hongkong


अनुपम खेरको भिडियो र हङकङ चार्टर्ड उडानको कथा


कमल पौड्याल
हङकङ , जेठ ७

हङकङमा नेपाल एयरलाइन्सका म्यानेजरसँग चार्टर्ड उडानबारे छलफल गर्दै ट्राभल कम्पनीका म्यानेजरहरू

सबैभन्दा नाफामूलक हङकङ सेक्टरमा अरू प्रवेश नगरुन भन्ने चाहन्छ, नेपाल एयरलाइन्स। हिमालयन एयरलाइन्स भने ‘कस्ट टु कस्ट’ उडाएरै भए पनि हङकङ सेक्टरमा प्रचारमुखी रणनीतिमा अगाडि बढ्दै छ।

कोभिड-१९ को विश्वव्यापी संक्रमणले लगभग संसारको कुनै पनि देश अछूतो छैन। यो शताब्दीमा जन्मिएर यो महामारीको प्रत्यक्ष/अप्रत्यक्ष साक्षी हुन पाउने यो समयका सबै मानव जाति आफ्नो जीवनमा यौटा अकल्पनीय अनुभव लिएर ढिलो या चाँडो पालैपालो मृत्युलोकमा जाने छन्। बलिउड अभिनेता अनुपम खेरले कालो पेटिगन्जी लगाएर सोफामा बसेर बोलेको हालसालैको यौटा भिडियोले सामाजिक सञ्जालमा निकै चर्चा पायो। 

जसमा उनी आफै प्रश्न उत्तर गर्दै भन्छन्, ‘मेरेपास इतना  बैंक ब्यालेन्स, व्यापार व्यवसाय, बंग्ला, महँगी जुहारत, ब्रान्डेड घडी, गाडी, कपडे, जुते, सब कुछ है। तुम्हारा पास क्या है?’

‘मेरे पास तो कुछ भि नहीं। माँ थी ओ भी बाइके घर बैठी है। सब कुछ अनइम्पोट्यान्ट होगया, हम तुच्छ मात्र रह गए, जिरो होगए हम। और जिरो हि थे हम। लेकिन अहंकार बहुत था। सब आ गया अपने औकात पर। जमिनपे आ गया सब। यिस बातका एहसास पहले हि होना चाहिए था।’

हुन पनि मुकेश अम्बानीले फुर्सद पाएर पहिलोपटक आफ्नो घरका सबै चोटाकोठा चहारेका खबर भारतीय छापामा हटकेक भएको छ। परिवारलाई समय दिएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा सबै धर्मका धर्मगुरूलाई बोलाएर शान्ति–स्वस्ति गराए हालसालै। घमण्डले मास्क नलाए पनि डाक्टरको सल्लाहबिनै भारतबाट आयातित मलेरियाको औषधि खान थालेका छन्, कोभिड–१९ नलागोस् भनेर।

अहिलेको विश्वमा विपन्नले भन्दा सम्पन्नले ठूलो आर्थिक घाटा र चिन्ता बेहोर्दैछन्। गरिबको भन्दा धनीको निद्रा र चैन हराएको छ। भाषण, भ्रमण, भोज र सञ्चारमाध्यममा देखिने विश्वका राजनेता वा सरकार प्रमुखले कसरी यो महामारीको व्यवस्थापन गर्छन्? यो रोगले अग्निपरीक्षा लिँदै छ सबैको। अक्सर दैवी प्रकोप वा स्वास्थ्य संक्रमणको विपत्ति कुनै देशमा हुँदा अरू देशको सहयोगले सामना गर्न सजिलो हुन्थ्यो। तर अहिले संसारभरका सबै देश आफैं एक्लाएक्लै यो महामारीसँग जुध्दै छन्, अदृश्य शत्रुसँग।

अमेरिका र युरोपमा महामारीले लाखौं मानिसको ज्यान गएको र चीनले गरेको विपद् व्यवस्थापन र संक्रमित मुलुकलाई गरेको सहयोगले विश्व रंगमञ्चमा उसले आफ्नो वर्चस्व र साख बढाएको छ। हङकङमा पनि १ हजार ५६ संक्रमितमध्ये २७ जना मात्रै अस्पतालमा बाँकी छन्। जसमध्ये मात्र ४ जनाको मृत्यु र १५ सिकिस्तमध्ये एक जना मात्र बाँकी छ। करिब ८ महिनासम्म लगातार आन्दोलन र अस्तव्यस्ताले नाम गुमाएको हङकङले कोभिड–१९ राम्रो नियन्त्रणले प्रसिद्धि चुम्दै छ अहिले। तर यो प्राकृतिक जीवाणु नियन्त्रण हुनेबित्तिकै अर्को ठूलो राजनीतिक जीवाणु तम्तयार छ। जसको व्यवस्थापन, समाधान र नियन्त्रण गर्न ठूलो चुनौती छ, हङकङको भविष्यका लागि।

यसै सिलसिलामा नेपाल सरकारले सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि हङकङको राहदानी, स्थायी वा अस्थायी परिचयपत्रवाहक हजारौं नेपाली नेपालमै अड्किएका छन्। खासगरी व्यवसायी, विद्यार्थीका अनलाइन स्कुल अध्ययन, परीक्षा, यहाँको अस्पतालमा फलोअप समय लिएका बिरामी, घरको बैंकको किस्ता वा घरभेटीको भाडा, बिजुली पानी टेलिफोनलगायतका शुल्कको समस्या त भइहाले।

पाकिस्तान भारत वा नेपालमा रहेका हङकङमा बसोबास गर्न पाउनेले अहिले त स्वास्थ्य सुरक्षाका हिसाबले पनि सुरक्षित हङकङ फर्किन खोज्नु स्वाभाविक हो। हाम्रो देशको स्थिति र हङकङको व्यावहारिक स्थिति हेर्दा पनि त्यति सजिलो भने छैन। हुन त जे कुरामा पनि सरकारको विरोध मात्रै गर्ने गरिन्छ। युरोप, अमेरिकाजस्ता अति विकसित देशमा भेन्टिलेटर नपाएर हजारौंले ज्यान गुमाएको अवस्थामा हामीले धेरै ठूलो अपेक्षा राख्न सकिन्न नै नेपाल सरकारबाट।

बरू ‘बूढी लागिन् रमितामा, स्यालले कुखुरा बोक्यो’ नेपाली उखानझैं भएको छ देश। भारत सरकारका रक्षामन्त्री राजनाथ सिंहले १९ किलोमिटर नेपाली भूभाग हुँदै मानसरोवर जाने लिंकरोड उद्घाटन गरेपछि विकसित राजनीतिक घटनाक्रमले ओली सरकारको हल्लिएको कुर्सी अलि अडिएको छ। प्रधानमन्त्री ओली संसदमा ३ वर्षभित्र लिम्पियाधुरा र गुमेको भूभाग फिर्ता गराउँछु भन्दै राष्ट्रवादको एक्का देखाएर आफ्नो पदको आयु लम्ब्याउने रणनीतिमा देखिन्छन्। विश्वभरका नेपालीको समस्या ज्यूँका त्युँ छन्।

दक्षिण एसियाली मूलका मध्ये भारतमा करिब ३६ सय र पाकिस्तानमा करिब २ हजार जना हङकङ आउने पर्खाइमा छन्। यसमध्ये दुवै देशबाट हालसालै यात्रु चार्टड १/१ राष्ट्रिय ध्वजावाहक पीआईए र एयर इन्डिया हङकङ अवतरण गरेर फर्किएका छन्। अर्को फ्लाइट टुंगो छैन। जसका लागि इन्डियन र पाकिस्तानी एसोसिएसन हङकङ निकै लामो समयदेखि प्रयासरत थिए र छन्। यस्तो विपदको समयमा कुन एयरलाइन्स, कसले चार्टर्ड गर्ने? नाफा/नोक्सान भन्दा पनि फसेका मान्छेलाई सुरक्षितसाथ हङकङ ल्याउनु आफूहरूको ध्येय रहेको बताउँछन् इन्डियन एसोसिएसन हङकङका एक राजस्थानी अगुवा।

तर हामी नेपालीको भने कुरा अलि फरक छ। लामो समयदेखि हङकङ उडान भर्दै आएको नेपाल एयरलाइन्ससँग समन्वय गरेर चार्टर्डका लागि हङकङका करिब आठवटा ट्राभल एजेन्सी एक देखिन्छन्, यतिबेला। यसमध्येका एक अगुवा सनराइज ट्राभलका राजेन्द्र श्रेष्ठ नेपाल एयरलाइन्स पहिलादेखि नै हङकङ आउजाउ गर्ने भएकाले यहाँको हवाई उड्डयन प्राधिकरणसँग अनुमति लिन सजिलो हुने तथा चाँडोभन्दा चाँडो आफ्ना यात्रुलाई हङकङ ओराल्नु आफूहरूको प्रथमिकता रहेको बताउँछन्। किन यति महँगो त भाडादर भन्दा टोटल जहाजको प्रतिघण्टा चार्टर्ड मूल्यको हिसाबले सबैलाई बराबर आउने जसको निर्णयकर्ता आफूहरू नभएर नेपाल एयरलाइन्सको उच्च व्यवस्थापकीय टिम रहेको बताउँछन्।

फिस्टेल ट्राभल हङकङका कृष्ण पाण्डे यतिबेला सस्तो महँगोभन्दा पनि १५ सयको हाराहारीमा नेपालमा रहेका हङकङ फर्कन जरुरी भएका नेपालीलाई हङकङ उतार्नु पहिलो ध्येय रहेको बताउँछन्। नेपाल एयरलाइन्स, क्याथे ड्रागन वा हङकङ एयरभन्दा पहिलादेखि नै महँगो छ। अझ उताबाट आउँदा कार्गोबिना प्यासेन्जर मात्र बोक्नुपर्ने र जाँदा बिनायात्रु र कार्गो नलिई फर्किनुपर्ने अहिलेको स्थितिको बाध्यता बुझ्न जरुरी मान्छन्, उनी।

गैरआवासीय नेपाली संघ हङकङकी अध्यक्ष टीका गुरुङ भने नेपाल एयरलाइन्सको भन्दा झन्डै ४० प्रतिशत सस्तो भाडादरमा नेपालकै हिमालय एयरलाइन्ससँग सहकार्य गर्दै आएकी छन्। किन त राष्ट्रिय ध्वजावाहक छाडेर अरू रोज्नुभो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘नेपालमा रहेका मध्ये करिब ८० प्रतिशतसँग आरएको रिटर्न, १५ प्रतिशतसँग मात्र ड्रागन र ५ प्रतिशतचाहिँ बिनाटिकटका रहेका छन्। हङकङ विमानस्थल खुलै भएको अवस्थामा त्यही रिटर्न टिकटमै किन नउडाको? यस्तो जटिल परिस्थितिमा राष्ट्रिय ध्वजावाहकले पनि आफ्ना नियमित नेपाली यात्रुको मन जित्नपर्ने होइन? उद्धार गर्नुपर्ने होइन? मैले २ करोड डिपोजिट कहाँबाट ल्याउने? यौटा सामाजिक नेतृ भएका कारण पनि यस्तो विषम परिस्थितिमा जसले सस्तो सुलभमा हङकङ लैजान्छ उसैलाई सपोर्ट र सहयोग गर्ने हो।’

टीकाले यसै महिना चारवटा फ्लाइटको मिति राखेर हिमालय एयरलाइन्ससँग सम्बन्धित ट्राभल एजेन्सीको खातामा रकम जम्मा गर्नसमेत सामाजिक सञ्जालमै लेखेकी छन्।

RA Himalaya

दुवै समूहको विमान चार्टर्डसम्बन्धी सूचना सामाजिक सञ्जालमा हेर्दा कताकता दुईवटा पार्टीको चुनाव प्रचारशैलीजस्तो लाग्छ। दुवै समूहले विभिन्न मितिमा जहाज उड्ने भन्दै सामाजिक सञ्जालमा सूचना जारी गरेका छन्। यात्रु दुविधामा छन्।  हुन पनि सबैभन्दा नाफामूलक हङकङ सेक्टरमा अरू प्रवेश नगरुन भन्ने चाहन्छ नेपाल एयरलाइन्स। करिब आधा–आधा चिनियाँ र नेपाली लगानीको हिमालयन एयरलाइन्स ‘कस्ट टु कस्ट’ उडाएरै भए पनि हङकङ सेक्टरका लागि नाफामुखीभन्दा प्रचारमुखी रणनीतिमा अगाडि बढ्दै छ। चिनियाँ लगानी भएका कारण संभवतः दिल्ली वा भारतका अन्य सहरमा अझै उडान अनुमति नपाएको यो एयरलाइन्स हङकङ निकै ठूलो नाफामूलक व्यापारिक गन्तव्य हुन सक्छ भन्नेमा विश्वस्त छ। अझ सुरूका दिनमै प्रधानमन्त्रीको चीन भ्रमणमा चार्टर्ड गरेर लैजानुले उसको पहुँच निकै माथिसम्म रहेको स्पष्ट छ।

अहिलेको स्थितिमा हङकङ आउने सबै चार्टर्ड फ्लाइटका यात्रुले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने भएकाले स्वास्थ्य विभागसँग समन्वय नगरी चार्टर्ड फ्लाइट लगातार गर्नचाहिँ अलि मुस्किलै देखिन्छ। 

यसैबीच यसै विषयमा नेपाली महावाणिज्य दूतावास हङकङमा सहजीकरण पहल गरिदिन ज्ञापनपत्र र भेटघाटको सिलसिला पनि बाक्लिएको छ।

नेपालमा फसेका यात्रुहरूको नामावलीसहित दूतावासमा ज्ञापनपत्र बुझाएका एनआरएनए हङकङका महासचिव गोकर्णप्रसाद ढकाल भने संस्थाले विमान चार्टर्ड नगर्ने बताउँछन्।एनआरएनए अध्यक्षको पहलबारे उनको टिप्पणी छ– टीका भाउजु आफैं नेपालमा लकडाउनमा पर्नुभएकाले फसेका नेपालीलाई सस्तो सुलभ दरमा हङकङ ल्याउन उहाँले गरेको व्यक्तिगत पहल सकारात्मक छ।

हङकङको गृह मामिला विभागको प्रायोजनमा ‘नेपाली समूहका लागि सामुदायिक सेवा परियोजना’ सञ्चालन गरिरहेकी रीता गुरुङ यसै विषयमा आफूले हङकङको राजनीतिक पार्टी र सरकारी निकायसँग सहजकर्ताको भूमिका निर्वाह गरेको दाबी गर्दै त्यसरी लगातार चार्टर्ड फ्लाइट असम्भव मान्छिन्।

समान अवसर आयोग हङकङका अध्यक्ष चु मन किन रिकीले सम्पर्कमा रहेका केही नेपाली अगुवालाई अफिसमै बोलाएर नेपाली समुदायलाई हङकङ ल्याउन सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन्। हङकङकै राजनीतिमा विशेष प्रभाव राख्ने हङकङका सरकारी अथवा बेइजिङ पक्षधर समूहका युवा नेता सभासद भिन्सेन्ट चेङ आफ्नो टोलीसहित महावाणिदूतावासमा गएर यस विषयमा छलफल गरेलगत्तै सरकार र विपक्षी समूह पनि दूतावासमा गएर चासो र चिन्ता व्यक्त गरेका छन्।

हङकङकै अर्को बिजिनेस प्रोफेसनल पार्टीकी नेतृ तथा सभासद् डा. प्रिसकिल्ला लिउङ पनि हङकङ नेपाली महासंघमा नेपाली समुदायलाई करिब दुई बाकस मास्क सहयोग लिएर यिनै समस्याबारे चासो र समाधानको पहल गरिदिने आश्वासन दिएर फर्केकी छन्।

आफ्नो कार्यकाल पूरा गरी नेपाल फर्किने तरखरमा रहेका महावाणिज्यदूत कमलप्रसाद भट्टराई विपदमा परेका नेपालीलाई हङकङ फर्काउने चासो र चिन्ता लिँदै दूतावासमा आउनेहरू सबैको आफूहरूले कुरा सुनेको र पत्रहरू सम्बन्धित निकायमा चाँडोभन्दा चाँडो पठाएको बताउँछन्। यस्तो परिस्थितिमा कुन चिह्न भएको कसको जहाजमा कसले ल्याउनेभन्दा पानीजहाजमै भए पनि उद्धार हुन पाउनु मुख्य कुरा हो भन्छन् उनी।

दूतावासमा नेपालका विभिन्न स्थानबाट व्यक्तिगत इमेल पनि प्रशस्तै आएका छन्। दूतावासको नेपाल सरकारको सम्बन्धित निकाय तथा हङकङ सरकारको सुरक्षा, अध्यागमन र अन्य सरोकारवाला विभागसँग निरन्तर सम्पर्क सूचना सहयोग आदानप्रदान भएको छ। फरक फरक मूल्यको चार्टर्ड कुरा आयो नि त भन्दा त्यो एयरलाइन्सको आआफ्नो पोलिसीमा भरपर्ने कुरा हो। सकभर यस्तो महामारीको जटिल परिस्थितिमा १ डलर पनि मुनाफा नराखी गरेको राम्रो हो, सबैले। तर महावाणिज्यदूतावास त्यसको निर्णय वा आदेश दिने अधिकारिक निकाय भने होइन।

बजारमा मे २४ मा नेपाल एयरलाइन्सको पहिलो चार्टर्ड उडान हुने हल्ला चलिरहँदा हङकङ कन्ट्री मैनेजर नवराज उपाध्याय भन्छन्– हाम्रो एयरलाइन्स र हङकङको सम्बन्धित सबै विभागका प्रक्रिया पूरा भइसकेर अध्यागमन विभागले आउने यात्रुको सूची स्वीकृत गरेपछि मे २४ का लागि टिकट वितरण सुुरु गरिने बताउँछन्।

खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ। दुई महिनासम्म लकडाउनमा नेपाल फसेकाहरूको पीडा हङकङ बसेर अनुभव गर्न सकिन्न। जुन जहाजमा जताबाट जसरी आए पनि फसेका हङकङका नेपाली छिटो आउन सकुन्। यसैमा राजनीति वा जुँगाको लडाइँ नहोस्। बिनास्वार्थ उद्धार गर्न खटेका सबैलाई हार्दिक शुभेच्छा।

 

जेठ ७, २०७७, बुधबार

कमल पौड्याल हङकङका व्यवसायी र लेखक हुन्
लेखकबाट थप

Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors