hongkong


चीनमा त्यो जोडी देखेपछि ...


कमल पौड्याल
हङकङ, फागुन ७

सांकेतिक तस्बिर

‘मैले मेरा चिनियाँ मित्रलाई रेष्टुरेन्टको सँगैको टेबलतर्फ इशारा गर्दै सोधें– चीनमा अनमेल विवाहविरुद्ध कानुन छैन? खिसिक्क हाँस्दै उनले भने– श्रीमती नै होइनन् होली, सेक्रेटरी होलिन्। यहाँ धेरै यस्तो चलन छ।’

नेपाली भनाइ नै छ- पाहुना लाग्न जाँदा खाना मीठो र ओछ्यान फेरिएपछि निद्रा कम लाग्छ। बीसतले होटलको सत्रौं तलाको कोठाको झ्याल खोलें। बिहानीको चिसो सिरेटोले जाडो महसुस भइरहेछ। आकाशभरि फैलिएको प्रदूषणको बादल मैलो सिरकझैं बनेर पूरै जङ्सान सहरलाई ढाकिरहेछ।

बेलाबेला मलिनो मुहार लाएर सूर्यले चिहाए पनि नीलो आकाशको नामोनिसान छैन। सहरको बीचमा प्रदूषणको चपेटाले थला पर्न थालेको विशाल ‘पर्ल’ नदी बिनाआवाज गम्भीर मुद्रामा बगिरहेछ। माछा मार्ने डुंगा र ठूलठूला मालवाहक पानीजहाज त्याे नदी कुल्चँदै बाटो नापिरहेछन्।

दसलेन चौडा सडकमा गुडिरहेका गाडी, अग्ला-अग्ला बिजुलीका खम्बा, फराकिला सडकपेटी, गगनचुम्बी भवन र विशाल भूभागमा फैलिएका कलकारखानाहरूले एक्काइसौं शताब्दीको चीन प्रविधि-विकासको परिचय दिइरहेछन्।

वातावरणीय सरोकारभन्दा विश्वकै नम्बर १ अर्थतन्त्र बन्न सक्नु बढी महत्वको विषय हुन सक्छ, चीनलाई। जे होस्, हेर्दाहेर्दै छोटो समयमा प्रविधि, आर्थिक र सामरिक दृष्टिकोणले चीनको उन्नति अकल्पनीय देखिन्छ।

यस्तै कुरा मनमा खेलाउँदै तयार भएर लबीमा ओर्लिएँ। रातको खाना खाइवरी मलाई होटलमा छाडेर बिहान ८ बजे सोही होटलको रेस्टुरेन्टमा याम्छा (बिहानको चिया नास्ता) का लागि भेट्ने प्रतिबद्धता गर्दै बिदा भएका जोसेफ चाङ अझै आइपुगेका छैनन्।

टुटेफुटेको चिनियाँ भाषामा हामी दुई जना छौं भन्दै झ्यालछेउको टेबल मागें। अर्डरबमोजिम पुलेछा (एक प्रकारको चाइनिज चिया) पिउँदै गर्दा झ्यालबाहिरको यौटा दृश्यले मेरो ध्यान खिच्यो।

दुई मरन्च्याँसे बालक- यौटा अन्दाजी १० वर्षजतिको र अर्को ऊभन्दा केही कम उमेरकाे सानो जादु देखाउँदै बटुवाहरूसँग पैसा मागिरहेका छन्।

पुरानो, मैलो जिन्स प्यान्ट, च्यातिनै लागेका जुत्ता र नांगो ज्यान लिएर ठूलो केटो ५/६ वटा फलामे रिङको माखेसाङ्लो बनाउँदै छ। र, त्यसलाई टाउकोबाट छिराएर कम्मरबाट जस्ताको तस्तै निकाल्छ! अनि कहिले आकाशतिर फालेर सबैलाई पालैपालो समाउन भ्याउँछ।

सानो केटो उसलाई बेलाबेला मद्दत गर्दै सानो दानपेटिका (टिनकाे भाँडाे) बटुवाका अगाडि तेर्स्याउँछ। ती दुई बालक केहीबेर यताउता हेर्छन् र विश्राम लिन्छन्, सुस्ताउँछन् अनि फेरि आफ्ना क्रियाकलाप दोहोर्‍याउँछन्। लामो समयसम्म पनि एकाध बटुवा मात्र उसको ट्वाङ्ग्रोमा टिङरिङ्ग बज्नेगरी फुटकर सिक्का फालेर बाटो लाग्छन्।

आफ्नो मिहिनेतअनुसार आम्दानी हुन नसकेकामा ती निराश छन् भन्ने कुरा तिनको अनुहारले देखाइरहेछ। हामी बसेकाे रेस्टुरेन्ट ग्राहकले बिस्तारै भरिँदै छ।

यत्तिकैमा यौटा विलासी अउडी कार रेस्टुरेन्ट परिसरमा आएर घ्याच्च रोकियो। ड्राइभरले हत्तपत्त ढोका खोलिदियो। अनि ६ दशक उमेर काटेका जस्ता देखिने पुरुष र नातिनी उमेरकी स्त्री कारबाट निस्किए।

माग्ने केटाहरूले आशे अनुहार लाएर हत्तपत्त तिनका अगाडि ट्वाङग्रो तेर्स्याए। तर त्यो अनमेल जोडी नदेखेझैं गरी अगाडि बढ्याे। रेस्टुरेन्टका म्यानेजर आफैं गएर तिनलाई अभिवादन टक्र्याए र ढोका खोलेर स्वागत गरे।

अनि झ्यालछेउकै अर्को टेबलमा बसाएर अर्डर लिए। हङकङका अभिनेता एन्डी लाउजस्ता देखिने लक्का जवान वेटरले टेबुलको रुमाल खोलेर केटीलाई लगाइदिए।

केटीले मुसुक्क हाँस्दै सिसेनी (धन्यवाद) भन्दै हातका औंला टेबलमा दाेब्र्‍याएर (सांकेतिक धन्यवाद दिने चिनियाँ तरिका) केही बोलेजस्तो लाग्यो। वेटरले ती पुरुषलाई पनि रुमाल लाइदिन खोज्दै गर्दा आफैंले थुतेर गुजुमुज्ज पारी टेबुलको दायाँपट्टि राख्दै पिर्लिक्क हेरे।

युवतीले असजिलो मानेजस्तो गरिन्। सायद यी युवक (वेटर) आफ्नो टेबलमा आएकाे यी वृद्ध पुरुषलाई मन परेन। तिघ्राको माथिल्लो भागसम्म चिरिएको कस्सिएको मिडी लगाएका परिचारिकाहरूले यो टेबलमा विशेष सेवा गरेको देख्दा यो जोडी यो रेस्टुरेन्टका नियमित र धनाढ्य ग्राहक हुनुपर्छ। 

अगाडिका सबै कपाल झरेकाले पछाडिको कपाल ल्याएर आधा तालु छाेप्न भ्याएका यी पुरूष महँगो घडी र लवाइले केही हदसम्म उमेरभन्दा कम देखिन सफल भएका छन्। यिनी खान/पिउनभन्दा ठूलठूलो स्वरले फोनमा कुरा गर्न व्यस्त छन्।

चामलको पिठोजत्तिकै सेतो (गोरी), लामो, कालो सिल्की कपाल र भारतीय अभिनेत्री प्रिती जिन्टाको जस्तो गालामा डिम्पल भएकी यिनकी युवतीचाहिँ उनीसँग टाँसिएर यताउता आँखा घुमाउँदै मोबाइल खेलाउन व्यस्त छिन्। ती वृद्ध पुरुषसँग उनकाे बसाइ र टँसाइ वास्तविकभन्दा बढी कृत्रिम लाग्छ। 

उनीहरूकाे ड्राइभर कारको डिक्कीबाट केही कपडा स्प्रे निकालेर अलि पर रुखमुन्तिर चुरोटको धुवाँ आकाशतिर उडाउँदै छन्।

यसैबीच जोसेफ चाङ ढिला भएकामा माफी माग्दै आइपुगे र सोधे- के खाने ?

मैले भनें, ‘सर्प र भ्यागुताबाहेक अरू जे भए पनि हुन्छ।’

उनी सिसाकलमले मेनुमा चिह्न लगाउन थाले।

मैले मेरा मित्रलाई सँगैको टेबलतर्फ इशारा गर्दै सोधें, ‘चीनमा अनमेल विवाहविरुद्ध कानुन छैन?’

खिसिक्क हाँस्दै उनले भने, ‘श्रीमती नै होइनन् होली, सेक्रेटरी होलिन्। यहाँ धेरै यस्तो चलन छ।’

पूरै टेबल, परिकारले भरिएको छ। बचेको सबै खाना प्याक गरेको झोला रेस्टुरेन्टको वेटरले ड्राइभरको हातमा थमाइदियो। ड्राइभरले त्यो खाना गाडीको डिक्कीमा राख्यो। सायद मालिकलाई गन्तव्यमा पुर्‍याएर मात्र उसले हातमुख जोड्ने होला।

उनीहरू बिस्तारै निस्किन लाग्दा मेनेजरदेखि उपलब्ध स्टाफसम्म ढोकामा निहुरिएर उभिए। लक्का जवान वेटरचाहिँ काममा नगई अलि परैबाट हेरिरहेछ। वृद्धको हात समातेकी ती युवतीले यस्सो हेरिन्, ती वेटरलाई।

त्यसबेला मलाई ओशोको प्रवचनको यौटा अंश याद आयो- सादी करके निकलरहा था चर्च से बिबीका हात पक्डाथा सामने से, बहुत ही खुबसुरत नौजवान युवती गुजररहिथी, खो गया उसके अन्दर दो सेकेन्डके लिए।

सायद ती युवतीले सोचिरहेकी हाेलिन्- यो बूढोजत्तिकै पैसावाला त्यो केटो भइदिएको भए र उसको हात समातेर हिँड्न पाएको भए!

माग्ने ती केटाले फेरि ट्वाङग्रो र रिङ देखाउँदै उनीहरूलाई गाडीको ढोकासम्मै पछ्याए तर ड्राइभरको खप्कीले अमिलो मुख लगाउँदै फर्किए।

गाडी हुइँकियो।

हामी पनि बाहिर निस्कियौं। मैले १०/१० का दुइटा आरएमबी उनीहरूको ट्वाङग्रोमा हालिदिएँ। त्यसपछि ती हँसिलो मुख लगाउँदै फलामका रिङ एकत्रित गर्न थाले र हाउभाउमार्फत मलाई हेर्न अनुरोध गरे। जोसेफ चाङलेले भित्रैबाट हेरेको भनेर बुझाइदिए।

ठूलो निधार चिउँडोमा ठूलो कोठी भएका माओत्सेतुङको चित्रअंकित ती नोट ठूलो केटोले प्यान्टको गोजीमा घुसार्दै गर्दा सानो केटो मलाई एकटकले हेरिरहेछ।

दुवैको अनुहार हँसिलो देखियो। मैले बाइबाईभन्दा निहुरेर अभिवादन गरे, ती दुवैले। मेरी छोरीको उमेर लाग्ने सानो केटोको गाला सुमसुम्याउँदै गर्दा आँखा जुधे, म अलिक भावुक भएँ।

हङकङ ल्याउने केही सामानसहित लिएर गाडी आइपुग्यो। बाँकी सामान कार्गोबाट एक/दुई दिनमा आइपुग्ने बताउँदै जोसेफले ड्राइभरलाई ह्वाङकान बोर्डरसम्मका कुरा बुझाइदिए। उनलाई धन्यवाद दिँदै म बिदा भएँ।

जताततै फैलिएका १० लेनका सडकबीच र दायाँबायाँ बाक्लै एकनासे हरिया रुखहरू, नागबेली परेका ओभरहेड ब्रिज, पहाडमुनिका सुरुङमार्ग हुँदै जङसान सहरबाट सेन्जान जाने बाटोतिर गाडी द्रुत गतिमा अगाडि बढिरहेछ।

सबै हरिया पहाडका टुप्पा दूरसञ्चारका विशाल उपकरणले भरिएका छन्।

ठाउँठाउँमा ठूलठूला हार्डिङबोर्डमा चिनियाँ झन्डा बोकेको जनमुक्ति सेनाको टुकडीमाथि हरियो तारे क्याप टोपी लगाएको देङ सियाओ पिङको फोटो टल्किरहेछ।

नब्बेको दशकदेखि अहिलेसम्मको विकासमा चीनले कायापलट गरेको साक्षी म आफैं हुँ। अंग्रेजी बोल्दा मुख छोपेर तर्कने चिनियाँहरू अहिले आत्मविश्वासका साथ कुरा गर्छन्। माओको देश र उनकै आदर्श मान्दै दुईतिहाइ मतबाट सत्तामा पुगेकाहरूबाट चलाइएको मेरो देशको विकास र प्रगतिबीच आकाश-जमिनको अन्तर छ।

नेपालको त कुरै छाडौं। देङ सियाओ पेङ्कै खुला अर्थ-नीति र विशेष आर्थिक-क्षेत्रमा परेको सेन्जेनको विकास र समृद्धिले पछिल्लो ३ दशकमा ब्रिटिसहरूले १५० वर्ष शासन गरेको हङकङलाई उछिन्दै छ।

मूलतः चिनियाँ नेताहरूमा सत्तालिप्सा वा सत्तामोह छैन। बडो सुमधुर वातावरणमा सरकार हस्तान्तरण गर्छन्। म हङकङ आएपछि मात्रै जियाङ जामिन, हु जिन्ताओ हुँदै सी चिनफिङसम्मको ३ पुस्ता देखिँदै छ। पूर्वराष्ट्रप्रमुख तथा प्रधानमन्त्रीहरू राष्ट्रिय दिवसमा बाहेक अन्त कतै देखिँदैनन्।

भनिन्छ- उनीहरूको यौटा विशेष समूहले राज्य सञ्चालनमा सरकारलाई गोप्य रूपमा सल्लाह/सुझाव दिन्छ। यहाँका हरेक नेताले आफ्नो मूलमन्त्र राष्ट्रहितलाई बनाएका छन्।

अझ अहिले त भ्रष्टाचारमा संलग्न जो कोही होस्, शून्य सहनशीलता अपनाउने राष्ट्रपति सीको अभियान पूरै देशमा फैलिएको छ। हुन त कतिपयले राष्ट्रपतिले आफ्ना विरोधीलाई तह लगाउन यस्तो नीति लिएको भन्ने आरोप पनि लगाउने गरेका छन्।

तर उनैका पार्टी र सरकारका उच्च ओहोदाधारीरू समेत भ्रष्टाचार काण्डमा आजीवन कारावासदेखि मृत्युदण्डसम्मको सजाय भोगिरहेको दृश्य विदेशी टेलिभिजनले देखाइरहेका छन्। तर तिनै माओ-दर्शनको टालो बोकेर गणतन्त्रको यात्रामा अगाडि बढिरहेको हाम्रो देश नेपालमा भने राजतन्त्रकै झल्को देखिन्छ।

करिब ३ दशकदेखि निश्चित व्यक्तिहरूकै वरिपरि नेपाली सत्ता घुमिरहेको देखिन्छ। मृत्युपर्यन्त पार्टी र सरकारको नेतृत्वमा रहिरहने महत्वाकांक्षा हाम्रा राजनेताहरूमा छ। एकपछि अर्को भयंकर भ्रष्टाचार काण्ड ठूलो हल्लाखल्लाका साथ बाहिर ल्याइन्छ तर बिस्तारै ती त्यसै सामसुम पारिन्छ।

यस मामिलामा सत्तापक्ष र प्रतिपक्ष यौटै कित्तामा उभिएको देखिन्छ। जहाँ जे राम्रो देखे पनि मेरो देशमा कहिले यस्तो होला भन्ने सोचाइ आउँछ। यस्तै कुरा खेलाउँदै गर्दा बोर्डर आइपुगिएछ। ड्राइभरलाई केही टिप्स र धन्यवाद दिँदै म हङकङतर्फ लागें।

तीन सय किलोमिटर प्रतिघन्टा रफ्तारमा ट्रेन हङकङको हुङहाम स्टेसनतर्फ हुइँकिरहेछ।

हङकङको लाइन समात्नेबित्तिकै सानी छोरीको फोन आयो- ‘तिमी कहाँ छौ? अझै चाइनामै हो?’

‘हैन अब आउँदै छु, बाटोमा हो।’

‘मलाई क्यै-क्यै सरप्राइज ल्याएका त छौ नि?’

‘छ नि के-के ल्याएको बाबालाई!’

‘अनि ममीलाई नि, के-के छ भन त मलाई?’

‘घर आएपछि मात्र सरप्राइज ल बाबालाई।’

‘नजिकै आएपछि मलाई फोन गर ल, म लबीमा आउँछु तिमीलाई लिन।’

‘ओके बाई।’

उसले फोन राखी। मेरा आखाँमा भने फलामको रिङ बोकेका ती दुइटा बालक घुम्न थाले।

 

फागुन ७, २०७६, बुधबार

कमल पौड्याल हङकङका व्यवसायी र लेखक हुन्
लेखकबाट थप

Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors