कोरोनाबाट हङकङ सुरक्षित कि नेपाल?

कोरोनाबाट हङकङ सुरक्षित कि नेपाल?

टीका राना
चैत २४, २०७६ सोमबार ९:२०,

कोभिड-१९ संक्रमणकाे महामारीले अहिले मानिसको दिनचर्या नै नितान्त फरक बनाइदिएको छ। कोरोना भाइरसको महामारी सुरु भएको पनि झन्डै ४ महिना हुन लागेको छ। हामी हङकङमा बस्नेले त कोभिड–१९ महामारी आउनुभन्दा पहिले पनि यहाँ भएको आन्दोलनका कारण अहिलेजस्तै कैयौं दिन घरबाट काम गर्नुपरेको थियो।

पहिले घरबाट काम गर्न पाए कति मजा हुन्थ्यो होला भन्ने रहर लाग्थ्यो तर अहिले यो बाध्यता बनेको छ। यो कोभिड-१९ महामारीका कारण हङकङमा पनि नेपालीलगायत कैयाैँ मानिस बेरोजगार भएका छन् र सबैभन्दा दुःखद त यहाँका स्कुल, कलेज र विश्वविद्यालय गत वर्षदेखि नै आन्दोलन र भाइरसको महामारीले संकटग्रस्त छन्।

यो लेख लेख्दासम्म विश्वभर कोभिड-१९ बाट संक्रमण हुनेको संख्या १३ लाख नजिक पुगिसकेको छ भने यसका कारण साढे ६९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। गत वर्ष अन्त्यतिर चीनको वुहान भन्ने ठाउँमा यो भाइरसको पहिचान भएको थियो। यो भाइरस कहाँबाट आयो, यसको स्रोत के हो भन्ने कुरा अझै पनि अनुसन्धानकै विषय बनिरहेको छ।

हामीलाई के थाहा हुन आवश्यक छ भने कोरोना नयाँ भाइरस होइन। यो यसका धैरे प्रकारमध्ये एक– नोवेल कोरोना भाइरस हो। यसका अन्य प्रकारमा सार्स कोरोना भाइरस र मर्स कोरोना भाइरस आदि हुन्।

तर अहिलेको नोवेल कोरोना भाइरसले हामी मानिसको स्वास्थ्यमा सबैभन्दा ठूलो चुनौती दिएको छ। यस भाइरसको लम्बाइ २०० देखि ४०० सय न्यानोमिटरसम्म हुन्छ, जुन एकदम सूक्ष्म हो। यो कोरोना भाइरसको आकार जति सानो छ, त्यति नै ठूलो चुनौती यसले विश्वलाई दिइरहेको छ।

यस भाइरसबाट संक्रमित सबै व्यक्तिमा एकै खाले लक्षण नदेखिएको कुरा सञ्चारमाध्यममा आइरहेका छन्। विषेशतः यस संक्रमणबाट वृद्ध र दीर्घ रोगी, धैरै जोखिममा छन्। पछिल्लो अध्ययनले मध्यम उमेरकालाई पनि यसले उत्तिकै असर गर्ने देखाएको छ।

यस भाइरसबाट संक्रमण भएका व्यक्तिमा सामान्यतया रुघा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, घाँटी दुख्ने र थकाइ लाग्ने आदि लक्षण देखिन्छन् र केहीलाई भने संक्रमण भएको केही समयपछि शरीरका महत्वपूण अंग, जस्तैः फोक्सो, मुटु र कलेजो फेल हुन सक्ने, कोरोना संक्रमितको उपचारमा संलग्न डाक्टरको भनाइ छ।

यो संक्रमण विश्वव्यापी रूपमा फैलिरहेकाले यसको रोकथाम अत्यन्त आवश्यक छ। विभिन्न तथ्यांकअनुसार यो कोरोना भाइरस ४ मिटर वा योभन्दा बढीको दूरीसम्म फैलिने सम्भावना रहेका कारण मानिसबीचको दूरी बढाउनु वा बस्ती बन्द गर्नु रोकथामका उपायमध्ये एक हो। यो संक्रमण फैलिन नदिन अन्य उपाय पनि अपनाउन सकिन्छ।

उदाहरणका लागि संक्रमित व्यक्तिलाई आइसोलेसनमा राख्ने, मास्क लगाउने, साबुन पानीले राम्रोसँग हात धुने, व्यायाम गर्ने, स्वच्छ खाना खानेलगायत उपाय अपनाउने।

हङकङभन्दा नेपाल सुरक्षित हो?
चीनको दक्षिणी तटमा अवस्थित अतिनजिक एवं थोरै क्षेत्रफलमा धेरै भिडभाड पनि हुने ठाउँ हो- हङकङ। यसैकारण यो सरुवा रोगले यहाँ सजिलै विकराल रूप लिन सक्थ्यो, तर हङकङ सरकारले चीनसँग जोडिएका सम्पूर्ण सीमा बन्द गरेका कारण मानिसको आवतजावत ठप्प भयो र यो भाइरस धैरै मानिसमा फैलिन पाएन। यो सफलता हो। साथै यहाँको सरकाले गत फेब्रुअरीदेखि सम्पूर्ण विद्यालय बन्द गराएको छ।

पछिल्लोपटक सरकारले यहाँका खेल मैदान, बार, क्लब बन्द गराउनाका साथै सार्वजनिक स्थलमा ४ जनाभन्दा बढी भेला हुन नपाइने नियम लगाएको छ। त्यसकारण चीनको अतिनजिकमा भएर पनि हङकङमा कोरोना भाइरसबाट संक्रमितको संख्या सिंगापुरमा भन्दा पनि कम छ।

आजका मितिसम्म हङकङमा नौ सय जनाभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ। त्यसमा पनि हङकङमा बसिरहेकामा भन्दा बाहिर अर्थात् विदेशबाट आएकामा बढी संक्रमण देखिएको यहाँको स्वास्थ्य विभागले जनाएको छ। अहिलेसम्म हङकङमा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ। जसलाई पहिलेदेखि कुनै न कुनै दीर्घ रोग थियो।

हङकङमा नेपालीको संख्या ३० हजार हाराहारी छ। यो कोरोना महामारीका कारण यहाँका नेपाली पनि संकटमा परेका छन्। अहिलेसम्म यहाँ एक नेपालीलाई संक्रमण पुष्टि भएको छ भने बाहिरबाट आएका सय बढी नेपालीले भर्खरै होम क्वारिन्टनको अवधी पूरा गरेका छन्। हङकङका हवाई सेवा बन्द गरिएका कारण धेरै होटल तथा रेस्टुरेन्ट पनि बन्द भएका छन्, जसले गर्दा अहिले यहाँका धैरै नेपाली पनि बेरोजगार बनेका छन्।

कोरोना भाइरसबाट हङकङका नेपाली सुरक्षित छन् वा नेपालमै बस्ने नेपाली भनेर यहाँ बहस पनि हुने गर्छन्। यी दुवै (हङकङ र नेपाल) ठाउँका आआफ्नै विशेषता छन्। हङकङ जनघनत्व बढी भएको तथा धेरै देशका मानिस आवतजावत गरिरहेन ठाउँ हो। त्यसैले यहाँ धेरै प्रकारका सरुवा रोग सर्ने सम्भावना बढी छ।

नेपालमा यतिबेला मानिस देशकै विभिन्न सहर छाडेर आफ्ना गाउँ फर्किरहेका छन्। नेपाल सरकारले लकडाउन गरेका कारण नेपाली आआफ्ना गाउँ पसेका हुन सक्छन्। सहरभन्दा गाउँ केही हदसम्म सुरक्षित पनि हुन सक्छ। किनकि गाउँमा आफ्नै खेतबारीमा उब्जाइएका अर्गानिक अन्न, सागसब्जी, फलफूल खाने गरिन्छ भने घाँसदाउरा गर्नुपर्ने भएकाले गाउँका मानिस सहरका भन्दा स्वस्थ हुन सक्छन्।

यतिमात्र नभएर गाउँमा बाहिरी मानिसको आवतजावत पनि कम हुन्छ। जसले गर्दा यस्ता खाले संक्रमण गाउँमा हत्तपत्त सर्न पाउँदैन। सहर वा विदेश, कहीं कतैबाट नयाँ मान्छे गाउँमा आएका छन् भने उनीहरूलाई आइसोलेसन वा क्वारिन्टनमा राख्न सजिलो हुन्छ। किनकि गाउँलेले एकअर्कालाई राम्रोसँग चिनेका हुन्छन्। त्यसो हुँदा आइसोलेसन वा क्वारन्टिनमा राख्न पनि सजिलो हुन्छ। स्वास्थ्यकर्मीको सल्लाहअनुसार जो बाहिरबाट गाउँ छिरेका छन्, तिनलाई निगरानीमा राखेर यस सरुवा रोगका लक्षण भए नभएको थाहा पाउन सकिन्छ।

यस्तै गाउँका घर पनि सहरका भन्दा छुट्टै प्रकारका हुन्छन्। जहाँ मानिस मुखामुख गरेर बस्नुपर्ने वातावरण हुँदैन। त्यस्तै गाउँमा हावापानी तथा खानेकुरा पनि सफा र स्वच्छ हुने भएकाले स्वास्थ्यमा धेरै नकारात्मक असर परेको हुँदैन। यसैकारण अहिलेको यो कोरोना महामारी फैलिएका बेला मानिस भिडभाड भएका सहरबजार छाडेर खुला वातावरण भएको गाउँ गएका हुन सक्छन्।

हङकङको स्वास्थ्य सेवा प्रणाली विश्वमै विशेष मानिएको छ। तसर्थ स्वास्थ्य सुविधाका हिसाबले हङकङ र नेपालबीच आकाश-पतालको भिन्नता छ। अतः हङकङमा यस्ता सरुवा रोग लाग्ने सम्भावना अत्यधिक हुँदाहुँदै पनि यहाँ स्वास्थ्य सुविधा अन्यन्तै राम्रो भएका कारण कसैलाइ कोभिड-१९ लागिहाल्यो भने पनि सफल उपचार हुनेमा शंका छैन।

तर नेपालको स्थिति ठ्याक्कै उल्टो छ। नेपालमा सरुवा रोग सर्ने सम्भावना त कम छ, तर गाउँमा कसैलाई कोभिड–१९ भइहाल्यो भने उपचारको सम्भावना हुँदैन। गाउँमा विदेशी त्यति नघुम्ने भए पनि हरेक गाउँका युवा विदेश गएका छन्। जो गाउँमा फर्केर आउँदा सरुवा रोगको जोखिम बढाउँछन्। साथै गाउँमा सरसफाइको उचित प्रबन्ध भएको हुँदैन। अझ नेपालीमा हातले नै खाना खाने चलन भएका कारण राम्रोसँग साबुन पानीले हात नधोई खाँदा यस्तो संक्रमण सल्कने खतरा बढी हुन्छ।

कतिपय स्थानमा त खानेपानीको समेत अभाव हुने हुँदा गाउँमा व्यक्तिगत सरसफाइ गर्न गाह्रो छ। अहिले जसरी मानिस, हुलका हुल गाउँ पसेका छन्, तीमध्ये कसलाई कोभिड–१९ लागेको छ कि छैन भन्न गाह्रो छ। कसैमा यो रोग भएका खण्डमा ढिलो चाँडो गाउँलाई असर पार्ने निश्चित छ।

अहिलेसम्म कोरोना भाइरसविरुद्ध कुनै औषधि तथा खोप विकास भइनसकेकाले यसबाट कोही सुरक्षित छैनन्, गाउँमा होस् वा सहरमा। त्यसकारण अहिलेलाई यो संक्रमण लाग्नै नदिनु नै एक उत्तम उपाय हो। त्यसका लागि मानिसमा कोभिड–१९ बारे व्यापक जानकारी र यसविरुद्ध लड्ने सक्रियता हुन आवश्यक छ।

विशेषगरी एकअर्कासँग भेट्दा वा विभिन्न काम गर्दा अपनाइने पहिलेका तौरतरिकामा परिवर्तन ल्याउनुपर्छ। अनि व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन जरुरी छ। यस्ता होसियारी अपनाए केही हदसम्म यो महामारीबाट बच्न सकिन्छ।

(टीका राना हङकङको जनस्वास्थ्यकर्मी हुन्)

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .