hongkong


कोभिड-१९: हङकङका विद्यार्थीसँग अनलाइन कक्षा अनुभव


डा. चुरा थापा
हङकङ, जेठ २

कोरोना महामारीले स्कुल बन्द भएपछि अहिले धेरै देशमा अनलाइन कक्ष सञ्चालन भइरहेका छन् (एससीएमपी)

नानीहरूको अनलाइन कक्षाबारे प्रश्न गर्दा हङकङका अभिभावकहरूको जवाफ हुन्छ– ‘कोरोनाले गर्दा जागिर गयो। मोबाइल किन्न सकेको छैन। अनि त बच्चाले अनलाइन कक्षामा सामेल हुनै पाएको छैन। कम्प्युटर पनि पहिल्यै भिडियो गेम खेलेर बिगार्‍यो।’

गत अप्रिल अन्त्यतिर मैले हङकङका केही नेपाली, फिलिपिनो, भारतीय र पाकिस्तानी विद्यार्थी तथा तिनका अभिभावकसँग अनौपचारिक अन्तरक्रिया गर्ने अवसर पाएँ। तीमध्ये कतिपय मैले पढाउने विद्यार्थी नै थिए। केही विद्यार्थीहरू धेरै दिनदेखि अनलाइन कक्षामा उपस्थित भएका थिएनन्। त्यसकारण पनि उनीहरूलाई सम्पर्क गरेको थिएँ। कतिपय आफ्ना छोराछोरीसँग मास्क लगाएर बजार निस्केका चिनेका नेपाली थिए भने केही हङकङका एनजीओका कार्यक्रममा भेटिएका पाकिस्तानी।

बजारमा भेट्नासाथ ती अभिभावकसँग मेरो दोहोरिइरहने प्रश्न भनेको ‘नानीहरूको अनलाइन कक्षा कस्तो भएको छ’ भन्ने नै हो। केही छाडेर, अधिकतर अभिभावकले दिने उत्तर भनेको ‘खोइ कस्तो छ कुन्नि, अनलाइनमा पढ्छौं भन्छन्, रातदिन मोबाइलमा झुन्डिएका हुन्छन्’ नै हुन्थ्यो। तर केही अभिभावकले भने आफ्ना बच्चाको मोबाइल फोन बिग्रिएको बताए।

‘कोरोनाले गर्दा जागिर गयो। मोबाइल किन्न सकेको छैन। अनि त बच्चाले अनलाइन कक्षामा सामेल हुनै पाएको छैन। कम्प्युटर पनि पहिल्यै भिडियो गेम खेलेर बिगार्‍याे।’ कतिपयको जवाफ यस्तै हुन्थ्यो।

मेरी एक जना फिलिपिनो विद्यार्थी धेरै दिनदेखि अनलाइन कक्षामा सामेल थिइनन्। उनी जेहेन्दार विद्यार्थी हुन्। उनलाई के भयो होला भन्ने चासो लागिरहेको थियो। पटकपटक ह्वाटस् एपमा ‘हेलो, हाउ आर यु’ भनेर मेसेज पठाएको धेरै दिनपछि जवाफ आयो। उनले धेरै दिनदेखि आफू अनलाइन कक्षामा सामेल हुन नसक्नाको कारण आफ्नी आमाको रोजगारी गुम्नु भएको बताइन्।

अहिले उनीहरू आमाछोरी मिलेर फिलिपिनो खाना घरमा बनाएर फेसबुकमार्फत अर्डर लिने र हङकङका फिलिपिनोका घरघर पुर्‍याउन जाने गर्दारहेछन्। बिहान उठ्नेबित्तिकै फेसबुकमा मेसेज हेरेर मान्छेलाई विभिन्न ठाउँमा खाना पुर्‍याउन जानुपर्ने भएका कारण अनलाइन कक्षामा सहभागी हुने तथा विभिन्न ‘असाइनमेन्ट’ पूरा गर्ने समय उनलाई छैन। आइतबार त खाने फुर्सद पनि हुन्न भन्दै थिइन्। फिलिपिनो तरिकाले पकाइएका माछा र भातको फोटो पनि खिचेर मलाइ पठाइन्।

हङकङमै बस्ने अर्का एक जना पाकिस्तानी अभिभावकसँग एउटा एनजीओको मास्क वितरण गर्ने कार्यक्रममा भेट भयो। ‘मेरा छोरा पाकिस्तान गएपछि हङकङले एयरपोर्ट बन्द गर्‍याे। जसले गर्दा उसले एचकेडीएसई परीक्षा दिन पाएन’ एनजीओका मान्छेसँग उनी गुनासो गर्दै थिए।

माथिका दृष्टान्तले कोरोना भाइरसको महामारी फैलिसकेपछि विशेषगरी विश्वका निम्न आम्दानी भएका तथा आप्रवासी अभिभावकका बालबच्चाका शैक्षिक जीवनको अवस्था प्रतिबिम्बित गर्छन्। कोरोना महामारीका कारण अहिले एकाधबाहेक विश्वका प्रायः विद्यालय तथा विश्वविद्यालय बन्द छन्। जसका कारण विद्यार्थीको नियमित शैक्षिक जीवनमा मात्र नभई उनीहरूको दैनिक तालिकामा समेत व्यापक फेरबदल आएको छ। विद्यार्थीसँगको च्याट ग्रुपमा अनलाइन कक्षा कति बजे तय गरौं भनेर सोध्दा अक्सर विद्यार्थीबाट दिउँसो वा बेलुकी भन्ने सुझाव आउनुले उनीहरूको दिनचर्यामा व्यापक हेरफेर भइरहेको संकेत दिन्छ। 

आफ्नो शैक्षिक तालिकालाई पूरा गर्न हङकङलगायत केही देशका विद्यालय/विश्वविद्यालयमा अनलाइन कक्षा सञ्चालन गरिएको छ। र, अनलाइन कक्षा अहिलेको शैक्षिक छलफलमा एक बजवर्डजस्तै भएको छ। स्वाभाविकै हो- जो विद्यार्थी सजिलैसँग नियमित रूपमा अनलाइन कक्षामा सामेल हुने अवस्थामा छ, उसको शैक्षिक प्रगति अन्यको भन्दा राम्रो हुन्छ।

तर अनलाइन कक्षा बाहिर सुनिएजस्तो सजिलो र भरपर्दो छैन। अनलाइन कक्षाका लागि विद्यार्थीसँग आफ्नै ल्यापटप, कम्प्युटर वा कम्तीमा स्मार्टफोनका साथै भरपर्दो इन्टरनेट सेवा पनि हुन आवश्यक छ, जुन गरिब तथा निम्न आय भएका वा कोभिड-१९ कारण रोजगारी गुमाएका र इन्टरनेट सेवा नभएका वा दुर्गम गाउँका विद्यार्थीका लागि चुनौती बन्न सक्छ। त्यसैगरी विद्यार्थीले सम्बन्धित एप पनि ती डिभाइसमा डाउनलोड गरिसकेको हुनुपर्छ र अनलाइन कक्षामा प्रवेश गर्न के-कस्ता प्रक्रिया अपनाउनुपर्छ भन्ने कुरा पनि उनीहरूलाई राम्रोसँग सिकाइएको हुनुपर्छ।

कोरोना भाइरसको महामारी आकस्मिक र अनपेक्षित भएको हो। यसभन्दा पहिले एकाधबाहेक विश्वका धेरैजसो मुलुकमा अनलाइन कक्षाबारे कमै छलफल/बहस हुने गरेका थिए, जसका कारण न नीति-निर्माण तहमा न त विश्वविद्यालय वा विद्यालय तहमै यसका लागि राम्रो तयारी गरिएको थियो।

मैले हङकङ विश्वविद्यालयमा केही समय अध्यापन गर्दा मुडल नामको एउटा डिजिटल प्रविधिमार्फत विभिन्न प्रकारका असाइनमेन्ट दिने र विद्यार्थीले बुझाएका असाइनमेन्ट मार्क गर्ने गरेको थिएँ। तर मुडल अहिलेको नयाँ पुस्ताका लागि आवश्यक पर्ने अन्तरक्रियात्मक शिक्षाका लागि उपयोगी छैन। पछिल्लोपटक जुम नामको एउटा एप विश्व प्रसिद्ध बनेको छ, जसमा भिडियोमै कुराकानी गर्नेदेखि शिक्षकले आफ्ना शिक्षण सामग्री देखाएर विद्यार्थीसँगै लेख्नसम्म मिल्ने प्रविधि छ। जुमको प्रसिद्धिप्रति इर्ष्या गरेर गुगल र माइक्रोसफ्टले पनि आफ्नै प्रकारका प्रविधि आविष्कार गरेका छन्। किनकि उनीहरूको अनुमानमा अब विश्वको शिक्षण प्रणाली बढी भर्चुअल मोडमा हुनेछ।

तर यी एपमा कसरी पढ्ने र पढाउने भन्ने विषयमा गत फेब्रुअरीसम्म पनि विश्वका ९९ प्रतिशत विद्यालयले कुनै तयारी गरेका थिएनन्। किनकि त्यतिखेरसम्म कसैलाई पनि लागेको थिएन कि कोरोना भाइरसले यो तहको रूप लेला र युगौंदेखि चलिरहेको शैक्षिक पद्धतिलाई नै चुनौती दिन्छ।

कोभिड-१९ का कारण विद्यालय/विश्वविद्यालय अनलाइन शिक्षातर्फ तानिँदै गर्दा यसबाट गरिब तथा श्रमिक वर्गका विद्यार्थी र धनी वर्गका विद्यार्थीको शिक्षाबीच एक प्रकारको असमानता पैदा हुने देखिन्छ। कोरोना महामारीका कारण विश्वको अर्थतन्त्र ५ देखि १० प्रतिशतसम्म खुम्चिने र विश्वमा करिब ५० देखि ६० करोडसम्म मानिस गरिबीको रेखामुनि पर्ने कुरा विभिन्न अन्तर्राष्ट्रिय संस्थाले अनुमान गरेका छन्। यसले गर्दा संयुक्त राष्ट्र संघले तय गरेको दिगो विकासको लक्ष्य (एसडीजी) २०३० पनि पूरा नहुने अनुमान गरिएको छ।

कोरोना भाइरसका कारण विकासशील मुलुकमा गरिबी बढ्नेछ, किनकि उनीहरूको मुख्य आयस्रोत श्रमिक निर्यातमा मात्र नभई साना तथा मझौला उद्योगमा पनि यसले ठूलो असर गर्नेछ। कोभिड-१९ महामारीका कारण विशेषगरी सर्वहारा र दक्षिण एसियाली क्षेत्रमा गरिबीको मात्रा उच्च हुनेछ भन्ने कुरा फिनल्यान्डस्थित युनाइटेड नेसन्स युनिभर्सिटीले गत अप्रिलमा प्रकाशन गरेको एउटा प्रतिवेदनमा जनाइएको छ।

अन्तर्राष्ट्रिय श्रम संगठनले गत अप्रिलमै प्रकाशन गरेको प्रतिवेदनमा पनि विश्वमा १ करोड ३० लाख आप्रवासी कामदारको रोजगारीमा कोभिड-१९ महामारीले असर गर्नेछ। यसबाट एउटा के कुरा स्पष्ट हुन्छ भने कोभिड-१९ महामारीले गरिब र निम्न आय भएका परिवारका विद्यार्थीको शिक्षामा सबैभन्दा बढी नकारात्मक असर गर्नेछ। तीमध्ये कतिपयले जीविकोपार्जन गर्न विद्यालय छाड्ने छन् भने कतिपयले अनलाइनबाट हुने धेरै गतिविधिमा भाग लिन सक्ने छैनन्।

किनकि कतिपयसँग अनलाइन शिक्षाका लागि चाहिने आधुनिक स्मार्ट डिभाइस हुने छैनन्, कतिपय इन्टरनेट सेवाबाट वञ्चित रहनेछन् र कतिपय सानै उमेरदेखि बिहान-बेलुकाको छाक टार्न काम वा सानातिना व्यवसायमा लाग्न बाध्य हुनेछन्। अर्थात् कोभिड-१९ ले धनी परिवारका विद्यार्थी र गरिब तथा श्रमिक वर्गका विद्यार्थीको शिक्षामा असमानताको खाडल अझ बढाइदिनेछ।

अनलाइन सिकाइमा सहभागी हुन कति हदसम्म सक्ने वा नसक्ने भन्ने कुराले परीक्षामा विद्यार्थीले ल्याउने नतिजा फरक पार्नेछ। कोभिड-१९ का कारण कैयन् देशले यो वर्ष आफ्ना वार्षिक परीक्षा रद्द गरिरहेका छन्। प्रसिद्ध ब्रिटिस ए-लेभल परीक्षा र आईबी पाठ्यक्रमको परीक्षा रद्द भएको छ। ती पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थीलाई उनीहरूको दैनिक गतिविधिका आधारमा शिक्षकको स्वविवेकले नै अंक दिने भनिएको छ।

तर शिक्षकद्वारा स्वविवेकले विद्यार्थीलाई अंक दिँदा जाति-वर्गगत हिसाबले असमान प्रकारको अंक दिइन सक्छ भनेर ब्रिटेनको समानता तथा मानव अधिकार आयोगका अधिकारीले ब्रिटिस परीक्षा बोर्डका अधिकारीको ध्यानाकर्षण गराएका छन्। शिक्षासम्बन्धी दर्शनअनुसार जाँचकर्ता-  प्रश्नपत्र जाँचका क्रममा जानेर वा नजानेर कुनै न कुनै रूपमा भेदभावपूर्ण वा सापेक्ष बन्छन्। शिक्षकले स्वविवेकले आफ्ना विद्यार्थीलाई परीक्षा अंक दिने भएपछि स्वाभाविक रूपमा त्यस प्रकारको सापेक्षताको तह बढ्न सक्छ, जसबाट विद्यार्थीको लैंगिक, भाषिक, जातीय वा वर्गीय पृष्ठभूमिकै कारण उनीहरूले प्राप्त गर्ने अंकमा अन्तर आउनेछ।

कुनै पनि शिक्षकले कुन विद्यार्थीलाई कति अंक दिने भनेर सोचिरहँदा उसको कक्षाकोठामा हुने व्यवहार, ऊसँगको अनौपचारिक भेटघाट र व्यवहार, उसको अनुहार, विभिन्न समयमा विद्यार्थीले गर्ने कक्षा/गृहकार्य, तिनको गुणस्तर आदि इत्यादि कुनै पनि शिक्षकको दिमागमा प्रस्टसँग झल्किनेछन्।

कुनै विद्यार्थी कुनै शिक्षकको नाता परेको छ भने स्वभावैले त्यो विद्यार्थी र उसको अभिभावकसँग शिक्षकको भेटघाट धेरै भएको हुन सक्छ। विद्यार्थी अन्य समयमा जस्तो सुकै भए पनि आफ्नो अभिभावकको नाता पर्ने वा छिमेकी शिक्षक परेको छ भने उसप्रति हुने व्यवहार स्वभावैले सकारात्मक र प्रशंसनीय हुनेछ। जब शिक्षकले स्वविवेकले त्यस्तो विद्यार्थीलाई अंक प्रदान गरिरहेको हुन्छ, तब उसको मूल्यांकन सकारात्मक नै गरिरहेको हुन सक्छ, जुन अन्य मेहनती वा शिक्षकको नाता/छिमेकी नपर्ने गरिब वा अल्पसंख्यक समुदायका विद्यार्थीको मूल्यांकनभन्दा फरक हुन सक्छ। 

कोभिड-१९ महामारी कहिलेसम्म अन्त्य होला, अहिले अनुमान गर्न सकिने अवस्था छैन। तर विभिन्न कारण शिक्षामा सिर्जना भइरहेका असमानताका खाडल पुर्न सम्बन्धित देशका सरकारहरूले गरिब तथा श्रमिक वर्गका विद्यार्थीलाई विशेष ध्यान दिनुपर्छ। यसका लागि सरकारहरूले उनीहरूलाई अनलाइन शिक्षाका लागि आवश्यक प्रविधि सहुलियत दरमा उपलब्ध गराउनेदेखि प्रोत्साहन भत्तासम्मको व्यवस्था गर्न सक्छ।

परीक्षा रद्द भएर शिक्षकको स्वविवेकले अंक दिने व्यवस्था भएमा विद्यार्थीलाई सजिलै पुनर्मूल्यांकनका लागि आवेदन दिन सकिने व्यवस्था गर्नुपर्छ र विशेषगरी शिक्षक र विद्यार्थीको फरक समुदाय, वर्ग, लिंग भएमा विद्यार्थीको गुनासोलाई थप महत्वसाथ हेरिने व्यवस्था गरिनुपर्छ। अनलाइन शिक्षामा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुनेछ। जुन अभिभावकले घरमा आफ्ना सन्तानलाई शिक्षामा उचित सहायता र प्रोत्साहन दिन सक्ने छैनन्, तिनका छोराछोरी तुलनात्मक रूपमा अन्य विद्यार्थीभन्दा कमजोर हुनेछन्।

अतः सरकारहरूले विद्यालय तथा शिक्षक र अभिभावकबीचको अन्तरक्रियालाई विशेष जोड दिने नीति निर्माण गनुपर्छ। अनलाइन शिक्षा कुन हदसम्म अगाडि बढ्ला भन्ने कुराको निर्धारण कस्ता प्रविधिको आविष्कार र विकास होलान्, त्यसमा भर पर्नेछ।

तर अनलाइन शिक्षाको माहोल बढेर गएमा कक्षाकाेठामा जस्ताे विद्यार्थी निश्चित वर्ग वा समुदायको हित हुने गरी लेखिएका पाठ्यक्रममा विद्यार्थी सीमित हुने छैनन्। उनीहरू शिक्षकहरूद्वारा सबै कुरामा निर्देशित हुने वातावरणबाट पनि टाढा रहनेछन्, जुन बेला उनीहरू आफ्नो समाजमा विद्यमान स्थानीय ज्ञान, सीप र कलाबाट स्वतःस्फूर्त प्रशिक्षित बन्दै जानेछन्। त्यसकारण सरकारहरूले अहिल्यैदेखि स्थानीय ज्ञान/सीपको प्रवर्द्धन गर्ने किसिमका पाठ्यक्रम निर्माणबारे पनि छलफल/बहसको सुरुवात गर्दा फलदायी हुने देखिन्छ।

(डा. चुरा थापा हङकङमा शिक्षण तथा अनुसन्धान गर्छन्)

 

जेठ २, २०७७, शुक्रबार
Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors