hongkong


हङकङमा मोदी, ओली र प्रचण्डको प्रसंग


कमल पौड्याल
हङकङ, असार २७

जनकपुरमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी (फाइल फोटो)

भूकम्पका बेला ‘हम लोग आपके मुलुकके लिए सहयोग करना चाहते है, कहाँ करे, कैसे करें’ भन्दै सोध्न आउने हङकङका भारतीयहरू नाकाबन्दीपछि भन्थे, ‘मोदीजीने बहुत बुरा किया, बडा गल्ती किया, नेपाल जैसे पडोसीको सताकर।’

मलाई मनपर्ने विश्वका राजनेतामध्ये अमेरिकाका पूर्वराष्ट्रपति बाराक हुसैन ओबामा एक हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको निमन्त्रणामा अमेरिकी राष्ट्रपतिको हैसियतमा भारत आउँदा ओबामाले एउटा पत्रकार भेटघाटमा भनेका थिए, ‘अ कुक्स ग्र्यान्डसन बिकेम अ प्रेसिडेन्ट अफ युनाइटेड स्टेट अफ अमेरिका एन्ड अ टि ब्वाई बिकेम अ प्राइममिनिस्टर अफ इन्डिया। दिस इज द कमन केमेस्ट्री बिटविन मिस्टर मोदी एन्ड मी।’

उदार लोकतन्त्र भएका संसारका दुई ठूला मुलुकमा सबैले समान अवसर पाउँछन् भन्ने ज्वलन्त उदाहरण दिन खोजेका थिए, उनले। ८ वर्षको उमेरमा आरएसएस (राष्ट्रिय स्वयंसेवक संघ) बाट सुरु भएको मोदीको राजनीतिक यात्रा गुजरातको मुख्यमन्त्रीसम्म त छँदै थियो, अहिले पुनः भारी मतले भाजपालाई जिताँउदै दोस्रो कार्यकालका लागि पनि उनी प्रधानमन्त्री बनेका छन्। स्वतन्त्रतापछि लामै समय गान्धी परिवारवरिपरि घुमेको भारतीय राजनीति फेरि चाँडै यही परिवारतर्फ फर्किन भने मुस्किल देखिन्छ। हजुरबाबा र नाति पुस्ताको वैचारिक राजनीतिक प्रतिस्पर्धामा कंग्रेसको हार स्वाभाविकै हो। कंग्रेसले मोदीविरुद्ध समानान्तर व्यक्ति खडा गर्न नसक्नु र अझै पनि गान्धी परिवारकै ‘हिङ बाँधेको टालो’ बोकेर हिँड्नु यसको अर्को कारक तत्व हो जस्तो लाग्छ, मलाई। गुजरात साम्प्रदायिक काण्डपछि अमेरिका र पश्चिमा मुलुकहरूबाट बहिष्कृत र आलोचित भएका थिए, मोदी कुनै बेला। ‘शक्ति पूज्यन्ते सर्वत्र’ भने झैँ पहिलो र दोस्रोपटक पनि पार्टीलाई भारी मतले जिताएर मोदी नै प्रधानमन्त्री बनेपछि अब पुराना कुरा इतिहासबाट पनि मेटिँदै गएका छन्।

जे होस्, मोदी प्रधानमन्त्री भएपछिको पहिलो नेपाल भ्रमण हेर्दा म पनि निकै प्रभावित भएको थिएँ। पहिलो भ्रमणका बेला मोदीले आफूले सानैदेखि पालनपोषण गरेर ठूलो बनाएका जितबहादुरलाई भारतीय वायुसेवाको विमानमा सँगै नेपाल ल्याए र आफू बसेकै होटलमा उनका मातापितालाई भेट गराएर सुम्पे। काठमाडौं बानेश्वरको बीच बाटोमा आमनागरिकसँग हात मिलाएर मोदीले चर्चा कमाएका थिए। त्यसबेला जितबहादुरको कथा भारतीय तथा नेपाली छापा र टेलिभिजनहरूमा मुख्य समाचार बनेका थिए। उनले त्यतिबेला नेपालको संसद् भवनमा दिएको मन्तव्य मैले त्यतिबेला प्रत्यक्ष र पछि पनि पटकपटक हेरें। विश्वनाथदेखि पशुपतिनाथसम्म, कर्णाटकदेखि सगरमाथासम्म, युद्धदेखि बुद्धसम्म, वीरता, बहादुरिता, इमान्दारिताबारे धारा प्रवाह बोलेर नेपाल र नेपालीको वाहीवाही बटुले।

मलाई पनि उतिबेला लाग्यो– अब भने नेपालले आफ्नो छिमेकमा साँच्चै आफूलाई माया गर्ने इमान्दार नेता पाएको छ।

मोदीको प्रसंगमा रेस्टुरेन्टमा आउने हङकङका स्थानीय र भारतबाट आउने भारतीय ग्राहकहरूलाई म हाँसी–हाँसी भन्ने गर्थें, ‘देखिए, बहुत समय के बाद, भारतका प्रधानमन्त्री मोदी नेपाल आ गए, और जाते बख्त नेपालका भि प्रधानमन्त्री बन के चले गए।’

भनाइको मतलब उनले नेपालका राजनेतादेखि साधारण जनतासम्मको मन जितेर गए। २०४५ सालमा तत्कालीन कांग्रेस प्रधानमन्त्री राजीव गान्धीले नेपालविरुद्ध लगाएको नाकाबन्दी नेपाली नागरिकले बिर्सेका थिएनन्। यसले गर्दा पनि भाजपा र नरेन्द्र मोदीप्रति आमनेपालीको सम्मान र विश्वास बढ्यो नै।

२०१५ अप्रिल २५ तारिखका दिन नेपालदेखि हङकङसम्मका मेरा मित्र हरिकुमार कार्कीसँग उनैको उतिबेलाको सोहोको डब्लु टिएफ रेस्टुरेन्टमा दिउँसै चिसो ह्वाइट वाइन र स्पेनिस परिकारमा रमाउँदै थियौं, सपरिवार। सामाजिक सञ्जालमा नेपालमा महाभूकम्प गएको खबर फैलियो। आफन्तलाई फोन घुमाउँदै नेपालकै विषयमा सोच्दै पिर गर्दै बसियो। भूकम्पलगत्तै भारतीय वायुसेनाका विमानहरू सबैभन्दा पहिला राहत सामाग्री बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भए भन्ने सुन्दा धेरै राहत महसुस भएको थियो। फेरि पनि सबै नेपालीका मन मोदीमय भयो। उनी साँच्चिकै नेपालका सबैभन्दा असल मित्र रहेछन् भन्ने सोचे मैले पनि। देशमा गणतन्त्र स्थापना भएपछि लामो समयसम्म रोकिएको संविधान नेपालका मुख्य तीन राजनीतिक पार्टीले अभूतपूर्व एकता देखाउँदै जारी गरे। जसको विशेष श्रेय तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई पनि जान्छ। त्यसपछि मोदी सरकारले नेपालमा अघोषित नाकाबन्दी लगायो पहिले झैं। भूकम्पले तहसनहस भएको देशमा यसरी अघोषित नाकाबन्दी लगाउनु वास्तवमै आलो घाउमा नुनचूक लगाउनुजस्तै थियो। हुन त तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यो भारतले नभएर नेपालका मधेसवादी दलहरूले नयाँ संविधानमा आफूहरूलाई उपेक्षा गरिएको भन्दै गरेको आमहडतालले यस्तो भएको भनिन्, पटकपटक।

नेपालको इतिहासमा करिब २ सय ५० वर्ष एउटा खास जाति, वर्ग, धर्मले राज गरेको पाइन्छ। त्यसमा राज्यले उपेक्षा गरेका समुदायमध्ये निश्चय नै मधेसी पनि हुन्। तराईबाट कठमाडौं आएर घरघरमा तरकारी बेच्नेदेखि, इँटाभट्टा, सैलुन, खाली सिसी, पुराना कागज जम्मा गर्नेसम्म हाम्रा मधेसी दाजुभाइहरूको श्रमप्रति सम्मान गर्नुको बदला पहाडी मूलकाहरूले हेप्ने गरेको पाइन्थ्यो। अझ ४० को सालतिर क्याम्पसका केही उच्छृंखल केटाहरूले फलफूल बेच्ने मधेसी दाजुभाइहरूको टोकरीबाट अंगुरको झुप्पो निकालेर पैसा माग्दा हातपातसम्म गरेको देख्दा मलाई साह्रै दुःख लाग्थ्यो। अरू त अरू नेपालका चर्चित हास्य अभिनेताहरूले एउटा टेलिसिरियलमा ‘बाहिर को आयो हेर त’ भन्दा अर्कोले ‘मनु मरू मडिस्या ख’ (मान्छे हैन मदिसे) भनेको युट्युबमा अझै पाइन्छ वा पाइँदैन थाहा भएन। म त भन्छु– ती अभिनेताहरूले माफी मागेर यस्ता शब्द फिर्ता लिनुपर्छ। तर विगत कोट्याएर आपसमा द्वन्द्व चर्काउनुभन्दा अबको गणतान्त्रिक नेपालमा सबै मिलेर सामाजिक सद्भाव वृद्धि गर्नुको विकल्प छैन।

गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपति मधेसी मूलका डा. रामवरण यादव बनिसकेका छन्। उपेक्षित समुदायका मान्छे राष्ट्रपति बन्दैमा सबै ठीक हुन्छ भन्ने चाहिँ कदापि होइन। अझ गणतान्त्रिक नेपालकी महिला राष्ट्रपति विद्या भण्डारीले दोस्रो कार्यकाल दाहोर्याउनुभन्दा अन्य उपेक्षित समुदायका व्यक्तिलाई राष्ट्रपति दिएको भए सुनमा सुगन्ध हुने थियो। संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक मानिएको भारतमा बिहार अझै उपेक्षित मात्र छैन, बिहारी भनेपछि होच्याउने चलन उस्तै छ। त्यही बिहारका छिमेकी मधेसी नेताहरूले भारतीयहरूको गोटी बनेर हैन, यही सिंगो नेपालभित्र आफ्नो हकक लागि चनाखो भई अगाडि बढनुपर्छ। नाकाबन्दीका बेला राम्रो अडान लिएका प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन परराष्ट्रमन्त्री कमल थापाले नेपाली जनतामाझ राम्रो विश्वास र सम्मान कमाएका थिए। तर पटकपटक जुनसुकै पार्टीको सरकारमा सामेल हुन मरिहत्ते गर्ने राप्रपाले पछिल्लो चुनावमा एक सिटमा साँघुरिनुपर्यो भने दोस्रोपटक अहिले प्रधानमन्त्री भएपछि ओलीले पुरानो राष्ट्रवादी नेताको साख गुमाए नै। अझ एकपछि अर्को काण्ड र घोटालामा फस्दै गएको वर्तमान सरकार दिनपरदिन अलोकप्रियताको शिखर उक्लिँदै छ।

अरू धेरै विषय नउठाउँदा पनि यो लेख लेख्दै गर्दा भारतबाट ल्याइने तरकारी र फलफूल विषादी चेकजाँच गरेर मात्र नेपाल भित्र्याउने अडानमा सरकार रहन सकेन। भारतको दबाबमा नेपाल सरकारले सबै चेकजाँच बन्द गरेको छ। वास्तवमा भारतको त्यो नाकाबन्दीले देशको अर्थतन्त्रलाई दशकौंसम्म पछाडि मात्र पारेन, भारतभित्रै पनि विभिन्न राष्ट्रिय पार्टीका राजनेताहरूले मोदीले नेपालजस्तो असल छिमेकीलाई बिच्क्याएको र त्यत्रो महाभूकम्पपछि नाकाबन्दी थोपरेर अमानवीय कार्य गरे भनेर आलोचना गरे। भारतप्रति आमनेपालीमा पलाएको सम्मान, विश्वास र आत्मीयताका कलिलो बिरूवा छोटो समयमै चुँडेर फाले नरेन्द्र मोदीले।

भूकम्पका बेला हङकङमा धेरै भारतीय मित्रले ‘कमलजी हम लोग आपके मुलुकके लिए सहयोग करना चाहते है, कहाँ करे कैसे करें’ भन्थे। त्यसपछिको नाकाबन्दी देखेर आत्मग्लानी महसुस गर्दै हङकङमा भाजपाप्रति नै आस्था राख्नेहरूले भन्थे, ‘मोदीजीने बहुत बुरा किया, बडा गल्ती किया, नेपाल जैसे पडोसीको सताकर।’

भारतीय चुनावको छेको पारेर मोदी फेरि दोस्रोपटक तीर्थाटन कूटनीति लिएर पटनाबाट भारतीय वायुसेवाको सानो जहाजमा जनकपुर ओर्ले। हाम्रा प्रधानमन्त्री ओली फेटा बाँधेर जनकपुरमै पुगे मोदीलाई स्वागत गर्न। यो चाकडी, बाध्यता वा कूटनीतिक अपरिपक्वता के थियो, थाहा भएन। धेरै टाढा नजाँदा चीनको कुनै प्रान्तबाट औपचारिक भ्रमण सुरु गर्ने अमेरिकी राष्ट्रपतिलाई चीनका राष्ट्रपतिले बेइजिङ पुगेपछि मात्रै औपचारिक स्वागत गर्छन्।

जनकपुरको औपचारिक कार्यक्रममा प्रदेशका मुख्यमन्त्रीले मोदीका अगाडि ओलीको उजुरी गरे। हङकङमा त्यो कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्दा यस्तो लाग्थ्यो– नेपाल भारतको एउटा प्रान्त, मोदी प्रधानमन्त्री, ओली मुख्यमन्त्री र लालबाबु यादव विपक्षी नेता हुन्।

पहिलो नेपाल भ्रमणमा पशुपतिनाथमा २५ लाखको चन्दन चढाएका मोदीले फेरि २५ करोडको चन्दन चढाउन, रामजानकी मन्दिरमा लाखबत्ती बालुन् या मुक्तिनाथ गएर तपस्या गरुन्, नेपाली जनताले त्यतिबेला पाएको सास्ती बिर्सने छैनन्। तर अहिले दोस्रो कार्यकालमा विगतका गल्ती महसुस गरेर सुधारिन चाहे समय भने सकिएको छैन। पशुपतिनाथ र मुक्तिनाथ दर्शन गरेर मोदी भारत फर्केलगत्तै सत्तारूढ भाजपाकै एक सभासदले अयोध्यासँगै जनकपुर पनि भारतकै हिस्सा हो भन्दै सामाजिक सञ्जालमा लेखे, जुन भाजपाकै विचार थियो वा उनको निजी थाहा भएन।

तर सधैं किन डराउँछन् र हेपिन्छन्, हाम्रा नेतागण भारतसँग? हुन त नेपालको इतिहास हेर्दा पिताजीका वाक्यांश घत पर्छ मलाई। उहाँ भन्नुहुन्थ्यो, ‘सात सालमा केको क्रान्ति हुनु? मोहन शमशेरका हातबाट कागजपत्र तमसुक गरेर त्रिभुवनको हातमा सुम्पिदिएका हुन्, जवाहरलाल नेहरूले दिल्ली बोलाएर अर्थात् राणा र शाहको टोपी या श्रीपेच साटासाट।’

त्यतिबेलादेखिको कांग्रेस–कम्युनिष्ट जुहारी ४६ सालमा आएर मत्थर भयो। नेपाली कांग्रेसलाई वामपन्थीहरूले भारतपरस्त र आफूलाई राष्ट्रवादी भन्दै गर्दा गणेशमान सिंहले २०१३ टुँडिखेलमा भाषण गर्दा औंला ठड्याउदै भन्ने गर्थे अरे, ‘नेपालका कम्युनिष्टहरू मस्कोमा पानी पर्यो भने काठमाडौंमा छाता ओढ्छन्।’

हुन त गणेशमान सिंहलाइ नेपाली कांग्रेस र प्रजातन्त्रसँग अलग्याएर हेर्न सकिन्न। सम्पूर्ण जीवनकाल प्रजातन्त्रको पर्याय बनाएका सिंह जीवनका अन्तिम दिनतिर पार्टीभित्रका घात–अन्तर्घातबाट निराश देखिन्थे। निरंकुश शाही तन्त्रबाट अधिकार खोसेर जनतालाई दिलाउँछु भन्ने हठ बोकेका सिंह लामो समय आफ्नै पार्टीभित्रका परिवारवादविरूद्ध संघर्ष गर्दागर्दै बिते। कुनै जमानामा सर्वमान्य नेताको पगरी पाएका सिंहलाई ‘कांग्रेसमान्य’ मात्र बचाउन पनि गाह्रो परेको थियो, पछिल्लो समय। नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भनिए पनि यसको मूल जरो कोइराला परिवारवादबाट देउवा परिवारवादमा सरेको छ, अहिले। तर नेपाली कांग्रेसलाई मात्रै भारतभक्तको आरोप लगाउँदा चाहिँ अन्याय हुन्छ, अब। बरू गणेशमान सिंहको उहिल्यैको भनाइ परिमार्जन गरेर ‘गणतान्त्रिक नेपालका सबै नेता दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओढ्छन्’ भन्नु सान्दर्भिक हुन्छ, अहिले। राजा वीरेन्द्रका पालामा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह र परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायले छोटो समय भए पनि भारतीय नाकाबन्दीविरूद्ध अडान लिएका थिए। तर त्यो तत्कालीन सरकारको आफ्नै अडान नभएर दरबारको इशारामा उनीहरूले त्यस्तो भूमिका निर्वाह गरेको राजनीतिक वृत्तमा चर्चा थियो। कांग्रेसभन्दा वामपन्थीहरू छेपारोले झैँ मौसमअनुसार रङ फेर्न खप्पिस हुन्छन्। दिउँसो गल्ती गरेर साँझमा आत्मालोचना, तिनका लागि सामान्य हुन्छ। भारतलाई विस्तारवादी, क्षेत्रीय प्रभुत्ववादी भन्दै असमान सन्धिहरूबारे कुनै जमानामा जनचेतना फैलाएर राजनीतिक भर्याङ चढ्यो, एमाले। आफ्नो अडानलाई टनकपुर महाकाली सन्धिमा तिलाञ्जली दिँदै भारतभक्तको ‘दर्ज्यानी’ चिन्ह पाउन सफल भयो भन्नेहरू अरू कोही नभएर वामपन्थी वृत्तमा छन्।

भारतीय हेपाहा शैलीप्रति १० वर्षे जनयुद्धकालमै भारतविरोधी नेपाली जनताको ‘सेन्टिमेन्ट क्यास’ गर्दै आफूलाई राष्ट्रवादीमा दर्ज गर्न सफल भयो, नेकपा माओवादी। १२ बुँदे सम्झौता र युद्धविरामपछि साक्षात्कार भएका प्रचण्ड खुलारूपमै दिल्ली ओर्लिए। त्यही समय पत्रकार सम्मेलनमा पाकिस्तानी गुप्तचर संस्था ‘आई एस आई’ ले जनयुद्धकालमा आफूहरूलाई हतियार दिन खोज्दा अस्वीकार गरेको कहानी सुनाए। जसलाई त्यतिबेलै पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले ‘आई एस आई’ ले कहिल्यै त्यस्तो प्रस्ताव नराखेको, कसैलाइ खुसी पार्न (भारत तर्फ इंगित गर्दै) त्यसो भनेको हुन सक्ने स्पष्टीकरण दिएको थियो। प्रचण्डको यो भनाइलाई कतिपयले भारतभक्तमा आफ्नो नाम दर्ज गराउन खोजिएको अर्थमा लिए। तर त्यतिबेला आफ्नो पार्टीको सत्ता साझेदारीको पूर्वसन्ध्यामा भारतबाट कचिंगल नआओस् भन्ने हेतुले तथा त्यतिबेला भारतीय जेलमा रहेका आफ्ना नेताद्वय सीपी गजुरेल र मोहन वैद्यको रिहाइका लागि माओवादीले भाखा फेरेको अर्थ लगाउनेहरू पनि थिए। सीपी गजुरेल जनयुद्धताका नक्कली पासपोर्टमा भारतको मद्रासबाट बेलायत उड्न लाग्दा पक्राउ परी लामो समय भारतीय जेलमा रहे। त्यतिबेला माओवादीको विदेश विभाग प्रमुख पनि रहेका गजुरेलले २०६२ माघतिर ‘नेपाल साप्ताहिक’ सँगको अन्तर्वार्तामा पत्रकारले ‘माओवादीहरूको भारतप्रतिको दृष्टिकोणमा १८० डिग्री कोणमा किन परिवर्तन भएको भन्दा उनले दिएको उत्तरले नै माओवादीको भारतप्रतिको दृष्टिकोण स्पष्ट हुन्छ। जसमा गजुरेलले भनेका थिए, ‘हामी अब पुराना कुराहरू सम्झेर बस्दैनौं, भारतलाई विस्तारवादी नभनेको धेरै भयो, भारतसँगको निकटता आजको आवश्यकता हो।’

यी सबै वृत्तान्त हेर्दा लाग्छ– हामी कहिल्यै पराधीन पनि भएनौं र स्वाधीन पनि। बरू २०१२/१३ सालतिर पिताजी केवलपुरे किसानले लेखेको तलको व्यंग्य कवितांश गुनगुनाउँदै एक्लै हाँस्छु म अचेल, हाम्रो देशका सबै भारतभक्त नेतागण सम्झेरः

प्रभुको पाउको भने म सफा धुलो हुँ
जनताको भने आखाँको फूलो हुँ
मेरो मैलो अनुहार जनताले चिनोस्
मलाई मन्त्री अवश्य नै दिनुस्
विदेशी हस्तक्षेपको घोर विरोध गर्नेछु
कलकत्ताको मैदानमा प्रेस सम्मेलन गर्नेछु
बेला बेलामा पुग्नेछु दिल्ली धाम
उहीं फत्ते गर्नेछु नेपालीका सारा काम
श्रीमतीजीको म सारै प्यारो बन्नेछु
मासिक आम्दानी उनकै काखमा गन्नेछु
आफ्ना नाता जत्तिको गरिदिन्छु उद्धार
अरूको चाहिँ पछि गर्दै गर्छु विचार
चाहे यो नेपाल अर्कैले किनोस्
मलाई मन्त्री अवश्य दिनोस्
प्रभो बिन्ती सुनिदिनुस्

असार २७, २०७६, शुक्रबार

कमल पौड्याल हङकङका व्यवसायी र लेखक हुन्
लेखकबाट थप

Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors