मैले पाएको तेक्वान्दोको यो स्वर्ण पदक, जसले सम्झाउँछ १८ वर्षअघिको त्यो अमेरिका यात्रा

मैले पाएको तेक्वान्दोको यो स्वर्ण पदक, जसले सम्झाउँछ १८ वर्षअघिको त्यो अमेरिका यात्रा

मगेन्द्र राई
असार ३०, २०८१ आइतबार ७:२२, बेलायत

गोर्खा भर्ती भई ‘कुइरेको देश’मा जान हुँदैन भनी कसैले मेरो बाल मस्तिष्कमा ‘क्रान्तिकारिता’को बीउ छरिदिएपछि बेलायत, अमेरिकाजस्ता देशप्रति मनमा एक किसिमको घृणाभाव पैदा भएको थियो। तर तिनै ‘क्रान्तिकारी’हरू गोर्खामा भर्ती भई  भकाभक ‘कुइरेको देश’ जान थालेपछि म मात्र आदर्शले कहाँ बाँच्न सक्थेँ र! त्यसैले क्रान्तिकारिताको झोलालाई देउरालीमै चढाएर म पनि गुलेलीबाट छुटेको मट्याङ्ग्राजस्तै हङकङ हानिएँ।

अनि घुम्दै फिर्दै आज म त्यही जान्नँ भनेको कुइरेको देश बेलायत (लन्डन) मा जिन्दगीको गाडा गुडाइरहेको छु। समयको छिनोले प्रहार गरिरहँदा अहिले स्वरूप नै फेरिएको छ मेरो जिन्दगीको। कुनै बेला दुनियाँ बदल्ने महत्त्वाकांक्षा बोकेर हिँडेको मैले आफूलाई पनि बदल्न नसक्दाको विवशताले जीवन त फगत एक अनिश्चित यात्रा त रहेछ जस्तो महसुस हुन थालेको छ।

तर यात्रा गन्तव्यमा पुग्नु मात्र हैन रहेछ, बरु यात्राका क्रममा सामना गरिएका चुनौती, भेटिएका मान्छे, पुगिएका ठाउँ र गरिएका कामका अनुभवहरूको विशाल संग्रहालय रहेछ जिन्दगी। यही मनको संग्रहालयमा‍‍ सजिएको छ मेरो अमेरिका यात्रा पनि।

दुनियाँले ‘अवसरहरूको भूमि’ भनेर गुनगान गरेको अमेरिकामा पुग्ने धेरैको सपना हुन्छ। विश्व परिक्रमा गरे पनि अमेरिका नपुगे भ्रमण अधूरै रहेको मानिन्छ। तर अमेरिका पुग्ने मेरो न कुनै सपना थियो न योजना! तर कहिलेकाहीँ योजनाबिनै यात्रा तय हुँदोरहेछ।

कुरो सन् २००६ को हो। तात्कालिक कोरियन चेउङ दो क्वान नेपाली समूह, हङकङका संस्थापन तथा प्रमुख प्रशिक्षक हरि तामाङले अमेरिकाको पोर्टल्यान्ड सहरमा हुन लागेको तेक्वान्दो प्रतियोगितामा भाग लिन मेरो नाम सिफारिस गरे। मलाई पनि लाग्यो- यौटै मट्याङ्ग्राले दुईवटा चरा मार्न पाइन्छ भने...! खेल पनि खेल्न पाइने, अमेरिका पनि घुम्न पाइने!

मैले सहमति जनाएँ।

तर त्यो बेला अमेरिकाको भिसा पाउन निकै कठिन थियो। कारण ९/११ अर्थात् सन २००१ सेप्टेम्बर ११ को घाउ आलै थियो। आतंकवादीहरूले यात्रु बोकेको जहाज अपहरण गरी न्युयोर्क सहरको म्यानहटनमा रहेको जुम्ल्याहा टावरमा ठोकाइदिएका थिए।जसमा परी निर्दोष २ हजार ९ सय ९६ जनाले ज्यान गुमाए भने २५ हजार जनाभन्दा बढी अंगभ‌ंग भए। 

संसारमा कसले कहाँ के गर्दै छ भनेर पत्ता लगाउने अमेरिकी गुप्तचरहरूले आफ्नै आँगनमा त्यत्रो विध्व‌ंशकारी हमला हुँदै छ भन्नेचाहिँ चाल पाउन सकेनन्। जुन घटनाले अमेरिकाको अहमताको धरहरा ढालिदिएको थियो। त्यसको प्रतिशोध साँध्न अमेरिकाले आफ्नो नेतृत्वमा आतंकवादविरुद्ध विश्वव्यापी युद्ध छेड्यो। जसको निशानामा अफगानिस्तान,  इराक, सिरियालगायत देश परे।

प्रतिकूल परिस्थितिका बाबजुद सेप्टेम्बर पहिलो सातातिर सेन्ट्रलको गार्डेन रोडस्थित अमेरिकी महावाणिज्यदूतावास पुगेँ। धेरैले भिसाको आवेदन दिएका रहेछन्। आवेदन दिएको ३/४ दिनमै पासपोर्ट कोठामै पठाइदियो। खोलेर हेर्दा सेप्टेम्बर १३ देखि लागू हुने गरी ५ वर्षे मल्टिपल भिसा दिएको रहेछ। क्लबका अन्य खेलाडीहरू हेम गुरुङ र पूर्ण लोक्समले पनि भिसा पाएछन्। 

भिसा लागेपछि प्रतियोगिता तयारीका लागि थप प्रशिक्षण तीव्र गतिमा अघि बढ्यो। प्रतियोगिता २००६ अक्टोबर ६ र ७ मा हुनेवाला थियो। अमेरिका घुम्नु र प्रतियोगितामा सहभागी हुनु पाउनुको अवसरलाई भरपूर उपयोग गर्ने विचार आयो।

अक्टोबर ४ को बिहान हामी अमेरिका उड्ने दिन थियो। उड्नुअघि प्रमुख प्रशिक्षक हरि गुरुङले हामीलाई शुभकामना दिँदै बिदाइ गरे। अमेरिका प्रस्थान गर्ने दिन हामी झिसमिसेमै हङकङस्थित जोर्डनको सांघाई स्ट्रिटमा भेला भयौँ। म,  हेम र पूर्ण। लामै यात्रा भएकाले ह्यान्ड क्यारीहरू पनि थिए। त्यसैले पाकिस्तानीको भ्यान भाडामा अर्डर गर्‍यौँ। 

साथमा मास्टर गणेश गुरुङ पनि थिए। उनका सामान टन्नै थिए।

‘केही दिनको यात्राका लागि किन यति धेरै सामान गुरु!’ हामीले जिज्ञासा राख्यौँ।

उनी त प्रतियोगितामा भाग लिने बहानामा उतै बस्ने योजनामा पो रहेछन्!

पाकिस्तानी ड्राइभरसहित हामी पाँच जना चेप लापकोस्थित अन्तर्राष्ट्रिय विमानास्थलतर्फ हुइँकियौँ। जोर्डनबाट चेप लापको करिब ३५ किलोमिटर छिचोल्न करिब आधा घण्टा लाग्छ।

हामी चिङ् यी टनेल छिचोलेर चिङमा पुल पुग्यौँ। यो पुल ले चिङ् यी र मा वान दुई टापुसम्म लमतन्न तन्किएको छ। ४१ मिटर चौडा र १३७७ मिटर लामो यो पुलमा ६ लेनको खुला सडक छ। माथिबाट सवारीसाधन गुड्छन् भने मुनि रेल। 

सन् १९९७ मा निर्माण पूरा हुँदा यो विश्वकै दोस्रो लामो पुल थियो। जुन पुल निर्माणमा नेपालीहरूको पनि महत्त्वपूर्ण योगदान परेको छ। २०६ मिटर अग्लो पुल बनाउँदा कति सपना त्यही समुद्रमा डुबेर लापत्ता भए होलान्। कामको सिलसिलामा पुलबाट खस्दा कतिलाई त्यो राक्षस समुद्रले निल्यो होला! कति नेपाली अंगभ‌ंग भए होलान्। अनि जीवनदेखि हरेस खाएका कतिले यो पुलबाट हामफाल्न खोजे होलान्!

यस्तो पुल महाकाली नदीमा बनाउन सके तुइनबाट कोही खस्न पर्दैनथ्यो होला। गाडीको रफ्तारसँगै मनको सडकमा यस्तै कुरा हुइँकिरहेको थियो। म झ्याल बाहिर मा वान टापु नियालिरहेको थिएँ। छेवैमा बसिरहेका भारतीय सेनामा समेत काम गरेका भूपू सैनिक गणेश गुरु एक्कासि हिन्दी भाषा गर्जिए, ‘साला...क्या कर रहा हे ऐसा!’

चल्तीको हिन्दी गाली शब्दसमेत उनले उच्चारण गरेपछि ‘के भो गुरु’ भन्दै एकै स्वरमा सोध्यौँ।

उनले हिन्दीमै भने, ‘देखो न, साला! यो तो गाडी नहीँ चला रहा हे, यो तो सो रहा हे।’ त्यसपछि त सबैको सातोपुत्लो गयो।

निदाइगयो भने त गाडी अनियन्त्रित भएर सयौँ मिटर गहिराइमा डुबेर टाइटानिक फिल्मको काइदा होला। तब सबै जनाले एक स्वरमा भन्यौँ, ‘भाइ जान! हम लोग तो अभि भी जवान हे, इतना जल्दी उपर नहीँ जाएगे, होसियार के साथ चलाओ।’

उनी गाडी चलाइरहेका बेला किन झुले, त्यसको कारण अनेक हुन सक्ला, त्यो गहिराइमा जाने फुर्सद हामीलाई थिएन। हामीलाई त जति सक्दो चाँडो एयरपोर्ट पुग्नु  थियो।

हामी तुन चुङ कटेर एयरपोर्ट छिर्‍यौँ। समुद्र पुरेर बनाइएको साढे १२ वर्गर्गकिलोमिटरमा फैलिएको उक्त एयरपोर्ट विश्वकै उत्कृष्ट विमानास्थलमध्ये एक हो। सडकका दायाँबायाँ ढकमक्क फूलहरू फुलिरहेको थियो। हो, त्यति नै खेर नेपालमा दसैँ-तिहार आएको थियो। ती फूलले मलाई नेपाल सम्झाइरहेका थिए। 

सम्झनाको तरेलीमा आँगनको डिलभरि सयापत्री, मखमली फुलिरहेको झझल्को आइरह्यो। मनमनै सोचेँ- म नेपाल जानुपर्नेमा अमेरिकातर्फ किन उडिरहेको छु? हावाझैँ किन उल्टो वहिरहेका छु? मलाई किन किन सुन्दर चिज, सुन्दर ठाउँ, विकासका उत्कृष्ट नमुना देख्दा नेपालको यादले निकै सताउँछ?

यी चिज नेपालमै भइदिए हुन्थ्यो जस्तो लाग्छ। हामी निर्धारित समयमै चेक इन गर्‍यौँ। बिहान ८ बजे युनाइटेड एअरलाइन्सको एयरबसभित्र प्रवेश गर्‍यौँ। जहाज निर्धारित समयमै स्टार्ट भयो। जहाज हामीलाई बोकेर आकाशतर्फ हानियो।

हामी टोक्योको नारिता एयरपोर्टमा ट्रान्जिट गर्नु थियो। साढे ४ घण्टाको उडानपछि दिउँसो १२:३० बजे हामी जापानको राजधानी टोक्यो अवतरण गर्‍यौँ। त्यहाँ केही घण्टाको ट्रान्जिटमा थियौँ।

भौतिक संरचनाहरू टोक्यो र हङकङमा खासै फरक थिएनन्। तर त्यहाँका भन्सारका पुरुष कर्मचारी तथा प्रहरीको लवाइखवाइ अलि भिन्न देखियो। उनीहरू लामालामा केश पालेका जुल्फे देखिन्थे। तर हङकङका भने चटक्क केश काटेको स्मार्ट देखिन्थे। सायद जापानमा अलि ज्यादा नै स्वतन्त्रता भएर पो हो कि?

हामीले कफी पिउँदै समय कटायौँ। खासगरी गणेश गुरुले भारतीय सेनामा हुँदा उनले गरेको किस्सा सुन्दा समय कटेको पत्तै भएन। हामी वाइडबडीको जहाजमा अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलका लागि टोक्योबाट उड्यौँ।

जहाज ताकाहागी, हिरोसिमा हुँदै कुरोबे नदीमाथि पुग्यो। केही छिन हिताचितोने नदीमाथि छाया बनाएर जहाज झन्डै ११ घण्टा पूर्वी प्रशान्त महासागरमाथि उड्यो। 

हङकङ र पोर्टल्यान्डको समयमा १५ घण्टाको अन्तर छ। हामी अक्टोबर ४ तारिख बिहान पोर्टल्यान्ड अवतरण गर्‍यौँ। हङकङमा ३० डिग्री सेल्सियसको गर्मी भएकाले पातलो सर्ट मात्र लगाएका थियौँ। यहाँ त तापक्रम ९ डिग्री सेल्सियसको रहेछ। चिसोले थुरथुर पार्‍यो। हामी अध्यागमन काउन्टरमा लामबद्ध भयौँ।

हङकङ हुँदा कतिले ‘काउन्टरबाटै डिपोर्ट पनि गर्न सक्छ’ भनेका थिए। त्यसैले थोरै डर पनि थियो। किनकि ९/११ को घाउ आलै थियो। अध्यागमन काउन्टरमा कागजात देखायौँ। ती अधिकारीले अमेरिका आउनुको उद्देश्य सोधे। हामीले बतायौँ र आयोजकको निमन्त्रणा पत्र पनि देखायौँ। त्यसपछि त ती अध्यागमन अधिकारीले निकै इज्जतका साथ कुरा गर्न थाले। हामीलाई सफलताको शुभकामना समेत दिए। खासमा अमेरिकीहरू खेलाडीलाई उच्च सम्मान दिँदा रहेछन्।

हमी चेक आउट भएपछि बाहिर निस्कियौँ। ‘गुलाफहरूको सहर’को उपमा पाएको पोर्टल्यान्ड सहरमा पारिलो घाम लागिरहेको थियो। निलो क्यान्भासजस्तो देखिने आकासमा एक थुम्को पनि बादल थिएन। त्यसैले भएभरको घामको झुल्को त्यहीँ पोखिएको थियो। प्राय:जसो हङकङ-नेपालतिर तुवाँलो लागेर दृश्य धमिलो देखिन्छन्। तर यहाँ आँखाले भ्याउनेसम्म देखिन्थ्यो।

चारैतिर आँखा डुलाएँ, पर एक हिमाल हाँस्दै हामीलाई स्वागत गरिरहेको प्रतीत हुन्थ्यो। त्यो देखेर मलाई त बिहानै उठ्दा मेरो गाउँबाट देखिने मकालु हिमालजस्तै लाग्यो। ज्वालामुखी विस्फोटन भएर बनेको ३४२९ मिटर अग्लो त्यो हिमालको नाम ‘माउन्ट हुड’ रहेछ। आयोजक साथीहरू हामीलाई रिसिभ गर्न पिकअप प्वइन्टमा प्रतीक्षा गरिरहेका रहेछन्।

नेपाल लेखिएको नम्बर प्लेट देखिएपछि हामीलाई पिकअप गर्ने कार त्यही यो भन्ने कुरामा दुविधा रहेन। तर त्यो समयमा प्राइभेट कार प्लेट नै नेपाल राखेको देख्दा विदेशमा बस्ने नेपालीहरूमा जन्मभूमिप्रति अगाध माया रहेको कुरा सहजै अनुमान गर्न सकिन्थ्यो।

हामी ओरेगन राज्यको पोर्टल्यान्ड सहरस्थित ओरेगन कन्भेन्सन सेन्टरमा सप्पन्न हुन लागेको पाँचौँ अन्तर्राष्ट्रिय मैन्त्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप तथा अन्तर्राष्ट्रिय सांस्कृतिक पर्वमा भाग लिन त्यहाँ पुगेका थियौँ। हामीलाई आयोजक मित्रहरूले स्यान्डी बोउलेभार्डस्थित यूएसडब्ल्यूसी तेक्वान्दो हलिउड सेन्टरमा लगे। 

खुला र चिल्ला सडक अनि दायाँबायाँ रंगीन रुखहरूले अमेरिकाको सुन्दरता प्रस्तुत गरिरहेका थिए। व्यवस्थित सहर, सडक, वातावरण, भौतिक संरचनाले अमेरिका किन नम्बर वान भयो भन्ने प्रमाण पेस गरिरहेका थिए। एयरपोर्टबाट त्यहाँ पुग्न करिब १० मिनट लाग्दो रहेछ। हामी त्यहाँ हुँदा बिहानको ११:३० बजेको थियो। त्यो तेक्वान्दो स्कुलका संस्थापक तथा प्रमुख प्रशिक्षक दिवाकर महर्जन ‘डान’सँग भेट गराइदिए। उहाँ नेपालको पूर्वराष्ट्रिय प्रशिक्षक, सातौँ डान ग्रान्ड मास्टर तथा फर्स्ट क्लास अन्तर्राष्ट्रिय रेफ्री समेत हुनुहुन्छ। साथै आयोजकको निर्देशक पनि उहाँ नै हुनुहुन्थ्यो। हामीलाई उहाँले न्यानो स्वागत तथा आतिथ्य प्रदान गर्नु भो। उहाँले हामीलाई त्यतैतिर वासका लागि चाँजोपाँजो मिलाउनु भएको रहेछ।

तर आयोजनाको चटारो, धेरैतिरबाट आएका आमन्त्रित पाहुना आदिका कारण हामीले आयोजकलाई दु:ख दिन चाहेनौँ। फेरि हङकङबाट आएका हामीसँग खल्तीमा केही पैसा त हुने नै भो। हामीले त्यहाँबाट करिब ५/६ किमिको दूरीमा रहेको पाइन स्ट्रिटमा रहेको एम्बेस्सी सुइट्स होटल डाउनटाउनमा बस्ने निधो गर्‍यौँ। 

फोर स्टारको त्यो होटलमा सबै किसिमका सुविधा थिए। प्रतियोगिता आउन अझै दुई दिन बाँकी थियो भने मुख्य प्रतिस्पर्धा तीन दिनपछि थियो। हामीले थोरै समयमा सकेसम्म धेरै आनन्द उठाउनु थियो। खेलको तयारी पनि गर्नु थियो। हामीलाई घुमाउन आयोजक मित्रले पूर्ण व्यवस्था गरिदिएका थिए। हामीले आराम गरेनौँ।

हामी ४ तारिख दिउँसो १:३० बजेतिर ऐतिहासिक स्थल रक्की ब्युट पुग्यौँ। त्यहाँबाट पोर्टल्यान्ड सहरको वैभव, कोलम्बिया नदीको चाल र माउन्ट हुडको अटलता मज्जैले हेर्‍यौँ। नदी र हिमालको देशबाट आएको मेरा लागि यी दृश्य नौलो त थिएन, तर पनि म अरुण नदी र कोलम्बिया नदी, मकालु हिमाल र हुड हिमालबीचको तात्विक भिन्नता केलाइरहेको थिएँ। त्यो निकै सुन्दर थियो। त्यहाँबाट केही छिन दृश्यावलोकन गर्‍यौँ।

हामी सबैको पहिलो अमेरिका भ्रमण थियो। त्यो बेला अहिलेजस्तो सोसल मिडिया पनि थिएनन्। फेसबुक, गुगल, युट्युब थिएनन्। कहाँ जाने, के गर्ने, कुनै आइडिया थिएन। आयोजकले नै सम्पूर्ण कुरा मिलाइदिएको थियो। त्यसपछि हामी मल्टनोमाह झरनातर्फ लाग्यौँ। रक्की ब्युटबाट करिब आधा घण्टा ड्राइभ गरेपछि उक्त ठाउँमा पुगिने रहेछ।

हामी त्यहाँ साँझ ५:३० बजेतिर पुग्यौँ। मल्टनोमाह क्रिक खोला र कोलम्बिया रिभर गोर्जको बीचमा पर्ने उक्त झरना दुई तह भई खस्दो रहेछ। कूल १८९ मिटर उचाइँको उक्त झरना त्यहाँको प्रमुख पर्यटकीय स्थल रहेछ, जहाँ वार्षिक २० लाख पर्यटक आउँदा रहेछन्। मैले मनमनै सोचेँ- हाम्रो देशमा त ५०० मिटर अग्लो नरच्याङ झरना छ, ४८१ मिटर अग्लो पचाल झरना छ। त्यसलाई प्रचारप्रसार गरे त नेपालले धेरै पर्यटक  भित्र्याउने थियो होला! तर यो त मेरो मनको कुरा भो, नीति-निर्माताहरूले यसतर्फ ध्यान दिए केही न केही त अवश्य हुने थियो।

हामी साँझ वासस्थान फर्कियौँ। साथीहरू हामीलाई लिन बिहानै होटलमै आइपुग्थे।

दोस्रो दिन बिहान १० बजेतिर पिकअप गर्न साथी आइपुगे। त्यो दिन रोज गार्डेनलगायत तेक्वान्दो सेन्टर गयौँ। आयोजक मित्रहरूसँग भलाकुसारी गर्‍यौँ, वार्म अप प्राक्टिस गर्‍यौँ। अनि लन्च गरेर रोज गार्डेन जाने भयौँ। हामीसँगै एक जना भाषाविद् पनि थिए, मैले नामचाहिँ बिर्से‌ं। १८ वर्ष बितिसकेछ, कसरी याद हुनु? उक्त गार्डेनमा ६१० प्रजातिका झन्डै १० हजार गुलाफ रहेछन्। गुलाफहरूको सहरको उपमा त्यसै दिइएको होइन रहेछ।

भनिन्छ- एक पागल प्रेमीले हरेक दृश्यमा आफ्नी प्रेमिका देख्छ रे! चाहे त्यो चुरोटको धुवाँमा होस् वा चियाको वाफमा। चाहे त्यो रक्सीको गिलासमा होस् वा दूधको।

ठीक त्यसैगरी म हरेक सुन्दर चिज र ठाउँमा नेपाल देख्ने गर्छु। रोज गार्डेन घुमिरहँदा त्रिभुवन पार्कमा फुलेको गुलाफको याद आइरहेको थियो। त्यो दिन हामीले नर्डस्ट्रोम सपिङ मल, प्रोभिडेन्स पार्क रंगशालालगायत स्थान घुम्यौँ।

तेस्रो दिन प्रतियोगिताको पहिलो दिन थियो। हामी ओरेगन कन्भेसन सेन्टर तर्फ लाग्यौँ। त्यो दिन नाम दर्ता गर्ने, तौल लिनेलगायतका प्रक्रिया पूरा गरियो। हामीले स्पारिङ (फाइटिङ) र पुम्से (काता) दुवैतर्फ नाम दर्ता गरायौँ। अनि भोलिको तयारीका लागि समयमै होटल फर्क्यौँ।

चौथो दिन अर्थात् प्रतियोगिताको मुख्य दिन बिहानै प्रतियोगिता हल छिर्‍यौँ। प्रतियोगितामा दर्जनभन्दा बढी राष्ट्रका सयौँ प्रतियोगी सहभागी थिए। निर्धारित समयमै प्रतियोगिता सम्पन्न भो। मेरो पर्सनल कोचका रूपमा मोहन वाइबाले सहयोग गर्नु भएको थियो। मेहनतको फल मीठो हुन्छ भनेझैँ दुवै विधामा एक स्वर्ण र एक कास्य पदक हात पर्‍यो। त्यो मेरो जीवनको एक सुखद पल थियो। भोकाएको बच्चाले आमाको स्तनपान गर्दा जति खुसी र सन्तुष्टि महसुस गर्छ, मलाई पदक जित्दा त्यही अनुभव भएको थियो।

त्यो खुसी फोनमार्फत आफन्त, साथीभाइसँग साटियो। कान्तिपुरमा समाचार छापिएछ। बधाई आउन थाले। कान्तिपुरका दिनेशजंग शाह पनि प्रतियोगिता कभरेजका लागि पुगेका थिए। सायद उनैले रिपोर्टिङ गरे होलान्। प्रतियोगिताको दिन नेपालमा नाम चलेका भएभरका तेक्वान्दो खेलाडीहरूको उपस्थिति देखियो। तिनीहरू प्राय:जसो सबैले ग्रिन कार्ड लिइसकेका थिए भने कति लिने प्रक्रियामा थिए।

मैले सोचेँ- देशका प्रतिभा यसरी पलायन भएपछि देश कसरी चल्छ? हुन त म आफैँ पलायन भएको व्यक्तिले यसरी प्रश्न गर्न जायज थियो वा थिएन? तर पनि बालकृष्ण समले भनेझैँ ‘देश भक्ति त मर्दैन, चुत्थै देश भए पनि’ भन्ने भावनाचाहिँ जिउँदै थियो र छ।

अमेरिकाले तीन किसिमका नेपालीलाई सजिलै ग्रिन कार्ड दिँदो रहेछ। खेलाडी, कलाकार र पेसावाल। उनीहरूलाई निकै इज्जतका साथ हेरिँदो रहेछ, जसले गर्दा सजिलै ग्रिन कार्ड प्राप्त गर्दा रहेछन्। यही आधारमा धेरै नेपाली खेलाडी, सिने कलाकार, गायक, गायिका, प्राध्यापक, डाक्टर, इन्जिनियरहरू उतै घरजम गरेर बस्दा रहेछन्।

ओलम्पियन सीता राईसँग लेखक।

पदक हात परेको दिन यसै पनि खुसी थियो। खुसी सेलिब्रेट गर्नु पनि थियो। साँझ होटल आई डिनर गर्‍यौँ। अनि लाग्यौँ- त्यहाँको रातको रमझम हेर्न। होटलकै छेउछाउ बेग्रेल्ती पव बार थिए। लाइभ म्युजिक पनि रहेछ।

तर बाउन्सर महिला थिए। हङकङमा त बडेमा ज्यान भएका पुरुष बाउन्सर छन्। सायद समान अवसर भएकाले पो त्यसो भएको हो कि! जे होस् अमेरिकी कल्चर पनि देखियो।

चाइना टाउन पनि घुम्यौँ। यी चिनियाँहरू जहाँ पुगे पनि आफ्नो समुदायसँग बस्न रुचाउँदा रहेछन्। आफ्नो संस्कृति, परम्पराको जगेर्ना गर्दा रहेछन्। हामी नेपालीहरूको दिन प्रतिदिन परिचय लोप (आइडेन्टिटी क्राइसिस) भइरहेको परिप्रेक्ष्यमा चिनियाँहरूबाट धेरै कुरा सिक्नुपर्ने मैले बुझेँ।

हामी अबेर होटल फर्कियौँ। त्यसको भोलिपल्ट अर्थात् पाचौँ दिन अन्य स्थान घुम्न गयौँ। विशेष गरी सपिङ गर्न। विभिन्न सपिङ मल चहार्‍यौँ। तर सबै सामान मेड इन चाइना! हामी हङकङबाट आउनेलाई किन चाइना मेड चाहियो?

हामीले अमेरिकन मेड प्रोडक्ट देखाऊ भन्यौँ। त्यहाँ त अमेरिकामै बनेका त जिन्स र छालाको डिङ्गो बुटबाहेक केही नपाइने रहेछ। बाँकी सबै सामान चिनियाँ! 

तर चिनियाँ भए पनि उच्च ब्रान्ड र महँगा। मैले आफ्नै र साथीहरूका लागि भनेर लिभाइज ५०१ जिन्सको पाइन्ट र अन्य केही सामान लिएँ। हेमले डिङ्गो बुट किने। सपिङपछि हामी दिवाकर गुरुको निम्तो मान्न उहाँको क्लब र निजी निवास पुग्यौँ। अमेरिका निकै ठूलो र फराकिलो रहेछ। प्रशस्त खुला स्थान, कार पार्क, गार्डेन इत्यादि।

दिवाकर महर्जन ‘डान’

तात्कालिक समयमा उँहाको धर्मपत्नी अमेरिकन हुनुहुन्थ्यो, तथापि उहाँलाई पूरै नेवारी संस्कृतिमा ढालिसक्नु भएको रहेछ। त्यो देखेर हामी निकै अचम्मित भयौँ। गोराको देशमा बसेर पनि आफ्नो संस्कार-संस्कृति बचाउन सकिने रहेछ भन्ने ज्वलन्त उदाहरण थियो त्यो। त्यहाँ डिनर गरेपछि हामी क्लबमा आयौँ।

दसैँ पनि लागिसकेको थियो। हामीले अमेरिकामै चाडको खुसियाली मनायौँ। तेक्वान्दो सम्बद्ध धेरै व्यक्तिसँग भेट भो। हामीले समसामयिक विषय, अमेरिकामा नेपालीको अवस्था, चुनौती र अवसर, हङकङमा नेपालीको अवस्था आदि विषयमा गफ गर्‍यौँ। 

अधिकतरले अमेरिका सोचेजस्तो नभएको, धेरै चुनौती रहेको अनुभव सुनाए। हामीले पनि हङकङमा हाम्रो स्थिति, चुनौती र अवसरका कुरा सुनायौँ। भर्खरै त्यहाँ पुगेका कान्तिपुरका पत्रकार दिनेशजंग शाहले भने अमेरिकाको निकै गुनगान गरे। पछि थाहा भो- उनी त उतै भासिने मनस्थितिमा रहेछन्। त्यही भएर उनले अमेरिकाको डिफेन्ड गरेका रहेछन् भन्ने हामीलाई लाग्यो। सायद उनी अझै अमेरिकातिरै होलान्।

कुराकानीकै क्रममा केही साथीले क्लब चलाएर अमेरिकातिरै बसौँ भन्ने अफर गरे। तर परिवारवाला भएपछि अविवाहितजस्तो जतिबेला चाह्यो उतिबेला जहाँ मन लाग्यो त्यहीँ बसाइँ सरिहाल्न नमिल्ने! त्यसो त एक मन हङकङ गएर केही चाँजोपाजो मिलाएर अमेरिकै फर्कनुपर्ला जस्तो पनि नलागेको होइन। किनकि भिसाको म्याद अझै ५ वर्ष पूरै बाँकी थियो।

तर सोचेका सबै कुरा कहाँ पूरा हुन्छन् र! छैटौँ दिन। हङकङ फर्कने दिन। हामी होटलबाट चेक आउट भयौँ। र, दिवाकर गुरुलाई बिदा माग्न उहाँको क्लबतिर लाग्यौँ, त्यहाँबाट बिदा भएर पोर्टल्यान्ड अन्तर्राष्ट्रिय विमानास्थल पुग्यौँ। जब सुरक्षाकर्मीबाट सुरक्षा जाँच गराएपछि बिर्डिङ काउन्टरतर्फ लाग्यौँ, लगेज तौल गराैँ भनेको त आफ्नो त लगेज नै गायब!

लगेजसँगै पदक जितेको खुसी, अमेरिका घुम्न पाएको उमंग पनि एकाएक गायब भो। हातगोडा लल्यालुलुक भए। किनकि त्यही लगेजमा मैले जितेका पदक, सपिङ गरेको सामान थिए। एयरपोर्टमा त मिसिङ भएकै थिएन, कतै क्लबतिरै पो छाडियो कि भनेर झिनो आसाका साथ ट्याक्सी लिएर तत्काल क्लब फर्क्यौँ। दिवाकर गुरुलाई सोध्यौँ। त्यहाँका स्टाफसँग पनि बुझ्यौँ। तर त्यहाँ पनि मेरो लगेज रहेनछ। 

अब अन्तिम आशाको त्यान्द्रो होटलमै पो छाडियो कि? वा होटल बाहिर पिकअप प्वाइन्टमै बिर्सिंदा कसैले टिपेर त लगेन? मन बेचैन भयो।  अब एकपटक होटलमै गएर सोधौँ भन्ने भयो। यता र उता गर्दा उडान छुट्ने हो कि भन्ने अर्को पिरलो। हतार-हतार होटल पुग्यौँ र रिसेप्सनमा सोध्यौँ। यस विषयमा केही थाहा नभएको जवाफ पायाैँ। 

अब भने के गर्ने, के नगर्ने बिलखबन्दमा परेँ। रिसेप्सनिस्टले कतै ड्युटी चेन्ज हुँदा अर्कैले कतै राखिदिएको छ कि एकपटक बुझिदिन्छु भनिन्। नभन्दै एक स्टाफले लस्ट एन्ड फाउन्डमा राखिदिएका रहेछन्। खासमा ट्याक्सी चढ्दा मैले बिर्सिएर हिँडेछु।

आफ्नो लगेज फेला परेपछि मेरो खुसी फर्कियो। जसरी अपरेसन थिएटरमा बिरामी होसमा फर्किन्छ। हामी तुफान एयरपोर्ट हानियौँ। त्यहाँ पुग्दा काउन्टरमा अन्तिम कल गरिरहेको रहेछ।

‘वि आर एबाउट टु क्लोज’, त्यहाँकी महिला स्टाफ बोलिन्। 

हामी हस्याङफस्याङ गर्दै बोर्डिङ पास लिएर भित्र छिर्‍यौँ। भर्खरै सपनामा ऐँठन भएर बिउँझिएझैँ भइरहेको थियो मेरो हालत। 

आज १८ वर्ष बितिसकेछ। भित्तामा झुन्डिएको त्यो मेडल देख्नेबित्तिकै मलाई त्यही घटना आलो बनेर आइदिन्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .