा पनि प्राचीन कला जीवित राख्ने महानगरपालिकाको प्रयास प्रशंनीय लाग्यो।

नेवारी खानाको पारखी भएकाले मंलबजारको होनचा सम्झें। नयाँ साइनबोर्डमा ‘तीनपुस्ते होनचा यहाँ सरेको छ’ भन्नेतिर लागें, तर भित्र त अर्कै छ! भिडभाड पनि छैन। बाहिर निक्लिएर एक जना वृद्धलाई सोधें, ‘यहाँको पुरानो होनचा यही हो?’

‘होइन, पुरानो उतापट्टि छ, नयाँ यताको यो दाजुभाइ छुट्टिएका।’

‘कति वर्ष पुरानो होला यो?’

‘खै, म नै ८३ वर्ष लागें। मैले जानेदेखि यत्तिकै छ, लगभग १ सय ५० वर्षअगाडि होनचा नारायण साहुले खोलेको भन्ने सुनेको छु।’

honacha

भूकम्पले पुरानो होनचाको माथिको भाग भत्किए पनि पुरानै भुइँतलामा रहेछ। भित्र छिरें। थरीथरीका मासुका बारा, राँगोको सुकुटी, एकदमै पिरो आलुको तरकारी, छोयला र कसौंडीमा पकाएको राँगोको मासु र नेवारी परिकार खान नेवार र गैरनेवारको भिड लाग्थ्यो, उहिल्यैदेखि। आजसम्म पनि उस्तै छ।

हत्तपत्त सोधें- ‘फोटो खिच्न मिल्छ?’

‘फोटो मात्रै खिच्नी कि खाजा पनि खानी,’ बारा हाल्दै अलि रुखो स्वरमा साहुनीले प्रतिप्रश्न गरिन्। ‘खै, बस्ने ठाउँ त छैनजस्तो छ। प्याक गरेर लैजान पर्ला।’

‘उ वहाँ जान लाग्नुभो,’ अगाडिको सानो टेबुल देखाउँदै उनले भनिन्।

टेबलमा खाँदै गरेका महाशय सोचमग्न देखिन्थे। प्लेटमा बाँकी बारा, छोयला र हरियो खुर्सानी एकैपटक मुखमा राखेर कञ्चट नै तलमाथि हुने गरी चपाए। ग्लासमा आधा बाँकी ऐला एकै घुट्को पारे र गोजीको रुमालले मुख पुछेर ढुनमुनिँदै हिँडे।

त्यसपछि म बसें।

‘ए भाइ एकदम चिसो बियर छ?’

ती भाइले बियर ल्याएर मलाई छाम्न लगायो र सोध्यो, ‘योभन्दा अरू चिसो?’

साहुनीले नेवारी भाषामा पल्लो पसलबाट ल्याउन अह्राइन्। उसले त्यसै गर्‍याे। चिसो बियरको चुस्कीसँगै म नेवारी खाजा खान थालें। हङकङमा साथीभाइ जम्मा हुँदा नेपाल जाँदा पूरै शरीरको स्वास्थ्य परीक्षण गर्ने कुरा चल्थ्यो। म भने हाँस्दै भन्ने गर्थें, ‘होनचाको खानाले, पिरोले पेट दुख्यो भने मेरो शरीरभित्र समस्या हुन सक्छ, नत्र केही छैन।’ साथीहरू हाँस्थे।

म गम्न थालें। यसपालि के हुने हो कुन्नि? मेरो जीवनका विभिन्न कालखण्डमा म यहाँ आएर दर्जनौंपटक खाजा खाएको छु। बारा पकाउँदै गरेकी साहुनी जवानीकी हिन्दी सिनेमाकी अभिनेत्री आशा पारेखजस्तै देखिन्थिन्। खाना त यहाँको विशेषता भइहाल्यो।

honacha2

उनलाई हेर्न पनि आउँथे- युवा र अधबैंसे। तर उनी भने कसैतिर नहेरी आफ्नै काममा व्यस्त रहन्थिन्। अहिले पनि त्यस्तै बानी रहेछ। उनका पति बहीखाता लिएर सँगै बसेका हुन्थे। तर यसपटक उनी देखिएनन्। यिनी पनि निकै उमेर पाकेकी देखें। चिनजान भएको भए मलाई पनि त्यसै भन्थिन्, होला। खाजापछि केही खानेकुरा घरका लागि प्याक गरेर निस्कें।

पाटनको मंगलबजारस्थित कृष्ण मन्दिर दक्षिणपट्टिको देवालयमाथिको पेटीमा ‘शिक्षा सबैको नैसर्गिक अधिकार हो, मेक बुक्स ट्याक्स फ्रि’ लेखिएको कालो ब्यानर थियो। एक जना महिला सानो माइकमा भाषण गर्दै थिइन्। सोचें- कुनै एनजीओको फोटो सेसन होला। यताउता टहलिँदै गर्दा एक जना अर्का चिनेचिनेजस्तो लाग्ने पुरुषले माथि उक्लिएर माइक समाते।

अगाडि बसेर सुनिरहेकाे २५–३० जनाकाे हुलमा एक जनालाई सोधें, ‘को हुन् भाइ, यिनी?’

‘डा. सञ्जीव उप्रेती।’

‘घनचक्कर’ का लेखक?’

‘हजुर।’

‘अर्का जुँगा फुलेका क्याप लगाएका चाहिँ नि?’

‘डा. केदारभक्त माथेमा।’

अर्थमन्त्री डा. युवराज खतिवडाले पुस्तकमा अतिरिक्त कर लगाएपछि त्यसको विरोधमा उत्रिएका रहेछन्, प्राज्ञ र विद्यार्थी। आफ्नो भनाइ सकेपछि उनी तल ओर्लिए।

हात बढाउँदै मैले भनें, ‘मेरो आफ्नो त्यस्तो ठूलो परिचय त छैन, आईएम योर बिग फ्यान। जीवनमा धेरै पुस्तक पढें, तर ‘घनचक्कर’ मात्र यौटा यस्तो किताब हो, जसलाई मैले सुरुदेखि अन्त्यसम्म एकैपटकमा पढेर सिध्याएको थिएँ। पाठकलाई एकोहोरो अक्षरभित्र डोर्‍याएर लैजान सक्ने तपाईंको गज्जबको लेखकीय कला रहेछ।’

स्वाभाविक रूपमा उनी खुसी भए। मेरो हात समात्दै सोधे, ‘मेरो नयाँ पुस्तक ‘हंस’ पढनुभयो?’

‘छैन त, कहाँ पाइन्छ?’

‘रत्न पुस्तक भण्डारमा।’

‘यहाँ पनि छ कि,’ नजिकैको पुस्तक पसल देखाउँदै उनले भने।

‘म हेर्छु है त।’

नभन्दै रहेछ। पुस्तक किनेर ल्याएँ र उनको हस्ताक्षरसहित तस्बिर खिचाएँ। उनी र उनको अभियानका प्राज्ञ/विज्ञसँग भलाकुसारी भयो, एकछिन। नयाँ उपन्यास ‘हंस’ बारे उनले सरसर्ती चर्चा गरे। उनीहरूसँग बिदा भएर लगनखेलतिर लागें।

लगनखेलको भिडमा ‘लौ सातदोबाटो, हात्तीवन, हात्तीवन’ फुच्चे केटो कराउँदै थियो।

‘भाइ सिट छैन?’

‘खालि हुन्छ सातदोबाटोमा।’

उक्लेर उभिएँ। सातदोबाटोको भिड पारि आधा खालि भएको माइक्रोमा ६–७ जना थपिए।

‘भाइ यो क्यान्सर अस्पताल जान्छ?’

‘अलि वरै रोकिन्छ।’

भाडा तिरेपछि केटोले चालकलाई जाहेर गर्‍याे- ‘ओ, गुरुजी ६–७ जना हुनुहुँदोरहेछ। अलि माथिबाटै मोड्ने कि?’ ‘ल ल’ चालकले सहमति जनायो।

हात्तीवनमा सबै ओर्ले र म पनि।

धुलो उडाउँदै माइक्रो हुइँकियो क्यान्सर अस्पताल चोकसम्म। पैसा लिएरै भए पनि कस्तो सद्भाव छ!

बसको ढोका लागिसकेपछि बेपत्ता दौडिँदै बसको ढोका ढक्ढक्याउने हङकङका चिनियाँलाई नै बसको ढोका नखोल्ने चालक सम्झें। हङकङमा सबै चिज राम्रो भए पनि नढाँटी भन्दा प्लास्टिकको फूलबारीजस्तो लाग्छ। हेर्दा बिलकुल उस्तै, तर बास्ना पटक्कै छैन, छाम्दा खस्रो। मैले ढोका खोलें भने मेरो पल्लो छिमेकीले आफ्नो खोलेको ढोका बन्द गर्छन्। सानी छोरी बे विन्डोमा छुनुमुनु गर्दा छिमेकीले पर्दा लगाउँछन्। बासस्थानको वर्षौं पुराना सुरक्षाकर्मी डिउटी हुँदा हलो, हाई, गुडमर्निङ भने पनि बाहिर बाटोमा भेटिँदा नचिनेझैं गर्छन्। यस्तो व्यवहार हामीसँग मात्र नभएर, उनीहरूबीच पनि उस्तै हो।

दिनभरि काठमाडौंको गहिराइमा डुबुल्की मार्दा प्रदूषित काठमाडौंको सतहभित्र भने अझै पनि सङ्ला खोल्सा र कुवा अनुभूति गरें, त्यो दिन।

राति ओछ्यानमा ‘हंस’ पल्टाएर पानामा आँखा दौडाएँ।

‘कालो आकाश गड्याङगुडुङ गर्दै तल झन् तल झर्न थाल्यो भुइँ नै चुम्लाजस्तो गरेर। आकाशमा तोप पड्किरहेका थिए। कुनै युद्ध सुरु हुन लागेझैं थियो। दिउँसै रात भएको थियो र झरीमा नुहाएका रूख मातेझैं हल्लिरहेका थिए। मुसलधारे वर्षाले दहछेउको गोरेटो हिलाम्मे थियो।...वर्षाले चुट्न थाल्यो। एकैछिनमा लुगा निथ्रुक्क भिजे। जुत्ता ढाडिएर गह्रौं भए। पाइलैपिच्छे पिचिक पिचिक गर्न थाले। पोखरीको डिलनजिकै रहेको खाजा घरसम्म पुग्दा म दहभित्रको माछासरह भइसकेको थिएँ।’

गज्जबको लेखनशैली छ, यिनको। किताब पढ्दापढ्दै कतिबेला निदाएछु, पत्तै भएन।

सधैंझैं बिहानै झ्यालछेउको पैयाँको बोटमा हाँगो नै लच्किने गरी दुई–तीन जोडी कौवा ‘का का’ गर्दै कराउन थालेपछि बिउँझिएँ। कुरो बुझ्दा सधैं बिहान भाइ विमलले उनीहरूलाई खाना दिने गरेका रहेछन्।

उहिल्यै गाउँमा घरको धुरीमा यसैगरी कराउने कौवालाई ‘सुबोल सुबोल’ भन्दै निबुवाको बोटमुनि ढुंगामा पातमाथि आमाले भात राखिदिएको सम्झना आयो।

 

जेठ १५, २०७७, बिहिबार

कमल पौड्याल हङकङका व्यवसायी र लेखक हुन्
लेखकबाट थप

Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors