hongkong


प्रेम दिवसमा हङकङ आइरहने सोल्टिनीको सम्झना


जुनु राना
हङकङ , फागुन २

जुनु राना

‘लाहुरे कि नातिनी। निकै नै पुल्पुलिएर हुर्केकी थिइन मनु। गहुँगोरो वर्ण। सलक्क परेको मिलेको शरीर। लामो कपाल। बिन्दास बानी। हङकङ जानेआउने गरिरहन्थिन।’

माघे झरी। असार साउनमा जस्तो आकाश गर्जिंदै पानी पो पर्दैछ। आकाशे पानी रेलिङमा ठोक्किएर निस्केको सुक्ष्म आवाजले बलेनीमा झरीको पानी भर्न राखेको गाग्री बजेको झझल्को दिलायो। पिँढीको डिलमा बसेर बलेनीको पानी छुने निश्चल याद ताजा भएर आए।

यी सब समय–समयका कुरा न हुन्। अहिले त जताततै रोगको संन्त्रास छ। यो भाइरसले निम्त्याएको डरको अन्तिम उचाइ कहाँ र कहिले सकिन्छ, निश्चित छैन। चिनियाँ नयाँ बर्षको पूर्वसन्ध्याको अवसर पारेर सुरु भएको चिसोसँगै अस्वाभाविक रुपमा परेको झरीले चिसो लम्बिने र भाइरसको संन्त्रास अझ बढ्ने सम्भावना छ।

सम्मुखमा ‘प्रेमदिवस’ छ। १४ फेब्रुअरी। प्रेम गर्नेहरूको होलिडे जस्तो। मजदुरको मजदुर दिवस। महिलाहरुको नारी दिवस। हामी नेपालीले देशका निम्ति बलिदान दिएका सहिदको स्मृति दिवस मनाए जस्तै पश्चिमाहरुले सुरु गरेको प्रेम दिवस हो ‘भ्यालेन्टाइन डे’।

आफुले मन पराउने जोकोहीलाई रातो गुलाब दिँदैमा प्रेमस्तम्भ उभिएला त? प्रेम राम्रो अनुहार र हैसियत हेरेर हुन्छ र? र, आजकाल त प्रेमसम्बन्ध ठाउँ हेरेर पनि गाँसिन्छ कि?

लाहुरेकी बिन्दास नातिनी
कानमा रेलिङमा ठोकिएको पानीको स्पन्दनले मीठो आभाष दिँदैछ। र, हाल त भाइरसकै कारण काम पनि छैन। फुर्सद छ। फुर्सदको सदुपयोग गर्न हाइकिङ जाने। घर बस्ने। मोबाइल हेर्ने न हो। मोबाइलको ग्यालेरीमा हजारौं फोटोहरु छन्। केही अर्थ बोकेका केही बेअर्थका। एउटा फोटोमा आँखा रोकियो।

केही दिन अगाडिदेखि एउटा प्रश्न मनमा खेलिरहेको थियो। त्यो पनि रोकिएको छैन। ग्यालेरीमा सोल्टिनीका फोटो हेरेपछि मनमा नमिठो चिसो पस्यो। प्रश्न यो हो कि के साँच्चिकै प्रेम गर्नेले दुख र कठिन समयमा साथ छोड्छन र? अहँ लाग्दैन।

मन मान्दैन। आखिर एकअर्कालाई प्रेम गर्नु, आदर गर्नु एकअर्कामा स्थिति अनुसारको समझदारी हुनु। एकलाई गाह्रोसारो पर्दा सकेको साथ दिनु पो ‘प्रेम’ हो। म प्रेमको परिभाषालाई यसरी अर्थ्याउन कोशिश गर्छु।

हाम्रो उमेर ६–७ बर्षको अन्तर थियो। नेपाल छंँदा खासै भेटघाट हुन्नथ्यो। तर पछि हङकङ आएपछि भने मनुसँगै बस्ने सँगै हिंड्ने मौका मिल्यो।

लाहुरे कि नातिनी। बिहे गरेको बर्षौं बितेपछि जन्मिएकी लाहुरे बाउकै छोरी हुन् उनी। हामी बस्ने ठाउँ टाढा भएर होला कहिलेकाहीँ चाडवाडमा फूपूसँग आउँथिन। सानैदेखि निकै प्यारी लाग्थ्यो।

निकै नै पुल्पुलिएर हुर्केकी थिइन मनु। गहुँगोरो वर्ण। सलक्क परेको मिलेको शरीर। लामो कपाल। बिन्दास बानी। मन परेको चिज किन्नैपर्ने। मन लागेको ठाउँ जानैपर्ने मनुलाई। र, त हङकङ जानेआउने गरिरहन्थिन।

उनी आउँदा भेट्ने घुम्ने सँगै खाने गर्थ्यौं। पछि उमेर पनि २१–२२ पुगेको हुँदो हो। त्यतिबेला भाइबैनीसँग काठमाडौंमा बस्थिन। पछिल्लो पल्ट हङकङ आउँदा निकै बिमार भैरहिन। चक्कर आउने, टाउको बेसरी दुख्ने। ब्लडप्रेसर हाइ भएको भन्दै धेरैपटक हस्पिटल पुगिन।

बिमार हुनुभन्दा अघिल्लो पल्ट तिहारको समयमा हङकङ आउँदा ‘अब म ब्या गर्छु, सबै आउनुपर्छ, तिमी पनि आउ है’ भन्थिन। उनी बिन्दास पाराले बोल्ने। उनको कुरा सुनेर हामी हाँस्थ्यौं।

‘ए निम्तो दिएको हो सोल्टिनी? खै हामी पनि चिनौं न को हो त्यो भाग्यमानी?’ मनुलाई हामी यसरी जिस्क्याउँथ्यौं।

त्यो मान्छे को हो फोटो देखाइनन्। पछि बिमार हुँदा निकै फोनकार्ड किन्थिन। बाहिर कतै ननिस्कि कोठामा बसिरहन्थिन। बहिनीले खाना बनाइदिन्थिन। कोठामै खान्थिन। फोनकार्डमा घरीघरी कसैलाई फोन गरेर बोलिरहन्थिन।

बिमारीले च्यापेपछि र यहाँको हस्पिटलमा सामान्य चेकअप गर्दा कुनै रोग नदेखिएपछि नेपालमै उनको उपचार गरियो। धेरै मेडिकल टेस्टपछि उनको दुबै मृगौलाले काम गर्न छोडेको भन्ने रिपोर्ट आयो।

ती प्रेमी कहाँ होलान
लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा त्यो दशा। आफुले रोजेर प्रेम गरेको मान्छेसँग जिन्दगी कटाउने, सपनाहरु सजाउने उमेरमा त्यस्तो भयानक स्थितिसँग साक्षात्कार भइन मनु। यो सबै लेखान्त हो कि? मान्छेले चाहेजस्तो नहुनु। एउटा सोच्यो अर्को भैदिनु। र, मान्छे विचरा परिस्थितिको दास न हो।

मनुको उपचार सुरु भयो। धेरै खोजपछि मृगौला म्याच हुने भेटियो। र, मृगौला ट्रास्प्लान्ट गरेर बाँच्ने आशा पलायो। मनुलाई नयाँ जीवन दिन परिवार, आफन्त लागे।

तर अपसोच!

सफलता भने मिलेन। कहिले के समस्या आउँथ्यो त कहिले के। अब यो दिनमा ट्रान्सप्लान्ट गर्ने भनेर समय तोकिन्थ्यो। र, त्यो समयमा कहिले ब्लिडिङ भएर कहिले ज्वरो आएर रोकिन्थ्यो। यस्तै समस्याहरु आइरहे।

यस्तो अवस्थामा पनि हस्पिटलको बेडबाटै त्यो अन्जान ब्यक्तिलाई फोन गर्ने असफल प्रयास गरिरहन्थिन उनी। जोसँग ‘बिहे गर्ने हो’ भन्दै खुशी हुन्थिन। र, रोगको कारण शरीरमा हड्डि मात्रै बाँकि थियो। न खाना खान्थिन न कसैसँग राम्रोसँग बोल्थिन। उनले त्यही ब्यक्तिलाई फोन गर्ने असफल प्रयास गरिरहिन।

ग्यालेरी बन्द गरें। उनको मासुम अनुहारको स्मृतिले आँखा अनायासै रसाएछन्। आज मनुले हामीलाई छोडेर गएको पनि ६ बर्ष बितेछ। शिवरात्रीको दिन यो स्वार्थी संसारलाई त्यागेकी थिइन उनले।

प्रेम, स्नेह यस्तो औषधी हो जसले हर कोहीलाई बाँच्ने इच्छाशक्ति जगाउने क्षमता राख्दछ। र, आत्मबल बढाएर असम्भव मार्ग पनि सम्भव बनाउने क्षमता राख्छ।

आत्मबल बलियो भयो भने रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताको बृद्धि हुन्छ भनेर विज्ञान भन्छ। र, प्रेमकै कारण बाटो बिराएकाहरु सही मार्गमा आउँछन्।

आज सोच्छु, त्यो कथित प्रेमी कहाँ होला? जसले मनु सामान्य अवस्थामा हुँदा प्रेमको नाटक गर्यो। मनुको निश्चल भावनासँग खेलवाड गर्यो। रंगिन सपना देखाएर अन्त्यमा मनुको चिताको एक कारण बन्यो।

कसैले मनु बन्नु नपरोस्
जुन समयमा सबैभन्दा बढी साथ र हौसला जरुरी थियो। त्यही समयमा फोन नम्बरसमेत फेरेर बस्न सक्ने त्यो प्रेमी हुनै सक्दैन। त्यस्तैको कारण आज साँचो प्रेमीहरु स्मृतिको ‘मनु’ बन्छन्।

जिन्दगीको आरोह अवरोह पार गर्दै जाँदा भोग्नुपर्ने अनेकन उतारचढाव हुन्छन्। कठिन भन्दा कठिन परिस्थितिको सामना गर्नुपर्छ। एक अर्कालाई प्रेम गर्नु भनेको शरीरको भोक मेट्ने उपाय मात्र होइन। जीवनका अनेकौं घडी, कठिन मोडमा सँगै उभिँदै प्रेमका खुड्किला पार गर्नु प्रेम गर्नेहरुको कर्तब्य हो।

आज गुलाव दिने र लिनेहरु कसैले मेरो स्मृतिकी मनुले भोगेको जस्तो प्रेम भोग्नु नपरोस्।

 

फागुन २, २०७६, शुक्रबार

जुनु राना हङकङस्थित लेखक हुन्
लेखकबाट थप

Building Future

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

FT 3 G/F Bo Lun Building, 28-34 Battery Street,
Yau Ma Tei, Kowloon Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Executive Editor
Thira Lal Bhusal

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors