hongkong


नेपाल डायरी-१

फूलको टपरी बागमतीमा बग्दै गयो, आमा-बाबा पनि टाढा बग्दै गए...


कमल पौड्याल
काठमाडौं, फागुन १७

कमल पौड्याल

‘फोटो खिचेपछि फूलको टपरी तल बागमतीमा बगाइदिएँ। टपरी सानो कागजको डुंगाझैं टलपल टलपल टलपल गर्दै बागमतीको धमिलो पानीमा तैरिँदै बगेर गयो। म भने बाबा र आमा त्यही फूलको टपरीमा बसेर फेरि मदेखि अझ धेरै धेरै टाढा बग्दै गरेको अनुभूति गर्दै थिएँ।’

हङकङको बासस्थान तुङचुङ स्टेसननजिकै हाम्रो स्वयम्भूजस्तो पहाडको सानो थुम्कोको सेरोफेरोमा बिहानीको पदयात्रामा लरेन्स चाउ अक्सर भेटिन्छन्। सुरूमा त हाम्रो परिचय थिएन। जङ्गलको बीचमा उनलाई देख्दा म अलि झस्किएको थिएँ, पहिलोपटक।

आम चिनियाँभन्दा अलि कालो वर्णका यिनी जहिल्यै नाङ्गो जिउमा हाफ प्यान्ट लगाएर स्लोपमा उल्टो हिडिँरहेका हुन्थे। पछि उनैले बोलाएपछि परिचय भयो। आम चिनियाँभन्दा असाध्यै बोलक्कड। उनी यहाँका आदिवासी र मजस्तै प्रकृतिप्रेमी भएकाले अमलादेखि पाकेको अङ्गेरीसम्म टिपेर दिन्छन्, मलाई।

हुन त हङकङका चिनियाँ जङ्गलमा पाइने कुनै पनि फलफूल खाँदैनन्। मैले भने पटकपटक पाकेको झप्री केराको घरी र झोलाभरि जङ्गली लिची लिएर आएको छु। अझ केराको बुङ्गो र सिजनअनुसार ज्यामिर, कोइरालाको फूलको अचार, रुख-कटहरको तरकारीको तिर्सना लागे प्रशस्तै पाइन्छ। तर टाढा हिँड्ने जाँगर भने हुनुपर्छ।

काठमाडौं आउनुभन्दा १ दिनअगाडि भेट भएथ्यो, लरेन्ससँग। सधैंझैं चौसानलाई ‘हो-मा’ (गुड मर्निङ, के छ हालखबर?) भनें।

‘आइएम गुड’ भन्दै उनले सोधे, ‘तिम्रो व्यापार कस्तो छ?’ 

‘ठीक छैन। ६ महिनाको आन्दोलन र फेरि कोरोना भाइरस आतंकले हङकङलाई झन् थला पार्दै छ। भोलि नेपाल जाँदै छु,’ मैले भनें।

‘ओ यु ह्याभ गुड रिजन टु स्केप फर होलिडे फ्रम स्केयरी सिटी, ह्याभ गुड टाइम विथ योर प्यारेन्ट।’

मैले भनें, ‘मेरा बाबाआमा छैनन्। साँच्चीतिम्रो नि?’

‘मेरा बाबु त म सानैछँदा बिते। आमा बितेको त झण्डै १५ वर्ष भयो। आमा जीवित हुँदा सकुन्जेल म यो बाटो सधैं हिडाउँथें। त्यसैले आजकल पनि यो बाटो हिँड्दा मलाई आमासँगै हिँडेको महसुस हुन्छ। यहीं नजिकै जङ्गलबीचमा उनको समाधि छ। म अक्सर त्यहीं गएर उनीसँग कुरा गर्छु, फुर्सद हुँदा,’ उनी अलि भावुक भए। सँगै म पनि भएँ।

‘कहाँ छ समाधि, मलाई पनि देखाउन लैजाऊ न त आज,’ मैले भनें। 

‘ओ ह्वाइ नट’ भन्दै सानो गोरेटो बाटो हुँदै लट्ठीले सिरू झाडी पन्छाउँदै जङ्गलको अलि पर लगेर देखाए। समाधिको माथिपट्टि ब्याल्क एन्ड ह्वाइट तस्बिर रहेछ उनकी आमाको।

‘लुक सी इज माइ मम। गिभ मि फाइभ मिनट ओके।’ 

फोटोमुनि रहेको सानो प्यालामा पानी भरे। नजिकैको जङ्गली फूलको थुँगा चुँडेर राखेपछि घुँडा दाेब्र्‍याएर  केही बेर मौन बसे र ओठ चलाएजस्तो गरे।

जहिल्यै यहाँ आउँदा आमासँग एकदम नजिक भएको महसुस हुने अनुभव बताए, फर्किंदा। अनि भने, ‘तिमी पनि अब नेपालमा बाबाआमाको समाधिमा गएर फूल चढाउन पाइहाल्छौ नि।’

मैले भनें, ‘हाम्रो यस्तो समाधि हुँदैन। मृत्युपछि नदीकिनारमा जलाइन्छ तुरून्तै।’

‘ओ लाइक इन्डियन।’ 

‘हो,’ मैले भनें। 

‘एनी वे, ह्याभ सेफ जर्नी। क्याच यु ह्विन यु कम ब्याक’ भन्दै उनी बिदा भए।

०००

क्याथे ड्रागनको भीमकाय जहाजले तोकिएको समयमै हङकङको जमिन छाड्यो। दक्षिण चीन सागर, एसियाको हवाई भनिने चीनको सुन्दर टापु सानिया, चेङमाइ, हनोइको माथि हुँदै ढाका, कोलकत्ता देखाउँदै जहाज ३ हजार किलोमिटर आकाश मार्गको यात्रामा अघि बढ्दै छ, काठमाडौंतर्फ।

कोरोना आतङ्कले जहाज आधा नै खाली छ। रातिको खानापछि धमिलो बत्तीमा जहाज चकमन्न छ। कोही घुर्दै छन्, कोही फोन कोट्याउँदै छन्। मलाई भने जति लामो हवाईयात्रामा पनि पटक्कै निद्रा लाग्दैन। गफिने पनि कोही देखिन्नन्।

सबैले मास्क लगाएकाले चिन्नै पनि गाह्रो। करिब ३५ हजार फिट उचाइमा जहाजको पखेटामा मिलिक् मिलिक् गरेको बत्तीबाहेक सबैतिर अँध्यारो छ। नियालेर तल हेर्दा टुकी बत्तीजस्तै फाट्टफुट्ट बत्ती देखिन्छन्- पृथ्वीमा।

म गम्दै छु- ३० वर्षमा कति पटक यो आकाश मार्ग पार गरियो होला। बाबाआमालाई सम्झें। घर पुगेर ट्याक्सीबाट ओर्लिंदा खुसी हुँदै आमाले ढोका खोलेको, बाबाले छतबाट हेरेको, अनि रमाउँदै भाइले लगेजहरू घरभित्र लगेको। आजसम्म बाबाआमा बाँचिरहेका भए...!

लरेन्स चाउको आमाको समाधि सम्झिएँ। हो, हाम्रो पनि त्यस्तै रीतिथिति भैदिएको भए, कमसेकम काठमाडौं जाँदा समाधिमा फूल चढाएर बाबाआमासँग अलि नजिक महसुस गर्न सकिन्थ्यो। किन तुरुन्तै जलाइहाल्नुपरेको होला? 

फेरि सोचें- पशुपति आर्यघाटको ब्रह्मनालमा गएर आमाबाबालाई फूल चढाउँछु म पनि यसपालि। अनि तस्बिर खिच्छु र हङकङ फर्केपछि लरेन्स चाउलाई देखाउँदै व्याख्या गर्छु। किनभने त्यहीँ नै अन्तिम पटक बाबाआमाको मुख हेरेको थिएँ। त्यो नै उनीहरूको समाधि हो- मेरा लागि।

काठमाडौं ओर्लिएको भोलिपल्ट टेकु दोभानदेखि बागमती पुलसम्म हेर्न मन लाग्यो। यो ठाउँसँग मेरो भावनात्मक सम्बन्ध छ। एसएलसी पास गरेपछि कलेज र जागिरकाे सिलसिलामा पिताजीसँग यहीँ नजिकै डेरामा बास बसेर आशा-निराशाका दिनहरू काटिएका थिए। 

उतिबेलाको बागमती जुत्ता फुकालेर प्यान्ट माथि सारेर तर्नुपर्थ्यो, हिउँदमा पनि। विशुद्ध नेवारी भेषमा काठमाडौंका रैथाने कृषक खर्पनभरिका तरकारी बागतीमा पखालेर बेच्न लैजान्थे।

खोलाका किनारभरि दत्तीवन, अँगार र ब्रसले दाँत माझ्दै, मुख धुँदै ‘हर हर काशी’ भन्नेहरूको लाइन लाग्थ्याे। बिहानको झुल्के घाममा बागमतीको पानीमुनिको सेतो बालुवा र भुरा माछा खेलेको प्रस्टै देखिन्थ्यो। 

पारीपट्टि कुपण्डोलको छेउमा बिरेनुनपानीका कुवा थिए। छालालाई राम्रो हुन्छ भनेर आमाले मलाई पनि नुहाउन लिएर जानुभएको याद छ, अझै। तर अहिलेको बागमतीमा गनाउने पानी जमेका ठूलठूला खाल्डा, प्लास्टिक र अन्य फोहोरका डंगुर छन्। नाक थुन्नुपर्ने नालीको गन्ध छ। बागमती छेउका सडकमा धुलो उडाउँदै ठूला/साना सवारीसाधन गुडिरहेका छन्।

टेकुकाे माथि पुरेतघाटको सत्तलमा यौटी आमा भर्खर जन्मेको बच्चालाई तेल घस्दै छिन्। बच्चो एकटकले आमालाई हेरेर आनन्द मानिरहेछ। मैलै आमाले मलाई लाइफब्वाय साबुनले नुहाइदिएर तेल घसेको सम्झें। अर्कोपट्टि खाना खाइरहेको उसको पतिलाई त्यो बच्चो र उसकी आमालाई मैले हेरेको मन परेनछ। मलाई तलदेखि माथिसम्म पुर्लुक्क हेर्यो।

मैले असहज परिस्थिति चिर्दै भनें, ‘नमस्कार, तपाईंहरू यहीँ बस्नुहुन्छ?’

खाना चपाउँदै उसले भन्यो, ‘अम्।’

बागमती किनाराका केही टहरा र केही पक्कीसमेत घर देखाउँदै मैले सोधें, ‘भाइ यी घर गैरकानुनी हैनन् र?’

‘किन तपाईं पत्रकार हो?’ ऊ झन् रुखो भयो। सायद अगाडि उसको पनि घर हुनुपर्छ।

‘म पत्रकार हैन भाइ, अहिले विदेश बस्छु।२०३९ सालतिर यहीं नजिकै डेरा गरेर बस्थें। बाबुराजा श्रेष्ठ र उनकी एक्ली आमा मेरा घरबेटी थिए। अहिले कता छन्, कुन्नि?’

बल्ल उसको मुखाकृति परिवर्तन भयो र खुल्न थाल्यो, ‘यहीँ भित्र पहेंलो चारतले नयाँ घरमा बस्नुहुन्छ।’

मैले हत्तपत्त सोधें, ‘आमा हुनुहुन्छ अझै?’

उसकी श्रीमतीले हत्तपत्त मुख खोली, ‘हुनुहुन्छ, अस्ति भर्खर जङ्कु गरेको।’

बाबुराजाकी आमा र मेरी आमा एउटै उमेरका थिए। एकमन त लाग्यो-  गएर भेटौं। फेरि उनीहरूले बिर्सेका भए? मजस्ता कैयौं मानिस उनका घरमा डेरा बसे होलान्।

‘एउटा तस्बिर लिन्छु है, यो सत्तलको,’ मैले सोधें। 

‘हुन्छ,’ उसले थालमा बचेको खाना अगाडि पुच्छर हल्लाएर बसेका दुई कुकुरलाई बाँडेर दियो। अम्खराको पानीले कुल्ला गरेर मैलो रुमालले हातमुख पुछ्दै अलि नजिकै आएर बस्यो।

मैले भनेको ‘गैरकानुनी टहरा’ वाक्यांश उसलाई मन परेको थिएन। ऊ मलाई स्पष्टीकरण दिन चाहन्थ्यो सायद। मेरो सोध्ने तरिकाले उसलाई बिझेको हुनुपर्छ।

असरल्ल पाना छरिएको दैनिक पत्रिकाको यौटा हेडलाइन देखायो र भन्यो, ‘साला कम्निस्ट डाँकाहरू ल हेर्नुस्- सुनकाण्ड, वाइडबडी, सरकारी जग्गा, आज फेरि ७० करोड! एकपछि अर्को काण्डले देश सिध्याइसके, थाहा छ, तपाईंलाई?’

‘थाहा छ भाइ, विदेशमा बसे पनि तपाईंलाई जत्तिकै। राजनीति गर्ने भनेकै लाज पचाउन सक्नेहरूले हो, आजको नेपालमा।’

‘तपाईंलाई के ढाँट्नु, ऊ त्यै हो मेरो घर- ढलान गरेको एकतले। पहिला छाप्रो थियो। यिनले जे गरे पनि छुट, हामीले भने पानी नबग्ने बागतीको किनारमा बास बस्न पनि नपाउने? हाम्लाई गाउँबाट लखेट्ने पनि यिनै हुन्। तपाईंलाई सुनाउन थाल्यो भने दिन बित्छ। विदेशमा काँ हो, मलेसिया/अरब?’

‘हैन भाइ, हङकङ।’

‘के गर्नु हुन्छ?’ 

‘सानोतिनो काम गर्छु,’ कुराको बिट मार्दै मैले भनें, ‘हो, सानालाई ऐन ठूलालाई चैन भनेको यही हो।’

म आफ्नो बाटो लागें।

बाटाभरि शताब्दीऔं पुराना मठमन्दिर जीर्ण अवस्थामा छन्। बागमतीको किनार र पेटीसमेत मिचेर टहरा बनेका छन्। पूर्वअमेरिकी राजदूत जेम्स ए मोरियार्टीले भनेको सम्झें- अमेरिका आफैंमा २ सय वर्षको इतिहास हो।

तर काठमाडौंको वसन्तपुरमा छापेको ढुङ्गाको पनि १ हजार वर्षको इतिहास छ। लिच्छवी, किरात, मल्ल र राणाकालीन संरचनामा कहीं खसी/बोका बाँधिएका छन् त कहीं होटल छन्। माल पाएर चाल नपाएपछि के गर्ने?

अलि माथि एक हुल जोगी सत्तलको पिंढीमा खाना पकाउने तरखर गर्दै स्टोभमा दम दिँदै छन्। यसैगरी खाना पकाएको आफ्नो विगत आँखा अगाडि आए। अलि माथि पुरानो राणाकालीन ऐतिहासिक ठूलो घरमा मैले जान्दा प्रहरी बटालियन बस्थ्यो। अझै रहेछ। भूकम्पले बस्नलायक नभएपछि नयाँ बिल्डिङ बन्दै रहेछ।

अगाडि जाने बाटो छेकिएको देखेपछि राइफल समातेका प्रहरी भाइलाइ सोधें, ‘यहाँबाट माथि जाने बाटो छैन?’

‘छ, घुमेर जानुपर्छ,’ उनले भने।

कालामोचन घाटको जङ्गबहादुर राणाले निर्माण गरेका शिवको देवल भने भूकम्पपछि जीर्णोद्धार गरेर करिब-करिब सकिएको रहेछ। अलि अगाडि यौटा सानो खोला जत्रो पूरै प्रदूषित ढल बागमतीतिर बगिरहेछ। विश्व निकेतन स्कुलबाहिर त्यही ढल छेउमा ससाना नानीबाबु धुलो उडाउँदै कोही क्रिकेट त कोही फुटबल खेलिरहेका छन्।

थापाथली निस्किएर घरतिर लागें। घर पुगेपछि फेसबुकमा तस्बिरसहित स्टाटस लेखें- काठमाडौं यात्राको पहिलो दिन टेकु दोभानदेखि बागमती पुलसम्म पैदल यात्रामा बागमती नदी सभ्यताका यी दर्दनाक दृश्यसँगै देशको सिंगो राजनीति र प्रशासनतन्त्रले पनि हुबहु समानान्तर तस्बिरहरू बोकेको अनुभूति गरें।

क्रिया/प्रतिक्रिया आए। अक्सर नेपालखबरमा मेरो स्तम्भ पढ्ने एकजना मित्रले मेसेन्जरमा फोन गरे। पूर्वएमाले अहिले नेकपाका यी मझौला नेतालाई मेरो भनाइ मन परेनछ।

‘नमस्कार कमलजी ! कति छ बसाइ? के हो आउनासाथै नराम्रो मात्रै देख्ने? राम्रा कुरातिर पनि आँखा लाउने हो कि यस्सो?’

मैले भनें, ‘म स्वतन्त्र छु देखेको लेख्न। तपाईं पो हुनुहुन्न, पार्टीले हात र अभिव्यक्ति स्वतन्त्रता बाँधिदिएको छ, के गर्नु! स्टाटस त नगरकोटको रिसोर्टमा बिहान कफी वा साँझ बियर पिउँदै हिमाल हेरेको अवस्था भनेर पनि लेख्न सकिन्छ। नेताका कार्यालय र घरदैलो चहारेर सेल्फी लिँदै आफूले आफैंलाई ठूलो मान्छेमा दर्ज गराउन पनि गाह्रो छैन। हङकङमा भेट्दा काठमाडौं आउँदा भेट्नुहोस है भन्ने दर्जनौं नेताका नेमकार्ड पनि छन् मसँग। त्यहाँ नै किन घुमे भन्ने कारणबारे मेरो लेख आउँदै छ चाँडै, अनि बुझ्नुहुनेछ।’

‘अनि के हो त यो ७० करोड, अचम्म लाग्यो त,’ मैले ठट्टा गर्दै भनें, ‘कि कमरेडलाई फसाउन नक्कली आवाज निकालेकाे हो कुनै हास्य कलाकारले?’

उनले घुमाउरो पाराले स्पष्टीकरण दिँदै भने, ‘केपी कमरेडले उनलाई तुरून्तै राजीनामा दिन लागाएर भनिसक्नुभो त- भ्रष्टाचारमा जो भए पनि छाडिन्न।’

तीन दिनअगाडि उनै केपी कमरेडको काभ्रेको भाषण र काँधमा बोकिएका गोकुल बाँस्कोटाको कार्टुनले सामाजिक सञ्जाल तातिहेको थियो। तर मैले प्रतिवाद गरिनँ।

‘लौ यसपालि घरमै आउनुपर्छ है, खाना खाने गरी, बसेर कुरा गरौंला,’ उनले भने।

‘हुन्छ, समय मिलाएर म फोन गर्छु नि,’ मैले भनें।


HKKathmandu2

अर्कोदिन पशुपतितिर लागें। जयवागेश्वरी ओर्लिएर देवपाटन हुँदै। देवपाटनको कुनामा पिताजीका साथी कृष्णप्रसाद ‘सर्वाहारा’ को तीनतले जस्ताले छाएको घर थियो। केही बेर म त्यो घर खोज्दै अतीतमा हराएँ। पटकपटक पहाडबाट काठमाडौं आउँदा बास बसिएको थियो।

विचारले तुलसीलाल अमात्यसँग नजिक भएकाले उनीहरूलाई रसियन कम्युनिस्ट भनिन्थ्यो उतिबेला। अहिलेका नेकपा र उतिबेलाको मसाल समूहका नजरमा भने संशोधनवादी थिए। उनले लेखेका केही पुस्तक पनि देखेको धमिलो सम्झना छ।

२०३२ सालतिर धादिङ केवलपुरको ज्योति निम्न माध्यमिक विद्यालयमा अंग्रेजी पढाउने शिक्षक नभएपछि पिताजीको आग्रहमा उनले करिब ३ महिना पढाएका थिए। जातले ब्राह्मण भए पनि थर हटाएर ‘सर्वहारा’ उपनाम राखेका थिए।

अहिलेजस्तो चुनावका लागि मात्र नभएर आत्मादेखि नै जातपात नमान्ने क्रान्तिकारी थिए, उनी। हाम्रो गाउँका छिमेकी कान्छा परियारको घरमा यिनले एकदिन खाजा खाएपछि भुसको आगोझैं गाउँभरि फैलियो। कतिले गाइखाने भाषाको करामत र कतिले हलो जोत्नेको संगत भनेर पिताजीतर्फ औंलाे ठड्याए। उनको नाम लिएर केही पसलमा सोधें। कसैलाई थाहा रहेनछ।

अनि पशुपतिनाथ परिसर ओर्लिएँ। सेतै कपाल फुलेकी आमालाई भनें, ‘फूल चाहियो मलाई।’

रुद्राक्ष र अरू मालासहितको टोकरी देखाउँदै आमाले भनिन्, ‘२ सय ५०, फूलसुल सप्पै यसमा छ। जुत्ता पनि यहीं राखे हुन्छ, पैसा लाग्दैन।’

‘म पशुपति हैन, ब्रह्नाल जाने हो।’

‘ए, मलामी! त्यसो भए त यी यो माला पो लाने हो त, मिलाएर दिउँला।’

‘हैन, फूल मात्रै बाबाआमालाई चढाउन।’

आमा, एकछिन अक्क न बक्क भइन्।

मैले स्पष्टीकरण दिएँ, ‘आमा २२ वर्षअगाडि र बाबा ८ वर्षअघि बित्नुभएको थियो। यही आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो। म विदेश बस्छु। भाइ यहीँ बस्छ। नेपाल आएका बेला त्यही ठाउँमा गएर यसो फूल चढाउन मन लाग्यो यसपालि बाबाआमालाई।’

आमाले कुरो बुझिन्, ‘सराद्धे पो गर्नुपर्छ त्यस्तो फूल चढाएर कहाँ पाउँछन पितृले।’

‘हैन, आमा श्राद्ध त हामीले जीवित छँदै गरिसक्यौं। अर्थात् बाबाआमाको मन कहिल्यै दुखाएनौं। धेरै सेवा गर्यौं, अन्तिम अवस्थासम्म भाइले र मैले। बाबाले त भन्नु नै भएको थियो, अन्तिम अवस्थामा- ‘छोरा हो! तिमीहरूले मेरो श्राद्ध जीवित अवस्थामै गरिसक्यौ मरेपछि गर्नुपर्दैन।’

‘त्यो त हो बाबु! चलिआएको रीतिथिति मनले नमान्ने रै’छ। बाचुन्जेल चित्त दुखाउनेले सराद्ध गरेर पनि के काम? कुरो त हो नि,’ टपरीभरि फूल दिँदै आमाले भनिन्, ‘सय रूप्याँ।’

ल आमा ! सय फूलको, सय हजुरलाई दक्षिणा भन्दै अर्को १०० दिएँ। आमाले हँसिलो मुख लगाइन्। सोधें, ‘तपाईं खुसी हुनुभयो नि?’

‘भएँ।’

‘हो, बाबाआमाको श्राद्ध भनेको तपाईंजस्ती कपाल फुलेकी आमालाई सके सधैं, नसके केही बेर भए पनि खुसी राख्नु हो।’

उनले दुखेसो गरिन्, ‘कत्ति धनी-धनी पनि यै त मोलतोल गरेर घटाउँछन्, बाबु! गर्मी महिनामा कहिले फूल कुहिएर फाल्दा आधा घाटा लाग्छ। लौ बाबुलाई मेरो आशीर्वाद लागोस्। बाबाआमाको बैकुण्ठ बास होस्।’

आमालाई नमस्कार गर्दै म ब्रह्मनालतिर ओर्लिएँ। भर्खर ल्याइएका शव, जलाउन ठिक्क पारिएका, जल्दै गरेका र जलिसकेर खरानी पखाल्दै गरिएका दृश्य देखिए। बाबाआमाको चितामा पालैपालो भाइ र म वरिपरि घुमेको अतीतका दृश्य आखाँभरि आए।

लामो समय भएकाले आमाको अन्तिम ठाउँ यकिन भएन। पिताजीको चाहिँ थाहा पाएँ। खाली चिता लासको प्रतीक्षामा थियो। उक्लेर फूलको टपरी चिताको बीचमा राखेर फोटो खिच्न खोज्दै थिएँ, पछाडिबाट आवाज आयो- ‘ओ दाइ के गरेको?’

घाटे पण्डित रहेछन्।

‘क्यै हैन, भाइ, फूल चढाएर फोटो खिच्न लागेको एकैछिन।’

‘जुत्ता त फुकालेर जानुपर्छ नि!’

मैलै पुलुक्क हेरें र भनें, ‘मेरो बाबाको अन्तिम संस्कार पनि यहीं गरेको ८ वर्षअगाडि।’

ऊ अलि हच्कियो।

मनमनै भनें, ‘जनतालाई देखाउन कोट/प्यान्ट, जुत्ता लाएर बाबुलाई दागबत्ती दिने अनि फेरि भैंसीपूजा गर्नेहरू पुन: प्रधानमन्त्री बन्ने घनचक्करमा छन्। मलाई भने जुत्ता फुकालेको भए हुन्थ्यो!’

फोटो खिचेपछि फूलको टपरी तल बागमतीमा बगाइदिएँ। टपरी सानो कागजको डुंगाझैं टलपल टलपल टलपल गर्दै बागमतीको धमिलो पानीमा तैरिँदै पर परसम्म बगेर गयो। म भने बाबा र आमा त्यही फूलको टपरीमा बसेर फेरि मदेखि अझ धेरै धेरै टाढा बग्दै गरेको अनुभूति गर्दै थिएँ।

माथि पेटीमा उक्लिएँ। घाटेपण्डित र अरू मान्छे मलाई एकटकले हेरिरहेका थिए। उनीहरूसँग गफिएर स्पष्टीकरण दिने ‘मुड’ आएन। सत्तलको पेटीमा बसेर तस्बिरहरू हेरें।

अब हङकङ फर्केपछि लोरेन्सले बिहानी पदयात्रामा मलाई नेपाल बसाइबारे सोध्नेछन्। अनि म पनि उनलाई ‘ल हेर मेरो बाबाआमाको अन्तिम विश्रामस्थल, मैले पनि तिमीले जस्तै फूल चढाएर, कुरा गरेर आएँ नि भन्ने छु!’

यस्तै मनोवाद गर्दै गह्रौं मन लिएर पशुपति आर्यघाटबाट घर फर्किएँ।

 

फागुन १७, २०७६, शनिबार

कमल पौड्याल हङकङका व्यवसायी र लेखक हुन्
लेखकबाट थप

Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors