hongkong


हङकङको फुर्सदमा ‘सोनिक हिल’ चक्कर लगाउँदा


कमल पौड्याल
हङकङ, चैत २६

हङकङमा खचाखच भरिने केबलकार अहिले समुद्र र पहाडमाथि यत्तिकै तुर्लुङ्ग भुन्डिएर बसेका छन्

‘आर्यघाटमा कुनै ठाउँ खाली थिएनन्। भनिन्छ– रेस्टुरेन्टमा ग्राहक र घाटमा लासको कुनै टुंगो हुँदैन। कहिले भ्याईनभ्याई, कहिले खाली। अन्त्येष्टि पनि सम्पन्न र विपन्नको तरह–तरहका।’

बिहान उठ्दा टाउको, घाँटी दुखेको छैन, रुघाखोकी र ज्वरोको लक्षण देखिएन भने एक दिन अझै बाँचियो भन्ने सोचाइ आउन थालेको छ, अचेल। अहिले अस्ट्रेलियाको डढेलोझैं फैलिएको छ, कोभिड-१९ विश्वभरि नै।

अझ अस्तिदेखि हङकङ सरकारले सबै बार, क्लब र पब २ हप्ताका लागि बन्द गराएपछि झन् फुर्सदिलो भएको छु। सहरमा भन्दा जंगलतिर मान्छेको भिड बढेको छ।

दिनमै ५० जनाको हाराहारीमा संक्रमित हुन थालेपछि विमानस्थलनजिकैको ‘सोनिक हिल’ थुम्कोमा बिहान वा दिउँसो चक्कर लगाउन थालेको छु, हिजोआज।

सन् २०२५ सम्म विमानस्थलमा हुने यात्रुको चाप अनुमान गर्दै बनाउन लागिएको थर्ड रनवेका लागि विशाल सामुद्रिक खाल्डो माटोले पुर्ने काम करिब-करिब सकिएको देखिन्छ। समुद्रको ५५ किलोमिटरमाथि बनेको मकाउ-हङकङ-जुहाई पुल यतिबेला नेपाल बन्द हुँदाको चक्रपथजस्तै सुनसान छ। जुन खुला हुँदा यात्रुको चापका कारण दैनिक कोटा लागू गर्नुपरिरहेको थियो, यातायात विभागले।

सूर्य उदाएदेखि अस्ताउँदासम्म फुर्सद नपाउने बिगबुद्ध जाने केबलकार समुद्र र पहाडमाथि गुफाका चमेराझैं तुर्लुङ्ग भुन्डिएर बसेका छन्। तुङचुङदेखि सन्नीबेसम्मको अर्को सामुद्रिक भूभाग पुर्न बिहानैदेखि चलिरहेका यन्त्र ठूलो आवाज गर्दै समुद्रको पिँध कोपरिरहेका छन्। माटो, बालुवा र ढुंगाको ससानो पहाडै बोकेका भीमकाय सामुद्रिक जहाज पानीमाथि असरल्ल छन्, पालो कुरेर बसेका।

कति जमिन, कति सम्पत्ति, कति पैसा भएपछि अब त पुग्यो है भनेर चुप लाग्छ होला, यो मानव जाति? कुनै बेला सेता डल्फिन र अन्य दुर्लभ जलचरको बाक्लो बसोबास भएको यो सेरोफेरो मानवीय अतिक्रमणले खोक्रो भएको छ, अहिले। चराचुरुंगी र जंगली जन्तु/जनावरलाई पिँजडा वा चिडियाखानामा थुनेर मनोरञ्जन लिने मान्छे यतिबेला आफैं घरभित्र थुनिएर बस्न बाध्य भएको छ।

यिनै कुरा मनमा खेलाउँदै गर्दा सोनिक हिलको टुप्पोमै जिउ तन्काउँदै गरेका छिमेकी कृष्ण पाण्डेसँग जम्काभेट भयो। समसामयिक विषयमा केही बेर विचार-विमर्श गरियो। उनको भनाइमा याे भाइरस कोभिड-१९ हुँदै छिट्टै पीई भाइरस (पोलिटिकल एन्ड इकोनोमिक्स) मा रूपान्तरण हुनेछ। हुन पनि हो, अब विश्वको सामरिक, राजनीतिक र आर्थिक एकाधिकारमा ठूलो फेरबदल आउने निश्चितजस्तै देखिन्छ।

अचेल घर छिर्नेबित्तिकै बेन्जुको नियम कडा छ- लौ जुत्ता बाहिर, लुगा यता वासिङ मसिनभित्र, झोला उता, अनि हात धुने। पहिले ढोकामै अँगालो हाल्न आउने छोरीले अहिले केही बेर कुर्नुपर्छ। डिउटी सकेर घर पुगेको डक्टर, नर्स जस्तै हुनुपरेको छ, यतिबेला। यस्तो कहिलेसम्म हो?

म भने द्वापरयुगका अन्तिम राजा पाण्डवका सन्तान महाराज परिक्षितको कथा सुनाउँछु, उनलाई।

अभिमानले ध्यानमा रहेका समिक ऋषिको घाँटीमा मरेको सर्प बेरिदिए- राजा परिक्षितले। कौशिक नदीको किनारमा ध्यानमग्न ऋषिपुत्र शृंगीले त्यो समाचार सुनेर पिताजीलाई यस्तो अपमान गर्ने जो भए पनि आजको ७ दिनमा तक्षक नागले टोकेर त्यसको मृत्यु होस् भन्ने श्राप दिए। त्यसपछिका ७ दिन र परिक्षित राजाको मृत्यु हुँदासम्मका घटनाक्रम- धार्मिक कथा भए पनि सन्देशमूलक छ। अर्थात् जे हुनुछ त्यो भएरै छाड्छ। मृत्यु शाश्वत सत्य हो भन्ने जान्दाजान्दै पनि मानिस जीवनभर यसकै भयमा बाँच्छ।
***

भनिन्छ- कुनै पुस्तक पढेरभन्दा यात्रा गरेर धेरै ज्ञान, बुद्धि प्राप्त गर्न सकिन्छ। यसपापालिको काठमाडौं यात्रा यस्तै बन्यो, मेरा लागि। दोस्रोपटक पशुपतिनाथ मन्दिरको सेरोफेरो घुम्न निस्किएको थिएँ।

अघिल्लोपटक जय बागेश्वरीबाट यसपटक चक्रपथको दक्षिण ढोकापट्टिबाट। नयाँ कलात्मक प्रवेशद्वार बन्दै रहेछ। भित्रपट्टि देब्रेतिर लागेको मेलामा आधुनिक रोटेपिङ, जाँतेपिङ र अन्य मनोरञ्जनका साधनमा मानिस रमाएर कराएको बाहिरै सुनिन्थ्यो।

म जन्मेको गाउँ धादिङ केवलपुरको तल्लो चउरमा दसैंमा रोटेपिङ खेलेको सम्झना आयो। अझ दसैंको टीका लगाएर ठूलो पोखरीको लठ्ठेपिङ र चिउरी पाटीको लिंगेपिङमा टीका-जमरा चढाउँदै ढोगेर सररर हुई... गरेको सम्झनामा हराएँ, केही पल।

दायाँपट्टि पशुपति विकास क्षेत्रको ‘माधवराज सुमार्गी’ भवन रहेछ। महँगा गाडी पार्किङसँगै केही सुकिलामुकिला मानिस घाम ताप्दै गफ गरिरहेका थिए। बेलाबेला हावाको झोक्काले मानव मांस पोलिएको गन्ध ल्याउँथ्यो।

आखिर सोचाइ त हो। अरू ठाउँमा खसी-बोका, कुखुरा, खुइल्याउँदै पोल्दै गरेको गन्ध आए मांसाहारी मान्छे- मुख मिठ्याँउछ। म खासमा साधु-सन्तसँग भेटेर जीवन–जगतका आध्यात्मिक कुरा गर्न चाहन्थेँ। तर चिन्ने कसरी? फोटो खिच्नेबित्तिकै पैसा माग्छन्।

अघिल्लोपटक गुहेश्र्वरी जाने वनकालीको थुम्कोमा एक हुल जोगीलाई नमस्कार गरेँ, गफिने मुडले। क्याप, चस्मा र मास्क लागएकाले होला, विदेशी भन्ठानेछन्।

‘यु लाइक स्मोकिङ इन्साइड कमिङ’ भन्यो यौटा भुसतिघ्रे जोगीले।

‘नो स्मोकिङ, वन्ली टकिङ।’

म नेपाली हो भनेर मैले मास्क खोलेपछि ‘के खालको मान्छे हो’ भन्दै फरक्क फर्किएका थिए। कति त जोगीको भेषमा लागुपदार्थ कारोबार गर्छन्।

सीधै अगाडि गएपछि सुरक्षा चौकीमा एक जना सुरक्षाकर्मी बहिनी केही भारतीय पर्यटकलाई नेपाली लवजको हिन्दीमा केही बताउँदै थिइन्।

‘म बताइदिन्छु बहिनी’ भनेपछि उनले खुसी हुँदै ‘हवस्’ भनिन्। मैले बताएपछि उनीहरू आफ्नो बाटो लागे।

‘आफूलाई हिन्दी आउन्न क्यारे, आम्नी भए त हुन्थ्यो नि।’

‘पिर नगर्नु, उनीहरूलाई पनि त हाम्रो भाषा आउन्न। तपाईंले हिन्दी बोले जत्ति पनि।’

‘त्यो त हो नि,’ उनले सहमति जनाइन्। बोलाइली रहिछन्।

‘बहिनीको नाम?’

‘...पुन।’

‘घर?’

‘रोल्पा।’

‘लिवाङ?’

‘हैन, फगाम।’

‘पूर्वमाओवादी हो कि, थर त अहिलेका उपराष्ट्रपतिसँग मिल्ने रहेछ?’

‘हैन, भा भए त अहिले यस्तो दुःख गरेर किन बस्न पर्थ्याे र! कि नेता भइन्थ्यो कि मन्त्री। नभए पनि सिपाही त पक्कै। ब्यारेकमा बस्न त पाइन्थ्यो। डेराभाडा बच्थ्यो। बूढेसकालमा पिन्सिन आउँथ्यो।’

‘कोसिस किन नगरेको त?’

‘गरेको नि दाजु, सोर्सफोर्स चाहिने रै’छ, आफ्नो थिएन।’

‘गणतन्त्रमा पनि सोर्सफोर्स!’

‘झन् बढी अहिले त। मसँग जाँच दिन गा’का पुसअप गर्नै नसक्ने, मभन्दा पाका उमेरका पास भए, माओवादी नेताकै सोर्स फोर्सले। मचाहिँ फेल!’

‘अनि परिवार?’

‘श्रीमान् दुबईमा यसपालि दसैंमा आउनुहुन्छ। ९ वर्षको छोरो छ, स्कुल पढ्छ।’

‘अनि रोल्पाको मान्छे किन नलागेको त माओवादीमा?’

‘काँ लाग्नु दाजु, धन्न ज्यान जोगाएर भागियो!’

‘मतलब?’

‘एकजना दाइ पुलिस चौकीमा भात पकाउने जागिर गर्नुहुन्थ्यो। जागिर छोड, हामीसँग हिँड भनेर धम्क्याको धम्काकै गरे। मैले भात पकाउने हो, कसैलाई मारेको छैन, सुराकी गर्‍या छैन भनेर सम्चार पठाएको अर्को दाइलाई राति आएर हाइजेक गरेर लगे। बा–आमा, म र बहिनी रातारात भागेर लिवाङ आएर पछि काठमाडौं आ’को। यताको यतै भइयो,’ लामो सुस्केरा हालिन्।

ल बहिनी यस्तै हो जिन्दगी सुखदुःख भन्दै वाग्मती किनारमा ओर्लिएँ। सत्तलमा यौटी बूढी आमा सालको पातको टपरी र अर्कोपट्टि यौटी अधबैंसे महिला एकसरो काप्राको पातको दुनो गाँस्दै थिइन्। अर्का एकजना पुरुष, सायद उनका पति– लामो चुलेसीमा तीतेपातीको डाँठ काट्दै, गन्दै थिए।

‘नमस्कार सबैलाई,’ म टुसुक्क छेउमा बसें। सबैले मतिर पुलुक्क हेरे। अधबैंसे महिलाले ‘नमस्कार’ फर्काइन्।

‘यति धेरै दुना–टपरी बेच्न त होला नि?’

‘हजुर,’ उनले जवाफ दिइन्, अनि सोधिन्, ‘किन्न खोज्नुभा’को हो कि?’

‘हैन, यस्तो देख्दा मलाई पनि गाउँघरको याद आयो। आमा/हजुरआमाले यस्तैगरी टपरी गाँस्नु हुन्थ्यो, तान लाएर गुन्द्री बुन्नु हुन्थ्यो। आँगनमा निँगालोको चोयाबाट डोको, डालो, थुन्से बुन्दै गर्दा आँखा नझिम्काई हेरिन्थ्यो।’

काप्राको पात गाँस्नेले मेरो परिचय मागिन्। आफ्नो परिचय दिएपछि मैले पनि सोधें, ‘हजुरको नाम?’

‘...बराल।’

‘घर?’

‘सिन्धुली, झाँगाझोली।’

‘अनि काठमाडौं आउनुभा’को कति भयो?’

‘जुग भयो नि बाबु।’

‘अनि व्यवसाय यही?’

‘केको व्यवसाय भन्नु, पात गाँसेर बेचेर गुजारा चलाइएको छ,’ लामो सुस्केरा हाल्दै उनले भनिन्।

उनको भनाइमा पीडा लुकेको मैले महसुस गरें।

‘कारण?’

‘अरू के हुनु, उही त हो नि- दिउँसो सेना, राति माओवादी हुलका हुल आउँथे। राति बन्दुक ताक्थे। गोठका गाईवस्तु, खोरका बाख्रापाठा, भकारीका अन्न क्यै भन्न पाइएन, सबै लिएर जान्थे। दिउँसो सेना आएर किन पालेकी छस् माओवादी भनेर बन्दुक तेर्स्याउँथे।’

पल्लोपट्टि बसेर सालको पात गाँस्दै गरेकी आमालाई देखाउँदै सोधें, ‘आमाको घरचाहिँ ?

‘काभ्रे। व्यथा उही हो, उहाँको भन्दा नि कडा बाबु, के भन्नु तपाईंलाई!’

उनका निधारका चाउरी झन् खुम्चिए। आँखाभरि विगतका पीडा टलपल टलपल देखें। कोट्याउने आँट आएन। गह्रौं मन लिएर बिदा भएँ।

आर्यघाटमा आज कुनै ठाउँ खाली थिएनन्। भनिन्छ– रेस्टुरेन्टमा ग्राहक र घाटमा लासको कुनै टुंगो हुँदैन। कहिले भ्याईनभ्याई, कहिले खाली। अन्त्येष्टि पनि सम्पन्न र विपन्नको तरह–तरहका।

एक जना निकै पाको उमेरका देखिने व्यक्तिको शव चितामा थियो। वरिपरि सयपत्रीका मालाले सजाइएको, साना–साना सायद श्रीखण्डका मुठा, घिउ पनि तयार थियो। रुवाबासी खासै थिएन। अँध्यारो मुख लगाएका मलामी हेर्दा मारवाडी समुदायजस्ता देखिन्थे। अर्काे चितामा बल्दै गरेको लासअगाडि तीन दिदीबहिनी छाँद हालेर रुँदै थिए। अर्कोमा बल्दै गरेको चितामा मलामी कम थिए। उमेरले १०–११ वर्षका बालक हिक्क हिक्क गर्दै थियो। रुँदा रुँदा आँसु निख्रिएर होला- उसका आँखा सुन्निएका थिए।

भनिन्छ- बच्चाका बाबुआमा नमरुन्, वृद्धका पतीपत्नी नमरुन्। तर भनेको कहाँ पुग्छ र!

गुह्यश्वरी जाने पुलको माथि तीनवटा लास अन्त्येष्टिको पर्खाइमा थिए। ब्रह्मनालमा यौटा लास सायद सदुवा महिलाको थियो। चहलपहल हेर्दा अलि ठूलै परिवारकी लाग्थिन्। तरह-तरहका मलामी थिए। कसैको अनुहारमा साँच्चिकै समवेदना, पीडा छ, कसैलाई देखापरेर काममा फर्किने हतार छ। दुईजना अलि पछाडि ‘के हो यार। यस्तै बेला मात्रै भेट हुन्छ’ भन्दै हात पड्काउँदै फेसबुक आइडी साटासाट गर्दै थिए।

एकजना फोनमा- कमिसनको कुरा मैले फिक्स गरिसकेको छु, खालि डिल हुनुपर्‍याे भन्दै व्यवसायमै तल्लीन देखिन्थे। अर्का एक जना सायद मृतकबारेकै समाचारका लागि पत्रिका वा अनलाइनसँग कुरा गर्दै थिए।

मृतक कम उमेरकी हुनुपर्छ। उनका पति सायद खाली खुट्टा टाउकामा हात राखेर एक टकले वाग्मतीको मैलो पानीमा हेरिरहेका थिए। दुई छोरी (सायद) बिनाआवाज बलिन्द्रधारा आँसु बगाउँदै एकअर्काका हात समातेका थिए। लाससँगै बसेका सायद छोरो घरिघरि कपडा पन्छाउँदै मृतकको निधार र गाला सुम्सुम्याउँदै हिक्क हिक्क गर्दै थिए। मलाई पनि मलामी वा आफन्त सोचेर एक जनाले शोक पुस्तिका दिए। मैले पनि लेखिदिएँ।

बालुवाको बोराले बनाइएको सानो पुल तरेर पारिपट्टि लागें। तरह-तरहका बेरोजगार- आआफ्ना गफ र पण्डित्याँइमा व्यस्त छन्। एक जना कपाल पाकेका वृद्ध घोत्लिएर बसेको देखें।

‘नमस्कार।’

‘नमस्कार बाबु।’

‘हजुरको घर?’

‘पूर्व चरिकोट।’

‘अनि काठमाडौं घुम्न आउनु भा’को?’

‘हैन, १८ वर्षदेखि यतै छु, यहीं जजमानी गर्छु। जोरपाटीमा डेरा छ।

‘कसरी, किन?

‘गाउँमा जजमानी र थोरै खेतीपातीले जीविका चलाउँथे। जजमानी गर्न पाइन्न, पुराना रीतिरिवाज तोड्नुपर्छ भन्दै बन्दुक तेर्स्याएर धम्क्याको धम्क्याई गरे। त्यसपछि यतैको बास भएको छ। गाउँको पाखोबारीमा खेतीपाती गर्न सकिन्न, बूढेसकाल लाग्यो। जजमान गर्नेहरू पनि अन्तै लागे होलान्। अहिले कर्ता नुहाउँदै छन् श्राद्ध गराउनुछ। कुरेर बसेको।’

‘अनि आज यति भिड छ तर त्यो पुल सँगैको यौटा शव जलाउनेचाहिँ किन खाली?’ मैले जिज्ञासा राखें।

‘बाबु, त्यो पैला-पैला राजारजौटाका लागि भनेर छुट्याएको।’

‘अनि अब त राजा रजौटा छैनन् त!’

‘अहिले त अब सरकार प्रमुख, राजनेता, मन्त्री, ठूलाबडाले मात्र पाउँछन् क्यारे। पैसा पनि सबैभन्दा महँगै लाग्छ भन्ने सुनेको छु।’

‘भनेपछि गणतन्त्रान्त्रिक राजारजौटाका लागि, जनताले भने अझै नपाउने हैन त?’

‘अँ, त्यै भन्नुपर्‍यो बाबु, उहिल्यै यौटा राजा हुन्थे, अहिले त धेरै।’

पाइला पाइलामा ठेस लाग्ने मान्छेसँग कहिल्यै निको नहुने यौटा पुरानो घाउ (व्यथा) छ। त्यो घाउले समृद्धि, सुशासन, रोजगारीयुक्त र भ्रष्टाचारमुक्त समाज निर्माण गरेको भए सबैले चित्त बुझाउँथे होलान्। वर्गीय असमानता झन् झन् चुलिएको पाएँ, दुईतिहाइ कम्युनिस्ट सरकारको शासन कालमा।

मिनरल वाटर बेच्ने दुइटी महिला वारिपारि फनफनी घुमेको घुम्यै थिए। खुइय्य गर्दै एउटीले अर्कीलाई भन्दै थिइन्, ‘आज त बोहनी पनि भएन!’

कति कमाउलान्, यी विचरीहरूले दिनमा? कसरी गर्लान् गुजारा? ५ सय रुपैयाँले एक झोला भनेजस्तो तरकारी पनि आउँदैन, काठमाडौंमा।

 इसाराले बोलाएँ र ५०/५० रुपैयाँ दिएँ। ‘अनि पानी त?’ ‘पर्दैन। म सँगै छ।’

‘अचम्मको मान्छे हुनुहुँदोरै’छ, पैसा दिने पानी नलिने!’

गरिब भए पनि कति इमान्दारिता छ!

मैले भनें, ‘आज बोहनी गरिदिएको।’

उनीहरूबारे सोधीखोजी गरिनँ। द्वन्द्वकालको यौटै कथा–व्यथा हुन सक्छ, उनीहरूको पनि।

यस्तै पात्रको मात्रै कहानी वा नियात्रा लेखियो भने मलाई प्रतिगामी, गणतन्त्रविरोधी, अहिलेको विकास, समृद्धि, सुशासनयुक्त र भ्रष्टाचारमुक्त देश नदेख्ने भनेर आक्षेप आउन सक्छ।

 साँझ पर्न थालेकाले घरतिर लागें।

 

चैत २६, २०७६, बुधबार

कमल पौड्याल हङकङका व्यवसायी र लेखक हुन्
लेखकबाट थप

Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors